कविता : आइज निँदरी आइज ………

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

सानैमा
झोलुङ्गामा हल्लाउँदै
सूरिलो राग मेरी आमा अलाप्नुहुन्थ्यो ः
“आइज निँदरी आइज … …”
र म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।

सानैमा
बुई चढाएर पिठ्युँमा
मेरी आमा चलाउनुहुन्थ्यो ढिकी; िरंगाउनुहुन्थ्यो जाँतो
भर्थे संगीत ढिकीको ढक्ल्याक् ढक्ल्याक् आवाज; जाँतोको घ्वाईंघ्वाईं आवाज
र मेरी आमाको मृदु स्वर लहरिन्थ्यो ः
“आइज निँदरी आइज … …”
र म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।
सानैमा
सुम्सुम्याउँदै मलाई
परीकथा हाल्नुहुन्थ्यो मेरी आमा
जहाँ-
परीहरु हुन्थे
परीकथामा दुःखीहरुपनि हुन्थे
खलचरित्रहरु पनि त हुन्थे परीकथामा
दुःखीहरु चिच्याउँथे; गर्थे अलाप-बिलाप
खलचरित्रहरु मौका-बेमौकामा गर्थे अट्टाहास
र परीहरु आइपुग्थे अचानक –
उनीहरु दुःखीका आँसु पुछिदिन्थे
उनीहरु बदमासहरुलाई दण्ड दिन्थे
उनीहरु खुशी बाँडेर खुशी हुन्थे
र उनीहरु आकाशतिर उड्थे
उनीहरु बस्थे आकाशतिरै; रम्थे आकाशसितै< उनीहरु आकाशभित्रैबाट आएका थिए र त स्वयम् आकाश थिए ः करुणाका/मायाका/दयाका/दैवी-भावनाका र कथा सुनिरहँदा म हाऽऽई गर्थें आँखा मिच्थें र निँदरी आउँथी । मेरी आमा – मलाई निँदरीको लोरी सुनाउँदै नीँदपरीको पोल्टामा राख्दै कल्पिनुहुन्थ्यो एउटा भोली ः भालेको डाक सँगसँगै ब्युँझनेछ छोरो मेरो र सखारै/ झिसमिसेमै शुरु गर्नेछ उडान । मेरी आमा – मलाई बुई बोकी ढिकीको उठानबैठानसँगै/ जाँतोको रिङ्गाइसँगै सजाउनुहुन्थ्यो एउटा स्वप्न ः उठ्नेछ छोरो मेरो उज्यालोको गर्नेछ प्राप्ति । मेरी आमा – परीकथा सुनाएर मलाई ममा ुपरीु प्रतिस्थापित हुने स्वप्न सजाउँदै भन्ने गर्नुहुन्थ्यो अक्सर ः आकाशतिर उड्नेछ छोरो मेरो आकाशतिर बस्नेछ छोरो मेरो आकाशभित्रै रम्नेछ छोरो मेरो आकाशभित्रै हुनेछ छोरो मेरो र मेरो छोरो स्वयम् हुनेछ आकाश अनि एउटा आकाश उमार्नेछ । मेरी आमाले कल्पेको कल्पना मेरी आमाले सजेको सपना मेरी आमाले रटेको रटना अपशोच ! तर 'परी' बन्न सकिनँ म । हिजै पर्याप्त सुतिसकेको म ब्यूँझनु पर्ने अघि नै ब्यँूझाउनु पर्ने हो एउटा युगलाई तर म आफैं उभिएर चोकमा – हाऽऽई गर्दैछु आँखा मिच्दैछु र निँदरी बोलाउँदैछु ः आइज निँदरी आइज … … … आइज निँदरी आइज … … — निर्मलमणि अधिकारी, पीएच.डी.
कीर्तिपुरस्थित डेरा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.