कविता : देह र अङ्ग

~गोविन्दराज विनोदी~

हुन्छ नाम र अस्तित्व
प्रत्येक अङ्गको तर
सबै अङ्ग मिलेमात्र
देह बन्दछ सुन्दर !
‘द्रष्टा हौं’ भन्दछन् आँखा
‘श्रोता हौँ’ कान भन्दछन्
‘म वक्ता’ मुखले भन्छ
‘यात्री हौँ’ पाउ ठान्दछन्
भन्दछन् पाखुरा-‘कर्म’
हामीले मात्र गर्दछौँ
भन्छन् आँैला ‘कला, सीप’
हामी नै नित्य भर्दछौँ
भन्छ मस्तिष्क’ मैं एक
प्रतिपालक देहको’
मुटु भन्छ’ म मात्रै हुँ
प्राणचालक देहको’
हो साँच्चै, सब यी अङ्ग
आफैँमा परिपूर्ण छन्
आफ्नो कर्तव्यमा नित्य
निष्ठाले परिपूर्ण छन्
अस्तित्व देहका साथ
अङ्गको छ निरन्तर
देह नै नभए अङ्ग
मात्रको अर्थ के छ र ?

(स्रोत : मधुपर्क २०६७ साउन)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.