~इश्वरवल्लभ~
अनायास कहिलेकाहीं गीतका पंक्तिहरु लेख्न बस्छु, फेरि पनि
– जसको कुनै आवश्यकता छैन
यस्तै आवश्यकता नभएको अभिचार सधैं गर्न खोज्छु,
शायद मलाई लाग्न थाल्छ कि त्यसैले पनि हराउँछन् म भित्र भित्रै
पानीहरुझैं बगेर जान्छन्
तिनका रूपहरू अँध्यारा र अस्पष्ट हुन थाल्छन् ,
म कहिलेकाहीं भन्ने गर्थें मलाई गीत बनाउन नलाऊ – गीत हराउँछन्
मासु मासु दुख्न थाल्छ त्यसैले
तर, उसले भन्छ – गीत हराउँदैन ,
म अनायास आत्तिंदा उसले भन्छ – गीत हराउँदैन – फलस्वरूप लेख्न थाल्छु,
यो हजारौं वर्षको क्रम हो, प्रेयसी ,
मेरा गीत जब बन्न थाल्छन्, ती हराउन थाल्छन्
अँध्यारा पृष्ठभूमिहरुमा बिलाउन थाल्छन् ,
मेरा अनगिन्ती सपनाहरु यस्तै भए ,
मेरा क्षितिजहरु यस्तै भए,
मृगतृष्णा न् हो – मैले भनें
उसले भन्छ –गोरेटो जस्तो हो यो गइरहनुपर्छ
अनन्त संझी, म भन्छु
ती अनौठा स्वरहरुझैं भइरहनुपर्छ – उसले भन्छ
अनि एउटा गीत बन्छ –
अनायास कहिलेकाहीं धूपीका रुखहरु हुन खोज्छु, फेरि पनि
– जसको कुनै आवश्यकता छैन
यी अग्ला शिखरहरु जस्तो
– जसको कुनै आवश्यकता छैन
म साँझजस्तो उभिरहँदा उसलाई देखेको हुँ,
म एकान्तजस्तो उग्राइरहँदा उसलाई भेटेको हुँ,
म आकाशजस्तो गहिरिरहँदा उसलाई छोएको हुँ,
किन साँझ आस्था हुँदैन – मलाई आश्चर्य लाग्छ
उसले दिएको मन्दिरको फूलजस्तो पनि हुँदैन
– मलाई आश्चर्य लाग्छ
त्यसैले म एकछिन गीत पनि लेख्दिनँ भन्छु फेरि पनि
– जसको आवश्यकता छैन
भ्रम त होइन त्यो परको – किनारहरू प्रेयशी – म सोच्छु
उ भन्छ – भ्रम हो किनारहरू,
जसको कुनै आवश्यकता छैन,
एउटा सिंढी जस्तो चढेर माथिसम्म पुग्नुपर्ने –ओलम्पिया,
शिखर बोक्सा बोक्सीको देवताहरुको – म गएको छु,
नदी देखिन्छ तल बगरको पानी भएको,
त्यस्तै हुन्छन् , कहिलेकाहीं मेरा इच्छाहरु ,
शिखरदेखिन् देखिने
कहिलेकाहीं शहरजस्तो
कहिले अनौठा रहरजस्तो , शिखरदेखिन् देखिने
संयोगजस्तो संबन्ध ,
विरानोजस्तो सहवास – शिखरदेखिन् देखिने
भइदिए हुँदो हो मेरा गीतका पंक्तिहरु ती स्वरूपजस्तो
ती आकारजस्ता कि सधैं छायाहरुसित व्यस्त हुन्छन् ,
भइदिए हुँदो हो ती टाढाहरु पनि मेरा आफन्तजस्ता
ती सुनसानजस्ता कि सधैं ज्योतिहरूसित व्यस्त हुन्छन् ,
उसले भन्छ – छाया के हुन्छ ?
म भन्छु अचेल त्यसैले छाया मैले लेखेको गीत हुन्छ
जसको कुनै आवश्यकता छैन |