~शम्भुप्रसाद ढुङ्गेल~
जान्छिन् आज शकुन्तला घर भनी उठतो छ चिन्ता प्रति
प्रीतीका मनमा प्रवाह बहँदा रोकिन्न आंसू रती ।
हामी झैँ वनवासिको पनि भयो यो गत् भने यो घडी
बस्छन् धैर्य गरी गृहस्थ कसरी छोरी बिदाई गरी ॥
(१)
जो प्यूछिन् तिमिलाइ सेचि पहिले आफू पछाडी पनि
जान्थ्यो चित्त तथापि फूल प्रिय भै लाउन्नथिन् क्यै पनि ।
आऊँथ्यो मजुरा जस तिमिकहाँ आनन्द मान्थिन अति
आज्ञा देउ शकुन्तला अब तिनी जान्छिन् जहाँ छन् पति ॥
(२)
जस्तो मिल्ला कसोरी घर असल भनी ताप लाग्थ्यो मलाई
त्यस्तै पाई तिमीले पति असल दियौ ताप मेरो छुटाई।
यस्तो यो मल्लिकाले प्रिय गरि बहुतै आँपमा झुण्डिनाले
चिन्ता माग्यो दुवैको भनि मकन अती ढाक्छ निश्चिन्तताले ॥
(३)
हामी छौं तपका धनी कुल ठुलो जानेर आफ्नो पनि
यस्तो प्रेम सदैव गर्नु करुणा राख्न प्रिया हो भनी ।
बढ्ता भन्न हुँदैन माइति भई हामीहरूले रती
जो गर्छन् अरु देवकै छ भरमा होला हुने हो जती ॥
(४)
सेवा गर्नु सदैव मान्य जनको राख्नू रिझाई पति
गर्नू प्रेम सर्पनिमा प्रिय बुझी ईर्ष्या नराख्न रती ।
बोल्न नम्र भएर द्वेष नलिनू केही हवस् तापनि
वत्से ! याद रहोस् भई कुलबधू ये पर्छ गर्ने भनी ॥
(५)
स्वामीको सँगमा, सपत्नि वसुधा पाई कजाई पति
होला पुत्र महाबली अनि पछी सुम्पी सबै सम्पती ।
इच्छा पूर्ण गराइ अन्त्य नभुली दुर्मोह मायामहाँ
देखोलो पनि यो संग पति लिई यस्लाइ फेरी कहा ॥
(६)
हुन् माल छोरी अरुलाइ दीने,, राखी धरौटीसरि जानिलीने
आनन्द छु आज गरी बिदाई, हल्का भएझैं अऋणी कहाई ॥
(७)
हिंड्छन सदैव रविका हय जोतिएर,
विश्राम वायुकन छैन सदा बहेर ।
पृथ्वी उठाइकन शेष सधै रहन्छन्,
यै धर्म हो नपतिको सहजै सहन्छन् ।
(८)
गर्मी हुँदा जसरि ढोइ कुना लगाई,
विश्राम गर्छ गज शीतल ठाउँ आई ।
त्यस्तै प्रजा सकल पालि खुशी गराई,
पाल्नु भएछ नृप मेट्न भनी थकाइ ॥
(९)
झुक्छन् वृक्ष सदैव फूल फलले भारी हुंदामा अति,
। झुक्छन् सज्जन पाइ मान मनमा सेखी नराखी रती ।
झुक्छन् मेघहरू पनी गगनमा पानी लिएका घडी,
झुक्छन् जो उपकारि छन् जन सदा सम्मान भारी गरी ॥
(१०)
राजन् ! सज्जनमा हजूरसरिको क्वै छैन यो मान्दछु,
मेरी पुत्रि पनी सुशील अति छन् भन्ने म यो जान्दछु ।
जोडी यो विधिले समान गुणका जानी मिलाईदिए,
जो जो सुन्नु थियो भनाइ अरुको सारा बचाईलिए ॥
०००००००००
आशुकवि शम्भुप्रसाद ढुङ्गेल (विक्रम सम्वत(१९४६-१९८६)
१९७५ सालतिर छापिएर अत्यन्त लोकप्रिय भै शासकहरूको आँखामा चढेको र प्रतिबन्धित भएको पुस्तक थियो श्यामजीप्रसाद अर्ज्यालले प्रकाशित गरेको श्रृङ्गार रसको पुस्तक ‘सूक्तिसिन्धु’ ।
(स्रोत : कमल दीक्षितद्वारा सम्पादित जगदम्बा प्रकाशनद्वारा २०२४ सालमा प्रकाशित पुस्तक “सूक्तिसिन्धु-फेरि” बाट सभार)