~मिजास तेम्बे~
म आफूलाई हेर्न भ्याएसम्म हेर्छु,
धेरै कुरा आफ्नै पनि छेलिदो पो रहेछ,
कति कुरा आफ्नै पनि नबुझिदो रहेछ
म र मेरा पुर्खा कताबाट आए ?
बंशावलीको लहरोले भ्याउँछ ?
म पुग्न चाहन्छु धेरै पछिल्तिर……..
तर कहाँ सम्म मलाई थाह छैन
आफै माथि विचार गर्छु
धेरै कुरा त आफ्नै पो बुझ्दिन
म मेरो विश्वास गरिटोपल्छु,÷ सक्तिन
म आफूलाई संचालन गरिटोपल्छु,÷ सक्तिन
को हो त्यो ?
जस्ले मलाई बोलाउँछ÷ हिडाउँछ÷ सोचाउँछ
मेरो बुद्दिको फित्ताले भेट्ला ?
योजनाका फेहरिस्त छन्
भरे, भोलि र दशकौं सम्मका……….
थाह छैन ती कहाँ पुग्छन्
तथापि बनाउदै रहन्छु सपनाहरु……
वरिपरि हेर्छु
कति देखिन्छ, कति छेलिन्छ
बाहिर बाहिर देख्छु भित्र देख्तिन
यो सानो आँखाको ऐनामा
कति सानो प्रतिविम्ब जगतको ?
के के भईरहेछ,
बुझ्न खोज्छु
थोरै बुझेजस्तो हुन्छ, धेरै बुझ्दै बुझ्दिन
दिक्क लाग्छ
के गर्नु, फेरि रहर जाग्छ,
प..र क्षितिज सम्म हेर्छु, यो धर्तीको फैलावट
त्यहाँ सम्म देख्न खोज्छु जहाँ मेरो न त बाह्य दृष्टि पुग्छ न अन्तर दृष्टि नै
के होला साेंच्छु,
कल्पना गर्छु
मलाई थाह छ,
त्यो सत्य नहुन पनि सक्छ ।
आकाश हेर्छु, सगरमा हराउँछु एक छिन,
सूर्य, चन्द्र र ताराहरु दखिन्छन् आकाशमा÷ बस् देखिन्छन्
के ती आधुनिक विज्ञानको भाँडोमा अटाउँलान ?
ती नजिकमा कत्रा छन् ?
सच्चामा कस्ता छन् ?
कति छन ? कसरी छन् ?
म जान्दिन ।
तर ती मेरा आँखाले भ्याएसम्म हेर्न छोड्दिन
मलाई आनन्द लाग्छ ।
छेउवैमा छ गमला
फूलेका छन फूलहरु
यी मलाई औधि मन पर्छन्
सुगन्ध मन पर्छ
हेर्छु र रमाउछु ।
ढुङ्गा भन्दा फूल हेर्दा किन रमाएको म ?
यो सुगन्ध कतावाट आएको ?
मलाई थाह छैन,
तर जे होस म यसैलाई बेहद मन पराउछु
हेरीपठाउछु समुद्र टाढा टाढा सम्म
छालहरु आउछन्, जान्छन्
रोमाञ्चित हुन्छु म
किनारामा उभिएर समुद्रको फैलावट हेर्दा आनन्द लाग्छ ।
एक पछि अर्काे छालहरु उर्लेको देख्ता उदेक लाग्छ
हावा चलेको र चराहरु उडेको देख्ता मन फरुङ्ग हुन्छ
मिजास तेम्बे
म सोच्न सक्तिन यो समुद्र कति गहिरो छ
यस भित्र के के होलान ?
यो बतास जो मलाई भरखरै साउती मारेर गयो
कहाँवाट आयो ?
कता गयो ?
यी चराहरु जो आकाशमा उन्मुक्त छन् ÷ देख्छु
ती के साँचीकै स्वतन्त्र छन् ?
ती के खान्छन् ?
कहाँ बस्छन् ?
मलाई थाह छैन ।
म धेरै कुराहरु बुझ्दिन….
फेरि पनि मलाई जीवनदेखि खुशि लाग्छ
प्रकृतिदेखि रमाईलो लाग्छ ।
– ढुंगेसाँघु –७, तेम्बे ताप्लेजुङ्ग, नेपाल
हाल – बेलायत