~प्रेम राई परिक्षित~
अनाहकमा कहिले घोचेको छु र ?
मैले तिमिलाई बिनासित्तै
तिम्रो खुसी कहिले खोसेको छु र ?
मैले तिम्रा लक्षहरुमा
कहिले रोकेको छु र ?
तिमिले मेरो झाङहरुमा
कुनै प्रवाह नगरी
आफ्नो खुसिहरु खोजिरहँदा
तिमीले मेरो मौनता माथि
निरन्तर प्रहार गरिरहँदा
तिमीले मेरा आस्था माथि
निरन्तर आँखा गाडिरहँदा
तिम्रो त्यो कालो नङ्ग्राहरुमा
चुपचाप मेरै अघि मेरा फूलहरु
बलात्कृत भएको म कहाँ देख्न सक्छु र ?
तिम्रा हतियारहरुले
मेरा झाङ्हरु रेटिरेटी हत्या भएको
म कसरी सहन सक्छु र ?
तिमीले
मेरा फूलहरुको
जताभाबी अश्मिता लुटिरहँदा
यी काँडाहरुको कुनै मूल्य छैनभनी
मेरो मानमर्दन गरिरहँदा
अनि मेरा हाँगाहरु लतारीरहँदा
म रमिते बनेर टुलुटुलु हेरिरहन कहाँ सक्छु र ?
म तिम्रो प्रतिकार नगरि रहन
म कहाँ सक्छु र ?
तिम्रो अघि मेरो स्वाभिमान
आत्मसमर्पण गर्न कहाँमान्छ र ?
त्यसैले ,
मेरो मौनता भङ्ग गरिरहने
तिम्रो एकलबादी सोच विरुद्ध
मेरो अस्तित्व रक्षाका लागि
अझ तीखो भएर
तिम्रो आक्रमण अनि अतिक्रमण विरुद्ध
म आक्रोश पोखिरहन्छु
अवरोध गरिरहन्छु ,बिद्रोह गरिरहन्छु !
(स्रोत : परिवर्तन खबर डट कम)