बाल कथा : डोल्माको साहस

~नेत्र तामाङ~

नागबेली घुम्तीमा मोटरसाइकलले एकजना बटुवालाई ठोक्यो । ‘ऐया’ भन्दै बटुवा ढल्यो । उसले बोकेको दाउराको भारी उछिट्टिएर बाटोको छेउको भीरमा गुल्टियो ।

डोल्मा बुवासँग मोटर साइकलमा घर फर्कँदै थिइन् । उनी आठ कक्षा पास भएर नौमा पुगेकी थिगइन् । यसैले बुवासँग शहरमा गएर किताब किनेर घर फर्कँदै थिइन् ।

“धत्तेरी, कुवाघरे हजुरआमा पो रैछिन्,” डोल्माका बुबा साँग्येले मोटरसाईकल रोक्दै भने । डोल्मा ओर्लिन् र हजुरआमालाई हेर्न थालिन् ।

“छिटो बस,” भन्दै बुवाले मोटरसाइकल स्टार्ट गरे । डोल्मालाई पछाडि राखेर बुवाले बेस्सरी मोटरसाइकल जोडले कुदाए । केही पर पुगेपछि बाबाले भने, “छोरी, यो कुरा कसैलाई नभने है ।”

घर पुगेर खाजा खाएर साँग्ये बजारतिर गए । डोल्मालाई भने छटपटी हुन थाल्यो । के भयो होला हजुरआमालाई ? डोल्मालाई कुवाघर जाउँजाउँ लाग्यो ।

साँझ आमाले कुवाघरकी हजुरआमा वित्नुभएको खबर सुनाइन् । गाउँभरी हल्लीखल्ली भयो । तर मोटरसाइकल कस्को थियो पत्ता लागेको थिएन ।

“आमा, एकैछिन् पुगेर आउँछु है,” भन्दै डोल्मा दौडिहालिन् । कुवाघरे हजुरआमाको घरमा धेरै मानिस जम्मा भएका थिए । प्रहरीहरू पनि रहेछन् । प्रहरीको नजिकै उनले बाबालाई पनि देखिन् । ‘बाबालाई पुलिसले समाइहालेको त हैन,’ डोल्मा डराईन् । उनी विस्तारै बाबाको हात समात्न पुगिन् । ‘को हो ?’ बाबाले हात झट्कारे । साँग्येको जीउ कामिरहेको थियो ।

हजुरआमाको लास भुर्इँमा सेतो कपडाले ढाकेर राखेको थियो । उनकी नातिनी लाक्पा छेउमा बसेर रोइरहेकी थिइन् ।

कुवाघरे हजुर आमालाई कसले हान्यो होला भनेर त्यहाँ भेला भएका मानिसहरूले कुरा गरिरहेका थिए । “त्यो अपराधीलाई फेला पारे भने मैले जानेको थिएँ,” पीपलघरे साँइला रिसाउँदै भन्दै थियो । त्यो सुनेर डोल्मा डराइन् ।

“यतैका ठिटाहरूले त होला नि,” आम्बोटे जेठाले लख काटे । “म दिनभरि पसलतिरै थिएँ, बाहिरतिरको मान्छे आकै छैन ।”

आम्बोटे जेठाको पसलको छेउबाट मोटरबाटो गाउँतिर लाग्थ्यो । त्यतातिरको सडकमा बसको आउजाउ कमै हुन्थ्यो । मोटरसाइकल हुनेहरू गाउँमा अरु पनि थिए । साँग्येले चुप लाग्नु नै बेस ठाने ।

“कसको बाइकले हानेको हो पत्ता लागेन, लास चौकीमा लानुपर्छ । जाँचबुझ पूरा नभएसम्म लास चौकीमा राख्नु पर्छ,” प्रहरीले भन्यो । ती प्रहरीको हातमा फोनजस्तै कुरा गर्ने वकीटकी थियो । उनी त्यसमा मुख जोड्दै कुरा गरिरहेका थिए ।

आफै चढेको मोटरसाइकलमा ठोक्किएर हजुरआमाको ज्यान गएकोमा डोल्मालाई निकै नरमाइलो लाग्यो । यही भींडमा साँचो कुरा भनुँ कि झैँ लाग्यो । उनले बाबाको अनुहारतिर हेरिन् । उनलाई साँचो कुरा भन्ने आँट आएन ।

उनको ध्यान कुवाघरे हजुरआमाकी नातिनी लाक्पातिर तानियो । लाक्पा हजुरआमा नजिकै बसेर टोलाइरहेकी थिइन् । लाक्पा एक्लिइन् । दुई वर्षको हुदाँ नै उनका बाआमा सहर पसेका थिए । उनीहरूको अत्तोपत्तो थिएन । हजुरबा धेरै अघि नै वित्नुभएको थियो । अहिले लाक्पा ५ वर्षकी भइन् । अब उनले के गर्छिन् ? डोल्माले लाक्पाको भविष्यबारे सोच्न थालिन् ।

गाउँका मोटरसाइकल भएका सबै जनालाई भोलि चौकी आउन प्रहरीले अनुरोध गरे । अनि हजुरआमाको लासलाई स्ट्रेचरमा राखेर चौकीमा लगे । मानिसहरू अ–आफ्ना घर फर्के । साँग्ये के गरुँ, के गरुँ गर्दै उभिएको थियो । लासको छेउमा बसेर रोइरहेकी लाक्पाको रुवाइ झन बढ्यो ।

डोल्माको मनमा आँधीबेरी चलिरहेको थियो । एकातिर उनी आफ्ना बुवालाई जोगाउन चाहिन्थिन भने अर्कोतिर लाक्पालाई न्याय दिलाउनु पनि आवश्यक थियो । यस्तै अन्यौलमा डोल्मा लाक्पाको नजिकै गइन् र मायाले उनको हात समातेर आफ्ना बुवाको नजिकै पुगिन् । अनि भनिन्, “बाबा, लाक्पा, हेर्नुस त, कोही पनि छैन यिनको ।”

डोल्माले लाक्पाको हात बाबाको हातमा राख्दै दरो स्वरमा भनिन् “अब यिनलाई कसले पाल्छ ? बाबा म र यिनीमा, के फरक देख्नुभयो ?”

डोल्माको कुरा सुनेर साँग्ये अलमल्लमा परे । उनले लाक्पाको हात छाड्न पनि सकेनन् । कसिलो गरी समात्न पनि सकेनन् । डोल्माले लाक्पालाई आफ्नो घरतिर डो¥याइन् । साँग्ये पछिपछि लागे ।

बाटोभरि साँग्येको मनमा हुरी चल्यो । डोल्माको मन पनि म यो के गर्दै छु भन्ने अनिश्चितता थियो । घर पुगेपछि उनले बाबासँग सोधिन्, “‘बाबा हाम्रो बाइकको इन्स्युरेन्स गर्नुभएको छ हैन ?”

“छ, छोरी,” साँग्येले मसिनो स्वरमा भने । “किन सोधेकी छोरी ?”

“त्यसो भए तपार्इँ किन डराउनु हुन्छ । प्रहरी चौकीमा गएर साँचो कुरा बताईदिनुस्,” डोल्माले भनिन् ।

प्रहरी चौकीमा जाने कुरा सुनेर उनलाई डर लाग्यो, “म चौकीमा गएर साँचो कुरा भनुँ, अनि सीधै जेल बसौं है ?”

“जेल जानै पर्दैन बाबा । कानुनी प्रक्रिया पूरा गर्न केही दिन लाग्ला तर प्रक्रिया पूरा गर्नु भएन भने झन बढी सजाय हुन्छ ।”

“अनि गाउँलेले मलाई के भन्लान ? मार्दैनन् ?”

“त्यसको पनि उपाय छ,” उनले लाक्पालाई देखाउँदै भनिन् । “यी टुहुरीलाई पाल्नुभयो, पढाउनु भयो गाउँलेको बिचार पनि फेरिन्छ ।”

“अनि कुन आम्दानीले उनलाई पाल्ने, पढाउने नि ?”

“तपाईँले मोटरसाइकलको बीमा गरेको छ भन्नु भएको होइन ?”

डोल्माले केही दिन अघि स्कुलमा बीमाबारे सुनेकी थिइन् । मोटरसाइल किन्दा बीमा गर्नु पर्ने र दुर्घटना भएर कसैलाई नोक्सन भयो, घाइते भयो वा मर्यो भने बीमा कम्पनीले त्यसको क्षतिपूर्ति रकम दिन्छ भन्ने थाहा पाएकी थिइन् । उनले स्कुलमा थाहा पाउको कुरा बुवालाई भनिन् ।

बिहानै डोल्मा र उनका बुवा प्रहरी चौकी पुगे । साग्येले सबै कुरा खुलस्त जाहेर गरे । डोल्माले लाक्पालाई आफूले बहिनी जस्तै व्यवहार गर्ने कुरा गरिन् । लाक्पाकी आमाको मृत्यु भएकोमा बीमा कम्पनीसँग क्षतिपूर्तिको दावी गर्नको लागि पनि प्रहरीबाट दुर्घटना भएको प्रमाणको कागत चाहिन्थ्यो ।

साँग्येले लाक्पाको पालनपोषन गर्ने, पढाउने जिम्मा लिएको हुनाले गाउँलेले उनीमाथि बदलाको भाव लिएनन् । बीमाबाट आएको रकम लाक्पाको नाममा बैँकमा खाता खोलेर राखे ।

अचेल डोल्मा र लाक्पा एउटै स्कुल ड्रेस लाएर हाँस्दै स्कुल जान्छन् । डोल्माको साहस देखर उनका बुवा खुशी छन् । लाक्पाप्रति उनको माया र राम्रो व्यवहार देखेर गाउँलेहरू डोल्माको तारिफ गरेर थाक्दैनन् ।

–निस्फिक्री(२०७०) बीमा बालकथा संग्रहमा प्रकाशित

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

1 Response to बाल कथा : डोल्माको साहस

  1. Priya says:

    Sir , tapaiko yo balkatha KO kriti ko name k ho??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.