कविता : वनवास जान्छु

~जीर्ण भागेदार~

हेप्ने र धुत्ने सब काम देख्छु
अश्लील बोल्ने सब राम देख्छु
अर्ती नदेऊ, किन आज मान्छु
कौडा पछारी वनवास जान्छु ।

प्रगत्ति देखी थुक झार्नु झारे
घाऊ बनाई चुक हाल्नु हाले
दुख्दैछ छाती मुटुनेरि बान्छु
कौडा पछारी वनवास जान्छु ।

मागेर खाने अति धेर भाछन्
बाँडेर खाने कति थोर भाछन्
यस्मै छ बेमेल् अति रोष ठान्छु
कौडा पछारी वनवास जान्छु ।

अल्छे र तीघ्रे अब न्याय खोज
आफू रमाई गर नित्य मोज
रक्सी, चुरोटै म त जे नि खान्छु
कौडा पछारी वनवास जान्छु ।

बोलेर के—के डर, त्रास देऊ
ए ज्यानमारा ! तब ज्यान लेऊ
आफैँ बसेरै जब दाउ हान्छु
कौडा पछारी वनवास जान्छु ।

मारेर कोही तर मर्छ भन्छौ
रोपे, सुकेको थुर सर्छ भन्छौ
बाँचे त साथी सय ठाउँ छान्छु
कौडा पछारी वनवास जान्छु ।
—ओखलढुङ्गा

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.