~इश्वरवल्लभ~
रजनी गन्धाले
(कुनै फूलझैं एउटा चीजले)
मलाई अहिल्यै-अहिल्यै त भनेको हो –
एउटा रूखको टोड्कामा
एउटा फूल
फुलेको छ – सुनाखरी
समवेत् छ सुषमा त्यसको
यो हावाले ,
यी बेंसीहरुका अन्तरिक्षले ,
पर्वतीय शृंखलाका स्वरले ,
उकाली अनि ओरालीले ,
अनि, तिम्रा आँखाका लोलुप दृष्टिले
त्यसलाई भोगेको छ |
कसैले –
अनि फेरि आज बिहानको शीतमा
मिसिएर बादलले झैं आँसु फोएको छ |
आजै त हो, हेर त ,
पहाडका चट्टानहरु पनि अलिकति रोएको छ |
यी चियाका बारीहरु
चियाका गाछहरु
यति समवेत् छन्
कि उस्तै छन्, एकै प्रकारका छन् |
म सोच्दछु यी,
तिम्रा केशविन्यासका साधन
हुँदा हुन् त के हुँदो हो
(त्यस्तै हुनुपर्ने नै थियो)
यी पाषाणहरुबीच
आगोका एक दुई फिलिङ्गो
हुँदा हुन् त के हुँदो हो
(त्यस्तै हुनु नै उचित थियो)
भएन,
भएन, ठिकै हो |
धेरै दिनको लामो प्रतिक्षा पनि,
पाएन अभीष्ट भने सकिन्छ |
त्यो फिलिङ्गा भए पनि के गर्नु ,
पाएन इन्धन भने सकिन्छ |
जल्नुनै मात्र के हो र ?
निभ्नु पनि त केहि हो !
कहाँ निभेको छ मुढा
निभेको छ भने जीवनै त निभेको छ |
के तिमीले देखेनौ ?
आजै पनि त फूल फुलेको छ |
झर्नु पर्ने डरले के फूल फुल्दैन !
समाप्ति त एउटा अभिष्ट लक्ष्य हो,
समाप्ति कहाँ रोएको छ ?
बिहान-बेलुकी अर्थात् जुनै बेला पनि
यी यहाँका पहाडका कुहिरो जुन बेला
गहिरिंदै जान्छन् ,
तिमीलाई धेरै चित्रहरु देखापर्छन् |
फगत् , ती तिम्रा कल्पना हुन् |
नडराऊ ,
ती कुहिरोहरुकै गर्भमा छन्
अनगिन्ती आश्वासन र सहानुभूतिहरु
कुहिरोले मानिसलाई यहाँ प्यारो गर्छन् |
तर यो नसम्झ
यो पग्लिएको हिमाल जम्दैन
निभेको खरानीमा आगो हुँदै-हुँदैन
तर, यो नसम्झ –
अब यसलाई कुल्च , फेरि कुल्च ,
जति कुल्च फेरि बोल्दैन
यसले बितेको रातभरि रोएको छ
करुण कठोर हुँदैन |
अन्दाज गरिरहू
कहीं यो कुहिरोमा बिस्फोट त छैन !
यो शान्ति कुनै विभीषिकाको
आयोजन त होइन !
बुझिँदै बुझिएन यी शब्दहरु
भनौला – तिमी ,
तर यी शब्दहरु
अहिल्यै बुझिँदैन |
(स्रोत: कविता सङ्ग्रह “आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्”बाट )