~कृष्ण बजगाईं~
प्रसिद्ध जापानी उपन्यासकार नाचुमे सोसेकीको अवाञ्छित सन्तानका रूपमा आगमन भएको थियो। भर्खर जन्मेको बालकले पनि त्यो घरमा खुसी भने थप्न सकेन। परिवारका छैटौं सन्तान नाचुमेलाई बोझका रूपमा लिइयो। वर्ष दिनको नहुँदै बाबुआमाले उनै नाचुमे निःसन्तान दम्पतीलाई जिम्मा लगाए। ती बाबुआमाले काखे बालकलाई कसरी अर्काको जिम्मा लगाउन सके होलान् ? कलिलो छोरो अरूलाई जिम्मा लगाउनु बाबुआमाको स्वार्थ थियो कि बाध्यता ? प्रश्नको भारले म थिचिएँ। नाचुमेको बारेमा धेरैपहिले पढेका कुरा सम्झन्छु। टोकियोमा जन्मिएका नाचुमे सोसेकी (सन् १८६७–१९१६) मेइजी कालका प्रमुख जापानी उपन्यासकार हुन्।
धर्मपुत्रका रूपमा पाल्न लगिएका उनी नौ वर्षको हुँदा जन्मदाताको घरमा फर्किए। ती दम्पतीले पनि सम्बन्धविच्छेद गरे। सम्बन्धविच्छेद आफैंमा राम्रो होइन तर नाचुमेका लागि भने अतिउत्तम समय आयो। घुमिफिरी आएको त्यो समयले उनलाई आमाबुबाको काखमा लुटपुटिने अवसर दियो। चलचित्रको कथाजस्तै छिट्छिटो आमाबाबु नै परिवर्तन भएको देख्दा नाचुमेको बालमस्तिष्कमा कस्तो प्रभाव पर्यो होला ? कसैलाई धर्मपुत्रका रूपमा पाल्न दिएको छोरालाई फेरि आफैंले लालनपालन गर्नुपर्दा आमाबाबुको मन कस्तो भयो होला ? अनि परिवारमा उनी कसरी घुलमिल भए होलान् ? मेरा मनमा अनेक खालका प्रश्न हुँडलिइरहे।
नीलो प्लेटमा साहित्यकार !
नाचुमेलाई निकै अघिदेखि भेट्न खोजिरहेको थिएँ। बल्ल गर्मीको बिदामा अवसर जुर्यो। सातादेखि बेलायतमा गर्मीको एकछत्र शासन चलिरहेको थियो। प्रचण्ड गर्मीको वास्ता नगरी नाचुमेसँग साक्षात्कार गर्न लन्डनमा अवस्थित उनको म्युजियमतिर उत्साहित पाइला चालेँ। पाइलाभन्दा छिटो उत्सुकताहरू लम्किरहे।
आधुनिकता र चरम भौतिक विकासको उज्यालोमा रमाइरहेको थियो टोकियो सहर। आँखाले सम्पन्नता चपाइरहँदा नेपालका विकट र गरिब गाउँबस्तीले मन भने चिमोटिरहेको थियो।
म्युजियम पुग्दा असिनपसिन भइसकेको थिएँ। अचानक मेरो उत्साहमा कालो बादल मडारियो। पैंतीस वर्षसम्म सञ्चालित म्युजियमको ढोका सदाका लागि बन्द भएको सूचना आँखामा टाँसिए। मेरो उत्साह बाफ बनेर उड्यो। मनमा गह्रुँगो प्रश्न उठ्यो, ‘सात समुद्रपारि जापानी साहित्यलाई चिनाइरहेका उपन्यासकारको म्युजियम किन बन्द ?’ निरुत्तर भएँ। जवाफ दिने निकाय ढोकामा ताल्चा मारेर कहाँ पुगे पत्तो थिएन। खिस्रिक्क परेर उभिइरहेँ तर पनि मनले हार खाएन। उत्साहित पाइला पछाडि फर्कन चाहेनन्। नाचुमेका बारेमा नयाँ जानकारी नलिईकन कहाँ फर्किन्छु र ? अठोट लिएँ। अन्ततः लन्डनको क्लापहामस्थित उपन्यासकार नाचुमे भाडामा बसेको घरतिर लागेँ।
नाचुमे भाडामा बसेको कोठामा अरू नै थिए। चारैतिर दौडिरहेका मेरा चञ्चल आँखा अचानक त्यस घरको भित्तामा ठोक्किए, नीलो प्लेटमा। बेलायतमा नाम चलेका स्वदेशी तथा विदेशी साहित्यकारको निवास वा भाडामा बसेको घरमा स्थायी रूपमा तिनका बारेमा संक्षिप्त जानकारी लेखिएको नीलो प्लेट टाँस्ने चलन छ। नाचुमेको पनि टाँसिएको थियो। बेलायतमा यस्तो प्रभावकारी कार्य प्रचलनमा आएको १५० वर्षभन्दा बढी भइसक्यो। साहित्यकारलाई जीवन्त बनाउने चलन सबै देशमा भए ! म पुलकित भएँ। लेखकलाई दिइने त्योभन्दा ठूलो सम्मान र पुरस्कार अरू के होला ? कोठामा थन्क्याउने ताम्रपत्रभन्दा सार्वजनिक रूपमा टाँसिने यस्ता प्लेटले साहित्यकारको सम्मान गर्छ। नेपाल सरकारले साहित्यकारका लागि खासै केही काम नगरेको गुनासो छ। यस्तै कामको सुरुआत गरे हुन्थ्यो नि ! प्रज्ञा–प्रतिष्ठान र संस्कृति मन्त्रालय आँखाभरि नाचिरहे।
नाचुमेको वरिपरि घुमिरहेको निराश मनमा जापानबाट आएको इमेलले खुसी थपिदियो। सन् २०१९ सेप्टेम्बर दोस्रो साता टोकियोमा हुने ‘वल्र्ड हाइकु कन्फरेन्स’मा सहभागिताको निम्तोले नाचुमेलाई जापानमा भेट्ने अवसर। तुरुन्तै टोकियोस्थित नाचुमेको म्युजियम प्रमुख गन्तव्यको सूचीमा राखेँ। सूर्योदयको देश जापानमा वर्षभित्रै दोस्रो यात्रा गर्न पाउँदा खुसीको सूर्य उदायो। साहित्यिक पर्यटनमा मुख्य रुचि भएकाले विदेशी प्रसिद्ध साहित्यकारको निवास र म्युजियमको कोठा चाहार्न थालेको २५ वर्ष नाघ्यो। जहाँ पुगेर ज्ञानको प्यास मेट्छु, लेखनमा थप ऊर्जा प्राप्त गर्छु।
आई एम अ क्याट र बोच्यान
थुप्रै उत्कृष्ट उपन्यास लेखक नाचुमेलाई पहिलो उपन्यास ‘आई एम अ क्याट’ले जापानमा लोकप्रिय बनाएको थियो। त्यस बेला जापानमा उनलाई आधुनिक उपन्यासकार भनिन्थ्यो। ‘बोच्यान’ उनको सबैभन्दा लोकप्रिय उपन्यास, किशोरावस्था नपुग्दै हरेक जापानीले पढेका हुन्छन्। आममानिसका आर्थिक कठिनाइ र त्यसका लागि हुने संघर्ष, कर्तव्य, स्वतन्त्रता र जापानमा औद्योगिकीकरणका साथै त्यसबाट सिर्जित सामाजिक समस्या आदि उपन्यासका विषय हुन्।
बेलायतमा नाचुमेको नाममा म्युजियम सञ्चालन गर्नुको मुख्य कारण उनको बसाइ र पढाइ हो। नाचुमे सन् १९०० मा जापान सरकारको तीनवर्षे छात्रवृत्तिमा अंग्रेजी साहित्य पढ्न बेलायत पुगे। टोकियो इम्पेरियल युनिभर्सिटीमा अंग्रेजी विभागमा केही वर्ष अध्यापन गरे। बेलायत बसाइले उनको लेखनमा ठूलो प्रभाव पारेको छ। सोही कारण उनको उपन्यासमा जापानी र पश्चिमी संस्कृतिको अन्तद्र्वन्द्व पाइन्छ।
सिन्जुकु सिटीमा नाचुमे म्युजियम
पाँचौं दिन पुष्करजंग थापाले नाचुमे म्युजियम घुम्न जाने व्यवस्था मिलाए। सोलमारी रेस्टुरेन्ट सञ्चालक उनले प्रा. रामकुमार पाँडे र मलाई सिन्जुकु सिटीस्थित म्युजियम पुर्यााए। आधुनिकता र चरम भौतिक विकासको उज्यालोमा रमाइरहेको थियो टोकियो सहर। आँखाले सम्पन्नता चपाइरहँदा नेपालका विकट र गरिब गाउँबस्तीले मन भने चिमोटिरहेको थियो। सन् २०१७ मा नाचुमेको १५०आंै जन्मजयन्तीका अवसरमा बनाइएको म्युजियम भवन बाहिरबाटै निकै आकर्षक लाग्यो। आधुनिक सहरसँग मेल खाने म्युजियम उपन्यासकारको नाम बोकेर गर्वसाथ उभिएको रहेछ।
युरोपमा जस्तो अति प्राचीन भवन जापानमा उतिसारो देख्न पाइँदैन। ज्वालामुखीमाथि बसेको भूकम्पको देश जापानमा त्यस्ता भवन कहिले भत्केर नामेट हुन्छन् थाहा हुन्न। जापानमा इतिहासका दस्तावेज र अवशेषहरू सायद भूकम्प प्रतिरोधात्मक आधुनिक भवनभित्र सुरक्षित हुन्छन् होला। म्युजियमभित्र अवलोकनकर्ताको चहलपहल बाक्लो देखें। टिकट काउन्टरअगाडि नाचुमेको नाम र फोटा अंकित टोपी, टिसर्ट, झोलालगायतका सामग्री र उनका पुस्तकसमेत बिक्रीमा थिए। प्रिय लेखकलाई स्मरण गर्न चाहने प्रशंसक त्यसमा झुम्मिनु स्वाभाविक लाग्यो। वाह ! सर्वकाल बाँचिरहने लेखकको लोकप्रियता र सम्मान।
नाचुमेको बारेमा जानकारी दिने डिजिटल सूचना पाटी र अन्य सामग्री बिजुली बत्तीको उज्यालोमा चम्किरहेका थिए। टोकियोको सिन्जुकु क्षेत्रमा उनको बाल्यकाल कसरी बित्यो ? व्यक्तित्व कसरी बन्यो ? सूचनाहरूले उनको जीवनको सानो किस्सा भनिरहेका थिए। पहिलो तलाको ठूलो कक्षमा नाचुमेको जीवनकालमा लेखिएका उत्कृष्ट कृतिहरू संगृहीत थिए। बुक र्याक भरिभराउ थियो, भुइँमा समेत कलात्मक पाराको पुस्तकको चाङ। पुस्तक राख्ने सीप र कलाले लोभ्यायो।
भित्तामा दाता र सोकेसमा हाइकु
गन्तव्यहीन बनेर चारैतिर दौडिरहेका आँखा भित्तामा पुगेर टक्क रोकिए। जहाँ म्युजियम बनाउन आर्थिक सहयोग गर्ने दाताहरूको नाम ससम्मान टाँगिएको रहेछ। नाचुमेका प्रशंसकहरूको सहयोगमा बनाइएको म्युजियम घुम्दै गर्दा सोचें— नेपालमा यस्तो कहिले ? नाचुमे हाइकुकार पनि रहेछन्, त्यहीँ पुगेर थाहा पाएँ। जापानी अक्षरमा लेखिएका उनका केही हाइकु सोकेसमा सजाइएका देख्न पाउनु यो नेपाली हाइकुकारका लागि सुखद क्षण थियो।
सोकेसमा राखिएको नाचुमेको हस्तलिखित पाण्डुलिपिले ध्यान आकृष्ट गर्यो। यसो हेर्दा त्यो पाण्डुलिपि पहिलो ड्राफ्टजस्तो देखिन्थ्यो। पाण्डुलिपिका केही पानामा मसी लत्पतिएको दृश्यले जवाफविहीन प्रश्न उब्जाइदियो। भित्ताको सोकेसमा सुरक्षितसाथ राखिएको उनको आकर्षण किमोनोले वरिपरि भएजस्तो आभास दिलायो। विभिन्न उमेरका उनका दुर्लभ फोटा नछुटाई हेरेँ। ‘स्लाइड सो’मा जस्तै ती फोटाले उनको ‘जीवनकथा’ भनिरहेका थिए। हस्तलिखित डायरी, कलम आदिले उनको लेखनकर्मको सानो झलक दिलायो। सोही तलामा पहिलो संस्करण भनेर विशेष महत्वसाथ राखिएका दुर्लभ पुस्तक देखेर एकछिन अल्मलिएँ।
नाचुमेको नाममा एक हजारको नोट
ओहो ! नाचुमेको फोटो छापिएको एक हजार येनको बैंक नोट ! त्यो देखेर विस्मित भएँ। जापान सरकारको त्यो स्तुत्य कार्यको तारिफ गर्न मन लाग्यो। साहित्यकारको फोटो छापिएको बैंक नोटले उत्साहित बनाउँछ, गर्वानुभूति दिलाउँछ। विदेशमा हरेक पटक साहित्यकारको सम्मानमा तिनको चित्र अंकित बैंक नोट देख्दा लाग्छ— नेपालमा यस्तो चलन कहिले आउला ? त्यस्तो राम्रो काम कहिले सिक्ने सरकार ? विदेशी भूमिबाटै नेपाल सरकारलाई प्रश्न सोधँे।
सबैभन्दा तल्लो तलामा रहेको पैंतीस सयभन्दा बढी संख्यामा रहेको नाचुमे र उनीसँग सम्बन्धित पुस्तकका चाङमा पुगेँ। विभिन्न भाषामा अनूदित पुस्तक राखिएको बुक र्याकमा नेपाली भाषामा पनि केही छ कि भनेर खोजेँ, भेटिनँ। तमिल भाषामा रहेछ। कमसेकम यसले सार्क राष्ट्रको प्रतिनिधित्व गरेछ, मन सन्तोषले भरियो। सार्क राष्ट्रको नागरिक हुनुको गर्वमा मुस्कुराएँ।
अहो, कति धेरै कालो बिरालो ! ‘आई एम अ क्याट’ नामक पुस्तकका लेखकको लोकप्रियताले हो वा बिरालोप्रेमी जापानीको मनोविज्ञान बुझेर हो, ठाउँठाउँमा कालो बिरालोको चित्र राखिएको थियो। जापानमा कालो बिरालोलाई शुभ मानिन्छ। त्यसले भाग्य लिएर आउने कुरामा जापानीहरू विश्वास गर्छन्। हामी नेपालीचाहिँ कालो बिरालोलाई अशुभ मान्छौं।
उपन्यासकारको नाममा कफी सप
उसो त म्युजियमपछाडि एउटा बिरालोको चिहानघारी पनि थियो। चिहानमा एकमाथि अर्को गर्दै राखिएका ढुंगाको चाङ कलात्मक थियो। त्यो बिरालो नाचुमे परिवारमा भाग्य ल्याउने बिरालो रहेछ। ख्यातिप्राप्त साहित्यकारको बिरालो हुनाले चिहानमा गर्वसाथ रहन पाएको होला। नत्र कसले बिरालाको चिहान बनाइरहलान् र ? चिहानमा नाम लेखाएर बस्न पाउने त्यो बिरालो भाग्यदाताभन्दा भाग्यमानी हुनुपर्छ। नेपालमा कतिपय दिवंगत सात्यिकार बिर्सिसक्यौं। तर जापानमा साहित्यकार मात्र होइन, उनको बिरालाको चिहानसमेत चर्चामा रहेको थाहा पाउँदा आरिस पो लागेर आयो। साँझ पर्न लागेको थियो। म्युजियमको सबै तला अवलोकन गरेर नाचुमेलाई नजिकबाट बुझ्न पाउँदा मन खुसीले बुरुकबुरुक भयो। कफीको तलतल लागेकाले म्युजियमभित्रकै क्याफेतिर लाग्यौं।
म्युजियम प्रवेश गर्दा खुला रहेको ‘क्याफे सोसेकी’ फर्किने बेलामा बन्द भइसकेछ। फराकिलो हलमा आरामदायी कुर्सीहरूमा पुस्तक पढ्दै कफीको चुस्की लगाउने साहित्यकार र साहित्यप्रेमीको कल्पना दिमागभरि आयो। प्रसिद्ध उपन्यासकारको म्युजियमभित्र उनकै नाममा सञ्चालित क्याफेमा कफी पिउन नपाउँदाका कति खिन्नता होला ? विदेशमा दिवंगत साहित्यकारको नाममा म्युजियम बनाएर ठूलो सम्मान गरिन्छ। नेपालमा यसरी बनाउनुपर्छ भन्ने सोँच पनि आएको छैनजस्तो लाग्छ।
ठूलो जनदबाबका कारण महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर म्युजियममा परिणत हुने खबरले केही आशा त पलाएको छ तर अहिलेसम्मको चाला हेर्दा नेपाल सरकारले अरू साहित्यकारका लागि त्यसरी काम गर्लाजस्तो लागेको छैन। सर्वेक्षण गर्दा नेपालका गौरव साहित्यकारहरूको म्युजियम बनाउन विदेशमा बस्ने साहित्यप्रेमी नेपाली आर्थिक सहयोग गर्न तयार भएको पाएँ। सबैभन्दा पहिले म तयार छु। तर ‘बिरालोको घाँटीमा घन्टी कसले बाँध्ने’ भनेजस्तै त्यसको सुरुआत कहिले र कोबाट होला ? आफैंले उठाएको प्रश्नले सियो बनेर आफैंलाई घोचिरह्यो।
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)