~गोपाल विरही~
(१)
मर्नुअघि, जब ऊ सबैलाई छाडेर जानका लागि छट्पट्–छट्पट् गरिरहेको थियो, मेरा मनमा एउटा कुरा आयो अचानक । म डाक्टर भएको भए उसलाई बचाउने थिएँ । वास्तवमा ऊ जतिबेला आफ्नो प्राणत्याग गर्ने अवस्थामा आइपुगेको थियो, मलाई डाक्टरहरु निकै महान् हुन्छन् जस्तो लाग्यो । एउटा मर्न थालेको देहलाई प्राणदान गर्ने डाक्टरहरु साँच्चिकै दुनियाँको आँसुको सम्भावित भेललाई रोक्ने सामथ्र्य राख्दछन् । ऊ, अर्थात् मेरो (वा हाम्रो) सेतो पाठो मर्दा पनि त हामी सबै रोएका थियौँ । म डाक्टर भएको भए र उसलाई मैले बचाउन सकेको भए हामीले रुनु पर्ने थिएन । त्यो सेतो पाठो आज पनि हामी सामु भई नै रहने थियो, हामीसँग खेलिरहने थियो, उफ्रिरहने थियो ।
जब उसको माऊले दुई पाठाहरुलाई जन्माएकी थिई, एउटा खैरो र एउटा सेतो रङ्गरुपमा कत्ति आकर्षक भएर निस्केका थिए । बहिनीले मसँग सोधेकी थिई–‘दाइ, तपाईँलाई कुन पाठो मन पर्यो ?’ मैले भनेको थिएँ–‘मलाई खैरो, अनि तँलाई ?’ बहिनीको प्रत्युत्तर थियो–‘मलाई त सेतो मन पर्यो ।’ यसरी मैले छानेको पाठो त थिएन त्यो, तर आज किन उसलाई छनौट गरिनँ भनेर आफैलाई धिक्कार्दैछ मेरो मनले । ऊप्रति मलाई यति माया लागेको छ कि, मलाई लाग्छ, ऊ अझै पनि मेरो वरिपरि कतै छ । अर्को अर्थमा मेरी बहिनीलाई मन परेको पाठो मर्यो, मलाई यसमा झन् ठूलो शोक छ । चौरमा सँगसँगै खेल्थे दुवै । मान्छेको बुइँ चढ्नमा खप्पिस हुँदै गएको थियो त्यो । हाम्रो पसलमा आएका ग्राहकहरुलाई आफ्नो खुट्टाले कोट्याई–कोट्याई हैरान पारिसकेको थियो त्यसले । तर, अब उसले कसैलाई सताउने छैन । कसैको बुइँ चढ्न आउने छैन ऊ । कसैलाई कोट्याउने छैन त्यसले ।
त्यस्तो चञ्चले ऊ, कति निरिह भएको थियो जाने बेलामा । जोड–जोडसित फत्र्याउँदै कुन्नि के–के गर्दैथ्यो ऊ, सारमा मैले उसमाथि घोर सङ्कट आइलागेको छ भनेर बुझेको थिएँ । ‘पानी–पानी’ भनेर उसले भनिरहेको हो कि जस्तो लाग्यो मलाई । गिलासमा पानी ल्याएर मुखमा हालिदिएको पनि थिएँ । तर, अहँ, अरु बेलाझैँ, भनौँ, हिजोसम्म मात्रै पनि, टेबुलमाथि राखिएका परिकारहरु समेत चोरेर सुटुक्क खाइहाल्ने त्यो पाठोले पानी निलेन । ऊ अझ बल गरेर उफ्रन थाल्यो, मानौँ, उसलाई कसैले पिटिरहेको छ, यातना दिइरहेको छ । र, एक्कासी बसिदियो थचक्क । मानौँ, ऊ केही क्षणको लागि विश्राम गरिरहेको छ । मानौँ, ऊ दिनभर घुमेर थाकेको छ । मानौँ, आज उसलाई कसैसँग चल्ने र खेलवाड गर्ने मन छैन । ‘मुनी–मुनी’ भन्दै घच्घच्याएँ उसलाई सधैझैँ, तर, सुनेन उसले । उठेन ऊ । ‘अटेर गर्छस्, भनेको मान्दैनस्’– मैले उसलाई जिस्काएँ । तर, अहँ, उठेन ऊ । उसले अटेर गरिरह्यो, सधैँका लागि, सबैसँग अटेर गरिरह्यो । ‘अब कसैले भनेको मान्दिनँ’ भनेर उसले भनिरहेको छ भन्ने कुरा धेरैपछि बल्ल मैले चाल पाएँ । छाडेर गयो त्यो अटेरीले, चक्चकेले । हामी सबैलाई छाडेर एक्लै गयो, हामीलाई साथ नलिई गयो । यो स्वार्थी संसारबाट विदा लिएर त्यो निर्मल संसारका निम्ति महाप्रस्थान गर्यो ।
त्यो सेतो पाठाले अन्तिम समयमा मलाई भन्यो– ‘बाटोमा मरेर सडिरहेका जीवहरुप्रति तँ किन घृणा गर्छस् ? किन नाक थुन्दै अगाडि बढ्छस् तँ ?’ हो ! वास्तवमा बाटोमा निष्प्राण गुल्टिरहेका पशुहरुप्रति म कत्ति निर्दयी ढङ्गबाट प्रस्तुत भइरहेको रहेछु भन्ने कुराको अनुभूति भयो त्यतिबेला मलाई । तर, अब म त्यसो गर्ने छैन । मेरै सेतो पाठाको अन्तिम क्षणलाई म कसरी बिर्सन सक्नेछु ? बाटोमा मरेका कुकुरहरु देख्दा अब मेरो मनमा त्यही सेतो पाठोको सम्झना आउनेछ । मेरो मनले सोच्नै पर्छ– यी मरिरहेका कुकुरहरुको अन्तिम क्षण पनि मेरो सेतो पाठोको जस्तै त हो– एकै क्षण छट्पटाएर उफ्रनु अनि एक्कासी गल्र्याम्म ढल्नु । सधैँका लागि ढल्नु, अटेर गर्नु, कसैले भनेको नमान्नु…।
युद्धमा शत्रुलाई मार्दा मार्नेहरुलाई पश्चाताप लाग्छ होला पछि । केही क्षण अगाडि जोश र फुर्तिका साथ आफ्ना हात, गोडा चलाइरहेको व्यक्ति एकै निमेषमा अचल भएर आफ्नै अगाडि लम्पसार परेको हेर्नुपर्दा विजयको खुशियालीभन्दा बढी दुःख वा पीडाका सागरहरु उर्लिन्छन् होला । मेरो पाठोको लम्पसार परेको शरीरलाई हेरेर जसरी मलाई पत्याउनै गाह्रो परेको थियो कि ऊ त्यही चुल्बुले, छुच्चो सेते हो, त्यसैगरी लडाइँमा आफूले मारेका मान्छेहरुप्रति पनि अविश्वास हुन्छ होला धेरैको ।
आज बिहानकै कुरा त हो, बुबाले उसलाई औषधि खुवाइदिनुभएको रे १ आमाले भन्नुभएछ–‘यसले त डालोभरिको सबै मकै सिध्याउन आँटिरहेछ । पचाउन पनि सक्छ वा सक्दैन ।’ तर बुबाले यस्तो सुन्नुभएछ–‘यसलाई जुलाब चलेको छ । पचाउन पनि…..।’ त्यसैले बुबाले जुलाबको झोल खुवाइदिनुभएछ । सायद त्यसैले असर गर्यो उसलाई । बिहान पनि झोक्राएको थियो ऊ । अस्पताल कसैले लगेनन्, मैले पनि । एक अर्थमा म पनि उसको भौतिक देहावसानका लागि जिम्मेवार छु । कस्तो पीडा हो यो ? कस्तो पश्चाताप हो ? एक पटक पशु स्वास्थ्यसेवा केन्द्रसम्म पुर्याएको भए पनि ऊ अहिले हामीसँग लडिबडी गरिरहेको हुन्थ्यो होला । तर, खेद छ मलाई, मैले त्यसो गरिनँ । उसलाई उपचारार्थ अस्पतालसम्म पुर्याइनँ मैले । म पापी हुँ, अधर्मी हुँ ।
तर, म यो पनि त भन्न सक्तिनँ– ऊ मर्यो । ऊ कहाँ मरेको छ खै ? उसको शरीरमा मैले घाउ देखिनँ, केही रोग भेटिनँ । तर ऊ मरेकै हो । ऊ चलेको छैन, बोलेको छैन । होइन, वास्तवमा ऊ मरेको होइन, उसको शरीरमात्र मरेको छ । ऊ मरेको छैन, उसको आवाज र चञ्चलतामात्र मरेको छ । यद्यपि उसको चञ्चलताका सम्झनाहरु र ऊसँग खेल्दाका यादहरु मरेका छैनन् । ऊ हामीसामु छैन, त्यत्ति हो । भोलि यो मन्दिर, यो पाटी, यो पौवा, यो गुम्बा र यो मस्जिद पनि त मर्न सक्छ । तर, बाँचिरहनेछ एउटा कुरा– माया । सबै मर्छन्, तर बाँचिरहन्छ माया । माया त हो संसार । माया नभए के छ ? सबै निष्ठुरी भइदिए भने के छ यो संसारमा ? म त केही देख्दिनँ । मायाले नै अड्याएको हो– विश्वलाई, विश्वासलाई । कोही पशु बनेर, कोही मान्छे बनेर, एकले अर्कोलाई माया गर्नका लागि यो रङ्गमञ्चमा आएका छन् । जब प्रेमरुपी सहअस्तित्वको कुरा नै हराउँछ भने यहाँका समस्त जीवहरु बाँच्नुको औचित्य नै समाप्त भएन र ? मलाई त्यो सेतो पाठोले आफ्नो औचित्य कायमै राखेर विदा भएकोमा गर्व पनि छ । उसले कसरी आफ्नो कर्तव्य पूरा गर्यो त ? कसैलाई रुवाएको थिएन जानीजानी त्यसले । कसैलाई मारेको, काटेको र पिरोलेको थिएन । त्यो नै उसले पूरा गरेको कर्तव्य हो । तर, मलाई खेद छ, म डाक्टर हुन सकिनँ, मैले उसलाई मेरा अगाडि खेलिरहेको देख्न सकिनँ ।
(२)
हिजोमात्रै उसको छोराले यो संसारबाट विदा लियो । छोराको अनुपस्थितिमा सायद आज उसलाई नरमाइलो लागिरहेको हुनुपर्छ । अहिले ऊ मेरा अगाडि बसेकी छ र, उग्राइरहेकी छ । ऊ एउटी बूढी बाख्री हो ।
सधैँ आफ्नै पुच्छर बनिरहने आफ्नो सेतो पाठो आज कता गयो भन्ने कुराको चेत छैन उसमा । ऊ अनभिज्ञ छ किनकि ऊ एउटा पशु हो । तर म देखिरहेछु– उसका आँखामा हिजो–अस्तिको जस्तो चमक छैन । उसलाई आफू चर्न जाने बेला भइसकेको कुराको समेत अत्तोपत्तो छैन । सायद आफ्नो सेतो पाठो कहिले आउला र सँगै खेततिर जाउँला भनेर पर्खिरहेकी हो उसले । उसको अर्को खैरो पाठो भने अहिले मेरो कोठातिरबाट कराइरहेको छ । ‘मेँ–मेँ’ गरिरहेको उसको आवाज आज अलि चर्को छ । हुनसक्छ, उसले आफ्नो भाइलाई बोलाइरहेको छ । ‘चर्न जाने बेला भएन र ?’ भनेर सोधिरहेको छ । विचराहरु १ दाजुभाइ दुवैले आमालाई एकैक्षण पनि टाढा रहन दिन्नथे । त्यसै आमा–छोरा दुवै रुँ–रुँ लाग्ने गरी कराइरहेका छन् । मेरो आँखामा पनि आँसु टल्बलाइसकेको छ । यस्तो लागिरहेछ कि मेरो आफ्नै कोही नजिकको सहयात्रीको अन्त्य भएको छ ।
ऊ मर्यो । उसको भौतिक शरीरको उपस्थिति अब यो संसारमा छैन । तर उसकी आमा र उसको भाइ त कराइरहेका छन् नि १ म कसरी सम्झाऊँ उनीहरुलाई सेते हामीबीच रहेन भनेर ! म कसरी बुझाऊँ उनीहरुलाई कि सेते मरिसक्यो ! कथंकदाचित् म पनि उनीहरुजस्तै पशु भइदिएको भए यो सम्भव थियो सायद ! मैले उनीहरुको भाषा बोल्न सक्थेँ ! तर म यो जन्ममा पशु हुन सकिनँ । उनीहरुसँग बाँचुञ्जेल खेल्नु र घुमफिर गर्नु बाहेक म अरु के नै गर्न सक्छु र !
सायद आज उनीहरु चर्न जाने सुरमा छैनन् । उनीहरुले आफ्नो सेतेलाई कुर्दाउनीहरुले आफ्नो सेतेलाई कुर्दा–कुर्दै दिन व्यतित गर्नेछन् । तर दिन बितेको पत्तै हुने छैन उनीहरुलाई । हुन पनि त्यत्तिका दिनहरु सँगै बिताएको आफ्नो समूहको एउटा अङ्ग नै अचानक त्यसरी हराउनु उनीहरुका लागि आश्चर्यको विषय हो । हुनसक्छ, उनीहरु बिस्तारै सेतेलाई बिर्सनेछन् । तर कहिलेकाहीँ उनीहरुको मन चसक्क दुख्नेछ र, सेतेलाई याद गर्न बाध्य हुनेछन् उनीहरु ।
‘पशुहरुमा आत्मचेतना हुँदैन’ भन्ने कुरालाई केही हदसम्म गलत साबित गर्दै सेतेकी आमाले आफ्नो आँखामा भर्खर केही थोपा आँसुका डल्लाहरु गुडुल्क्याएकी छ । सायद सेते अब फर्कँदैन भन्ने कुराको आभास उसमा भइसकेको हुनुपर्छ । उसको जेठो छोरा खैरे पनि दगुर्दै आफ्नी आमानेर आइपुगेको छ । आमाको आँखामा केही तरल–तत्त्व देखेर होला, सायद ऊ त्यतैतिर ध्यान केन्द्रित गरिरहेको छ र, आमासँग सोधिरहेछ–‘आमा, हाम्रो सेते किन आएन ?’ उसकी आमा झनै भाव–विह्वल भएकी हो कि जस्तो लाग्यो मलाई । उसले एकाएक ‘ख्याक्क’ गर्दै कुन्नि के गरी, मैले बुझ्न सकिनँ । तर अनुमान यो लगाएँ कि ऊ हुँक्क–हुँक्क गरिरहेकी छ । ऊ एक्कासी उठी र, दगुर्दै बाहिरतिर लागी । त्यहाँ बसिरहँदा उसलाई छट्पट् लाग्यो होला । अथवा आफ्नो छोरा कतै भेटिहाल्छु कि भन्ने झिनो आशा पलाएर आयो होला, त्यसैले ऊ त्यहाँबाट उठी । उसको छोरा खैरे पनि हिँड्यो आमाको पछि लागेर । सधैँ तीनजना हुन्थे । तर आज एउटा घटेको छ । सधैँ सेते, खैरे र मुनी हुन्थे । तर आज खैरे र मुनी मात्रै छन् ।
मृत्युशय्यामा पल्टिरहँदा उसको दाइ खैरेले आश्चर्यमिश्रित नजरले हेरेको थियो सेतेलाई । सेते असह्य पीडाका कारण आँखा आकाशतिर फर्काउने क्रममा पुगिसकेको थियो र, एक्कासी आँखा चिम्लिदिएको थियो उसले । भाइको अन्तिम क्षण त देखेकै हो खैरेले । तापनि कुरिरहेछ आज– सँगै खेल्न जानका लागि । म कसरी सम्झाऊँ हिजोको त्यो विचित्र क्षण सेतेको अन्तिम क्षण थियो भनेर उसलाई ! असमर्थ छु म ।
सेतेको शवलाई हामीले नजिकैको मट्याइँलो खेतमा खाल्डो खनेर पुरिदिइसकेका छौँ । जब म सेते गाडिएको ठाउँमा पुग्छु, हाम्रो सेते खाल्डो खोस्रेर निस्किहाल्छ कि भन्ने आशामा नबसिरहन सक्तिनँ । मेरो यो आशा सायद कहिल्यै मर्दैन । घरको आँगनबाट पनि उसको कब्रस्तान छर्लङ्ग देखिने हुनाले त्यहाँ गइरहनु अब मेरो नित्य–कर्म बनेको छ । ढुङ्गाले घेरिएको अथवा भनौँ सजिएको त्यो ठाउँमा पुग्दा मलाई छुट्टै किसिमको आनन्दानुभूति हुन्छ । मलाई त्यहाँ पुग्ने बित्तिकै मेरो सेते मसँगै त छ जस्तो लाग्छ । सेते मरिसक्यो भन्ने कुरा मैले त्यहाँ पुगेपछि बिर्सन्छु र, सेतेसँगै खेल्न थाल्छु । मलाई यो सपना हो जस्तो लाग्दैन । म हरेक क्षण हैरान रहन्छु त्यो जीवन्त ठाउँमा पुग्न, जहाँ पुगेपछि मेरो सेते मसँग खेल्न थाल्छ, नाँच्न थाल्छ । मेरो सेतेसँगै बस्ने यो इच्छा तब मात्रै पूरा हुनेछ जब म त्यहीँ नजिकै एउटा सानो कुटी बनाएर बस्नेछु । सायद म छिट्टै त्यसो गर्नेछु ।
(३)
आज खैरे पनि अचानक विरामी पर्यो । बिहानदेखि अहिले भर्खरसम्म त ऊ राम्रै वा स्वस्थजस्तो नै देखिएको थियो । तर, यताबाट उता र उताबाट यता उठबस गरिरहेको छ अहिले ऊ । उसले आफू पनि सेतेजस्तै रोगबाट ग्रस्त रहेको सङ्केत दिइरहेको छ । सेते अर्थात् उसको भाइ पनि क्षणभरमै हृष्टपुष्ट र स्वस्थ थियो । तर, क्षणभरमै उसले हामीलाई छाडेर गएको पनि हो । हिजोमात्रै सेते परलोक हुनु र, फेरि आज खैरे छट्पटाउन थाल्नुले हामीलाई अवाक् तुल्यायो । खैरेलाई झट्पट् अस्पताल लानुपर्छ भन्ने कुरा मैले र बहिनीले उठायौँ । बुबाले ‘केही क्षण विचार गरौँ’ भनिरहनुभएको र, नशालु झारपात खाएको हुन सक्ने आशङ्का गरी परम्परागत मान्यतानुसार चूक (अमिलो) पनि खुवाइदिनु भएकाले हामीले केही बेर पख्र्यौँ । तर खैरेले कुनै प्रतिक्रिया जनाएन । ऊ झन् उफ्री–उफ्री छट्पटाउन थाल्यो । अब त हाम्रो धैर्यको बाँध टुटिसकेको थियो । हामी सेतेको मृत्युबाट यति भयभित भइसकेका थियौँ कि खैरेलाई पनि कतै त्यस्तै हुने त होइन भन्ने त्रासले हाम्रो मनमा बादल लाग्न थाल्यो । अस्पताल लैजाने कुरामा हामी सबै सहमत भयौँ । तर कहाँ हो अस्पताल ? मलाई केही थाहा थिएन । बुबाले यसभन्दा अगाडि खैरे, सेते वा मुनीकै आमाहरुलाई पनि जँचाउनका लागि अस्पताल पुर्याइसक्नुभएकाले समस्याको हल उत्तिखेरै निस्कियो । मैले साइकल कुदाइहालेँ । बुबा खैरेलाई समातेर साइकलको पछाडि बस्नुभयो । केही सोच्ने फुर्सद् कसलाई थियो र ! मलाई कतै बाटैमा साइकलको पाङ्ग्रा फुटिहाल्ने पो हो कि ! अथवा चेन नै फुत्किने हो कि ! भन्ने भयले समातिरहेको थियो । हुन पनि त्यो साइकलले एक–एक थोक बिग्रेर हैरान पारिसकेको थियो मलाई । मनमनै कुनै सङ्कटले हाम्रो मार्ग अवरुद्ध नगरोस् भन्ने प्रार्थना गर्न थालेँ । खैरे कराइरहेको थियो । हामी कुद्दै गयौँ, खैरेको मेँ–मेँसँगै हाम्रो साइकलले गति लियो ।
‘के भएको हो त्यस्तो खैरेलाई !’–मैले जाँदा–जाँदै सोचेछु । हुन पनि अचानक टोलाउन थालेको थियो खैरे । सधैँ ‘खैरे १’ भनेर बोलाउने बित्तिकै खुर्र दगुरेर छेऊमै आइपुग्ने ऊ आज किन जहाँको त्यहीँ छ ? किन खैरेले अटेरी गरिरहेको छ ? उसले पनि सेतेले जस्तै सबैसँग सधैँका लागि अटेरी गर्न खोजेको त होइन ? अहँ ! खैरेलाई केही हुन सक्दैन १ खेरे हामीलाई छाडेर जान सक्तैन !
खैरेकी आमा पनि आज ऊप्रति केही बढी प्रेमभाव दर्साइरहेकी थिई । आफ्नो एउटा जवान छोराको अनुपस्थितिको शोकले रन्थनिएकी खेरेकी आमालाई खैरेको त्यो दयनीय अवस्था देखेर कस्तो लाग्यो होला ? यो प्रश्नको उत्तर ऊ आफैले पनि दिन सक्दिन । तर खैरेलाई चाटिरहेकी मुनीलाई देखेर सबैले यो कुरालाई महसुस गरेको हुनुपथ्र्यो कि वास्तवमा पशुहरु अत्यन्त संवेदनशील हुन्छन् । उनीहरुको हृदय यति सुकोमल हुन्छ कि उनीहरु आफूलाई कसले माया गरेको छ र, कसले घृणा गरेको छ भन्ने कुरा सजिलै छुट्याउन सक्दछन् । त्यसैले त हाम्रो प्यारो सेते हाम्रै घर पल्तिरको एउटा मोटे मान्छेसँग सधैँ तर्केर हिँड्थ्यो । कुरा के थियो भने हाम्रो सेतेलाई देख्नासाथ त्यो मोटेले प्याट्ट–प्याट्ट हिर्काइरहन्थ्यो । कहिले मुखै थुनिदिन्थ्यो र, कहिले चारवटै खुट्टा च्याप्प पारेर राख्दथ्यो ।
अँ, हामी पशुहरुको औषधि पसलमा पुगुञ्जेल मलाई वर्षै बितिसकेजस्तो लाग्यो । सधैँ ओहोर–दोहोर गरिरहेकै त थिएँ नि त्यो बाटोमा । तर किन त्यही बाटो मेरा निम्ति कैयौँ माइल दूरीको भयो ? यो पनि मेरो समझमा आएन । बाटोमा खैरे कराइरहेकाले मलाई अत्यास लागिरहेको थियो । कतिखेर आइपुग्ला त्यो अस्पताल भनेर सोच्दैमा म किंकर्तव्यविमूढ भइरहेको थिएँ ।
‘बुबा, अझै कति टाढा छ ?’ भनेर पचासपल्ट सोधेहुँला मैले साइकल चलाउँदै गर्दा । खैरेले ‘मेँ–मेँ’ गरिरहेकाले आँखामा थोपाहरु चुहिन थालिसकेका थिए मेरा । ‘मलाई छिटो अस्पताल पुर्याओ, म जाँदैछु’ भनेर खैरेले भनेको हो कि भन्ने सम्झेर मेरो मुटु फुट्ला कि जस्तो भइसकेको थियो । म ‘हुँक्क’ गर्ने अवस्थामा पुगेको मात्रै के थिएँ, औषधि पसल आइपुग्यो । ‘ऊ त्यो रुखको फेदैमा हो’–बुबाले भन्नुभएपछि मेरो मन केही शान्त भयो । तर धैर्यको बाँध टुटिरहेकै थियो । झटाझट् साइकल रोकेर खैरेलाई समात्न पुगेँ म । औषधि पसलमा गएर सोध्यौँ । डाक्टर त्यहाँ नभएको र अझ केही पर पुग्नुपर्ने कुरा बताए औषधि विक्रेताले । म रुन मात्रै सकिनँ, खैरे कराइरह्यो, झन् जोड–जोडले कराउन थाल्यो । लौ न नि ! के बित्यास पर्यो ! भन्ने सोचेर खैरेलाई छिटोभन्दा छिटो डाक्टरकहाँ पुर्याउन नसकिएकोमा पछुताउन थालेँ म । बुबाले खेरैलाई समात्नु भो र, मैले कुदाइहालेँ साइकल । जस्तोसुकै दुर्घटना किन नहोस् १ मैले साइकल बेस्सरी कुदाएँ । खैरे जोडसँग कराएको सुन्दा मुटु ढुक्ढुक् गथ्र्यो ।
केही बेरमै डाक्टरकहाँ पुगिएछ । डाक्टरले यसो हेरेर औषधि र इन्जेक्सन दिए । त्यतिबेला मलाई त्यो डाक्टर देवताजस्तै लाग्यो । डाक्टरका अनुहारभरि टाटै–टाटा थिए । तर त्यतिबेला त्यसैमा मैले ईश्वर देखेँ । उसको पूजा नै गरे पनि कम हुन्छ जस्तो लाग्यो मलाई । डाक्टरलाई धन्यवाद दिनका लागि मसँग शब्द त थिएन नै ! साथै हर्षले मेरो मुखबाट केही निस्कन सकेन । इन्जेक्सन लगाउँदा खैरे कराएको थियो र, एकपटक डाक्टरलाई पुलुक्क हेरेको थियो । सायद ‘मलाई के गरेको !’ भनेर सोधिरहेको थियो । डाक्टरले त्यति मायालु आँखाले नहेरे पनि इन्जेक्सन लगाइदिएर ऊमाथि ठूलो उपकार गरिरहेका थिए । त्यस क्षणमा त्यही डाक्टरकै अभावले गर्दा त हाम्रो सेतेले प्राण त्यागेको थियो । आज खैरेले पनि डाक्टर देख्न नपाएको भए के हुने थियो ! म सोच्नै सक्तिनँ ।
हामीमाथि औषधि विक्रेताले ठूलो गुन लगायो । ऊ पनि डाक्टरपछिको प्राणदाता बनेर निस्कियो खैरेका निम्ति । हामीसँग पैसा थिएन । औषधि खैरेलाई खुवाइदिइहाल्नुपर्ने ! हस्याङ्फस्याङ् गरेर औषधि पसलमा पुगेको थिएँ म । ‘केही बेरपछि ल्याइदिउँला पैसा, हुन्न ?’ भनेर सोधेँ मैले । नबोलिकन औषधि दियो उसले । कहाँ पाइन्छ अचेल त्यस्तो मान्छे १ पैसामा बिक्न खोज्छन् सारा ! तर, बिकेन ऊ । पैसामा खरिद्न नसकिने केही अल्पसङ्ख्यक मान्छेहरुमध्ये गणना गरेँ मैले उसलाई । न चिनेको, न जानेको, हाम्रो खैरेको औषधि सुटुक्क दिइहाल्यो उसले । धन्य हो उसको भावना !
खैरेलाई लिएर घर फर्कँदा मलाई के अनुभूति भयो भने म कुनै ठूलो काम गरेर फर्किरहेको छु । खैरेलाई डाक्टरकहाँ पुर्याउन सकेकोमा मेरो मनमा यति खुशी थियो कि, म व्यक्त गर्न सक्तिनँ । तर सेतेलाई सम्झेर मेरो मनमा पश्चाताप पनि भइरहेकै थियो, सेतेले डाक्टर देख्न पाएन ।
खैरेलाई उपचार गराएर फर्कँदा बाटामा मान्छेहरु कसैले टोलाएर हेरिरहे, कोही गलल्ल हाँसे भने कसैका अनुहारमा आश्चर्य पनि मैले भेटेँ । जे होस्, खैरेलाई अस्पताल पुर्याउन सकिएको खुशीमा मैले साइकल बेस्सरी कुदाएछु । खैरे घरसम्म आरामले आइपुग्यो । तर घर आएपछि खैरे कराउन थाल्यो । फेरि एकपल्ट अत्यासले घरमा सबैको अनुहार बादलिन थालिहाल्यो । उसकी आमाले खैरेलाई मुसार्न थाली । धामी–झाँक्रीको व्यवस्था पनि उत्तिखेरै भयो । आफूले ‘रुढीवादी परम्परा’ भनेर झारफूकको विरोध गर्दै आएको भए पनि खैरेलाई त्यसले केही असर गरिहाल्छ कि भन्ने आशामा म अल्झिइरहेँ । झँक्रीले ‘फू–फू’ गरेर कुन्नि के–के गर्यो र खरानी–पानी खुवाइदियो खैरेलाई । अलि आराम मिलेजस्तो गर्यो खैरेले । मैले यो बुझ्न सकिनँ कि खैरेलाई डाक्टरको औषधिले आराम दिलायो वा झाँक्रीको खरानी–पानीले । जे होस्, खैरे कराउन छाडेपछि हामीले चैनको सास फेर्यौँ । यसरी घरमा ल्याइसकेपछि पनि एकछिनसम्म त हामी सबैलाई अत्याइरह्यो खैरेले । सायद अब ऊ स्वस्थ छ । भोलि बिहानै उठेर चर्न जानेछ ।
(४)
सेतेले यो संसार छाडेर गएको कति दिन भयो भन्ने कुराको गणितीय गणना मैले गरेको छैन । आजसम्म मैले उसलाई आफ्नी प्रेमिकाको रुपमा त कहिले भाइको रुपमा अनि कहिले साथीको रुपमा त कहिले क्षणभरको एउटा सहयात्रीको रुपमा कैयौँ पल्ट कल्पना गरिसकेँ । जीवनका अठार वसन्तहरु पार गर्दा केवल दुई पल्ट मैले प्रेमको अनुभूति गरेको छु । एउटा स्कूले जीवनमा र, अर्को सेतेको देहान्तपछि । मेरो स्कूले जीवनमा एकपल्ट यस्तो मोड आएको थियो, न त भोक लाथ्ग्यो न त तिर्खा । कसैसँग बोल्न मन नलाग्ने अनि एकान्तमा कुन्नि कहाँ–कहाँ पुगेको रमाइलो कल्पना गर्ने बानी सायद त्यतिबेलादेखि नै बसेको हो ममा । वास्तवमा त्यो प्रेम रहेछ भन्ने कुरा आज मलाई थाहा लाग्दैछ । प्रेम भनेको त्यस्तो हुँदो रहेछ भनेर मलाई सेतेको देहान्तले महसुस गराएको छ ।
अचेलभरि म घरको छानोमाथिबाट सेतेलाई गाडिएको उसको कब्रस्तान हेरिरहन मन पराउन थालेको छु । जिउँदो हुञ्जेल त्यति ख्याल भएन । तर मरेपछिको सेतेको अभावलाई महसुस गर्न थालेको छु म । दसैँ आएको छ, सबै रङ्गीचङ्गी पहिरन लगाएर घर–घर लागिरहेछन्, रमाइलो गरिरहेछन् । तर सेतेको अभावले कसैलाई कुनै प्रभाव परेको मैले पाइनँ । सेते भएको भए दसैँ कत्ति रमाइलो हुँदो हो अथवा सेते नभएर यसपालिको दसैँमा कत्ति नमज्जा भएको हो भनेर कसैले महसुस गरेजस्तो पनि मलाई लागेन । यस्तो छ यहाँको परिवेश । लाग्छ, हिजो सेते थियो, हिजोका दसैँहरुमा अरु मान्छेहरुसँग सेते पनि हुन्थ्यो, तर आज सेते छैन । सेते बाहेकका अरुहरु हिजोझैँ मस्त छन्, कुनै परिवर्तन छैन यहाँ, बाहेक सेतेको अनुपस्थिति । घरमा सबैसँग बसेर खाना खाँदा सेते, खैरे, मुनी सबैले हेरिरहेका हुन्थे ती दिनहरुमा । तर अचेल हामीले खाना खान लाग्दा सेतेले हेर्दैन, ऊ घटेको छ । अरुहरु सपासप गास निल्छन् । तर खैरे वा मुनीलाई मात्र देख्दा मलाई भने सेतेको सम्झना आइहाल्छ । सेते भएको भए ऊ पनि यहीँ बसेर टुलुटुलु हेरिरहेको हुन्थ्यो जस्ता कुराहरु आउँछन् मनमा र, म अलग्गै बस्न चाहन्छु सहन नसकेर । दश दिन जति त मैले खाना खानै सकिनँ । मलाई के कुराको विशेष चिन्ता रहन्छ भने मान्छेहरु स्वार्थको घिनलाग्दो, गन्हाउने र दुर्गन्धित पोखरीमा झन्–झन् पौडिँदै, डुब्दै र भासिँदै गइरहेछन् । सेते मरेको दिन पनि आधा घण्टा नबित्दै कसरी खान सकेका चिया र पाउरोटी कपाकप ? सेते नरहेको कुराको चिन्ता किन नरहेको उनीहरुमा ? कि सेतेको निधनमा खुशियाली मनाइरहेका थिए उनीहरु ?
अब म सेतेको कब्रस्तानतिर जाँदैछु । सेतेको यताउता हिँडिरहने, खोलाको किनारमा मस्त निदाउने त्यो शरीर सायद अहिले गलेर, सडेर धुलोपिठो भइसकेको हुनुपर्छ । सेते गाडिएको ठाउँमा अहिले हरियै दुबो पलाएको छ । नजिकै दुईवटा सिसौका रुखहरु उभिएका छन् । लालुपातेका विरुवाहरु छेउछाउमा झ्याङ्गिएका छन् । करिब पचास मिटर जति अगाडि एउटा घर छ । सेते हामीबाट टाढा हुनुभन्दा यस्तै आठ–दश दिन अगाडि मात्रै त्यो घरको एउटा बूढो मानिसले पनि यो धर्तीबाट विदा लिएको थियो । तर मलाई त्यो बूढो मानिसको निधनमा त्यति शोक छैन जति सेतेको । कारण, त्यो बूढोमा सेतेमा जस्तो कर्तव्यनिष्ठा मैले देखिनँ । नजिकै बजारमा पसल थापेर बस्थ्यो ऊ । एकदिन उसको पसलमा सामान लिन भनी गएको थिएँ । व्यर्थैमा मसँग झगडा गरेको थियो त्यो बूढोले । त्यस दिनदेखि उसको पसलमा जानै बन्द गरिदिएको थिएँ मैले । यसरी जिउँदैमा त्यो बूढो मेरो लागि प्यारो बन्न नसकेकोले, अथवा मलाई मन नपरेकोले, त्यो बूढोको मलाई सेतेको जत्तिको माया पटक्कै लाग्दैन । त्यही बूढोको घरदेखि पूर्वपट्टि एउटा खेल मैदान छ । मेरो सेतेको कब्रस्तानको परिवेश करिब–करिब यस्तै नै छ । अझ पश्चिम पवित्र नदी बहेकी, नदीपारि देवताको मन्दिर रहेको जस्ता कुराहरुले सेतेको भौतिक शरीर जहाँ छ, त्यसलाई थप सुन्दर तुल्याइदिएको छ । नदीको किनारमा बसेर पनि सेतेको कब्रस्तान हेर्न सकिन्छ । म प्रायः सन्ध्या र उषाकालमा त्यसै गर्छु । सेतेसँगका यादहरुमा रमाउने गर्छु, सेतेसँगै खेल्ने गर्छु ।
एकदिन मैले सेतेकी आमा ( मुनी)को अनुहारमा नियालेर हेरेँ । ‘जीवन के हो’ भन्ने विषयमा उसले गम्भीर चिन्तन गरिरहेकी हो कि जस्तो भान हुन्थ्यो । उसको अनुहारमा झल्किएको गाम्भीर्यले उसलाई एउटा दार्शनिकजस्तो, एउटा मनोविश्लेषणकर्ताजस्तो, अथवा चिन्तकजस्तो बनाइदिएको थियो । साच्चै १ मुनीले सोचेकी थिई सायद कि जीवन दुई दिनको भेल हो । यो भेल कतिखेर उर्लेर कहाँ टुङ्गिन्छ कसैलाई थाहा छैन । आफूभन्दा पछि जन्मिएको सेतेले आफ्नो भेलजस्तो जीवनलाई आफ्नी आमाभन्दा पहिले नै टुङ्गोमा–विश्रामस्थलमा पुर्याएको थियो । मुनीको अनुहारको भावले यो पनि स्पष्ट भनिरहेको थियो कि सेतेको लागि चाहेर हुने भए उसले बरु आफ्नै ज्यान दिने थिई । सेतेको अभावमा जुन पीडा उसले सहन गर्नु परिरहेछ, त्यो पीडा उसलाई सेतेको जीवनरक्षाका लागि प्राणोत्सर्ग गर्ने बखतमा पनि हुने थिएन । तर बिडम्बना, संसार त्यसरी चल्दैन । कसैले चाहँदैमा कसैको चेतनाले शरीर नछाड्ने वा छाड्ने होइन । एउटाको साटो अर्कोले मरेर वा बाँचेर हुने भएको भए यो संसारमा सायद यति कोकोहोलो मच्चिने थिएन, यति रुवाबासी चल्ने थिएन । न त मुनीले सेतेको बदला मरेर हुने थियो न त मुनीको बदला सेतेले बाँच्न नै पाउनेछ । संसार आफ्नै नियममा हिँडिरहेछ । आफ्नै चलनमा कुदिरहेछ, दौडिरहेछ । यदि यस्तो हुन्थेन भने सेतेको लागि मै आफैँ पनि बलिदित हुन्थेँ । त्यसबेला सेतेको प्राणरक्षा गर्ने सौभाग्य पाएकोमा म आफूलाई भाग्यशाली ठान्थेँ । तर त्यो सौभाग्य मलाई विधाताले दिएको छैन, न त अरु कसैलाई नै । मेरो ठाउँमा पनि कसैले त्यो सौभाग्य कसैले पाउने छैन । यो शाश्वत् सत्य हो । समयको निष्ठुरीपन बुझ्नका लागि यिनै कुराहरु पर्याप्त छन् । न त समय कसैको बेदना, चित्कार र रुवाबासी सुन्छ, न त ऊ कसैको पुकार वा रोदनबाट नै पग्लन्छ । समयले के बूढो, के बालक, के गर्भे, कसैलाई छाड्दैन । त्यही समयको पासोमा परेको त हो मेरो सेते । बिचरो ! निरपराध, निष्कलङ्क, निःसहाय सेते ! ‘मेँ–मेँ’ गर्दा–गर्दै खुत्रुक्क भएको थियो । समयले उसमाथि अलिकति पनि दया गरेन । डाक्टरकहाँ पुर्याउने मौकासम्म पनि दिएन त्यो पापी समयले ।
प्रायःजसो खैरेलाई देख्यो कि सेतेको उपस्थितिको झल्को आइहाल्छ । खैरे नै सेतेको प्रतिविम्ब हो जस्तो लाग्छ । उही हावभाव, उही बसाइ, उही उठ्ने शैली । दाजु–भाइ उस्तै–उस्तै त थिए । आज भाइ छैन । तर उसको हावभावको दुरुस्त नक्कल हामी देखिरहेछौँ, उसको बस्ने–उठ्ने कलाको अनुकरण हामी हेरिरहेछौँ । समग्रमा यसरी भनौँ, हामी खैरेलाई सेते मानेर बुझिरहेछौँ, सेतेको अर्को रुप भनेर हेरिरहेछौँ । अझ भनौँ, कहिले प्रेमिका र कहिले क्षणिक सहयात्री बनेर मसँग मेरो सेतेको चेतना खेलिरहेको छ, सेतेको प्रतिविम्ब नाचिरहेको छ । सेतेको कब्रस्तान वरिपरि उसको सम्झना लुकेको छ र, त्यही सम्झनाले नै उसलाई आजसम्म मेरो निमित्त अजर–अमर तुल्याई राखेको छ ।
यस्तै कुराहरुमा भुलिरहँदा म यो कुरालाई भुसुक्कै बिर्सन्छु कि सेते हामीबीच छैन । मानौँ, सेते मसँगै जलविहार गर्न हिँडिरहेछ, उफ्रिरहेछ, दौडिरहेछ । मानौँ, मैले देख्ने हरेक दृश्यहरु सेतेकै प्रतिविम्ब हुन् ।
(५)
सेतेको देहान्तपछि साँच्चि भनूँ भने म ऊसँग प्रेम गर्न थालेको छु । जब मेरा अगाडि विगतको सेते उभिन्छ, मेरो मन खुशीले गद्गद् हुन थाल्छ । के पाइनँ–के पाइनँ भनेर छट्पटाइरहेको मेरो मानसपटलमा अचानक सेते आइदिन्छ । सेतेको आगमनपछि, यस्तो लाग्छ, वास्तवमा सेतेलाई हेर्नकै लागि मेरा आँखाहरु धेरै पहिलेदेखि प्रतीक्षारत थिए । लाग्छ, मैले खोजेको सम्पूर्ण तत्व उसमा छ । ऊ मेरी प्रेमिका हो । म ऊबिना बाँच्न सक्तिनँ । उसको उपस्थिति बिनाको यो परिवेश मेरा निम्ति नर्क हो । ऊ बिनाको चिहानघाटमा मेरा लागि केही हुँदैन सिवाय प्रतीक्षा र छट्पटी । तर ऊ सहितको स्वर्गमा मेरो सम्पूर्ण खुशी, हाँसो र सुन्दरता छ ।
मलाई चिहानघाट मन पर्दैन । त्यहाँ केवल मूर्दाहरु हुन्छन् । मूर्दाहरु कसैसँग कुरा गर्दैनन् । मूर्दाहरु हाँस्दैनन्, बोल्दैनन् । न त चिहानघाटमा प्रेमको लक्षण हुन्छ । त्यहाँ त बिछोड हुन्छ, रुवाबासी हुन्छ र, करुण–क्रन्दनहरु हुन्छन् ।
सेतेको चिहानघाटमा पुग्दा पनि त म केवल कल्पनामा रमाउने गर्दछु । उसको चिहानघाट नजिकै एउटा सानो छाप्रो हालेर बसेको, सेतेको चिहानघाट सुन्दर भएको इत्यादि कुराहरु पनि काल्पनिक नै हुन् । वास्तवमा चिहानघाट अशुभ सङ्केत नै हो । सेतेको चिहानघाट पुगेर ऊ सहितको स्वर्गको कल्पना गर्नु मेरो बाध्यता हो । यसबाहेक म अरु के नै गर्न सक्छु र ?
जे होस्, सेते बिनाको ‘चिहानघाटजस्तो’ यो संसारमा म रमाउन सक्तिनँ । सेतेको सहभागितामा यो खोला, यो नदी, यी घाँसपातहरु, यो रुख इत्यादिमा पनि म अनौठो स्वर्गीय रमणीयता अथवा सुन्दरता पाउँछु । म चाहन्छु, सेतेसँगै यो परिवेश स्वर्ग बनिरहोस्, हराभरा ज्योतिमय रहिरहोस् । सेतेको विशेष उपस्थितिमा स्वर्गतुल्य हुने यो ठाउँमा म सेतेको प्रेमीको रुपमा प्रस्तुत हुन्छु । सेते मेरी प्रेमिका बन्छे । अनि हामी दुवै प्रेमको स्वच्छन्द, निर्मल, अभौतिक र निराकार सागरमा डुब्दै–डुब्दै जान्छौँ । हामी प्रेमको गुणगान गाउँछौँ, प्रेमको पूजा गर्छौँ र, प्रेमको प्रशंसामा भजन–कीर्तन गर्छौँ । हामी यो कुरामा अडिग रहन्छौँ कि प्रेम नै संसारको सबैभन्दा ठूलो अस्त्र हो, शस्त्र हो । अर्को अर्थमा प्रेम नै संसारको आधारस्तम्भ हो । प्रेमले बलिदानको पाठ सिकाउँछ, प्रेमले अनौठा पाठहरु सिकाउँछ, प्रेमले परोपकारको शिक्षा दिन्छ अनि प्रेमले दुईटा अलग–अलग मनलाई सदा–सदाका लागि एउटै बनाइदिने सामथ्र्य पनि राख्दछ । सेते र मेरो मन पनि एउटै भएको हुन्छ त्यस बखत । सेतेले जे सोच्छ, मैले पनि त्यही सोचिरहेको हुन्छु । म सेतेको लागि जे पनि गर्न तयार रहेको हुन्छु भने सेते पनि मेरो प्रेममा त्यसरी नै सच्चा हृदयले त्याग गर्न दृढ रहन्छे । ऊ मलाई आफूबाट एकक्षण पनि टाढा रहेको हेर्न चाहन्न । म पनि सेतेको आँखाबाट आफ्नो आँखा कहिल्यै यताउति गर्न नपरोस् भन्ने सोचिरहेको हुन्छु । कतै कसैले कुनै विघ्न–बाधा त ल्याइदिने त होइन हाम्रो प्रेममा भनेर हामी दुवै त्रसित, भयभित, सजग र सचेत रहेका हुन्छौँ । कसैलाई आफ्नै दाजुभाइको त्यति माया लाग्दैन । तर के साह्रो माया बसेको हो यो हामी दुईमा भनेर ऊ र म दुवै चकित रहेका हुन्छौँ । यो सेते र मेरो स्वर्ग हो, कल्पना हो ।
सेतेलाई आफ्नो कल्पनाको संसारमा प्रेमिका बनाउन पाउँदा मैले अनेक कुराहरु सिक्ने मौका पाएको छु । प्रेमी–प्रेमिकाहरु बिछोडमा तड्पिएर पानीबिनाको माछाजस्तै छट्पटाउँछन् भन्ने कुरा मैले दन्त्य–कथाहरुमा प्रशस्तै पढेको थिए, चलचित्रमा हेरेको थिएँ । तर म आफैलाई यस्तो महसुस भएको थिएन आजसम्म । सेतेको देहान्तपछि यी सारा कुराहरु सत्य हुन् भन्ने लाग्न थालेको छ मलाई । सेतेलाई प्रेमिका बनाउँदासम्म मलाई यस्तो लाग्छ कि हामी जहाँ बाँचेका छौँ, त्यो पापको घडा हो । हामी पापको घडामा डुबेर निथ्रुक्क भिजेका छौँ भन्ने कुरा अति सहज रुपमा त्यो स्वर्गमा पुगेपछि म अनुभूत गर्दछु । वास्तवमा मान्छे, पशु, पन्छी इत्यादिमा भेद गर्नु भनेकै पापी हुनु हो । सृष्टिकर्ताले यो संसार प्रेमको व्युत्पत्तिका लागि बनाएको हो । तर यहाँ त घृणा, द्वेष, अनाचार, असमानता, भेद–भाव इत्यादिको उत्पादन भइरहेछ । ‘सर्वश्रेष्ठ प्राणी’को तक्मा लगाएको मनुष्य त झन् नर्कमा भासिदै गइरहेको छ । प्रेम भन्ने कुरो ‘एकादेशको कथा’जस्तै भएको छ । छिः कति घिनलाग्दो छ, म बाँचेको यो संसार ! बरु सेतेसँगै म पनि त्यही स्वर्गमा जान पाए हुन्थ्यो भन्ने कुराले मलाई अत्याइरहन्छ कहिलेकाहीँ । सेते जहाँ पुगेको छ, जो म कल्पना मात्रै गर्न सक्तछु, त्यहाँ नपुगी अन्त कतै सोचेजस्तो दिव्यानन्द प्राप्त होला भन्ने कुरामा मलाई विश्वास लाग्नै छाडेको छ । सेते भएका भए सायद ऊ र मेरा लागि मात्रै भए पनि यो पापको घडामा अलिकति प्रेम टुसाउने ठाउँ भेटिने थियो कि ! तर असम्भव ! सेतेसँग म केवल कल्पनामा मात्रै प्रेम गर्न सक्तछु । कल्पनामा नै सेते र मबीचको प्रेम हुर्कँदै, बढ्दै, झ्याङ्गिँदै र जवान हुँदै गइरहेको छ । हामी दुवै एकअर्कासँग कहिल्यै नछुट्टिने गरी बाँधिएका छौँ । हामी दुवै एकाकार भइसकेका छौँ । शरीर छुट्टा–छुट्टै भए तापति सेते र मेरो मन एउटै भएको छ । एकअर्कासँग नबोलिकन नै हामी एक–अर्काको पीडाबोध गर्न सक्तछौँ । एकले अर्कोलाई स्पर्श नगरिकनै हामी आपसमा कुराकानी गर्दै, हाँस्दै गर्न सक्छौँ । ऊ र म बीचको प्रेम स्वयम्मा अद्भूत, चमत्कारी र अनौठो छ । प्रेम आफैँमा आनन्ददायक हुँदोरहेछ । प्रेममा अनेक रसहरु घोलिएका हुन्छन् । श्रृङ्गार रसान्तर्गतको सम्भोगावस्थामा मात्रै होइन, विप्रलम्भ वा वियोगावस्थामा पनि प्रेम हुर्किरहेको हुन्छ । प्रेममा करुणावस्था त आउँछ नै । साथै हास्य पनि बन्न सक्छ । अद्भूत, भयानक एवम् विभत्स इत्यादि प्रेमका बाधक बन्न सक्तैनन्, यद्यपि तिनीहरु आउँछन् । संयोगावस्थामा मात्रै प्रेम देख्नु त प्रेम गर्नु नै होइन । अब सेते र मेरो नै कुरा गर्ने हो भने पनि हामीबीच रति वा हासको स्थिति छैन, तर प्रेम बाँचिरहेको छ शोकले । शोकका कारण जन्मिएको करुणाले । यसमा सेतेको भौतिक अवसान वा मेरो भौतिक अस्तित्व आदिले कुनै अन्तर्विरोध सृजना गरेको छैन ।
(६)
सेतेको सम्झना गर्दा–गर्दा मेरो मष्तिस्कमा ऊभन्दा अघिका सन्तानहरुको अनुहार पनि आउन थालेको छ । सेतेकी आमा (मुनी) जन्मनुअघि हामीसँग अर्को एउटा ‘मुनी’ थियो । हुनसक्छ पहिलेको त्यही ‘मुनी’को मायाले गर्दा सेतेकी आमालाई पनि त्यही नाम दिएका थियौँ हामीले ।
प्रसङ्ग त्यतिखेरको मुनीको देहान्त हुँदाको हो । ऊ हाम्रै घर नजिकैको एउटा खोलाको भुल्भुलेमा परेर परलोक भएको थियो । सेतेको निधनपछिका दिनहरुमा त्यतिबेलाको त्यो मुनीको देहान्त पनि दर्दनाक रहेछ भन्ने कुरा मलाई विस्तारै अनुभव हुन थालेको छ ।
त्यतिबेलाको मुनीले हामीलाई छाडेर जाँदाको पीडालाई पोख्न मन लागेको छ ।
‘पाठालाई खोलाले बगायो…..’, रुँदै–रुँदै कसैले भनिरहेको थियो । म झसङ्ग भएँ । बडो असमञ्जसमा परेँ म । दौडदै खोलानेर पुगेँ । खोला सुनसान थियो । एउटा भुल्भुले चक्र घुमिरहेको थियो ।
पाठो जब एकपटक झुर्लुक्क अनुहारसम्म नदेखाइकन सधैँका लागि विदा भयो, तब म निकै सङ्कटमा परेको अनुभव गर्न थालेँ । यस्तो लाग्यो, आज मेरो कोही आफन्तको मृत्यु भएको छ । मसँग खेलिरहने त्यो मुनी आज मबाट टाढा भएको छ । उसको आफ्नै खैरी पाठी पनि अब एक्ली छ । मेँ–मेँ गर्दै उफ्रदै ऊसँग खेलिरहने उसको आफ्नै साथी मरिसक्यो भन्ने कुरा उसलाई के थाहा ? हो १ भोलि जब ऊ आफैलाई एक्लो महसुस गर्नेछ, त्यसबेला उसलाई अवश्य पनि खल्लो लाग्नेछ । उसलाई, जो मरिसक्यो, अस्ति भर्खर जन्माएकी उसकी आमा पनि आज एउटा पाठीसँगै खोरभित्र थुनिन विवश छ । एउटी आमाले यस्तो अवस्थामा कस्तो महसुस गर्छे, त्यो त एउटा गम्भीर प्रश्न हो ।
मसँग उफ्रदै खेल्नेहरुमध्येको एउटा मुनीले आज मलाई अत्यन्तै पीडित तुल्याएको छ । अस्ति भर्खर व्याएको मध्ये ऊ एउटा मात्र पाठो थियो । पहिलो बेतमा पनि उसकी आमाले पाठीहरुलाई नै जन्माएकी थिई ।
म दोधारमा परेको छु । दसैँका लागि पनि सबैले घरमा त्यही पाठालाई नै ताकिरहेका थिए । एक किसिमले उसलाई मर्नै पथ्र्यो । तर पनि मेरो मन मान्नका लागि तयार भइरहेको छैन । लामो समयसम्म मेरो साथी बनेर रहन सक्थ्यो ऊ । दसैँ आउन अझै निकै बाँकी छ ।
जब उसले मेरो हात चाटिदिन्थ्यो, तब ममा एक किसिमको आनन्दानुभूति हुन्थ्यो र, ‘मुनी’ सम्बोधन गर्दै उसलाई लखेट्नमा तल्लीन रहन्थेँ म । जब ऊ चार–पाँच दिनको थियो, उसकी आमाले उसलाई अत्यन्तै सुरक्षित राखिरहेकी थिई । र, आफ्नो कर्तव्यप्रति सजग र सतर्क रहेकी थिई । चार–पाँच दिनपछि मुनी आफै यताउता गर्न थालेको थियो । खोलाको किनारमा बढी समय बिताउन चाहने मुनीलाई साँच्चि नै कालले बोलाएको रहेछ । त्यसैले त ऊ खोलातिर बढी आकर्षित थियो ।
मलाई सम्झना छ, यो खोलाले बर्षेनी मान्छेहरुलाई मृत्युको मुखमा पुर्याउँदै आइरहेको छ । केही महिना अगाडिमात्रै एउटा निर्दोष बालकलाई यही खोलाले खाएको थियो । आफ्नो नाबालक छोराको मृत शरीरलाई पिठ्युँमा बोक्न विवश तुल्याएको थियो यो पापी खोलाले । एक वर्षअगाडि एकजना बूढा बालाई निल्ने पनि यही खोला हो । त्यसैले त यो खोलालाई ‘हत्यारा’को नाम दिन मन लाग्छ । ‘ज्यानमारा’ भन्न मन लाग्छ । आखिर कसले के बिगारिदिएको छ र उसको ? किन ऊ एउटा रमाइरहेको जीवनलाई खोस्ने गर्छ ? आखिर उसको उद्देश्य के हो ?
नदी, नाला, छाँगा र छहराको गुणगान गाउने कविहरुप्रति एकपल्ट झनक्क रिस उठेर आउँछ । मलाई थाहा छ, आज जनसङ्ख्याको तीब्र चापले गर्दा मान्छेको मृत्यु जुनसुकै रुपबाट भए पनि सामान्यजस्तो लाग्दछ । तर मेरो त्यो मुनी कसका लागि धेरै भएको थियो र ? जब ऊ निस्सासिँदै खोलाको भूमरीमा घुमिरहेको दृश्य सम्झन्छु, जब एक्कासी भक्कानो फुटेर आउँछ । आँसुको भेल बगाउनु व्यर्थ हो भन्ने ज्ञान हुँदाहुँदै पनि रोकिन सक्तिनँ । म सोच्छु, त्यो कालो पाठो, मेरो मुनी, अब कहिल्यै फर्केर आउने छैन । मेरो साथी मसँग अब कहिल्यै हुने छैन । म एक्लो बनिसकेको छु, नितान्त एक्लो । अर्को पाठी पनि अब साथीको अभावमा तड्पिने छ, एक्लै बसेर रुनेछ । उसकी आमा अचम्ममा परिरहेकी छे, आज किन एउटामात्र बच्चा मेरो साथमा छ भनेर । उसको पाठो मर्यो भन्ने कुराको ज्ञान उसमा छैन किनभने ऊ एउटा पशु हो, अज्ञानी पशु ।
आज मेरो मुनी मसँग भएको भए सायद म ऊसँग खेलिरहेको हुन्थेँ यतिबेला ।
दसैँमा दुर्गालाई बली चढाउने नाममा सबैसामु निर्मम् ढङ्गले पशुहत्या गरिन्छ । तर यो खोलाले त कसैलाई थाहै नदिई भोग लिएर छाड्छ । यो खोला खोलाको नाममा पापी हो । पापको भारीले गह्रुङ्गो भएपछि यसलाई अवश्य पनि पश्चाताप हुनेछ । मेरो मुनीको ज्यान लिने यो पापी खोला मुनीकै चेतनाको श्रापले सुक्नेछ, सदा–सदाका लागि….।
यसरी त्यतिबेलाको हाम्रो मुनीले हामीलाई छाडेर गएको थियो । त्यतिबेला पनि हामीमा प्रेमानुभूति भएको थियो । त्यो मुनी मरेपछि हामीले ऊसँग प्रेम गर्न थालेका थियौँ, सेतेले आफू स्वर्गे भएर यस कुराको अनुभूति गर्ने मौका दियो ।
(७)
प्रेममा बिछोडको पीडा कति मीठो हुन्छ भन्ने कुराको वर्णन गर्न मसँग कुनै शब्द छैन । सेतेको निधनपछिका दिनहरुमा मलाई यस कुराको अनुभूति भइरहेछ । जब दुई प्रेमीहरु कुनै कारणले एक आपसमा बिछोडिन पुग्छन्, तब दुवैको हृदयमा पीडाको अनुभूति हुन्छ । त्यो पीडासँगै उनीहरुलाई एक प्रकारको सुखानुभूति पनि हुन्छ । बिछोडमा छट्पटाइरहेका दुई मनहरु आफ्नो मिलनको कल्पना गर्दै त्यसैमा रमाउन सक्छन् । मनभित्रको घाउलाई कोट्याउँदै त्यसबाट उत्पन्न हुने दुःखाइलाई आफ्नो प्रेमप्रतिको समर्पण ठान्दै अनि प्रेमको कोमल तरवारले असत्यको–घृणाको र द्वेषको हाँगालाई एक दिन अवश्य काट्नेछ भन्ने दृढ सङ्कल्प लिँदै साँचो अर्थमा प्रेम गर्नेहरु समयलाई पर्खन सक्छन् । हो ! बिछोडपछि एकाकार हुने समय लामो हुन सक्छ, त्यो समयभित्र दुवैका आँखामा धेरैपल्ट आँसु आउन सक्छन्, भक्कानो फुट्लाजस्तो हुन सक्छ । तर ती सबै प्रकारका दर्दहरुमा पनि कता–कता आनन्द लुकेको आभास हुन्छ ।
पाठकवृन्द ! तपाईँ यो कुरा मान्नोस् कि नमान्नोस्, म के भन्छु भने एकपल्ट बिछोडिएका प्रेमीहरुलाई नै वास्तवमा प्रेमको सही ज्ञान हुन्छ । सजिलैसित हासिल भएको प्रेम पनि के प्रेम ! प्रेम गर्नेहरुले एकपल्ट त्याग गर्ने मौका पाउनुपर्छ, एक–अर्काप्रतिको समर्पण–भावको परीक्षा गर्न पाउनुपर्दछ, अनिमात्र त्यो प्रेम गाढा हुन्छ । मान्छेहरु भन्छन्– बिछोड दुःखदायी हुन्छ १ बिछोड अशुभ हुन्छ १ तर म यो कुरामा कत्ति पनि सहमत छैन । के तपाईँले वर्षौँपछि आफ्नो जोडी फेला पारेको कुनै चखेवालाई देख्नुभएको छ ? यदि देख्नुभएको छ भने ती जोडीहरुमा पहिलेभन्दा बिछोडपछिका दिनहरुमा बढी प्रेम बसेको तपाईँ पाउन सक्नुहुन्छ । सेते र मेरो सन्दर्भमा पनि यो कुरा लागू हुन सक्छ । जस्तो कि सेते जीवित छँदा मलाई उसको वास्ता नै हुन्थेन । तर मरेपछि मैले उसलाई आफ्नो (आफ्नी?) प्रेमिका बनाएँ । अनि कसरी भन्ने कि बिछोड अशुभ हुन्छ भनेर, बिछोड दुःखदायी हुन्छ भनेर ?
यस आधारमा प्रेमीहरुका लागि बिछोड भन्नु नै प्रेमको परिस्थिति तयार गराउने माध्यम हो भन्नु पर्ला । बिछोडको कारणबाट माया अझ बढ्छ, एकअर्काप्रतिको चाहमा वृद्धि हुन्छ । भन्नुको तात्पर्य यही हो कि बिछोडकै कारणले प्रेमको अनुभूति हुन्छ । यदि बिछोड नहुने हो भने न त प्रेमको अर्थ थाहा लाग्छ, न त कसैका लागि कसैले ज्यान नै दिन्छ । आफ्नो प्रेमीको लागि कसैले विष पिउँछ, कोही नदीमा हाम फाल्छ । तर यसको अर्थ यो होइन कि प्रेमको हत्या गराउने काममा बिछोड सहायक बनेको छ । विष पिउनु र नदीमा हामफाल्नु त उच्चस्तरको प्रेम–भावना हो । प्रेम–परीक्षामा सफलताका साथ उत्तीर्ण हुनु हो । यसो भन्दैमा बिछोडिएका प्रेमीहरुले आफ्नो शरीर समाप्त पार्नुपर्छ भन्नेचाहिँ होइन । बरु समाजको अगाडि आफ्नो प्रेमलाई स्थापित गराउने कोसिस गर्नुपर्दछ र, दुनियाँलाई यो बताउनुपर्छ कि प्रेमभन्दा ठूलो यो संसारमा अरु केही पनि छैन । एकपल्ट जब समाजले प्रेमलाई बुझ्नेछ, अनि कोही विष पिएर मर्नुपर्ने छैन । कसैले नदीमा हामफाल्नु पर्ने छैन । प्रेमको पूजा हुनेछ ।
जे होस्, चाहनेहरुलाई कहिल्यै टाढा राख्न सकिँदैन भन्ने कुरा बिछोडको भूमरीमा डुबुल्की मारेपछि मात्रै थाहा हुन्छ । त्यसैले म के भन्छु भने बिछोड स्वयम्मा बिछोडकै लागि हो भनेर प्रेम गर्नेहरुले कहिल्यै नसोच्नू । बरु बिछोडको पीडामा त्याग लुकेको सम्झनू । प्रेममा कर्तव्यनिष्ठ बन्न सिक्नू । प्रेम गरिसकेपछि त्यसलाई पूरा गर्न कत्ति पनि कञ्जुस्याइँ नगर्नू । अनि बिछोडको बेला मायाको डोरीलाई झन्–झन् कस्दै लैजानू । मायामा विश्वास हुनुपर्छ, सङ्लो मन हुनुपर्छ । अनि त त्यसले आफै जादू गर्न थाल्दछ । माया-करुणा न त मर्छ, न त सड्छ । माया जन्मेपछि केवल हुर्कन्छ, हुर्कन्छ अनि हुर्कन्छ । मायालाई हुर्काउने काम मनले गर्छ । त्याग, तपस्या र बलिदानले गर्छ । बिछोड, मृत्यु र यातनालाई कसैले माया-करुणाको फाटो नसम्झनू । माया-करुणालाई पाल्ने, पोस्ने, हुर्काउने र बढाउने कुरा केवल मनको स्वच्छता, निर्मलता र निःस्वार्थपनामा भर पर्छ । शरीरमा रोग लाग्न सक्छ, शरीर झीनो हुन सक्छ, तर माया झन्–झन् मौलाउँदै जान्छ । शरीर सुक्नुमा मायाको अपार स्रोत हुन्छ, भोक नलाग्नुमा पवित्र मन हुन्छ, निद्रा नलाग्नुमा समर्पणभाव हुन्छ अनि छट्पटाहटमा सुन्दर संसारको कल्पना हुन्छ । सायद त्यसैले मेरो कलम बिछोडलाई नै प्रेमको रुपक बनाउन चाहिरहेको छ ।
म कहिलेकाहीँ के सोच्छु भने समाजका मान्छेहरु दिन–प्रतिदिन स्वार्थी बन्दै गइरहेछन् । मान्छेहरुमा प्रेम–भावना छैन । वासनाको सिकार भइरहेछन् मान्छेहरु । त्यसैले सच्चा प्रेमीहरु हाम्रो समाजमा बिरलै देख्न पाइन्छन् । ‘लभ’को नाउँमा शरीरलाई बेच्ने काम भइरहेछ हामीकहाँ । समाजमा कमैमात्र मान्छेहरुमा प्रेमप्रति त्यागको भावना छ । आजकाल प्रेम गर्नेहरु बाह्य तत्वद्वारा (जस्तो कि पर्दामा देखाइएका प्रेम–प्रसङ्गहरु) निर्देशित भइरहेछन् । तर त्यो वास्तवमा ‘प्रेम’ हो जस्तो मलाई लाग्दैन । पर्दामा पनि आजभोलि बढ्ता अस्वाभाविक र अप्रतिनिधिमूलक चरित्रहरुलाई प्रस्तुत गर्न थालिएको छ । फिल्म बनाउनेहरु स्वयम् पनि प्रेम–भावबाट जाग्रत नभएर क्षणिक आर्थिक लाभका लागि युवा मनहरुलाई आकर्षित गर्नमा तल्लीन देखिन्छन् । तसर्थ माया गर्नेहरु यस्ता नक्कली कुराहरुदेखि सधैँ टाढा रहनू । बरु स्वाभाविक र दीर्घकालिक प्रेमको पक्षपाती बन्न सिक्नू ।
प्रेम गर्नेहरु धेरै टाढा–टाढासम्म, बिना पखेटा, उड्न सक्छन् भन्ने कुरो आज कता–कता मलाई साँचो हो कि जस्तो लाग्दैछ । सायद त्यसैगरी उड्ने क्रममा बिछोडका कुरा गर्दा–गर्दा नक्कली र सक्कली प्रेमको कुरासम्म आइपुगेछ मेरो कलम ।
प्रेम गर्नेहरुसँग अनौठा–अनौठा विशेषता हुँदा रहेछन् । उनीहरुका आँखामा पनि भाषा हुँदा रहेछन्, आँखाहरु पनि बोल्दा रहेछन् । चार आँखाहरु एकाकार भएर जन्मेको प्रेमले दुई मनहरुलाई एकै ठाउँमा ल्याइपुर्याउँदो रहेछ । केही बोल्दै नबोली, केही गर्दै नगरी प्रेम जन्मेर हुर्कन थाल्दो रहेछ । अझ कतिपय अवस्थामा त एक–अर्कालाई देख्दै नदेखी पनि प्रेमले जन्म लिन सक्दो रहेछ । यसरी हेर्दा म त के देख्छु भने प्रेमले नै संसारलाई पालिराखेको छ, अगाडि बढाइरहेको छ । यदि प्रेम नहुँदो हो त संसार उजाड हुँदो हो, यहाँका हरिया फाँटहरु मरुभूमीजस्तै लाग्दा हुन्, यहाँका सुन्दर हिमालहरु बोझ भएझैँ लाग्दो हो । तर आज त्यस्तो छैन । मान्छेको मनले हिमाल, पहाड र तराईहरुसँग कुराकानी गर्छ, लेक, बेसी र फाँटहरुसँग लुकामारी खेल्छ अनि सगरमाथासँग आँखा जुधाउँदै मन्द मुस्कान छर्ने प्रयास गर्छ । यो सबै प्रेमकै परिणति त हो । प्रेम भएकै कारणले, अझ भनौँ, मनहरुको पवित्र संयोजनले गर्दा नै यो सम्भव भएको हो । तर प्रेम भएर मात्रै यसो भएको होला त ? त्यसो भए किन आज सबैको सबैसँग प्रेम बस्न सक्तैन त ? यसको पनि एउटा कारण छ, किनभने सबैलाई बिछोडको सामना गर्नुपरेको छैन । यदि प्रेममा कुनै बाधा, अवरोध नआउने भएका भए प्रेम त्यत्ति ठूलो वस्तु बन्न सक्ने थिएन । प्रेममा आइपर्ने सङ्कटहरुलाई झेल्नु नै वास्तवमा प्रेमलाई जन्म दिनु हो । सङ्कट आइपरेका बेला त्यसको सामना गर्नु नै प्रेम हो । बिछोड त त्यही सङ्कटभित्र जन्मने एउटा सानो अंश मात्रै हो ।
सेतेको मायाबाट निस्किएका यी सारा कुराहरु एक प्रकारले कुनै सिद्धान्त वा दृष्टिकोण नै पनि हुन सक्छन् । तर सिद्धान्त र दृष्टिकोणभन्दा पनि बढी यो भावना हो, भावनाले जन्माएको एक प्रकारको मीठो उपलब्धि हो । यसबाट यो कुरा छर्लङ्ग भएको छ कि बिछोडकै कारणले मान्छे वा अरु कुनै पनि प्राणी नजिकिन्छ । बिछोड भनेको प्रेमानुभूतिको स्वर्णिम मौका हो । यही समयमा प्रेमी–प्रेमिकाहरु एकाकार भएको कल्पना गर्छन् र, आफ्नो प्रेमलाई साकार रुप दिने दृढ सङ्कल्प गर्छन् । सेतेसँगको बिछोड नै मसँगको प्रेमको मूल कारण रहेछ भन्ने कुरालाई कल्पेर मात्रै मैले यी कुराहरुलाई यो हरफमा लेखिरहेको छु । सेतेले त्यो अवस्थामा यो संसारलाई नत्यागेको भए ऊ आज यो पानाको नायक बन्ने थिएन । सेतेले आफू मेटिएर आफ्नो जिउँदोपनालाई सबैका अगाडि देखाएको छ । यदि यसो नभएका भए मेरो अनुभूतिको स्रोत नै नष्ट हुने थियो । यसरी भन्नुपर्दा बिछोड एक किसिमले भावना, कल्पना, मनोभावना वा अनुभूति नै पनि हो भन्नुपर्छ । कसैले बिछोडको अनुभूति नै गर्न सक्तैन भने पनि यो त्यति ठूलो वस्तु बन्न नसक्ला । तसर्थ अनुभूति गर्नेहरुलाई नै बिछोडको अर्थ थाहा हुन्छ र बिछोड नै वास्तवमा प्रेम हो ।
(८)
आज सेतेको चिहानघाट खोस्रेर हेरेँ सबेरै । चिन्नै नसकिने गरी माटोमुनि झन्–झन् भासिँदै गइरहेको रहेछ सेते । सेतेको यताउता उफ्रिरहने खुट्टा अहिलेसम्म अर्धठोस अवस्थामा पुगिसकेको रहेछ । ‘मँे–मेँ’ गरिरहने सेतेको उज्यालो अनुहारलाई मैले ठम्याउनै सकिनँ । विश्वास गर्नै गाह्रो पथ्र्यो कि त्यो उही सेते हो, जो आफ्नो आमालाई सताइरहन्थ्यो, यताबाट उता र उताबाट यता गरिरहन्थ्यो । सेतेको पूरै शरीर चोक्टा–चोक्टा भइसकेको रहेछ । समग्रमा, सेतेको मृत शरीर झन्–झन् मृत हुँदै, विक्षिप्त बन्दै गइरहेको रहेछ ।
सेतेको दुर्गन्धयुक्त सडेको शरीर देखेर सम्पूर्ण प्राणीको शरीर त्यति ठूलो कुरा होइन रहेछ भन्ने ज्ञान हुन्छ मलाई । सेतेलाई सम्झेर त्यति छट्पटाउने म उसको विक्षिप्त शरीरलाई देखेर पाँच कोस टाढा भाग्न बाध्य भएको थिएँ– नाक थुन्दै । जमिनमा गाडिएको यही सेतेसँग मैले प्रेम गरेको थिएँ भन्ने सम्झेर म आश्चर्यमा परेँ । कसरी मैले यस्तो सडेको, माटोमा पुरिएको अनि दिनप्रतिदिन गल्दै गइरहेको सेतेलाई आफ्नो प्रेमिका बनाएँ भनेर म स्वयम् आश्चर्यको भूमरीमा परेँ । तर मैले उत्तिखेर नै थाहा पाएँ– माटोमा गाडिएको, विक्षिप्त अवस्थाको त्यो सेतेसँग मैले प्रेम गरेको रहेनछु । मैले प्रेमिका बनाएको सेतेलाई अब त्यो माटोमुनि भेट्न सक्तिनँ म । त्यो सेते त मेरो मनमा छ । मैले सेतेको भौतिक शरीरलाई प्रेमिका बनाएको होइन रहेछु । मैले सेतेमा भएको कुन कुरालाई प्रेम गरेँ भन्ने कुराको जवाफ म शब्दमा दिन नसकुँला । जुन सेतेलाई मैले प्रेम गरेको छु, त्यो न त विक्षिप्तावस्थामा छ, न त त्यो दृश्य रुपमा मेरा अगाडि उपस्थित नै छ । त्यो त अदृश्य, अनन्त र अजरामर छ । म माटोमा गाडिएको सेतेको शरीरसँग टाढा रहन बाध्य हुन्छु । तर मेरो मनभित्रको सेतेले कुनै दुःख दिँदैन मलाई । त्यो सेतेले त मेरो मनमा फूल बनेर सुबास छर्छ ।
मैले सेतेको कब्रस्तान नजिकै कुटी बनाएर बस्ने इच्छा गरेको पनि सेतेको विक्षिप्त शरीरलाई हेर्नका लागि होइन रहेछ । बरु मेरी प्रेमिकाकी रुपमा रहेकी सेतेले मलाई त्यहाँ पुर्याउँदी रहिछ । शरीरसहितको सेतेलाई मैले केही ठानिनँ । तर मरेको सेतेलाई मैले आफूजस्तै मानेर प्रेम गरेँ । सेतेले मलाई के सिकायो भने शरीर भन्नु त केवल प्रदूषण निम्त्याउने कारक हो । शरीरका अङ्ग–प्रत्यङ्गहरु केवल खराब कुरा दिन्छन् धर्तीलाई । तर त्यही शरीरभित्र बास गरेको एउटा अनौठो शक्तिले उसलाई सबैको प्यारो बनाइदिन्छ । राम्रो बोल्नु, राम्रो लडाइँ लड्नु–यी सारा कुराहरुमा शरीरको भन्दा ऊभित्रको अनौठो शक्ति, सङ्कल्प, इच्छा र मनको भूमिका हुन्छ । शरीरलाई त्यो अनौठो शक्तिले चलाउन सक्यो भने ठीक ठाउँमा रहला, नत्र शरीर आफै चल्न थाल्यो भने वा कुनै इच्छा वा सङ्कल्पबाट सञ्चालित भएन भने त्यो पृथ्वीको बोझ नै बन्छ । सडकभरि अनेक जीवहरु मरेर लडिरहेका हुन्छन् । मरेको शरीरमा त्यो अनौठो शक्ति वा इच्छाशक्ति हुँदैन । त्यसैले त्यो विक्षिप्त बन्नेतिर अग्रसर हुन्छ । तसर्थ सेतेभित्रको त्यही अनौठो शक्तिसँग नै वास्तवमा मैले प्रेम गरिरहेको रहेछु ।
शरीरले खान खोज्छ, खराब अवयवहरुको उत्पादन गर्छ । त्यस्तै–त्यस्तै कामहरुमा संसारभरका शरीरहरु व्यस्त रहन्छन् । तर शरीरभित्रको निराकार त्यो अनौठो तरङ्ग भने केवल शरीरलाई हिँडाउँछ, हिँड्न लगाउँछ, दुनियाँको अगाडि प्रस्तुत गराउँछ । जब मैले माटो खोस्रेर सेतेको कुहिएको शरीरलाई हेरेँ, सेतेको शरीरले आफू बसेको ठाउँलाई चिनाउँदै भनेको थियो–‘यहाँ केही छैन, सिवाय मेरा कुहिँदै गरेका नलीहाडहरु । घिनलाग्दो दृश्य देख्नेछौ तिमी म पुरिएको ठाउँमा । हेर ! म कति निरीह देखिएको छु !’ तर त्यही सेतेभित्रको अदृश्य अन्तर्वस्तुले आफू बसेको ठाउँको परिचय यसरी दिइरहेको थियो–‘आनन्द छ, सुन्दरता छ । प्रदूषण यस ठाउँको मुख्य दुश्मन हो । चारैतिर हरियाली छ यहाँ । मानवनिर्मित कृत्रिमताको झल्कोसम्म पनि तिमी यस ठाउँमा पाउने छैनौ । यहाँ प्रकृतिको पूजा हुन्छ । प्राकृतिक छटाले यो ठाउँलाई यसरी सजाएको छ कि यहाँ आउने सौभाग्य पाएकाहरु आफ्नो चारैतिर मीठो एवम् अनौठो सुगन्ध दौडिरहेको पाउनेछन् ।’
यसरी स्वभावैले म प्रदूषणरहित ठाउँमा बसेको त्यो अदृश्य सेतेसँग प्रेम गर्दछु । त्यो सेते, जो मेरो मनमा बसेको छ । त्यो हरियाली नै हरियाली भएको सुन्दर ठाउँ, त्यो प्राकृतिक छटाछवीले युक्त स्वर्ग, त्यो सुगन्धमय संसार, त्यो आनन्ददायक परिवेश, त्यही नै मेरो मुटु हो । त्यहाँ सेतेजस्ता हजारौँ प्राणीहरुले ठाउँ पाएका छन् । त्यो स्वर्ग नै मेरो जीवन हो, मेरो मुटु अनि जीवनको अन्तिम प्राप्ति पनि । सेतेको प्रेमबाट टुसाएर, हुर्किएर अहिले लक्का जवान भइसकेको छ त्यो । सेतेले बनाइदिएको हरियालीसहितको यो सुन्दर स्वर्गमा म आफैँ पनि बसेको छु, विचरण गरिरहेको छु, अरुलाई पनि बस्न दिएको छु । त्यहाँ झगडा छैन, द्वेष छैन । अनाचार, अत्याचार छैन । सेते लगायतका मेरा सबै प्रेमिकाहरु त्यसमा आनन्दसँग गुट्मुटिएका छन् । साँघुरो भएको छैन कसैका लागि त्यो ठाउँ ।
सेतेको शरीरबारेको प्रतिक्रिया यतिसमम हुँदा–हुँदै पनि म यो चाहिँ भन्न सक्तिनँ कि म माटोमुनिको सेतेलाई घृणा गर्छु । सेतेको चिहान खोस्रदा म नाक थुन्दै टाढा भागेको थिएँ । तर त्यो ऊसँगको घृणाभाव थिएन । त्यो त मेरो बाध्यता थियो । मानवीय स्वभावकै कारण मैले दुर्गन्ध खप्न नसकेको मात्र हुँ । विक्षिप्त अवस्थाको सेतेसँग मैले घृणा गरेँ भने म र ऊबीचको प्रेमको औचित्य नै रहने छैन । हरेक प्राणी मरेपछि विभत्स तवरको र डरलाग्दो बन्छ । यो ध्रुवसत्य हो । सेते पनि त्यही प्रक्रियाअनुरुप गाडियो । र, माटोमा मिल्दै गइरहेछ ।
(९)
सेतेले यो संसार छाडेको पनि धेरै भइसक्यो । सेतेसँगका सम्झनाका आला घाउहरु धेरथोर सञ्चो हुँदै गइरहेको आभास मैले गरिरहेको छु । सेते गएपछि बल्झिएको पीडा पनि बिस्तारै विभिन्न परिवर्तनहरुका कारण कम हुँदै गइरहेको छ । त्यो पीडालाई कम गराउने कारणहरु मध्येको एउटा कारण हो– सेतेकी आमा फेरि गर्भिणी हुनु । हो १ मुनीले छिट्टै नै मायालाग्दा, चुल्बुले, भनौँ, सेतेजस्तै पाठा अथवा पाठीहरुलाई यो संसारमा ल्याउने लक्षण देखाइरहेकी छ । मुनीले आफ्नो नवसिर्जनाको पालुवालाई आफूभित्र समाहित गरेर राखेकी छ । चाँडै नै त्यो पालुवा फूल बनेर हामीसामु देखा पर्नेछ । यही सुखद् कुराको कल्पनामा डुब्दा सेतेसँगको बिछोडको घाउ अलिकति पुरिएको आभास म गर्दछु । सेतेकी आमाले त्यही पुरानो सेतेलाई नयाँ रुप, रङ्ग र बालापन दिएर हाम्रो घरमा ल्याउँछे भन्ने कुराको कल्पनामा रमाउँदै म आजभोलि व्यस्त रहन मन पराउँछु । साँच्चै १ वास्तवमा सेतेको पुनर्जन्म हुने कुरा मैले मनमनै गुनिसकेको छु । शरीर खैरो, सेतो, रातो अथवा जस्तोसुकै होस्, कान लामो, छाटो वा चेप्टो नै किन नहोस्, सेतेको चेतना अहिले मुनीको गर्भमा छ भन्ने कुरामा म आफैलाई विश्वस्त तुल्याउन सक्छु । द्वन्द्वात्मक भौतिकवादीहरु कोरा कल्पनामा विश्वास गर्दैनन् र म पनि आफूलाई त्यही श्रेणीमा राख्न चाहन्छु । तर सेतेको प्रेमका कारण मेरो कल्पनाको एउटा छुट्टै संसार जन्मिइसकेको छ, जसलाई म भत्काउन चाहन्नँ । बरु त्यसलाई सुन्दर, अझ सुन्दर र सर्वसुन्दर तुल्याउने मेरो भित्री महत्त्वाकांक्षा वा मनोआकांक्षा छ । सेतेको प्रेम कुनै वाद वा सिद्धान्त वा दृष्टिकोण वा विचारधाराका कारण जन्मिएको होइन भन्ने कुरा म विश्वलाई बताउन चाहन्छु र, यो साबित गर्न चाहन्छु कि यो केवल प्रेम हो, माया र ममताको सुन्दर उपहार हो । यो उपहार पाएर म आफूलाई संसारको सबैभन्दा भाग्यशाली मनुष्य सम्झिरहेको छु । सेतेसँग बिछोडिनुपर्दाको पीडामा कत्ति आनन्द लुुकेको थियो, म पीडासँगै रमाइरहेको थिएँ, यस्तो सौभाग्य थोरैलाई मात्र प्राप्त हुन सक्ला । यस्तो सौभाग्यशाली म मुनीको गर्भावस्थालाई देखेर हर्षित हुनुु कुनै अनौठो कुरा त भएन नै ।
भविष्यको सेतेको प्रतीक्षामा म साह्रै आत्तिएको छु । सेते फेरि यो संसारमा आफ्नो नयाँ शरीर लिएर, उही स्वभाव र चालढालमा देखा पर्दैछ भन्ने कुरा सोचेर म कुनै अलौकिक वा अनौठो दुनियाँमा प्रवेश गरेको छु । साहित्य–सिर्जना वास्तवमा प्रेमकै लागि हुनुपर्ने रहेछ भन्ने कुरा बुझ्न थालेको छु म । भावना र दृष्टिकोण वास्तवमा एकदमै भिन्न–भिन्न चिज रहेछन् भनेर जान्न थालेको छु मैले । सिद्धान्तहरु स्वयम्मा भावनात्मक नभएर व्यावसायिक र वर्गीय स्वार्थनुकूल वा कठोर हुन सक्तछन् । तर भावना न त कसैको स्वार्थी मनोभावनाबाट सिर्जिन सक्छ, न त यो व्यावसायिक नै हुन्छ । त्यो सर्वोच्च–स्थलमा जो–कोही पुग्न सक्तैनन् । त्यो सर्वोच्च ठाउँमा पुग्नेहरु नै वास्तवमा संसारका सबैभन्दा भाग्यशालीहरु हुन् । त्यहाँ कुरुपता भन्ने शब्द हुँदैन, केवल सुन्दरता नै सुन्दरता । सुन्दरताका पारखीहरु त्यो सर्वोच्च ठाउँमा पुग्न प्रयत्नरत रहन्छन् । कोही सफल हुन्छन्, कोही आधा मात्र चढेर फर्कन्छन् । त्यो सुन्दर ठाउँमा विचरण गर्ने भाग्यशालीहरु आफूलाई धन्य सम्झन्छन् भने आधा मात्रै चढेर फर्कनेहरु बाँकी जीवन पश्चाताप गरेर व्यतित गर्छन् । चढ्नै नखोज्नेहरुसँग न त मन हुन्छ, न त प्रेमको रक्तसञ्चार नै । त्यो सर्वोच्च ठाउँ अहिले म मुनीको गर्भमा देखिरहेछु । एकपल्ट गुमाइसकेको सेतेलाई प्राप्त गर्नका लागि म त्यो भावनाको सर्वोच्च शिखरमा धाइरहेछु । र, मलाई आशा छ, म त्यो शिखरमा पुगेर रित्तो हात फर्कने छैन । मेरो भावना र मुनीले जन्माउने कल्पनाको सेते मिलेर अवश्य पनि एउटा नयाँ र सुखद् संसारको सृष्टि हुने कुरामा म मग्न छु । पुनर्जन्मपछिको त्यो सेतेसँग म फेरि दिनभरि चौरमा खेल्न जानेछु । सेतेले फेरि पनि हाम्रो पसलमा आएका मान्छेहरुलाई कोट्याउने छ, आफ्ना दुई खुट्टाहरुले । छिट्टै नै मेरो वरिपरि घुम्न आउनेछ ऊ । ‘मेँ–मेँ’ गर्दै मेरो हात चाट्न आउनेछ । त्यो क्षणमा म यो कुरालाई बिर्सनेछु कि मेरो सेतेले एकपटक यो संसारबाट विदा लिइसकेको छ । मेरो भविष्यको त्यो सेतेलाई फेरि डाक्टरको अभावमा छट्पटिनु पर्ने छैन, त्यसलाई कुनै प्रकारको दुःखको आभास हुन दिने छैन म । मुनीले फेरि पनि आफ्नो जवान छोराको कारुणिक निधनमा दुःखमनाउ गरिरहनुपर्ने छैन । त्यो सेते मेरा अगाडि बसेर उग्राइरहेको हुनेछ । सधैँझैँ आफ्नो पुच्छर हल्लाउँदै यता र उता दौडिरहने मेरो भविष्यको सेते । ‘मेँ–मेँ’ गर्दै खैरेलाई बोलाउनेछ उसले र, दाजु–भाइ दुवै सँगसँगै चर्न जानेछन् । त्यो सेते आफ्नो भौतिक शरीरसहित यो संसारमा हाँस्दै, खेल्दै, रमाउँदै बाँचिरहनेछ, वर्षौँवर्ष ।
दुवै सँगै भएपछि खैरेलाई पनि बिरामी भइरहनुपर्ने छैन । क्षणभरमै स्वस्थ रहेको खैरे अचानक बिरामी परेको थियो भन्ने कुरा मेरो मानसपटलबाट सदा–सदाको लागि बाहिरिनेछ । खैरे वा सेतेहरुको लागि हामीले भयभित भइरहनुपर्ने छैन । हाम्रो खुशियालीयुक्त सुखी संसारमा कुनै प्रकारको आँधीबेहेरी वा बादलले आक्रमण गर्न सक्ने छैन । सेतेलाई सम्झनका लागि मैले उसका प्रतिविम्बहरु खोजिरहनुपर्ने छैन, पाइला–पाइलामा । मलाई फेरि एकपटक प्रेमानुभूति हुनेछ, सेतेको प्राप्तिपछि । मैले सेतेको कब्रस्तानमा गइरहनुपर्ने छैन, उसलाई याद गर्न । दसैँ–तिहारहरुमा हामीबीच त्यो सेते पनि खुशीले उफ्रिरहेको हुनेछ । हामी कुनै पशुको बली गर्ने छैनौँ । सेतेको शरीरलाई माटोमुनि पुरिसकिएको कुरा मेरो दिमागमा आउने छैन त्यतिबेला । सेतेकी आमाले फेरि मनोविश्लेषणकर्ता जस्तो भएर झोक्र्याइरहनु पर्ने छैन । हाम्रो त्यो सेतेलाई समयको हुरीले पनि उडाउन सक्ने छैन । मैले मरेको सेतेसँग नभएर जीवन्त सेतेसँग प्रेम गर्ने अवसर पाउनेछु । सेतेलाई हेर्नका लागि तड्पिरहेका मेरा आँखाहरुमा त्यतिबेला शीतलता छाउनेछ । मैले सेते बिनाको चिहानघाटमा उराठलाग्दो जीवन बाँचिरहनु पर्ने छैन । म सेते सहितको स्वर्गमा पखेटा फिँजारेर उडिरहने छु । हाँस्न, बोल्न नसक्ने मूर्दाहरुलाई हेरिरहनुपर्ने छैन मैले त्यसबखत । सेतेले यहाँका खोला, झरना, नदी र पहाडहरुलाई मुसुक्क हाँस्न कर लगाउनेछ । यो वातावरणमा स्वर्गीय आनन्द लहराउनेछ । मैले फेरि मायाको निराकार सागरमा डुबुल्की मार्दै सेतेको मुटुभित्र बास बस्न पाउनेछु । प्रेमको पूजा फेरि सुरु हुनेछ, भजनकीर्तन गाइनेछ । सेते र मेरो प्रेमले यो संसारका सारा पापका घडाहरुलाई फुटालिदिनेछ र त्यो घडाबाट अत्याचार, घृणा, अनाचार इत्यादि पोखिनेछन्, भुइँभरि छताछुल्ल भएर । प्रेमको शस्त्रले सबै प्रकारका गलत कुराहरुको मलजल पाएको संसारलाई दुई फ्याक पारिदिनेछ । फेरि एक पटक यस्तो समय आउनेछ, सेतेले जे सोच्यो, म पनि त्यही सोचिरहेको हुनेछु । मेरे मेरो प्रेमिका बनेर मेरा लागि जे पनि गर्न तयार रहनेछ भने म पनि सेतेका लागि आफ्नो शरीरको त्याग गर्न पछि हट्ने छैन । हामी दुवैलाई यो कुराको राम्रो ज्ञान हुनेछ कि सृष्टि केवल प्रेममा मात्रै जीवित रहन सक्छ । त्यतिबेला हाम्रो प्रेमलाई हुर्काउने काम शोक वा करुण रसानुभूतिले नभएर मिलन र श्रृङ्गारले गर्नेछ । मैले बिछोडको होइन, मिलनको आनन्द चाख्न पाउनेछु । कल्पनामा नभएर वास्तविकतामा हामीबीच एउटा अलग्गै स्वर्गको सिर्जना हुनेछ । बिछोडको कल्पनासम्म पनि गर्न नसक्ने स्थितिमा हुनेछौँ हामी दुवै । पापी खोलाले मुनीलाई बगाएको बिर्सन नसके पनि म यो कुरामा अडिग रहनेछु कि मेरो सेतेलाई त्यसले पनि केही गर्न सक्ने छैन । सेते त्यतिबेला विक्षिप्त वा विभत्सावस्थामा नभएर सुन्दरताको खानी बनेर निस्कनेछ । अभौतिकसँग मात्रै नभएर मैले स–शरीर सेतेलाई प्रेम गर्नेछु । त्यो परिस्थिति मेरा लागि अत्यन्तै सुखद् हुनेछ र हामी दुवै त्यसमा रमाउनेछौँ । साहित्यमा ‘स–हित’ मिसाउनका लागि सेतेले मलाई सहयोग गर्नेछ । सेते मेरो कागजमा मुख्य पात्र बनेर सजिनेछ त्यसबेला । मुनी र खैरे पनि सेतेलाई देखेर खुशी हुनेछन् । अझ सेतेलाई नयाँ ढाँचामा, नयाँ रङ्गमा र नयाँ शैलीमा देखेर उनीहरुको हर्षले सीमा नाघ्नेछ । त्यतिबेला उनीहरुबीचको प्रेम अझ गाढा भएर आउनेछ । एउटी आमा र एउटा छोराको धेरै वर्षपछि भेट हुँदाको जस्तो दृश्य देख्न पाउनेछौँ हामी त्यतिबेला । त्यस्तै आफ्नो दाजुले धेरै समयपछि भाइलाई भेट्ता खुशीका अश्रुधाराहरु खसाल्नेछ । खैरे सबैभन्दा बढी खुशी हुनेछ, किनकि उसले आफूसँग खेल्ने साथी पाउनेछ ।
यसरी मुनीको गर्भावस्थामै एउटा नयाँ सेतेको कल्पना मैले गरिसकेको छु । उसको गर्भमा रहेको सेतेलाई हेर्नका लागि मेरा आँखाहरु प्रतीक्षारत छन् । उसले ‘मेँ–मेँ’ गरेको सुन्नका लागि मेरा कानहरु आतुर छन् अनि उसको आकर्षक, मनमोहक, कोमलतायुक्त र सुन्दर शरीरलाई स्पर्श गर्नका लागि मेरा हातहरु तिर्खाएका छन् ।
(१०)
सेतेको निधन र उसकी आमाको गर्भावस्थाको सन्दर्भमा कुरा गर्दा मलाई एउटा छुट्टै प्रसङ्ग याद भयो । त्यो प्रसङ्ग साहित्य–हेतुबारेको हो । विभिन्न विद्वान्हरुले प्रतिभा, अभ्यास, समाधि र निपुणतालाई काव्य–हेतु वा साहित्य–हेतुका रुपमा चिनाएका छन् । प्रतिभालाई काव्य–हेतु मान्नेहरुले ‘प्रतिभा नभई काव्य–रचना हुन सक्तैन, भए पनि हास्यास्पद हुन्छ’ भनेका छन् । उनीहरुले ‘मनुष्यत्वको दुर्लभताभन्दा पनि बढी दुर्लभ विद्याको प्राप्ति, विद्याको प्राप्तिभन्दा बढी दुर्लभ कवित्व र यी सबैभन्दा बढी दुर्लभ प्रतिभा भएकोले प्रतिभा नै साहित्य–हेतु हो’ भनेका छन् भने अभ्यासलाई सो हेतु मान्नेहरुले ‘प्रतिभा नभए पनि शास्त्रको अध्ययन र अभ्यासबाट काव्य रचना गर्न सकिने’ बताएका छन् । समाधिमा जोड दिनेहरुले चाहिँ ‘समाधिबाट शक्ति प्राप्त हुने र शक्ति भएपछि प्रतिभा स्वतः प्रष्फुटित हुन्छ’ भनेका छन् ।
तर, सेतेको निधन तथा मुनीको गर्भावस्था जस्ता परिस्थितिहरुलाई मनोविश्लेषणात्मक रुपमा बुझ्दै जाँदा मलाई के लाग्यो भने प्रतिभा, निपुणता, अभ्यास र समाधिभन्दा महत्त्वपूर्ण काव्य–हेतु हो– सर्जकका जीवनमा घटित विशेष घटना वा परिस्थितिको प्रभाव । कुनै पनि साहित्य–विधा सिर्जित हुनुको मुख्य कारण त्यो विशेष अवस्था हो, जसबाट प्रभावित वा प्रेरित भएर कसैले काव्य रचना गर्दछ । प्रतिभाहरु त्यसै जन्मदैनन् । जस्तो कि लक्ष्मीप्रसाद देवकोटा गरिबीको भूमरीमा नपरेका भए सायद उनी आज जति सम्मानित छन्, हुने थिएनन् । किनकि उनका सिर्जनाहरु त्यति जीवन्त बन्न सक्ने थिएनन् । सेतेकै निधन भएको विशेषावस्थामा मैले यी हरफहरु लेखिरहेको छु । तसर्थ प्रतिभालाई जन्माउने कारक वा परिस्थितिविशेष नै पहिलो काव्य–हेतु हो भन्ने मलाई लाग्दछ । समाधिलाई काव्य–हेतु मान्नु भनेको त जबरजस्ती मनलाई रगडाउनु नै हो । यहाँ प्रश्न उठ्न सक्छ–‘सबै साधारण मान्छेहरु पनि विभिन्न घटनाहरुबाट प्रभावित रहन्छन् । तर किन उनीहरु साहित्य रचन गर्न सक्तैनन् ?’ यस कोणबाट प्रतिभा नै महत्त्वपूर्ण जस्तो लाग्न सक्छ । तर प्रतिभालाई परिष्कृत र परिमार्जित तुल्याउने काम परिस्थितिविशेषले गर्ने हुनाले अथवा परिस्थितिविशेषबाट प्रताडित, प्ररित, प्रभावित नभएको प्रतिभाले सो भएको प्रतिभाले जति सफलता पाउँदैन भन्ने कुरा विगत र वर्तमानको साहित्य इतिहासले स्पष्ट गरेको हुनाले परिस्थितिलाई मुख्य हेतु मान्न सकिन्छ । भानुभक्त घाँसीबाट प्रेरित हुन नसकेका भए शास्त्रज्ञानबाट मात्र उनी र उनको कवित्वले यति ठूलो महत्त्व पाउने थिएन भन्ने कुरा निःसन्देह छ । यस कुरालाई पूर्वीय साहित्यले मनन् गरोस् भन्ने म चाहन्छु ।
प्रतिभालाई पहिलो काव्य–हेतु मान्ने विद्वान् भट्टतौलकै शब्दमा ‘नयाँ–नयाँ भावको उन्मेषले युक्त प्रज्ञा नै प्रतिभा हो । प्रज्ञा भनेको उत्कृष्ट ज्ञान हो ।’ यसरी ‘उत्कृष्ट ज्ञान’ हुनेलाई प्रतिभा मानिएको कुरा स्पष्ट छ । तर उत्कृष्ट ज्ञान केवल शास्त्रज्ञान मात्रै होइन । ‘पढेरभन्दा परेर जानिन्छ’ भन्ने कुरा प्रतिभाको सन्दर्भमा विशेष रुपले लागू हुन्छ । त्यस्तै ‘अनौठो कवित्व शक्ति’लाई प्रतिभा मान्नेहरु पनि नभएका होइनन् । तर अनौठो कवित्व शक्ति आउँछ कहाँबाट ? कल्पनाबाट मात्रै अथवा कुनै घटनाबाट प्ररित नभइकनै त्यो ‘अनौठो कवित्व शक्ति’ त्यति परिमार्जित रुपमा प्राप्त हुन सक्तैन । अथवा भनौँ, परिस्थितिले नै अनौठो कवित्व शक्तिलाई जन्म दिन्छ । जस्तो कि माधव घिमिरे आफ्नी पत्नीको निधनबाट शोकाकूल भएर ‘गौरी’ खण्डकाव्यलाई करुण रसले युक्त पार्दै आफ्नो अनौठो कवित्व शक्ति देखाउनुहुन्छ र यसलाई आफ्नो ‘प्रतिभा’ नभनेर उहाँकै शब्दमा ‘गौरीका एक–एक अक्षर मेरा आँसुले भिजेका छन्’ भन्नुहुन्छ । यसरी हेर्दा हामी केसम्म भन्न सक्छौँ भने परिस्थितिविशेषबाट प्रभावित नभएको व्यक्ति चाहेर पनि प्रतिभासम्पन्न हुन सक्तैन ।
त्यस्तै निपुणता पनि पढेर मात्रै होइन, परेपछि नै प्राप्त हुन्छ । उचितानुचितको ज्ञान पनि सिकेर मात्रै हुने हो । तसर्थ परिस्थितिभन्दा ठूलो काव्य–हेतु निपुणता हुन सक्तैन । अथवा भनौँ, परिस्थितिले नै सर्जकलाई निपुण तुल्याउँछ । त्यसो नभएका भए संसारमा क्रान्तिकारी दर्शन वा साहित्य जन्मिने नै थिएन ।
अभ्यासलाई साहित्य–हेतु मान्नेहरुले निरन्तर प्रयासलाई महत्त्व दिएका छन् । प्रयास गरिरहनु कुनै नराम्रो कुरा होइन, तर केवल निरन्तर प्रयासबाट मात्रै उत्कृष्ट एवम् जीवन्त साहित्य जन्मन्छ भन्न सकिन्न । प्रतिभा नभएपनि शास्त्रज्ञान र अभ्यासबाट साहित्य लेख्न सकिन्छ भन्नेहरुले राम्रो एवम् उत्कृष्ट काव्य सिर्जना गर्न चाहनेहरुको प्रतिनिधित्व गर्दैनन् ।
‘समाधि नै काव्य–हेतु हो’ भन्नेहरुले चाहिँ काव्य वा साहित्यमा कृत्रिमता झल्कन सक्ने कुरालाई ख्याल गर्दैनन् । साहित्य स्वयम्मा प्राकृत–स्वाभाविक हुन सकेन भने त्यसको कुनै विशेष प्रयोजन हुँदैन । तसर्थ समाधिबाट शक्ति प्राप्त गर्न खोज्नेहरु साहित्यलाई मृतप्रायः एवम् सस्तो तुल्याउन चाहन्छन् । साहित्य–सिर्जना त्यति सस्तो प्राप्ति होइन, जो समाधिबाटै सहज तवरले प्राप्त गर्न सकियोस् ।
यी सारा कुराहरुलाई केलाएर हेर्दा साहित्य–हेतुका रुपमा सर्वप्रथमतः परिस्थितिविशेष र त्यसपछि त्यसलाई अनुभूत एवम् व्यक्त गर्न सक्ने प्रतिभालाई क्रमशः समावेश गरिनु उचित हुनेछ । साहित्यलाई जीवन्तता दिने सवालमा त परिस्थितिविशेषको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहने कुरालाई सायदै कसैले नकार्न सक्नेछन् । परिस्थितिबाट उत्पन्न हुने प्रेमानुभूति, आनन्दानुभूति, क्रोधानुभूति एवम् विभिन्न रसानुभूतिहरुले नै काव्य वा साहित्यको रुप धारण गर्दछन् । सेतेसँग बिछोडिन परेको घटनाक्रमले यो कुराको अन्वेषणमा मलाई सहयोग पुर्यायो । यसलाई मैले एउटा नवीन प्राप्तिको रुपमा लिएको छु ।
समाप्त ।