~धीरेन्द्र प्रेमर्षि~
जागी–जागी हाम्रा हजुर गजबसँग घुर्नुहुन्छ
जहाजको जमानामा साइकिलमै दगुर्नुहुन्छ
मुटु कति साँगुरो छ त्यसको कुरा नगरौँ भो
जय–जयकार सुन्यो कि त फुरन्दाना फुर्नुहुन्छ
शालिकमाथि ठडिएर मुस्कुराउँदा भएकै थ्यो
किन त्यही भत्काएर खाल्डो खनी पुर्नुहुन्छ !
सारा जनता भोकै राख्ने तपाईं नै होइन र ?
एक–दुई गाँस टिप्छु भन्दै हाँडी नै हसुर्नुहुन्छ
झुपडीमा सधैँ–सधैँ आँधी अनि आगो छर्दै
महलको त्यो मझेरीमा मोज बनी जुर्नुहुन्छ
झुट्टा साबित भइसके सारा अवतार अब
अझै चमत्कारै होला भन्दै बाटो कुर्नुहुन्छ !
– धीरेन्द्र प्रेमर्षि
‘पल्लव’ मैथिली साहित्यिक र ‘समाज’ मैथिली सामाजिकको सम्पादन
जनकपुर, नेपाल