कविता : ग्राउन्डेड जहाज मर्मत भएको छ

~डा. जीवेन्द्रदेव गिरी~

बर्सौं मर्मत नपाएको मेरा फोक्साले
छेलोखेलो अक्सिजन पायो
नाकभित्र पाइप घुसारेर
पठाइयो मनग्गे प्राणवायु
फोक्सोको रौनक बढेको छ
मसिनमा औँला घुसारेर हेरिरहन्छु म
हान्दिन्छ ९४- ९५ – ९६ र अझ बढी पनि
बालकको खेल झैँ घरि घरि प्रक्रिया दोहोर् याउँछु म
नर्स बहिनीले पनि यसै गर्न भनेकी छन्
आउँछिन् सोध्छिन् जान्छिन्
ढुक्कले सुनाइ दिन्छु म
अस्पताल छिर्नुअगि ९० बाट ओरालो झरेको
मेरो सासको चाल सम्झेर जिब्रो टोक्छु
र सन्तोषले ठुलो सास फेर्छु
ओहो, उतै बाटामा अड्केको भए यो सास !
धन्य छोरी, चाल पायौ तिमीले
र बेलैमा अस्पताल पुर्यायौ
हाम्रा आस्थाका धुरी रहेका
सहिद गङ्गालालका नाउँको अस्पतालमा
राम्रै मर्मत भयो फोक्साको
मेरो बुढो शरीररूपी ग्राउन्डेड जहाजको ।

बर्सौंसम्म कुहेको कानले
भेट्यो ताजा एन्टिबायोटिक
मक्किएर दुखिरहेका दाँतका हाडमा
बैँस पलायो
भिटामिन सी-डी-मल्टि भिटामिन जिङ्क
के के हुन् के के मर्मत गर्दै छन् जिउलाई
ताकी ताकी ज्वराका किरालाई
सिटामोळले युद्ध लडेको छ
थर्मामिटर साथी छ
१०२ झर्न नमान्ने पारो
खिस्रिक्क ९६- ९७ हानि रहेछ
सुगरका कीटाणुसँग ग्लाइकोमेट ५०० लडि रहेछ
उच्च रक्तचापसँग रिपेस ५० पौँठजोरी खेलि रहेछ
बाक्लिने रगतलाई एस्टाट ५ ले धावा बोलि रहेछ
अझ त्यसमै क्लोपिडोग्रेलले बेग्लै बल दिइ रहेछ
जिउ भिजाउने पसिना कता कुद्यो हँ ?
शीतल निधारले आनन्द वर्षा गरि रहेछ
आँखा झिम्किन कति गारो थियो
लोलाई लोलाई निदाइ रहेछ
टाउकै रन्काउने खोकीलाई
केले उठिबास लगायो कुन्नि ?
लाज मानी मानी खसखसाउन थालेको छ ।

पाइपबाट नसा नसामा पुगेको छ
जीवन धारा
मैले पनि बिहानैबाट चलाएको छु
तातो पानीको जलधारा
प्रिय मित्रले पठाइदिएको आयुर्वेदिक काँडा
घोलेर त्यतै पठाइ दिएको छु तातो पानीमा
जताबाट खसखसाउँदै
टाउको उठाउने दुस्साहस गर्छ कोरोनाले
दिनकै आउँछन् यो बुढो जहाज मर्मत गर्न
स्वास्थ्यका इन्जिनियरहरू
डाक्टर, नर्स र परिचारिकाहरु
कस्तो खानाले छिटै तयार हुन्छ
यो गलेको शरीर
अर्तीबुद्धि दिन्छन्
आफैले के के ल्याइ दिन्छन्
मानवताले भरिएका तिनका बोली र व्यवहार
अक्षरमा उतारि दिन्छु म
सुनेर आनन्द लिन्छन् उनीहरू पनि ।

कति छिटै मर्मत भयो हँ !
यो मेरो बुढो शरीररूपी जहाज
कोरोना परै बसेर हेरेस्
उड्ने तरखरमा छ घरतिर यो जहाज
मर्मत सकिएको यो ग्राउन्डेड जहाजले
अब धेरैसम्म तेरा दारानङ्ग्राको
प्रतिरोध गर्छ सजिलै
सिङ्गो मानव समुदायलाई नताके हुन्छ
विजयको पताका फहराउँदै
उड्छ यो कुद्छ यो
उत्साहको सन्देश छर्छ यो
झन् झन् नयाँ शक्ति सँगाल्दै छ यो
मक्किएका हाडमा
दधीचिको बल बटुल्दै छ यो
कोरोना, के गर्छस् अब ?
मेरा कलिला नातिनतिनाले
हुच्चिङ गर्दै के भन्दै छन्, सुन्
“आयो निदरी तेरो काल !”

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.