कविता : देशको क्यानभासबाट पोखिएका बिरंगहरु

~डा.मधु माधुर्य~

देखिरहेछु : माघ-८ को सतही व्याख्यामा –
ढुंगा- मुढा, टाएर-आगो , लाठि-मुङ्ग्रो, बन्दुक… र फेटाहरु
सल्बलाई रहेछन्

जिन्दावाद-मुर्दावादको
आदिम आवाजहरु ‘फर्मालिटि”को घन्किरहेका छन्

आफ्नो नैतिकता र चेतनाको अन्तिम विकल्प –
” देश बन्द ”
घोषणा गरिरहेका छन् नामर्दहरु !

लेन्डुप-मनधारी ठुटे राजा- रजौटाहरुको पुच्छरले बंग्याएको
लोकतान्त्रिक ढुङ्ग्रो कुच्याई रहेका छन् मान्छेहरु

युवाहरुलाई दिनहुँ विदेश लखेट्ने सुनियोजित सरकारी षड्यन्त्रपछि
बाँकी रहेका
कथित राजनीतिज्ञहरुको टाउकामा
इतिहासले थुकेको दुर्गन्धित अभिशापको फोहोर
हाम्रो अनमोल जीवनको सपना र विपना डुबाउँदै
सकी-नसकी बागमती बगिरहेछ ….

बाँकी यथास्थितिवादीहरु –
आशावादी रमिते बनेर पशुपतिमा लाम लागिरहेछन् एकाबिहानै
साउनमा फुटेको आँखा विछ्याउँदै गन्तव्यविहिन दिशातिर
सोच्दै :
“झार्छ कि साँढेले कतै संविधान-डल्लो” !

+++ ++++ +++

इस्ट-इन्डियन जंगेदेखि
आजसम्मका उत्तरआधुनिक युरो-इन्डियन जंगेहरुको क्रेमाटोरिया
अर्थात्
अन्तिम कुरूक्षेत्रको एउटा सोचले गुँड खोजिरहेछ
बाँकी नेपालीहरुको
थकित/जीर्णप्राय:चेतनामा ….

अनि……
नेपालीहरुले नै लेख्ने छन्
दशगजा नढलेको नयाँ नेपालको स्वर्णिम चित्र
र नेपाली संविधान !

अभयपुर, दोलखा,
हाल: मस्को, रसिया

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.