~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
महिनौंसम्म गर्भमा तिम्रो बसें र म जन्में
तपस्या ठूलो तिमीनै आमा पाएर म जन्में
हे मेरी आमा काखमा राखी तिमीले मलाई
सेकेकी थियौ कुनामा बसी दाउरा जलाई
भोकले आँत हर्हर भयो भोकाइनौ तैपिन
दुःखले कति रुवायो मलाई रुवाइनौ तैपनि
मेला र पात उकाली हिंड्दा छोरालाई संझेर
दिएको खाजा पटुकी भित्र भोकै छ गमेर
एक तुर्की दूध पिइनौ तर पियायौ मलाई
शीतल माया दिई नै रह्यौ आफैलाई जलाई
प्राण भन्दा प्यारो मलाई गरेकी तिमीले
झल्झल सम्झी बसेको छु बिर्सन्नँ मैले
बढेर ठूलो यो छोरो होला फर्केला सुदिन
सुख त त्यही दिनमा हुन्छ देला यो जुन दिन
कोदाको रोटी मकैको ठेला खाएर आफूले
पकाइदिन्थ्यौ स्वादिष्ट खाना खानेछ छोराले
घटघट छोराले पानी पिएको देखेर
तिर्सना मेट्ने महिमा तिम्रो सक्दिनँ लेखेर
जाडो आउँदा सर्दीको पीर लागेर रातमा
पटक् पटक् उठेर हेर्थ्यौ छोरा छ साथमा
लाम्खुट्टे आउँथ्यो छोरालाई टोक्दा दुख्थ्यो आमालाई
नपोल्दे मेरो नानुलाई भनी फकाउने घामलाई
लिखा र जुम्रा परेभने उडाउँछन् तिमीलाई
भनी भनी दिनदिनै नुहाउने मलाई
मैलो भयो लाएको लुगा नराम्रो देखियो
लगाइदिई अर्को लुगा माया त्यो पोखियो
मिची मिची नरम बनाई खुवाउने खाना त्यो
पानी कम भएछ पाक्दा अहो कडा भो
साधारण जरो आउँदा निस्लोट भएको
ठानेर तिमी प्रेमले गर्दा कस्तरी रोएको
मेरो राजा भनेर खाली काखमा राखेर
रक्षा गर परमेश्वर भगवान् डाकेर
वारीपारी छताछुल्ल त्यो खोला बढेर
पाल्नेछ मलाई जागिर खाई धेरैनै पढेर
दिव्यरुप्को छ छोरो मेरो प्राणको आधार
भनेर मनमा गमेर बस्थ्यौ झार्दिनँ चंधारा
दुःख त मलाई दुई-चार वर्ष सानो छ नानु यो
कर्तव्य मेरो लालन पालन गर्दै नै जानु हो
झोलुंगोमा रुँदा छोरो हिर्दय हल्लियो
बनाउनु पर्छ संसार भरमा यसैलाई बलियो
सानामा उचित स्याहार दिई हुर्काउनुछ मैले
भनेर खाली कल्पने तिम्लाई छोड्दीनँ म ऐले
कर्तव्य आफ्नो थाहा छ मलाई देवी हौ तिमी त
परमेश्वरी आमा तिमी परमेश्वर जनक
एक वर्ष नपुग्दैदेखि बिरामी भैगयो
रातको निद्रा दिनको चैन छोराले लैगयो
धामी र झाँक्री डाक्टरहरु बोलाई बोलाई
लौन आऊ शान्त पार यो मेरो मनलाई
भनेर मलाई लड्दै-पड्दै बचायौ त्यसरी
बैगुनी आज बिसे्रर विगत बन्छु म कसरी
नुनको ढिको टोकेर अनि पानीले निलेर
एक गास भात खाएर बस्यौ मुख नै बारेर
सल्लाह र सम्मतिमा डाक्टरहरुको
गरिनौ भर स्याहार गर्न जहान अरुको
जागेर चाँडै कुखुरो समेत नबास्दै रातमा
सकेर काम उठाउने मलाई मायाको साथमा
आँसूको भेल बहाई रोयौ हे मेरो लाल् भनी
एकैछिन् अघि खेल्दै थियो ऐले के भो नि
उठ न उठ सुतेर किन बस्दछौ यसरी
हे मेरो प्राण छाडेर नजाऊ मलाई यसरी
छाडेको थिएँ संसार सब माया नै मारेर
फर्केर आएँ नसकी जान तिमीलाई छाडेर
मरेर बाँच्यो त्यो दिल हाँस्यो संसारै उज्यालो
झलमल्ल लागेको घाम तिम्रो दिलको
दुःख र कष्ट मलाई नै देऊ छोरालाई बचाऊ
एउटा त गयो अर्कालाई छोड यो मन हँसाऊ
एउटा-एउटा माया अन्त दुइटाको माया यो
प्राण मेरो यै छोरो बन्यो नगर रिस भो
हाँसेर खेल्ने भित्र र बाहिर छोरा र छोरीलाई
देखेर पनि नदेखे मलाई ननिको तिमीलाई
रोगले साह्रै गलित पार् यो छाड्दैन यसलाई
भनेर खालि सुर्ताले आधा पार् यो त्यो जीउलाई
खाएको पनि नखाएजस्तो जगतै अँध्यारो
मलिन भए छोराको मुहार भूतघर पँधेरो
भँयर झाँक्री देवी र देउता सम्झेर भाकेर
नराम्रो हेराइ नगर प्रभु यसलाई ताकेर
दान पुण्य गर्दापनि निरोगी छोरो होस्
थकित गलित् भएपनि प्यारमा उस्तै जोस्
घाम उदाउँदा एक भारी घाँस पुर् याई फर्कने
कसो भो होला छिट्टै छ जानु हूलबाट तर्कने
पिटेमा प्याट्ट त्यो छातिभित्र मुटु नै चस्कने
रोएको सुने के भयो होला भनेर झस्कने
सपना पनि छोराकै देख्ने विपना उसैको
ममाथि जति गर्दछ्यौ माया देखिनँ कसैको
जन्मूँला यहाँ धर्तीमा आई जेपनि बनेर
बोलाउन पाऊँ साक्षात् मेरी आमा हुन् भनेर
स्वर्गमा पनि बिछोड नहोस् आमा र छोराको
कानले जहाँ भए’नि सुनोस् तिमीले बोला’को
पोतेकी थियौ तुलसी-मठ सुताउन मलाई
बैकुण्ठवास मिलोस आमा पछि तिमीलाई
देवताहरु स्वर्गमा तिम्रो यशगान गरेर
धन्य छ धन्य भनून् मलाई ती आमा पाएर
आँपको दाना दिएका खान सम्झेर छोरालाई
सुटुक्क राखी ल्याएर दिन्थ्यौ तिमीले मलाई
झल्झली खालि संझेर म मेला र पातमा
दगुर्दै आई झोलुंगो झिक्थ्यौ लिएर हातमा
नपढेपनि अक्षरहरु चिनाउने रहर
पढाउनलाई पठाउनेछु ठूलो त्यो शहर
ताते-ताते गरेर मलाई िहंड्न सिकायौ
ज्ञानी-गुनी बन्नुपर्छ कथा नै सुनायौ
चुनु बाबु चुनु बाबु अब त निदाऊ
हाँस न हाँस अहिले दन्त लहर मिलाऊ
हरायो प्राण भनेर रुने नबुझी लुकेको
बिसे्रको छैन म आफू लड्दा आमालाई दुःखेको
आमाको माया होस् त मेरै आमाको जस्तो होस्
नबुझेर आमालाई हेप्नु छोराको साह्रै दोष्
संसारभरि खोजेरपनि पाइँदैन आमालाई
नर्कनै पाउँछ अवश्य अधम् तिनलाई रुवाई
पुछने आँसू हो मेरो लक्ष्य आमाको आँखाको
दिएर सुख आमालाई सदा वहार मायाको
व्रतवन्ध गरेर यस्को रोग नै कटाउँछु
गोर्खाकाली पूजेर यस्को शक्तिलाई जगाउँछु
आशिर्वाद देऊ ए जोगीबाबा शतायु होस् भनी
बिन्ती छ माफ गर है संगी यसको दोष् पनि
सातै वर्ष काटेर आयो मुहार फकि्रयो
चलाख भयो पर्दैन भन्न लौ न नि ककि्रयो
खाना खान्छ लगाई मन भोक छ आँतमा
खुशीले खाना खुवाउँदा आँशु निस्कने साथमा
निन्द्रा’नि पर्छ काम’नि आउँछ अचेल हातमा
छोडिनौ अझै सुताउन मलाई राखेर काखमा
छोरालाई राम्रो पढाउनु पर्छ भविष्यकालमा
सधैं जस्तै पहिला नै हुन्छ आउने सालमा
पढ न पढ ए मेरा बाबु नसुत धेरै बेर
हरे राम जपेर साथी बसिथ्यौ पढुन्जेल
भालेको डाँक भन्दा’नि पैले उठेर तिमीले
सुतेको मैले देखिनँ चाँडै फुर्सद कहिले
खटेर कति सकेकी गर्न ए आमा तिमीले
आऊ न आऊ थकाइ त मेट एकैछिन् तिमीले
बारीको डल्ला फोरेर फेरि खेत नै गोड्नलाई
लिएर साथमा पुग्दथ्यौ आमा नसकी छोड्नलाई
स्कूल गयो फर्केको छैन ढुक्ढुक मन् भयो
आउँछ अब पढ्दैमा बरा लामो यो दिन् गयो
तगारातिर बसेर बाबु भनेर ल्याउने
भोकायो होला पीरले छिटो खाजा नै ख्वाउने
गर्दामा काम खिएला फेरि अचम्म तिम्रो पीर
सराप गर्दा अरुले उस्लाई रोपेझैं तातो झीर
फरक्क फर्कोस् सरापहरु गरेका यसलाई
उन्नति नहोस् लाग्दछ डाढो मेरो नै जसलाई
आँखाको नानी मानेर सधैं स्याहार गरेको
संझेर सधैं यो मेरो लाल झण्डैले मरेको
मायाले तिम्रो हरायो होला यम दूतलाई
ढोग्दछु सधैं मानेर देवी मेरी आमालाई
प्यारो छ प्यारो शब्द यो “आमा” संसार भरमा
भाग्यमानी रहेछु आमा यहाँका नरमा
दूर्लभ उत्तम् गर्भमा तिम्रो रहने सौभाग्य
दिएर मलाई कृतज्ञ पार् यौ रहेछ अहोभाग्य
पुरस्कार ल्याएको देखी संसारै जितेको
सपना देख्थ्यौ सबले उसको गोडा नै मिचेको
ऐया र आत्थु भनिनौ हेर सहेर त्यो पीडा
पीर नै पार्न चाहिनौ मलाई खपेर त्यो पीडा
बढ्दै गयो यो छोरो तिम्रो खुशीले रमायौ
हिंड्दा-हिंड्दै लड्ला पथमा औंला समायौ
तिर्सनाहरु मेटिँदै गए “आमा” को पुकारले
अचम्म तृप्ति दिएरै रह्यो त्यही नै शब्दले
दिसा र पिसाब फोहोरहरु घिन नै नमानी
भनिनौ कैले जहाँ पायो त्यहीं दगुर्ने बेइमानी
गुनासाहरु नआइकन पालेर पोसेर
गल्ती सब माफ् गरायौ आफैलाई झोसेर
म कति भनूँ शेषनाग पनि बोलेर थाक्नेछन्
बुझेर सब्ले म आश गर्छु आमाको मान् राख्नेछन्
दूधको भारा बिर्सेर आफू हुर्केको पिएर
अधम् हो त्यो आमालाई ताड्ने स्वार्थमा डुबेर
त्योभन्दा नीच देख्दिनँ म त नर्ककी बासिन्दा
आमा र छोरा बीचमा खट्पट् गराउने रोजिन्दा
अरुको लाख आमाको काख यो कुरो बुझेर
राख्नुपर्छ मान्छेले आफ्नी आमालाई पूजेर
बिर्सन्नँ आज बोकेर बुई जंघार तरेकी
वितल पर् यो भनेर पीरमा ती पर सरेकी
चारैमा दिन बिताउन पनि कठिन उनलाई
पियाइन् सदा आफ्नै दूध राखिनन् कोही धाइ
फूच्चे नै देख्छिन् यो मेरो छोरो साह्रै छ कम्जोर
रेखदेख गर्छिन् अझै विगत झैं सम्झेर
विरामी परिन् ओछ्यानमा पनि मेरै छ तर्कना
यी मेरी आमा कसरी सक्छु लौ भन बिर्सन
सुतेकी उनी नसकिकन पोखरा अस्पताल
सोधेर कहिल्यै थाकिनन् आमा छोराको के छ हाल
बेहोशी बीच फूटेको शब्द पैलो त्यो ‘निर्मल’
छैन साचो आमालाई भने कसरी झल्मल
जुन दिन आमा हाँस्लिन् मेरो आत्मानै हाँस्नेछ
आमाको पूरा रोगलाई जित्दा हृदय नाच्नेछ
ईश्वर तिमी दयालु बन कृपा नै गरिदेऊ
नयाँ जीवन बिन्ती गर हामीलाई छरिदेऊ
चाहिन्न केही ऐश्वर्य पनि तुच्छनै सम्झन्छु
आमाको न्यानो त्यो माया पाउँ सधैं म माग्दछु
मेरी आमा, आमा मेरी, उनलाई यो छोरा
गर्नेछ सेवा बिर्सेर सब, इच्छा होस् यो पूरा ॥
— निर्मलमणि अधिकारी, पीएच.डी.
कीर्तिपुरस्थित डेरा
कम्प्युटरीकृत मिति : २०६०।१।२३; यो कविता वि.सं. २०५२ सालमा पोखरामा लेखिएको हो । त्यतिखेर मेरी आमा सिकिस्त विरामी, जीवन-मृत्युको दोसाँधमा पोखरामा अस्पतालमा हुनुहुन्थ्यो ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)