~डा.कवितारम श्रेष्ठ~
तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले आफ्ना अमर कृति मेरो प्यारो ओखलढुंगा नामक कवितामा कैद गरेका थिए ।
तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षस्थलमा
यो कविको शैसवकाल वित्यो
हाँस्यो खेल्यो वनकुन्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा
-सिद्धिचरण श्रेष्ठ
मलाई यतिखेर अनुभूत भयो युगकवि सिद्धिचरणले त्यो कविता कविता भनेर लेखेका थिएनन् । अर्थात जन्मभूमीको भार तिर्नकै लागि मात्र उनले प्रशस्ति लेखेका थिएनन् । जसरी आफ्नो जन्म र शैशवकालको थलोको एकै झलकले मभित्रको शैशवकालीन आशक्ति बोल्यो त्यसरी नै उनको मानसपटलमा अंकित आफ्नो जन्म र शैशवकालको थलोको परिदृष्यले उनी भित्रको शैशवकालीन आशक्ति बोलेको थियो – मेरो प्यारो ओखलढुंगा !
जब म पहिलोपल्ट २५ वर्षको अन्तरालमा जहाजको झ्यालबाट समग्र ओखलढुंगाको दृष्य हेर्दै थिएं मेरो अन्तस्करणले भावावेशमा भनिरहेको थियो मेरो – प्यारो ओखलढुंगा । मान्नोस् यी शव्दहरु युगकविका कविताबाट मैले उधारो लिइरहेको थिइन । मेरा आफ्नै अन्तस्करणको बोली थियो त्यो । त्यो त्यतिकै मौलिक थियो जति कविज्यूको थियो – मेरो प्यारो ओखलढुंगा !
प्लेनबाट उत्रिएपछि मनैमनले एउटा नयाँ कविता गुनगुनायो ।
यो मेरो तातो धुकधुकी भन्छ l
गाउँमात्र आइनं
गाउँको काख अतितमा आएँ
त्यो पत्तै पाईन
त्यो पाखा पर्वत खोला र नाला
अतितलाई बोकेर
जहाँको तहीँ बसेको रैछ
यो ज्यानलाई पर्खेर
बालख कालको त्यो मेरो क्षितिज
त्यो सानो आकाश
झलझली आयो आँखाको सामु
सजिलो आभास
जिन्दगी भर के खोजें मैले
क्यै पत्तो पाइन
आमाको काख खोजेको रैछु
त्यो कहिल्यै जानिन
यो आसक्ति अतिसयोक्ति भयो कि म केही भन्न सक्तिन्न । तर कविता भनेर रचेपछि त्यसमा सायद केही अतिसयोक्ति हुन्छ नै । अतिसयोक्ति भएन भने भावनाको कुनाको आंकन नै कहाँ पुर् याएर गर्ने सायद अतिसयोक्ति नभए यो कोरा लेख मात्र हुन्छ । जे होस् मैले यसरी गिती-कविता बनाएं । अनि डीलमै बसेर त्यसलाई कागजमा पंक्तिबद्ध गरें ।
यसलाई अन्ततः मेरो माटोबोल्छ भन्ने गीति अलबममा मेरै नयाँपाराको कवितात्मक संगीत र मेरै स्वरमा कैद गरेको छु । अझ आफै मोडल बनेर दृष्यांक पनि गरी नेटिभिबाट प्रसारण पनि गरिएको थियो । मौका पारेर त्यो पनि यसै वेभसाइट देखाउने छु ।
जननी जन्मभूमीश्च स्वर्गादपि गरियसी : म एउटा भौतिकवादी मान्छे हुँ । आफ्ना इन्द्रियहरुले अनुभूत नगरिएका वा गर्न नसक्ने कुनैपनि वस्तु वा प्रघटनालाई म विश्वास गर्दिन । शास्त्रहरुले व्याख्या गरेका स्वर्गको अस्तित्वलाई आजसम्म मैले मानेको छैन । विज्ञानसम्मत वस्तुगत चेत पाएयता प्रमाणसिद्ध नभएको त्यस्तो काल्पनिक संसारको मोहमा म भुलेको छैन । तर जन्मभूमीलाई नै स्वर्ग भन्ने हो भने म त्यो भनाइप्रति नतमस्त छु ।
जहाँ मैले जन्मनेसाथ सासफेर्ने प्राणवायु पाएं जहाँ मैले आङभरीको भूमी पाएं जहाँको पानीले मेरो रक्त बन्यो जहाँको तापले मेरो शरीरमा जीवन संचार भयो जहाँको प्रकाशले मेरा आखाँलाई पहिलो दृष्य दियो जहाँको शव्दले मेरो कानलाई पहिलो गुन्जन दियो । जहाँ आफू हुनुको प्रथम अनुभूति ययो । जहाँबाट मेरो समाजिकरणको सुरुवात भयो जहाँबाट मैले समाजमा भूमिका निर्वाह गर्ने चेत पाएं जहाँ मेरो जसोतसो व्यक्तित्वको विकास भयो त्यो ठाउँ मेरोलागि स्वर्ग नभएर यस भूलोकमा कुन भूमी स्वर्ग होला
यतिखेर यो संस्कररण लेखिरहँदा मेरो रोमरोमले जन्मभूमीप्रति अथाह श्रद्धाका साथ कृतज्ञताका गीत गाइरहेछ – यो शरीर र प्राण दिने पाँचै तत्व यसै भूमीको रिणी छ । त्यस भूमीलाई मेरो सदासदाको नमस्कार !
जुन हावाले प्राण दियो त्यो हावालाई नमस्कार
जुन पानीले रगत दियो त्यो पानीलाई नमस्कार
जुन तापले उर्जा दियो त्यो तापलाई नमस्कार
जुन माटोले चोला दियो त्यो माटोलाई नमस्कार
जुन आकाशले ठाउँ दियो त्यो आकाशलाई नमस्कार
नमस्कार नमस्कार जन्भूमीलाई नमस्कार
निश्चयनै सवै जन्मथलो प्रेमीहरुको लागि कतै स्वर्ग छ भने यस भूगोलमा स्वर्ग जस्तो आदर्शभूमी भनेको जन्मथलो मात्र हुन सक्छ । र त्यसैले भनिएको होला -जननीजन्मभूमीश्च स्वर्गादपि गरियसी ।
कसोकसो म आध्यात्मिक हुँदैछु वस्तुगत चेतनाले सीर्जेका धर्मका आस्थावान आध्यात्मिक । मलाई यतिखेर लागिरहेछ ओखलढुंगाको त्यो जन्मथलो सम्झौं अभियान यो शताव्दी सुहाँदो एउटा आध्यात्मिक अभियान थियो एउटा महायज्ञ समान । त्यस अभियानको छुट्टै प्रकरण मैले लेखेर प्रकाशित पनि गरिसकेको छु । यहाँ त यो मातातीर्थ औँशीको महिमामा आशक्त भएर आमा ओखल्ढुंगको माटोको रिण तिर्ने हिसाबमा यसैका अनुसन्धानात्मक परिचय दिन गर्न गइरहेको छु ।
ओखलढुंगाको ओखलढुंगा र यसको आत्मकथा
ओखलढुंगा भन्ने नाम प्राकृतिक रुपले ओखलजस्तो परेको ढुंगाको नामबाट प्रथमतः सदरमुकामको गाउँको नाम रह्यो र पछि जिल्लाको नाम नै यही राखियो । त्यो ओखलजस्तो परेको ढुंगा अर्थात ओखलढुंगा यस जिल्लाको पूर्वकालदेखि नै औपचारिक स्मारक थियो । दशैंको पूलपाती याहाँ घुमाएर निशान भगवतीमा पुर् याउने परम्पराको सुमधुर सम्झना अझै ममा छ । त्यो निश्चय नै अझै निरन्तरित हुनुपर्छ । राजा महेन्द्रको ओखलढुंगा २०१३ सालमा सवारी हुँदा त्यस स्थानमा तामझामको सवारी चलाएको सम्झना मलाई अझै छ । जोसुकै पाहुना आउँदा पनि याहाँ औपचारिक भ्रमण हुन्छ भन्ने मलाई लाग्छ ।
हेर्दाको यो साधरण ढुंगा जसलाई ओखलजस्तो भनिएको छ साँच्चै भन्ने हो भने ओखलै जस्तो पनि छैन । बाहिरबाट कृतिम रुपमा ढुंगा र सिमेन्टको गाह्रोले यसलाई ओखलको रुप दिइएको छ त्यो वेग्लै कुरा हो । पहिले त यो त्यस्तो पनि थिएन । त्यही प्राकृतिक ढुंगा वरीपरी यसलाई हेर्नसम्म हुने गरी यसो चौतारा बनाएको मलाई सम्झना छ । युगौंदेख नै त्यसको त्यही रुप हुनुपथ्र्यो । पछि समाजसेवी दाजु मेघ बहादुरश्रेष्ठको सकृयतामा यसले बाहिरबाट ओखलको रुप पाएछ । जे होस् यो पूर्ववत रुपमा माथिबाट केही खाल्टो परेको छ र यसलाई काजी भिममल्लले पूर्वको राज्य विस्तारको सिलसिलामा यहाँ बास पर्न जाँदा धान चािहं पाइएको तर ढीकीओखल नपाइएको अवस्थामा ओखलको रुपमा प्रयोग गर्नपर्दा यसैको नामबाट ठाउँको नाम दिई स्मारक कायम गरेको भन्ने ऐतिहासिक जनश्रुति छ ।
यस्तो ढुंगामा कसरी धान कुटेर खाए होलान् भिममल्लले मेरो वालसुलभ सोच त्यतिवेलै आश्चर्य चकित हुने गथ्र्यो । अझ भन्ने नै हो भने ओखलढुंगामा धान पाइने कल्पना मेरो वालमस्तिष्कले सोच्नै सकेको थिएन । यो डाडाँ वरीपरी धान पाइंदैनथ्यो । हामी ओखलढुंगेहरुको मुख्य खाना नै त्यतिखेर मकै थियो । धानको भात सायद ठूलै हाकीम वा मै हुँ भन्ने धनाढ्यको घरमा मात्र पाक्थ्यो । हामी जस्ताहरुको घरमा त पाहुना आउँदा वा यदाकदा लहडमा पाक्ने बाहेक चाडपर्वहरुमा मात्र त्यो पकवान हुन्थ्यो । आज पो चामल अन्यत्रबाट ल्याएर धानको भात खाने चलन आएको छ ओखलढुंगामा ।
मेरो वालसुलभ सोचले सँधै सोच्ने गर्दथ्यो त्यो झण्डै कोशभरको स्थानमा रहेको धान पाइने ठाउँ बुङनाम वा लामिसोतिदेखि याहाँसम्म धान बोकॆर ल्याउनुको सट्टा त्यतै धान कुटाएर भात पनि उतै खान पाइक पथ्र्यो भीममल्ल र उनका फैाजहरुलाई । यदि काजीहरुको बास याहाँ थियो र धान टाढा गाउँतिर संकलन गरिएको थियो भने पनि त्यतै कुटाइवरी चामल नै याहाँ ल्याउन सजिलो पथ्र्यो । धान पाइने ठाउँहरुमा ढीकी ओखल हुँदाहुँदै यो वस्ति नै नभएको पाखामा किन भुससमेत बोकेर ल्याउँथ्यो त्यसकारण याहाँ धान बोकेर ल्याइएन बरु यतै पाउने मकै कुटेर च्याँख्ला बनाए र त्यसैका पकवान खाएको हुनुपर्छ भीममल्लहरुले ।
माथि मेरो वाल्यकालको सोचको वखान गरेको हुँ तथापि आज पनि मेरो सोच त्यही छ । त्यसो मात्र होइन अहिले त भीममल्ल नै ओखलढुंगा आए भन्ने कुराको पनि म खण्डन गर्दैछु ।
याहाँको पुरानो ठानालाई भीमलठाना भन्ने गरिएको छ । भीमलठानालाई भीममल्लको ठाना भन्ने अर्थसाथ कान्तिपुरका प्रतापि काजि भीममल्लले पूर्वपहाड विजय गरेर स्थापना गरेको एउटा प्रशासनिक इकाइ हो भन्ने सोच यसमा गाँसिएको छ । तर त्यस्ता कुनैपनि ऐतिहासिक अभिलेख यता प्राप्त छैन । भीममल्लले पूर्वमा दोलखासम्म जितेको भन्ने ऐतिहासिक प्रमाण त फेला पर्दछ तर त्यसपूर्व उनी आए भन्ने कुरा कतैबाट पुष्टी हुँदैन ।
भीममल्ल नरिसंहमल्लका साह्रै विश्वासी तथा प्रतापी र लोकपृय मन्त्री थिए । प्रतापमल्ल ने.सं. ७६१ मा राजा भएपछि उनले केरुङ र कुतीका आधै भागका साथै तिव्वत र लिम्वूवान जाने व्यापारमार्ग दोलखा सर गरेर देशको भूमी त बढाएबढाए आर्थिक हिसावले पनि धेरै सम्पन्न हुने बाटाहरु खुलाए । यस उपलव्धीले उनका बहादुरी र देशभक्तिपूर्ण गाथा राजालाई नै छायाँमा पार्ने गरी अकाशिएको थियो । झण्ढै दुइवर्ष पछि ने.सं. ७६३ वि.सं. १६९९ तिर उनी भोटको सीमा अवलोकन गर्न गएको वेलामा भक्तपुरे नरदेव मायािसंहले राजा प्रतापमल्ललाई भीममल्लले राज्य हत्याउने षडयन्त्र गर्दैछन् भनी चुक्ली लगाए । राजा भीममल्ललाई राजधानी फर्कनेसाथ मार्न तयार भए ।
(स्रोत : सिद्धिचरण शतबार्षिकी विशेष – ओखलढुङ्गा साहित्य”को ब्लगबाट सभार )