लघुकथा : सुलेमानी र चाइना भाइरस

~चोपनारायण बन्जाडे~

“साम्राज्यवादीहरू खासगरी अमेरिकन साम्राज्यवादले संसारलाई चुसिरहेको छ । नेपाल जस्ता तेस्रो मुलुकहरूलाई कहिल्यै उठ्न दिदैनन् । यिनीहरू भाषिक, धार्मिक, साँस्कृतिक, आर्थिकरुपले अधीनमा पारिरहन्छन् । भारतीय विस्तारवाद, अमेरिकन साम्राज्यवाद र घरेलुु सामन्तवाद हाम्रा प्रमुख दुश्मन हुन् । यिनका विरुद्ध सम्झौताहीन संघर्ष जरुरी छ ।”  विद्यार्थीहरूलाई पार्टीको तर्फबाट क्लास लिन खटिदा शर्टका बाहुला खैचिएर छातीका बटन खोलेर अहिले नै उठ्लान् कि जस्तो गरेर जुरुकजुरुक पार्थे हुमानन्द कामरेड ।

           कम्युनिष्टहरू अन्तर्राष्ट्रियवादी हुनुपर्नेमा जोड दिँदै , “साम्राज्यवादीहरूको विरोध र समाजवादी पूर्वी युरोपका मुलुकहरू, क्युबा, उत्तर कोरिया र छिमेकी जनवादी गणतन्त्र चाइनाको पक्षमा ऐक्यबद्धता जनाउनु जरुरी छ,” भन्थे ।

        रसीयाको अक्टोबर क्रान्ति र चाइनाको नौलो जनवादी क्रान्तिका कारण ती मुलुकहरूले विकासमा मारेको छलाङको बडो चाखकासाथ वर्णन गर्थे कामरेडले । अमेरिकाको विकास देखालो मात्र भएको भन्थे र पश्चिमा छाडा संस्कृतिको विरोधमा धेरै शब्द खर्चिन्थे उनी । अमेरिका त बस्ने देश नै होइन । नेपालमै जनवादी क्रान्ति सफल पारेपछि समाजवादी मुलुकहरूले ठूलो सहयोग गर्छन् र यसै देशलाई स्वर्ग बनाउनुपर्छ । चिनिया सचित्र कथाका पुस्तक देखाउँदै ,”हो, यस्तै बनाउनुपर्छ”, भन्थे ।

       यी पैतीस बर्षमा नारायणीमा थुप्रै पानी बगिसक्यो । यी क्रान्तिकारी नेताको परिवारले जेनतेन गुजारा चलाइरहेको थियो । कान्छो छोरा कक्षा १२ सिद्धाएपछि जिद्दी गरेर काठमाण्डु  पढ्न गयो तर स्नातक सिध्याउन सकेन । लहडमा अमेरिकन डी. भी. भर्यो , कुनै चाख विना नै र बाउलाई पनि भनेन । उसलाई थाहा थियो उनी जन्मजात अमेरिका विरोधी थिए । तर डी . भी. पर्यो ।

        कामरेड हुमानन्दमा क्लिन्टनको कार्यकालसम्म अमेरिका विरोधी राप र तापको पारो स्थिर नै थियो । सेप्टेम्बर ११, २००१ को टुइन्स् टावर आक्रमणले उनी खुसीले गदगद थिए । मनमनै लादेनको कौशल र बहादुरीको प्रसंसा गरे । तर बुशको पछिल्लो कार्यकालमा त्यो राप र ताप चिसिँदै गयो र ओबामाको पालामा त सोचमा ध्रुर्वीय फरक आयो । ओबामाको बीन लादेन हत्या मिसनको सफलतामा उत्सव नै मनाए । खुसीले केही रात सुतेनन् ।

            यो बीचमा छोराको पहिलो बच्चा हुँदा दुईजना नै ६ महिना अमेरिका बसेर आए । त्यसपछि त गाउँको चियापसलमा कसैलाई बोल्न दिँदैनन् ।

        “सबै आतंककारीलाई अब अमेरिका ठेगान लगाउँछ,” इरानी मेजर जनरल सुलेमानीको अमेरिकी कार्वाहीमा हत्या हुँदा केही दिन उत्तेजित भए हुमानन्द कामरेड, “उत्तर कोरियाली तानाशाहलाई अहिलेसम्म ठीक पारिसक्थ्यो चाइना र रसीयालाई अझै नबिच्काउने सोचिरहेको छ र हो” ।

        तासमा लम्पट छन् आजकल उनी । तास खेल्दा कसैलाई हराए भने “सुलेमानी बनाएँ” भन्छन् , हारे भने “सुलेमानी भएँ” भन्छन् अचेल । डोनाल्ड ट्रम्पले चाइना भाइरस भन्न छोडिसके तर उनी भने “कोरोना भाइरस”लाई “चाइना भाइरस” भन्छन् ।

सन्धिखर्क-०१, अर्घाखाँची ।

(स्रोत : सुगमपोस्ट डट कम)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.