कविता : छेउबाट

~मनप्रसाद सुब्बा~

गाउँका मुखिया बूढा भन्थे-
हिँडे छेउ लाग्छ….

अरे ! यहीँ त बसेको छु म
शताब्दी शताब्दीको भुइँमुनि पैताला रोपेर
बसेको बसेकै बसिराखेकै छु
आमाको सालनालसितै
तर किन आज म छेउ लागिसकें हँ ?
कुन्नि कस-कसले हुत्याएर
ठेलेर डिलमै पुर्‍याइसक्यो मलाई
डिलमुन्तिर चैं छ मुख आँ गरिबसेको-
विलुप्तिको
ब्ल्याकहोल !

मुखिया बूढा भन्थे-
….बसे लेउ लाग्छ ।

खै ! कुन जालीको कर्तुतले हो
यो जीउमा लेउ लाग्नै दिँदैन
डार्विनले छामेको मेरो छेपारीको लेउ
ब्लिचिङ पाउडरले पिल्साएर
मलाई भर्खरै लडिझरेको ढुङ्गा हो भन्दै
रडाको मच्चाउँछ पर्चा ।

मेरी बोजू भन्थिन्-
छेउको सियो माझमा पुग्छ….

खै ! सिएको सिएकै सिएको सिएकै
तर अझै म छेउको छेउमै
माझ कुन मुलुकको नाम हो
थाह छैन ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.