कविता : मुख् हँसाई

~शम्भुप्रसाद ढुङ्गेल~

जुटेको कलेजा छुटाई बलैले
शरद्चन्द्र झैं मुख् हटाई करैले ।
अलिक् दिन् वियोग्को गरम् स्वास् बहाई
बिदा हुन्छु देऊ प्रिये ! मुख् हँसाई ।।१।।

फुलेको छ भर्खर् कलो छाइ वास
भमर्लाइ सर् ख्वाउने गर्छ आश ।
कठिन्ले गरी त्यो मजा सब् छुटाई
विदा हुन्छु देऊ प्रिये मुख् हँसाई ।।२।।

चखेवीमहाँ भै चखेवासमान
म आश् गर्दछु भेट्नलाई विहान !
लियी प्रेम आफै कलेजा लगाई
विदा हुन्छु देऊ प्रिये ! मुख् हँसाई ।।४।।

नमाने तिमी चित्तमा कत्ति फिक्री
छ मेरा उपर् प्रेमको भारि सिक्री ।
म एक्लै बसूँला कती तड्फडाई
विदा हुन्छु देऊ प्रिये ! मुख् हँसाई ।।५।।

अलक्का झलक्मा छ यो मन् भुलेको
सदा खान रस् भै दिवाना डुलेको ।
कहाँ बस्न सक्छू म यो सब् भुलाई
विदा हुन्छु देऊ ! प्रिये मुख् हँसाई ।।६।।

तिमी मन तिमी धन् तिमी ज्यान मेरी
बसेको छु खाली तिमीलाई हेरी ।
तिमीदेखि क्यै तैन मेरो मलाई
विदा हुन्छु देऊ प्रिये ! मुख् हँसाई ।।७।।

वियोग् हुन्छ संयोगलाई लियेको
अधर्को छ मैले सुधा-रस् पियेको ।
गला लागि ज्यू प्रेमले सुम्सुम्याई
विदा हुन्छु देऊ प्रिये ! मुख् हँसाई ।।८।।

म तिम्रो लियी चित्र मन्भित्र राख्छू
वियोगको वखत्मा सुधालाय चाख्छु ।
नठाने तिमी निर्दयी झैं मलाई
विदा हुन्छु देऊ प्रिये ! मुख् हंसाई ।।९।।

००००

आशुकवि शम्भुप्रसाद ढुङ्गेल (विक्रम सम्वत(१९४६-१९८६)

१९७५ सालतिर छापिएर अत्यन्त लोकप्रिय भै शासकहरूको आँखामा चढेको र प्रतिबन्धित भएको पुस्तक थियो श्यामजीप्रसाद अर्ज्यालले प्रकाशित गरेको श्रृङ्गार रसको पुस्तक ‘सूक्तिसिन्धु’ ।

(स्रोत : कमल दीक्षितद्वारा सम्पादित जगदम्बा प्रकाशनद्वारा २०२४ सालमा प्रकाशित पुस्तक “सूक्तिसिन्धु-फेरि” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.