कविता : ‘दशैंहरु’ पछिको दशैं

~डा.मधु माधुर्य~

…..
कहिले थिएन र यहाँ दशैं ?
र दशैं आयो भनेर रमाउने गर्छौं
हामी “बोका”हरू ??
…..

* * * * *

….रातो टीका, हरियो जमरा र मायालु घाम
रोटे-पिङ्ग, मालश्री धून र विदाको उमंग
लंगुरबुर्जा, नयाँ लुगाफाटो र खसीबोका
भोज-भतेर, टिकाटालो र आशिष-वर्षा
सयपत्री फूल, लाखौं अश्रु -धारा र सुर्ता-आंधी
पूजापाठ, जुवा-तास र सोमरस-बाढी

यिनै “एट्रीव्युट” हरुको एकमुष्ठ पुनरावृत्ति बनेर
हरेक वर्ष
हाम्रो मन-मस्तिक र माटोमा
दशैं
आउंथ्यो / जान्थ्यो ….

पहिले जस्तै अहिले
दशैं कसैकोलागि दशा भएर आउंथ्यो/ आइरहेछ
दशैँ कसैकोलागि पर्व भएर आउंथ्यो/ आइरहेछ …
समर – मिथकको भौतिकीकरण:
“दानवत्व” उपर “देवत्व” को विजय-नाटक
भगवती माताको हातबाट दानव दुर्गाको वधमा टुंगिन्छ ….
देवासुर संग्रामको यो दर्शन रहस्य :
“विपक्षीलाइ ‘दानव’ घोषणा गर,
सत्ताको भक्ति गाउन लगाई शासन गर !”
बुझ्दै जाँदा देख्नेछौ –
यहाँ सँधै दशैं नै दशैँ छ
रक्तपात र लड़ाईं छ
अर्थात् फगत दशैं छ ….
वलीका वोका तैनाथ छौं हामी
पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म ….
कुनै देव-देवीहरूको उपासना गर्ने पूजारीहरू
थरिथरिका झण्डा लिएर आइरहन्छन् ….
गगनसिंहलाई वली चढाउने पूजारीहरू
नारायणहिटी परिवारलाई वलीमा चढाउने पूजारीहरू
आन्दोलन, द्वन्द र क्रान्तिहरुको आगोमा मान्छे वली चढाउने पूजारीहरू
कुन देवता खुशी पार्न दशैं मनाइ रहन्छन् ??? …
हिजोआज –
धुमधामकासाथ दशैं मनाउने थलो बनेकोछ
सिंहदरवार
देशलाई च्याँखे थापेर जुवा खेल्दा
दुख्दैन मुटु पूजारीहरुको
र लहर चलिरहन्छ अट्टहासको …

* * * * *

कहिले थिएन र यहाँ दशैं ?
र दशैं आयो भनेर रमाउने गर्छौं
हामी “बोका”हरू ??
राणाको पालामा थिएन कि दशैं राणाहरुलाई ?
राजाको पालामा थिएन कि दशैं राजाहरुलाई ?
लोकतन्त्रको पालामा छैन कि दशैं सत्तासिन पार्टीहरुलाई /नेताहरुलाई ?

मेरो अराजक कविता –
दशैं स्थगनको अग्नि-प्रस्ताव
विनिर्माण शैलीमा सलल बग्छ
बाह्य / आधुनिक सुर-असुरहरुको नाट्य-पर्दा च्यातेर ….
दशैंलाई नौलो परिभाषामा बाँधेर !!!

मेरो दशैं –
मबाट आरम्भ हुनु पर्छ अब
मभित्रका लाखौँ असुरहरुलाई भस्म पार्नुछ
मभित्रका करोडौं दुस्वप्नहरुलाई भस्म पार्नुछ
काम-क्रोध-लोभ-मोहका अनगिन्ति शृंखलाहरु भत्काउनुछ
तिम्रा / हाम्रा दशैंहरु
रक्त-प्रवाहबिना उत्सवमय हुनेछन्

मान्छेको
सयपत्री मुस्कान
जीवनको बाटोमा
फक्रिरहनेछ
विहानी दूबो झैं
मौलाई रहनेछ
हरक्षण अनुभूतिमा
नौलो मान्छेको
नवदशैं प्रवाहित हुनेछ ….

शान्त तलाउमा
फक्रिरहेको
कमलजस्तै हामी अब ….
दिवंगत खुशीहरुको
दशैं मनाइरहेका हुनेछैनौं

हो,
हामी
उत्सवमय जीवनभोगीहरु
दशैं कै लागि
जन्मेका थियौं …

अभयपुर, दोलखा,
हाल: मस्को, रसिया

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.