कविता : हे सुन्दरी !

~शम्भुप्रसाद ढुङ्गेल~

तिमी असल प्रेमकी चिज भयेर ऐले प्रिये ।
मलाइ यसरी यहाँ विपत प्रेमले नै दिये ।
कसो भनुँ कसो गरुँ नभनुँ के नबोलूँ यहाँ
अभागि मसरी अरु अब हुनेछ को लोकमहाँ ।।१।।

तिमीसित छ प्रेमको कमल पुष्प खुस्बू दिने
भमर् घुमि घुमी तहाँ सरसलाई हर्दम लिने ।
गजब् छ तर त्यो कली मसँग नक्कली भै अती
दिदैंन किन हो हरे ! रस भरेर प्रीती रती ।।२।।

भनूँ कसरि निर्दयी नलिनु याद मेरो भनी
डुलें सरस खोज् गरी हरबखत् म प्रेमी बनी ।
तिमी हृदयभित्र प्रेम् लिइ लुकाइ राख्ने हरे
म खोलि गरि प्रेमको यसरि हा ! अनाहक् मरें ।।३।।

दिनू छ भन सुन्दरी ! अब अमोलको प्रेम कहाँ
म लायक ह्वैन की लिन अमोल प्रेमको यहाँ ।
चटक्क चुँडि प्रेम यो अब नमार टाढा गरी
लिनेछु पछितक् पनी झलक त्यै म हे सुन्दरी ! ।।४।।

००००

आशुकवि शम्भुप्रसाद ढुङ्गेल (विक्रम सम्वत(१९४६-१९८६)

१९७५ सालतिर छापिएर अत्यन्त लोकप्रिय भै शासकहरूको आँखामा चढेको र प्रतिबन्धित भएको पुस्तक थियो श्यामजीप्रसाद अर्ज्यालले प्रकाशित गरेको श्रृङ्गार रसको पुस्तक ‘सूक्तिसिन्धु’ ।

(स्रोत : कमल दीक्षितद्वारा सम्पादित जगदम्बा प्रकाशनद्वारा २०२४ सालमा प्रकाशित पुस्तक “सूक्तिसिन्धु-फेरि” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.