कविता : अपिल

~डा. जीवेन्द्रदेव गिरी~

साथीहरू, दरा खुट्टा टेक्नोस्
गन्तव्यतिर पाइला उचाल्नोस्
ससाना कुण्ठालाई डँढेलो लगाउनोस्
आफ्नै ‘म’का विरुद्ध जाइ लाग्नोस्
स्वार्थी खेलका पुलिन्दा तयार गर्ने
र द्वेष क्लेशका ब्याड बनाउनेलाई
भस्म पार्नोस् ! भस्म पार्नोस् !

असङ्ख्य जनताका तिखा नजर
तपाईंहरुमाथि लक्षित छन्
करोडौँ जनका भरोसाहरू
तपाईंहरूमै केन्द्रित छन्
परस्पर हात समाउनोस् दरो गरी
छाती मिलाउनोस् मन मिल्ने गरी
गला मिलाउनोस्
कमरेडली भावनाको लहर चलाउनोस् ।

व्यक्तिवादी तुच्छ स्वार्थलाई
नजिकै पर्न नदिनोस्
उपभोक्तावादका पछि लागेर
भोगविलासलाई निम्ता नगर्नोस्
सुविधामुखी पदलाई शिरमा चढाई
सेवामूलक जिम्मेवारीको
हुर्मत नलिनोस् ।

सिद्धान्त उही विचार उही
कचकच र घोचपेचमा
समय खेर फाल्ने किन ?
म ठुलो र तँ सानोको
रडाको र बकबक चलाउने किन ?
आजित नपार्नोस् जनतालाई
नाङ्गो नाच देखाएर
युग सारै निर्मम हुन्छ
वेलैमा होस नपुर् याए
सिङ्गै समाज धुरुधुरु रुन्छ ।

लाग्दैन तपाईँलाई ?
बनोस् जीवन अनुकरणीय
पछि पछिसम्मलाई
काला जँघार मान्छे तरुन्
हेरेर तपाईंको जीवनलाई
विलीन हुन नपरोस् माटामा
तपाईंको बर्सौँको त्याग र समर्पणलाई ।

समय कठिन छ, थाह छ
त्यसैमा कोरोना कहरको चीत्कार छ
समाज अलल्लिन सक्छ, निसासिन सक्छ
त्यसैले एक अर्काको खुट्टा तानेर
बहादुरी देखाउने वेला यो होइन
एक अर्कालाई खुच्चिङ गर्दै
काखी बजाउने छुट कसैलाई छैन
परस्पर हातेमालोका लहरमा जोडिएर
सङ्कट मोचन गर्दै
अगि बढ्नुको विकल्प छैन ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.