~गोविन्द गिरी प्रेरणा~
दौलतविक्रम विष्ट नेपाली आख्यानका धरोहर हुन्, ध्रुवचन्द्र गौतमअघिको पुस्ताका। उनी आख्यानकै लागि जन्मेका थिए र जीवनभर आख्यानमै आफूलाई समर्पित गरे। उनको पहिलो उपन्यास ‘मञ्जरी’ प्रतियोगिताका लागि लेखिएको थियो र पुरस्कृत पनि भयो। त्यही उपन्यासले उनलाई उपन्यासकारको परिचय दिलायो। त्यसपछि ‘एक पालुवा अनेकौँ याम’ले उपन्यासकारको उचाइ बढायो। अनि ‘चपाइएका अनुहारहरू’ले शिखरमा चढायो।
सुरुमा त उनको कलम नाटकमा खुब चलेको थियो। उनी आफैँ मञ्चमा कलाकारका रूपमा उत्रेका थिए। महिला कलाकार रंगमञ्चमा पुग्ने अनुमति नभएकाले पुरुषहरू नै महिलाको भूमिका खेल्नुपर्ने जमानाका कलाकार थिए, उनी। उनले पनि महिला कलाकारका रूपमा रंगमञ्चमा अभिनय गरेका थिए।
पछि उनले कथा र उपन्यास समानान्तर लेख्दै गए। कथा र उपन्यास दुबैमा उनको उपस्थिति बलियो, जब्बर र पर्वत जस्तै भयो। अरु विधा भने उनको फाटफुटे लेखनमै सीमित रह्यो। रेडियो नेपालमा छँदा लेखिएका अनगन्ती रेडियो रूपक रेडियोको आवश्यकता पूर्तिका लागि मात्र थियो। त्यसैले न तिनको कुनै संरक्षण गरे, न सँगाले, न वास्ता नै गरे।
मैले यी महान् स्रष्टालाई पहिलोपल्ट बानेश्वरको उनकै निवासमा भेटेको थिएँ। त्यतिबेला म नेपाल कमर्स क्याम्पसमा व्यवस्थापनको विद्यार्थी थिएँ र साहित्यमा कलम चलाउन सुरु गरेको थिएँ। सडक कविता क्रान्तिमा भाग लिइसकेको थिएँ। साहित्यका कृतिहरू खोजीखोजी पढ्ने भइसकेको थिएँ। उनकै पनि ‘एक पालुवा अनेकौँ याम’ पढिसकेको थिएँ, ‘चपाइएका अनुहारहरू’ खारिसकेको थिएँ। ‘गालाको लाली’ स्पर्श गरिसकेको थिएँ। ‘मञ्जरी’ को खोजीमा थिएँ। ‘एक साँझ’ कथा खोज्दै थिएँ। उनको ‘एक साँझ’ कथा अश्लील भएको कारण देखाएर त्यो कथा प्रकाशित गर्ने पत्रिका नै प्रतिवन्धित भएको थियो।
सोमध्वज विष्ट र मानकुमारीका सुपुत्रका रूपमा दौलतविक्रम विष्ट विसं १९८३ असोजमा पूर्वी नेपालको भोजपुर जिल्लाको भोजपुर बजारमा जन्मेका थिए। आठ दाजुभाइमा दौलत जेठा थिए।
नेपाली आख्यानका अमूल्य दौलतको जीवनका नसुनिएका र नदेखिएका पाटाहरू यस संस्मरणमा छन्।
दौलतले विसं १९९३ देखि नै कलम चलाउन थालेका थिए। उनी करुण रसका कविता लेख्थे। तर प्रकाशनका लागि भने उनले विसं २००४ सालसम्म कुर्नुपर्यो। उनको ‘आँखा’ शीर्षकको कविता कृष्णचन्द्रसिंह प्रधानको सम्पादनमा निस्कने ‘आँखा’ पत्रिकामा प्रकाशित भएको थियो। त्यस्तै उनको पहिलो कथा ‘ऊ गयो’
गोविन्दबहादुर मल्ल गोठालेको सम्पादनमा निस्किने ऐतिहासिक पत्रिका ‘शारदा’मा प्रकाशित भएको थियो।
उनले आफ्ना मित्र सीताराम कायस्थले गद्य लेखेको देखेर म पनि लेख्न सक्छु भनेर हिम्मत गरेर कथामा कलम चलाएका थिए र श्यामदास वैष्णवले कविताभन्दा कथा अब्बल रहेको भनेपछि दौलत कथा विधामा केन्द्रित भएका थिए।
विसं २००८ सालमा नेपाली भाषा प्रकाशिनी समितिले उपन्यास प्रतियोगिताको आयोजना गर्यो। यसका लागि दौलतविक्रम विष्टले ५०० पेजको हस्तलिखित उपन्यासको पाण्डुलिपि बुझाए, ‘मञ्जरी’। खुसीको खबर आयो पछि, उनको उपन्यास पुरस्कृत भएको जानकारी उनलाई प्राप्त भो। उपन्यास प्रकाशित हुने पनि खबर प्राप्त भो र उनी प्रतीक्षामा बसे। तर न उनले पुरस्कारको रकम नै प्राप्त गरे, न पुस्तक नै छापियो। बरु २०१५ सालमा अर्थात् ७ वर्षपछि पाण्डुलिपि फिर्ता पाए। त्यो पाण्डुलिपि फिर्ता लिन नेपाली भाषा प्रकाशिनी समितिका पुष्कर शम्शेरले ‘म पुरस्कारको दाबी गर्नेछैन, हूलहूज्जत गर्नेछैन’ भनी कागज गराएका थिए। पहिलो उपन्यास, त्यसमाथि पुरस्कृत कृतिले नराम्रो हण्डर खाएको थियो।
कवि माधव घिमिरे नेपाल-भारत मैत्री संघका अध्यक्ष थिए। उनको प्रयास र सद्भावनाले नेपाल-भारत मैत्री संघले उनको त्यो उपन्यास प्रकाशित गर्यो। पुस्तक प्रकाशित भएपछि उनले लेखकस्वबापत पुस्तक नै पाएका थिए। ती पुस्तक उनले केही भारतीय दूतावासलाई नै बेचे भने केही साथीभाइलाई बाँडेका थिए। यसरी ‘मञ्जरी’ले पाठकको हातमा आउन झन्डै एक दशकको अवधि कुर्नुपर्यो। यो उनको पहिलो प्रकाशित पुस्तक थियो। तर यो उपन्यास प्रकाशित भएपछि उनको उपन्यास लेख्ने इच्छा अरु तीव्र भयो र लेखे ‘एक पालुवा अनेकौँ याम’ जुन उपन्यास उनको निजी जीवनको नजिकको थियो भनेर उनका समकालीनहरूको मत थियो। उनले आफैँले त्यो उपन्यासका घटना र पात्र ७५ प्रतिशत सत्य भएको र २५ प्रतिशत मात्र कल्पना भएको मलाई एक अन्तरवार्तामा बताएका थिए। यो उपन्यासले नेपाली समाजको यौटा पाटो राम्रोसँग केलाउन सफल भएको थियो।
तर २०३० सालमा प्रकाशित ‘चपाइएका अनुहार’ले दौलतलाई उपन्यासकारहरूको भीडबाट टाकुरोमा पुर्याइदियो। कारण, यो उपन्यासले मदन पुरस्कार पाउँछ भन्ने काठमाडौँको साहित्यिक वृत्तमा व्यापक र तातो चर्चा चलेको थियो। तर त्यसै साल निस्केको डायमनशमशेर राणाको ‘सेतो बाघ’ पनि प्रबल दाबेदारका रूपमा चर्चामा छायो। पाठकहरू, अध्येताहरू, विद्वान्हरू र आम उत्सुकहरू अब कुन पुस्तकले मदन पुरस्कार पाउला भनी व्यग्रतापूर्वक प्रतीक्षामा रहे। दिन बित्दै गयो। उत्सुकता चुलिँदै गयो। तर मदन पुरस्कारको घोषणा भने अनौठो भयो। यस वर्ष पुरस्कारका लागि योग्य कृति नभएकाले पुरस्कार कसैलाई नदिइने भएको व्यहोराको सूचना थियो।
यो अनपेक्षित थियो, साहित्यिक जग्तका लागि। अनि दुई थरी चर्चाले ठाउँ पाए। एउटा, डायमनशम्शेर राणाको पक्षमा र अर्को दौलतविक्रम विष्टको पक्षमा। कोही भन्थे, पुरस्कार चयन समितिमा डा.तारानाथ शर्मा र कमल दीक्षितबीच मतान्तर भएकाले पुरस्कार कसैलाई दिइएन। कमल दीक्षित डायमनशम्शेर राणाको पक्षमा थिए र तारानाथ शर्मा दौलतविक्रम विष्टको पक्षमा। दुबै आआफ्नो अडानमा भएकोले कसैले पुरस्कार पाएनन्।
यस विषयमा कमल दीक्षितको भनाई थियो, ‘कति कुरा सत्य हो भने, मलाई ‘सेतो बाघ’ मन परेको हो र त्यसले पुरस्कार पाओस् भन्ने मेरो भित्री इच्छा पनि थियो। तर म सदस्य सचिव, मैले बोल्ने इजाजत नै थिएन। सारै दिग्गज दिग्गज व्यक्तिहरू थिए बोर्डमा, मैले मान्ने, मान्नुपर्ने विद्वान्हरू थिए। मैले सम्झेसम्म त्यहाँ सबैभन्दा ‘कान्छा’ सदस्य भन्नु तारानाथ नै थिए कि ?’
मुख्यतः अहिले भन्दा ‘राजावादी’ विद्वान्हरूले यो किताब सरकार विरोधी छ भनेर कुरा उठाएपछि त्यहाँ भएका अरु दिग्गजहरू चुपचाप भए। परीक्षकले ‘पुरस्कारयोग्य’ भनेर सिफारिस गरेको भए पनि ‘सेतो बाघ’ अस्वीकृत भयो। अनि अर्को कुनै किताब सिफारिस नै नभएर आएकाले त्यस वर्ष कुनै ग्रन्थ पुरस्कृत भएनन्।
‘चपाइएका अनुहार’को पृष्ठभूमि विदेशी भएकाले यो पुस्तकको मौलिकतामाथि पनि एकाधले प्रश्न उठाएका थिए। विदेशी पृष्ठभूमि र विदेशी पात्र भएकाले यो प्रश्न उठेको थियो। दौलतलाई यो उपन्यास लेख्न वानेश्वर, मीनभवनको उनको घरबाट नजिक ब्यारेकमा हुने सेनाको तालिमले उक्साएको थियो। सुन्धाराको सैनिक स्कूलमा भएका उनका नातेदारले उनलाई त्यहाँ पनि लाने गर्थे।
यसले पनि उनलाई प्रेरित गरेको थियो। फेरि आनन्द थापाले नेफा क्षेत्रमा जाँदा एउटा प्याट्रोलिङ गर्ने दलले लखेटेको र भाग्दै जाँदा रातो कमिलाको गोलो नै आफ्नो जीउमा खसेर फुटेको तर हलचल नगरी बसेपछि मुर्दा सम्झेर दुश्मन सेना फर्की गएको तर पछि सहनै गाह्रो पर्ने गरी जीउ चिलाएको घटना उनलाई सुनाएका थिए। त्यो घटना नै उनका लागि ‘चपाइएका अनुहार’ लेख्ने प्रेरणास्रोत बन्यो। यो दृश्य ‘चपाइएका अनुहारको’ महत्वपूर्ण अंश हो। दोस्रो विश्वयुद्धमा भाग लिएको निशान भन्ने व्यक्ति जो इटालीको लडाइँमा परेका थिए, उनबाट पनि युद्धका कथाहरू उनले सुनेका थिए। त्यसमाथि उनी आफैँले रेन्जर फरेस्ट्रीको तालिम लिएकाले पनि त्यो उपन्यास लेख्न उनलाई सहज भएको थियो।
२०३० सालमा मदन पुरस्कारको त्यसरी हल्ला चले पनि, विवादका कुरा चर्चा चले पनि २०४५ सालमा उनले ‘ज्योति ज्योति महाज्योति’का लागि मदन पुरस्कार पाए। त्यसो त उनले पछि उपन्यास लेखनमा योगदान पुर्याएबापत ‘गंगी बसुन्धरा’ पुरस्कार पनि पाए। पुरस्कारको अध्यक्षमा परशु प्रधान थिए। उनले दौलतविक्रम विष्टलाई पुरस्कृत गर्नुपर्छ भन्ने सोच राखे। साथीभाइमा कुरा राखे। सबैबाट सकारात्मक प्रतिक्रिया आयो र एक प्रकारले हल्लै चल्यो, दौलतविक्रम विष्टले गंकी वसुन्धरा पुरस्कार पाउँछन् भन्ने। तर बैठक बसेको थिएन। निर्णय भएकै थिएन। तर जीवित उपन्यासकारमा दौलत नै एक्ला वरिष्ठ धरोहर थिए। गंकी वसुन्धरा पुरस्कारका संस्थापक धूस्वाँ सायमिको गाइबाछा पाटीस्थित निवासमा बैठक बस्यो। बैठकको सुरुमै धूस्वाँले आफ्नो कुरा राख्दै भने, ‘यस वर्षको पुरस्कार म डा. ध्रुवचन्द्र गौतमलाई दिन चाहन्छु।’
धूस्वाँको प्रस्तावले बैठकमा सन्नाटा छायो। परशु प्रधान यो अनपेक्षित प्रस्तावले रातो पीरो भए। उनले दौलतलाई पुरस्कार पक्का छ भन्ने वचन पनि दिइसकेका थिए। हुन पनि दौलत सिनियर थिए। पुरस्कार लायक थिए। तर दाताको इच्छा यस्तै छ भने के गर्ने त ठीक छ भन्नेहरू निस्किए। कतिपयले मौन सम्मति जनाए। परशुले यसको विपक्षमा मत जाहेर गरे। आफू अध्यक्ष भएको के अर्थ भन्ने पनि लाग्यो उनलाई। तर चित्त नबुझे राजीनामा दिन परोक्ष सुझाव आएपछि परशुको पनि बोली बन्द भयो।
केही पछि परशु प्रधानले गंकी बसुन्धरा प्रतिष्ठानबाट राजीनामा दिए र उनको ठाउँमा गंकी बसुन्धरा पुरस्कार विजेता डा. ध्रुवचन्द्र गौतम पुगे अध्यक्षका रूपमा। अन्ततः डा. ध्रुवचन्द्र गौतमको अध्यक्षताको पहिलो वर्ष दौलतविक्रम विष्टलाई गंकी बसुन्धरा पुरस्कार दिइने निर्णय भयो। अनि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा औपचारिक समारोहको आयोजना गरेर उनलाई पुरस्कार हस्तान्तरण गरियो।
दौलतको अन्तिम उपन्यास ‘फाँसीको फन्दामा’ हो, तर यो चाहिँ उनको सर्वाधिक कम चर्चा भएको उपन्यास हो।
दौलत आफ्नी श्रीमतीको देहान्त भएपछि एक्लिएका थिए। आफू बस्ने घरमा छोरा बुहारीहरू थिए नै। तर उनी वानेश्वरमै छोरीको घरमा बस्न थालेका थिए।
यसैबीच एउटा अनपेक्षित घटना भयो, जसमा म र दौलत जोडियौँ।
गीता केशरीको अग्रसरतामा ‘रामराज पन्त पुरस्कार’को स्थापना गरिएको रहेछ। त्यो आख्यान र विशेष उपन्यास विधामा लेख्ने नयाँ पुस्ताबाट सुरु गर्ने भन्ने चर्चा चलेको रहेछ। मलाई एक दिन परशु प्रधानले सोधे, ‘रामराज पन्त पुरस्कार पहिलो वर्ष तपाईंलाई दिएर सुरु गर्ने हामीले विचार गरेको, स्वीकार्नुहुन्छ ?’
मैले नाइँ भन्ने कुरै थिएन। परशु प्रधानले यस वर्षको पुरस्कार गोविन्द गिरी प्रेरणालाई दिने विचार गरेको कसो होला भनेर धेरैसँग कुरा राखेका रहेछन्। काठमाडौँ खाल्डो कति नै ठूलो हो र त्यही पनि साहित्यिक वृत्त। हल्ला मज्जाले चल्यो र मलाई अग्रिम बधाइ आउन थाले। निर्णय गर्ने दिन पनि परशुले फोनमा ‘आज निर्णय हुँदै छ, मेरो फोन पर्खनु होला’ भने। तर फोन आएन। राती मैले गर्दा पनि फोनमा उनलाई भेटिनँ। भोलिपल्ट त ‘रामराज पन्त पुरस्कार सुस्मिता नेपाललाई’ भन्ने समाचार छापियो। म त जोक्कर भएछु। तर एकदिन परशुले बोलाएर भने, ‘सुस्मिताले दौलतको बारेमा थेसिस लेख्दै रहिछन्, बूढाले सुस्मितालाई दिनुपर्छ भनेर अड्डी लिए, मेरो क्यै लागेन।’
मलाई भने लाग्यो, परशुले आफू जोगिन दौलतलाई यो आरोप लगाएका हुन्। यो घटनापछि पनि दुवैप्रति मेरो सम्मान त घटेन। तर कताकता मनमा चिसो भने अवश्य पस्यो, मानवीय चरित्रै हो यो। तर दौलतलाई मैले यो विषयमा कहिल्यै प्रश्न गरिनँ।
भरत जङ्गमको ‘कालो सूर्य’ उपन्यासको असमिया भाषामा भएको अनुवादको विमोचन कार्यक्रम भयो काठमाडौँमा २०५६ वैशाख ६ गते। म पनि निम्तालु थिएँ। कार्यक्रम सकियो। जलपान पनि सकियो। अनि मलाई कानमा खुसुक्क निम्तो आयो, ‘भरे जङ्गम निवास बानेश्वरमा खानपान डिनर छ, तपाईलाई पनि निम्तो छ।’
त्यो जमघटमा केही स्वनामधन्य, केही वानेश्वरवासी तथा भरत जङ्गमका नजिकका तथा छिमेकी साहित्यकारहरू, असमबाट आएका पाहुनाहरू र अरु केही निम्त्याइएका थिए। माधव घिमिरे, वासुदेव त्रिपाठी, प्रद्युम्न जोशी, नकुल सिलवाल, परशु प्रधान, ध्रुव सापकोटा, शैलेन्द्र साकार, दौलतविक्रम विष्ट, नरेन्द्रराज प्रसाईं, इन्दिरा प्रसाईं, अनुवादिका गीता उपाध्याय, तथा असमबाट आएका नव सापकोटा, तुलबहादुर मालेमा, केवि सिं क्षेत्री, म लगायत थियौँ। दौलत अलिअलि अस्वस्थ नै थिए। तर मासु र मदिरा उनको कमजोरी नै थियो। लोभ संवरण गर्न नसक्ने।
फेरि त्यहाँ रोकतोक गर्ने पनि कोही थिएनन्। घरबाहिर आगो बालिएको थियो। फूल बिरुवाको हरियालीले ढपक्कै ढाकेर बनाइएको चौतारी जस्तो ठाउँमा दौलत र म सँगै पर्यौं पिउने सिलसिला चलिरहँदा। उनी मजाले थपीथपी पिइरहेका थिए। मासुको सितन टोकिरहेका थिए। एक्कासि उनले मेरो हात समातेर भने, ‘गोविन्द बाबु मसँग रिसाएका होलाऊ हगि ! त्यो पुरस्कारको बारेमा ! त्यो त्यस्तै भयो। चित्त नदुखाऊ है।’
उनले यति भनेपछि मेरो मन सङ्लो भयो। उनीप्रति आदर झन् बढ्यो। उनकै कारण मैले पुरस्कार नपाएको रहस्य उनैले खोलेका थिए।
तर आश्चर्य, त्यो साँझको रसपान र रात्रिभोज नै उनीसँगको अन्तिम भोज भयो। अन्तिम भेट भयो। त्यसदिन पिएको मदिरालाई उनको देहले सहन सकेन। अर्को दिन उनी अस्पताल भर्ना भएको खबर सुनियो र त्यसको केही दिनपछि उनले धरतीबाट बिदा लिए। दौलतीय शैलीका उम्दा औपन्यासिक कृतिहरू र कथाहरू नेपाली वाङ्मयमा सदासदा सुवासित हुनेगरी दिएर।