~प्रस्तुती : शरद प्रधान
सुश्री पारिजात नेपाली साहित्यिक वाङ्मयको निम्ति कुनै नौलो व्यक्तित्व होइन । विगत तीन दशकदेखि अनवरत साहित्य सेवा गर्दै आउने सृजनशील जिजीविषाको नाम हो, पारिजात । जीवन र मृत्युको दोसाँधमा उभिएर संघर्षरत भई जीवनका विभिन्न पक्षलाई अवलोकन गरी सचित्र सजीव रुपमा प्रस्तुत गर्नु पारिजातको विशेषता हो । २०२३ सालमा ‘शिरिषको फूल’ लेखेबापत मदन पुरस्कार प्राप्त गर्नुहुने पारिजात एक दर्जन जति उपन्यास, आधा दर्जन जति कथा संग्रह, दुई वटा आत्मकथा, दुई वटा कविता संग्रहका स्रष्टा हुनुहुन्छ ।
विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुनुभएको पारिजात मानव अधिकार संगठनको उपाध्यक्ष र बन्दी सहयोग नियोगको अध्यक्ष हुनुहुन्छ । अचेल सामाजिक कार्यमा बढी व्यस्त हुनुहुने पारिजात समय समयमा लेखनमा पनि क्रियाशील हुनुहुन्छ । प्रस्तुत अन्तरवार्ता दार्जिलिङबाट प्रकाशित हुने ‘दैनिक हिमचुली’मा २०३९ मा छापिएको थियो । अहिले पनि उत्तिकै समसामयिक हुने देखिएकाले यो अन्तरवार्ता अनुमतिका साथ यहाँ प्रस्तुत गरिएको छ ।
के तपाईंले कुनै कविता, कथा वा उपन्यास लेख्दा वाद, दर्शन वा सिद्धान्तलाई मध्यनजर राखेर लेख्नुहुन्छ वा पछि समालोचक आलोचकहरुले झुण्ड्याइदिन्छन् ?
कतैकतै त समालोचकहरुले आफ्नो पाराको वाद झुण्ड्याइदिएर कृतिहरुको मूल्याङ्कन गरिदिने गर्छन् । यो परिपाटी राम्रो होइन तथापि वाद वा दर्शनलाई मध्यनजर नराखी लेख्दै पनि कृतिहरु वाद वा दर्शनभन्दा पर भाग्न सक्तैनन् । मानव समाज र जनभावनाप्रति शतप्रतिशत इमानदार भएर कोही कलम चलाउँछन् भने यस्ता कृतिहरुमा जनताको दर्शनले प्रवेश गरेको हुन्छ तर वाद लेख्छु भने साहित्य लेख्न थालेपछि त्यो साहित्य साहित्य रहँदैन । विश्वप्रसिद्ध प्रगतिशील समालोचक राल्फ फक्सको भनाइमा ‘यस्तो साहित्य उत्ताउलो साहित्य, उत्ताउलो राजनीति र नैतिक उपदेशले भरिएको हुन्छ ।’ लेखकहरुले वास्तविकताहरुको सहज र यथार्थ चित्रण गर्न डराउनु हुन्न । अचेल मेरो लेखन पद्धतिमा प्रगतिवादी राजनैतिक चित्रणको एउटा अति सूक्ष्म आँकुरा रहेको हुन्छ, बस् यत्ति हो ।
तपाईं प्रगतिशील लेखिका त हुनुहुन्छ तर पनि जातिवादलाई विशेषता दिनुको मूल कारण के हो ?
दार्जिलिङमा मैले प्रगतिशील चिन्तन प्रणालीलाई लिएर निकै भ्रमहरु फैलिएको देखेँ । त्यहाँका बुद्धिजीवीहरु अध्ययनप्रति उदासिन छन् क्यारे । प्रगतिशील चिन्तनले कुनै पनि अविकसित तथा दलित जातिको राजनैतिक, सामाजिक र सांस्कृतिक अवस्थाप्रति आँखा चिम्लेको हुनुहुँदैन वा प्रगतिशील राजनैतिक कार्यक्रमभित्र यस्ता जातिहरुको सर्वाङ्गीण विकासको कार्यक्रम अटाइएको हुनुपर्छ । प्रगतिशील पक्षले पिछडिएका जातिहरुको राजनीतिक, सामाजिक, भाषागत तथा सांस्कृतिक उत्थानका निम्ति लाग्नुपर्छ, सचेत केमा रहनुपर्छ भने वर्गीय अडान नटुटोस् । उक्त सबै कार्यक्रमहरु तय गर्दा वर्गीय आधारलाई गौण भने एकदमै मान्नु हुन्न ।
विगत धेरै वर्षपूर्व ‘मुकुट’ पत्रिकामा प्रकाशित तपाईंका एउटा स्तरीय कविता ‘जीवन एक बेवारिस मृत्युको मुचुल्का’मा तपाईंले आफ्नो भावना व्यक्त गर्नुभएको छ– ‘एउटा लाससम्म नअटाउने एक चोक्टा ढिस्कोको निम्ति मलाई मर्नुछैन, माटोको निम्ति ।’ के यथार्थमा तपाईंलाई स्वदेश यस्तै लाग्छ ?
यो कविता मैले जीवनको अनि विसंगत पक्ष भोगिरहेको बेला र विसंगत मनस्थितिको चपेटामा परेर लेखेकी हुँ । आफ्नो विगत भ्रमणपूर्ण विचारहरुको निम्ति म तपाईंहरुसमक्ष आत्मालोचना गर्छु ।
तपाईं कुन कुन विस्तरीय साहित्यकारहरुबाट प्रभावित हुनुहुन्छ ? अनि कुन कुन नेपाली साहित्यकारहरुबाट ?
एउटा एउटा कृतिहरुलाई लिएर म विश्वस्तरीय धेरै साहित्यकारहरुसँग प्रभावित छु, जस्तै एमिली ब्रोन्टे, हावर्ड फास्ट, भिक्टर ह्युगो, मोराभिया, एमिल जोला, दोस्तावस्की, गोर्की, ओब्रोस्की, याङ मो, लु सुन, आइन राइन्ड, एलेक्स हेली, प्रेमचन्द, मुल्कराज आनन्द, विभूति भूषण बन्धोपाध्याय आदि । नेपाली साहित्यकारमा भने यस्तो लेखक उभ्याइसकेको छैन ।
भारतेली नेपाली साहित्य र नेपालको नेपाली साहित्यमा तपाईं केही पृथकता पाउनुहुन्छ ?
खास पृथकता केही पाउँदिनँ । जातीयता, संस्कृति, भाष र भोगिरहेका दैनिक समस्याहरु सबै एकै छन् । प्रतिभासम्पन्न लेखकहरु दुवै तिर छन् । भाषामा स्थानीयताको भने केही फरक अवश्य छ ।
बहुचर्चित अत्याधुनिक आयामेली भेलमा बगेर आउने कवि र कथाकारहरुलाई तपार्यं कुन दृष्टिले हेर्नुहुन्छ ? के यो आयामेली भेल नेपाली साहित्यमा बग्दैछ ? तेस्रो आयामेली आन्दोलन आरम्भमा गतिशील थियो, कालान्तरमा सेलाउँदै गयो, के आयामिक त्रिमूर्तिको समाप्तिपछि यसले नयाँ भाका लिने हो या स्थगित हुने हो ? यस विषयमा तपाईंका अभिव्यक्तिहरु सुन्न सक्छौँ कि ?
आयामेली भेलमा बगेर आउने धेरै कवि कथाहरुलाई त म साहित्यकार नै मान्दिनँ । अर्थहीन कुरा लेख्छन्, ढोंग गर्छन् । तर केही कविहरु यस्ता पनि देखेँ जो आफ्नै प्रतिभाको भरमा उठेका छन् र उठ्न सक्छन् पनि तथापि आफ्नै व्यक्तित्व परिचयको निम्ति उनीहरु आयामेली दादाहरुको छत्रछायाँ खोजेर हिँड्छन् । अनौठा लाग्छ । उदाहरणको निम्ति नेपालको युवा पिँढीका कवि विमल कोइराला र मीनबहादुर विष्टले ईश्वर बल्लभलाई भेटवार्ता दिएर यही गल्ती गरेका छन् जबकि यी दुवै कवि ईश्वर बल्लभभन्दा कुनै पनि अर्थमा सशक्त र आधुनिक कवि हुन् । प्रतिभा परिचयको निम्ति उनीहरुलाई आफ्नै कलम पर्याप्त छ । यही स्तरको कवि कृष्ण भूषण बलले भने त्यो गल्ती गर्नुभएन । त्यस्तो आयामेली भेल यद्यपि नेपाली साहित्यमा बग्दैछ भन्न म एकदमै तयार छैन । यी त्रिमूर्तिहरुको सामयिक मृत्यु भइसकेको कुरा तपाईंलाई थाहा छैन ? यसैले कुनै खतरा अब छैन ।
‘सिम्मा’ नाटक दार्जिलिङमा मञ्चित गर्नुको अभिप्राय के हो ? यस विषयमा हामी जान्न सक्छौँ ?
‘सिम्मा’ नाटकले नेपालीको प्रमुख राष्ट्रिय समस्या र त्यसको समाधानको प्रतिनिधित्व गर्छ साथै लाहुरमा गएर लड्ने मर्ने समस्या दार्जिलिङका नेपालीहरु नेपालको राष्ट्रिय समस्याहरुको नैतिक समर्थन र जातिगत सहानुभूति चाहन्छौँ । यही नै ‘सिम्मा’ मञ्चनको सर्वोपरि उद्देश्य हो ।
दार्जिलिङमा कुन कुन कवि, कथाकार तथा उपन्यासकारहरुलाई तपाईं महत्व दिन चाहनुहुन्छ ?
उपन्यास क्षेत्रमा असित राई र पीटर जे. कार्थक राम्रो लाग्छ । वैचारिक मतभेद भए तापनि शैली पक्षलाई लिएर आइबी राईका कथाहरु मन पराउँछु । गुप्त प्रधानलाई सशक्त कथाकारको रुपमा मान्दछु । यसबाहेक पनि केही प्रभावशाली कथाकारहरु पाएकी छु तर मलाई यहाँ नाम भन्न आएन । काठमाडौँको घरमा केही पत्रिकाहरु पुर्याएकी छु । अब त्यहीँ पुगेपछि मात्र थाहा लाग्छ, उनीहरुसँग सम्पर्क राख्न इच्छुक छु । कवितामा भने युवा कवि नोरजांग स्याङदेनबाट ज्यादै प्रभावित छु ।
विदेसिएका नेपाली लाहुरे मात्र हुँदैन होला दिदी, कृपयाको यसको विस्तृतीकरण दिनुहुन्छ कि ?
यहाँ मलाई ‘सिम्मा’को एउटा गीत दोहो-याउन मन लाग्यो-
होटलमा छन् कि दरबानमा छन् कि घर फर्क भनिदेऊ
छाउनीमा छन् कि खानीमा छन् घर फर्क भनिदेऊ
यसबाहेक कोही भाँडावाल तथा खेतीवाल र मजदुरहरु पनि धेरै छन् ।
‘शिरिषको फूल’ देखि ‘अनिदो पहाडसँग’ सम्म आइपुग्दा तपाईंलाई कुन चाहिँ उत्कृष्ट या हृदयग्राही लाग्छ ?
म आफैँले यो उत्कृष्ट छ भन्ने ठम्याउन सक्तिनँ । यो त पाठक प्रतिक्रियामा आएको राम्रो पक्षको मूल्याङ्कनपछि मात्र थाहा लाग्छ ।
(‘दैनिक हिमचुली’मा २०३९ मा प्रथम पटक छापिएको यो अन्तरवार्ता पछि शरद प्रधानद्वारा प्रकाशित तथा सम्पादित साहित्यपत्रिका ‘आस्था’मा पुनः प्रकाशित भएको थियो । ‘आस्था’बाट यहाँ पुनः प्रकाशित गरिएको हो । सं.)