कविता : विजुलीको असर

~सोमनाथ सिग्देल~

क्या हो यो सन्मुखमा अति चित्र चलाक चालको सुषमा ।
यो तेजीलो जोडा दौडाउँछ दिव्य दीप्तिको घोडा ।।१।।

टाढा छ बादल-दल स्पष्टै छन चन्द्रमा पनी विमल ।
जोडा बिजुली गोला विचमा झल्कन्छ किन होला ?।।२।।

अलि अलि कुना गुलाबी झल्कन्छ श्याम विन्दुविच गाबी ।
साफ सफेदी परको घेरा छ नी सुनील केसरको ।।३।।

झल्काई बहुरङ्गी पलक पलकमा नयाँ नयाँ भङ्गी ।
झलमल पार्दछ दुनियाँ गम्काई चमक दमकको मुनियाँ ।।४।।

फैलाई चटकीला दुनियाँभरको मुसाफिरी लीला ।
आश्मान छ छिनमा देखिन्छ अनी जमीनमा छिनमा ।।५।।

विजुलीको झलक परी तिर्मिरले छाइहाल्छ नजरभरी ।
डगमग भई दिल पनी हराउने हुन्छ होश अनी ।।६।।

देख्तछु कति तेजीलो पार्दछ चहुँओर चहकीलो ।
खिच्तछ इन्द्रियधारा चुम्बकले लोह झैं सारा ।।७।।

बिजुली सुधा भरीलो अथवा हो यो विशेष जहरीलो ?
रुचिले नजर लुभाई खाग पनी पार्छ यो सबैलाई ।।८।।

चल्दा विपवल्लीको तुलना पाई विलास विजुलीको ।
लिनुपर्छ होश भिक्षा पाई व्यामोहको कडा शिक्षा ।।९।।

चञ्चल चमक चलार्य भुलाउने जटिल जाल फैलाई ।
विजुलीले अबलाई लाग्यो लैजान जिन्दगीलाई ।।१०।।

(स्रोत : कमल दीक्षितद्वारा सम्पादित पुस्तक “सूक्तिसिन्धु (फेरि),जगदम्बा प्रकाशन, २०२४” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.