~कृष्ण बजगाईं~
करीब बीस वर्षपछि पहिलोपटक नेपाल फर्केको एक एनआरएन सुटकेस र ब्याग होटलमा राखेर पशुपतिनाथको मन्दिर पुग्यो । पशुपतिनाथ मन्दिरमा पासपोर्ट देखाएको केही महिनामै विदेश जाने भिसा लागेकाले भगवान् शिवप्रति उसको ठूलो श्रद्धा र विश्वास थियो ।
उसले मन्दिर दर्शन गरेपछि बाहिर निस्कियो । वरपर कुनै माग्ने नदेखेर अचम्म मान्यो । के माग्नेहरूलाई प्रहरीले पक्रेर थुन्यो ? कि गणतन्त्र आएपछि नेता र मन्त्रीहरूजस्तै माग्नेहरू पनि धनी भए ? उसका मनमा यस्तै तर्कहरू उठ्दै थिए ।
अचानक कसैले नमस्कार गर्दै उसलाई रोक्यो । र एउटा भिजिटिङ कार्ड थमायो । कार्डलाई ओल्टाईपल्टाई गरेर हे¥यो । के हो भनेर अनुमान गर्न सकेन ।
‘यो के कार्ड हो भाइ ?’ एनआरएनले सोध्यो ।
‘म माग्नेहरूको राष्ट्रिय सङ्गठनको केन्द्रीय सदस्य हुँ । अलिकति भिक्षादान गरिदिनू न हजुर ।’ उसले भन्यो ।
एनआरएनले त्यसलाई तलदेखि माथिसम्म हेरयो । महँगो कपडा लगाएको कुनै धनी बाउको छोराजस्तो युवालाई माग्ने भनेर पत्याउनै सकेन ।
‘दुःखी, गरीब र असहायले मागेको त ठिकै हुन्छ । भाइजस्तो स्वस्थ र बलियो युवाले मागेको सुहाएन ।’ एनआरएनले भन्यो ।
‘म पनि गरिब र असहाय नै हुँ । झुत्रेझामे्र भएर माग्न थाल्यो भने प्रहरीले चिनिहाल्छ । त्यसैले हाम्रो सङ्गठनले तोकेको पोसाक लगाएको हुँ । रंगे हात पक्राउ पर्ने डरले हामीले माग्ने तरीका परिवर्तन गरेका छौँ । सोही कारण हामी नगद भिक्षा पनि लिँदैनौँ । ई–भिक्षा मात्र लिन्छौँ । हाम्रो बैङ्क अकाउन्टमा भिक्षारूपी अलिकति पैसा ट्रान्फर गरिदिनुभयो भने ईश्वरले तपाईंको कल्याण गर्ने छन् हजुर ।’ त्यस युवाले भन्यो ।
‘पहिलेका मानिसजस्तो इमानदारिता हिजोआज कोहीसँग भएन । अहिले त मन्त्री, नेता, समाजसेवी, धर्मगुरु, कर्मचारी, व्यापारीदेखि माग्नेहरूसमेत ठग भएछन् । सरकारी कर्मचारीले मलाई एयरपोर्टमा ठगे, ट्याक्सी, होटल र बजारमा पनि ठगिएँ । हुँदा– हुँदा माग्नेले पनि मलाई ठग्न खोज्ने ? तँलाईं इऽऽऽ..भिक्षा !’ एनआएरएनले त्यसलाई लोपारयो ।
(‘संवैधानिक पत्नी’ लघुकथासङ्ग्रह(२०७७)बाट)
(स्रोत : नागरिक – शनिबार)