कविता : नबिर्सनू एउटा कुरा !

~कृष्ण बाउसे~

बाटोमा काँडा नलगाउनू
मूल ढोकामा आग्लो नकस्नू
पर्खाललाई नअग्ल्याउनू
बरू
खाँवाहरू भत्काएर दलिनहरू निकाल्नू
काँटीहरू उखेलेर छानो फुकाल्नू
ईटा– ईटा निकाल्नू ।
त्यसपछि
यहाँका हरेक चिजलाई

तिमीले बराबरी बाँडेर लिनू ।

चटक्क परेका स–साना घरहरू
तिमीहरू सबैले उभ्याउनू ।

तिमी
यहाँको चपरी–चपरीका भागिदार हौ
त्यसैले
यहाँको धर्तीलाई मात्र होइन
सिङ्गो आकाशलाई समेत
तिमीले बराबर बाँडेर लिनू ।
तर
आकास ओढ्दा होस वा धर्ती टेक्दा
तिमी कसैले पनि
नबिर्सनु एउटा कुरा

तिमीले पाएका सबै कुराहरू
नासोमा पाएका हौ भन्ने कुरा
र एक दिन
धराको नासो
धरालाईनै फर्काउनुछ भन्ने कुरा ।
धराको नासो
धरालाई नै बुझाउनुछ भन्ने कुरा ।

-कृष्ण बाउसे
-सुनसरी, हालः काठमाडौँ

(स्रोत : संसार न्युज डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.