~इश्वरवल्लभ~
म भाँचिदै गरेको क्षणहरु जोड्न लागेको थिएँ,
र तिनलाई एक एक गरी जोड्दै झोलामा भर्न लागेको थिएँ
मेरो यो जिजीविषा देखेर उनीहरु हाँसे,
उनीहरु भन्न थाले – ” कस्तो बाँच्न मन लागेको यसलाई
क्षणहरु कस्तो साँच्न मन लागेको यसलाई ”
मेरा पनि उपक्रमहरुको लामो इतिहास भएको तथ्य उसलाई भन्न सकिनँ ,
उनलाई यो अनि भन्न सकिनँ
कि यो साबिक उपक्रम हो,
जसले पनि यसै गरेका थिए,म पनि गर्दैछु ,म उनलाई भन्न लागको थिएँ,
बाघआँखा लिएको एउटाले भन्यो – नितान्त असत्य !
अरनासिंग बोकेकोले भन्यो – विडम्बना
सरीसृप घिस्रेर अर्कोले भन्यो – विष ?
मैले उत्तर दिन सकिनँ |
मेरा समक्ष मेरा क्षणहरु मेरै अघिल्तिर भाँचिएर धुलो झैँ उड्न लागेका थिए,
मेरा यी कामहरुले वास्तविकता
उनलाई तैपनि भन्न सकिनँ,
त्यसबेला निश्चय नै मेरा मनहरु उड्न लागेका थिए गुंड खोज्दै
मैले त्यो गुंड पनि पाइनँ |
म प्रायः शून्य हुन लागेको थिएँ
केहि आँखाहरु मांसपेशी चिच्याउन लागे
“क्षण जोडेर पाइँदैन |
झोलामा हाल्न पाइँदैन |”
अकिंचन झैँ कराउन थालें – ” म के गर्न पाउँछु त्यसोभए ”
उत्तरमा
त्यहाँ कोही थिएन |
एक दिनको कुरा होइन यो निरन्तरको चर्चा हो
जब म कराउँछु त्यहाँ कोहि हुँदैन |
अनेकौं शून्यझैं खाली हुन्छ वातावरण
यो वातावरणको शून्यता र मेरो उपक्रम – अचम्म लाग्छ |
अन्जान र परदेशी – परिवेशजस्तै ,
कुनै नआएको बिहानले टाढा बसेर हेरिरहेजस्तै
ढुंगाका खोलाहरु बगिरहेजस्तै – अचम्म लाग्छ |
त्यसो भए, क्षणहरु पनि शायद जोडेर छान्न नपाइने रहेछ,
झोलामा संचित गर्न नपाइने रहेछ |
क्षण त्यसै चुंडिएर हावासित फुत्किएर भागोस्
मन उडोस् , कतै गुंड नपाओस्
अब त केहि गर्न मन लाग्दैन ,
कतै बसेर त्यो परको क्षितिज पनि हेर्न मन लाग्दैन
के भयो र त्यसपछि त्यो शून्यहरु फेरि आकार लिएर आए,
कोहि आँखा भएर
कोहि सिंग भएर अरनाको
कोहि सर्प भएर घिस्रिदै कराउन आए –
” माफ गर्, हामीहरु एकदम भूलमा थियौं ” भन्न आए
जुन बेला, म फेरि मेरा क्षणहरुसमेत आफै भाँच्न लागेको थिएँ
म मेरो झोला कतै अन्धकारमा आफै फ्याँक्न लागेको थिएँ |