~हरि बहादुर भुजेल ‘विभास’~
कसरी अडेको छ पर्खाल
यति ठुलो ?
के मा जमेका् छ पर्खाल
यति साह्रो ?
कसरी खडा हुन्छ पर्खाल
र छुट्टाउछ सिमा
फुलमाया
पर्खालहरु छन् र छुटेको छ
हाम्रो अस्तित्व
पर्खालहरु छन् र गुमेको छ
हाम्रो स्वतन्त्रता
पर्खालहरुले रोकेका छन्
बाटाहरु
पर्खालहरुले छेकेका छन्
खोलाहरु ।
पर्खालहरु अडिक छन्
किनकी
फुलमाया हामी मौन छौ
पर्खालहरु निडर छन्
किनकी हामी कातर छौ ।
पर्खालहरुले स्वघोष गर्न लागिसके
हामी देवत्व हौ ।
पर्खालहरुले अस्तित्वले भ्रम छरी सक्यो
हामी प्राकृतिक हौ
फुलमाया,पर्खालहरु ढलाउन नखोजे
हामी ढल्छौ
पर्खालहरु नभत्किए
हामी दबिन्छौ ।
पर्खालहरु बनाइएका हुन
भत्काउन सकिन्छ ।
पर्खालहरु उठाइएका हुन्
होचाउन सकिन्छ
पर्खालहरुले तोकेको सिमा
हाम्रो स्वतन्त्रता होइन
भ्रममा नपर्नु फुलमाया
पर्खालहरु अजम्वरी हुन्
पर्खालहरु भत्काउन फुलमाया
तिमि उठ्नु पर्छ
पर्खालहरु तोड्न फुलमाया
तिमि जाग्नु पर्छ ।।
– पोखरा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)