छन्द कविता : कल्पनाकी परी

~जीर्ण भागेदार~

छन्द : चौबोला

चिठ्ठी मात्रै लेखेको छु
भेटघाटै भा’को छैन ।
कस्ती होली थाहा छैन
फोटो पनि पा’को छैन ॥

देखेजस्तै लाग्दो रै’छ
नदेखे नि उसलाई त ।
छेउमै भएजस्तो हुन्छ
नभेटे नि उसलाई त ॥

मेरा आँखा झिम्झिमाउँछन्
अनि उल्टोपाल्टो देख्छु।
मेरा हातै लर्खराउँछन्
आँसु झार्दै चिठी लेख्छु ॥

देउरालीमा बोलाउँथेँ
विपनीमा आउने भए।
भेट्ने साथै ‘मोरी’ भन्थेँ
सपनीमा पाउने भए ॥

कहिलेकाहीँ यस्तो लाग्छ
माया गर्छु भनिदिऊँ कि ।
एउटा जीवन अर्पिएर
सधैँ प्रेमी बनिदिऊँ कि ॥

हेर्दाहेर्दै माया लाग्यो
नपत्याउँदो जादु गरी ।
कस्ती राम्री, दामी होली
कल्पनाकी मेरी परी ॥

—ओखलढुङ्गा

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.