~जीर्ण भागेदार~
प्रेमपत्र त कत्ति लेखियो–लेखियो तर लेखाइको कुनै लेखाजोखा छैन,
रुपैका राम्रा कत्ति भेटियो–भेटियो तर भेटाइको कुनै लेखाजोखा छैन,
वैँशमै दुनियाँ रङ्गीन लाग्छ, वैँश नै जीवनको रङ्गीन हुन्छ,
यौवनको प्यास कत्ति मेटियो–मेटियो तर मेटाइको कुनै लेखाजोखा छैन ।
घर तिम्रो टाढा पर्छ कि क्या हो ?
माया पो गाढा पर्छ कि क्या हो ?
भेटाउन खोज्दा तर्किन्छ्यौ किन,
बोल्न नि भाडा पर्छ कि क्या हो ?
आगो तापौंंला भनेको बेला के अर्थ हुन्छ नबलेपछि,
खाऊँलाभन्दा मानेर मीठो रोपेको वृक्ष नफलेपछि,
जे पनि राम्रो लाग्दिन्छ मलाई, तैपनि प्रशंसा गर्दिनँ तिम्रो,
तिमी राम्री भएर के भो हामीलाई काम नचलेपछि ।
पहिले पहिले ढल्केर हेरियो,
नहेर्नु हेरेपछि सल्केर हेरियो,
हेराइको मज्जा तब पो आयो,
जबदेखि झन् पल्केर हेरियो ।
तिम्रो वैँशले ढल्नेहरुले, तिमीलाई मजाकै लागि छोलान्,
तिमी अरुसँगै मस्किँदै हिँड्दा, देख्नेहरु धकी–धकी रोलान्,
दुनियाँको अनौठो चाला देख्ता, मलाई त सधैँ यस्तो लाग्छ–
भगवान्ले मलाई नै भनेर, तिमीलाई बनाएका होलान् ।
—ओखलढुङ्गा