कविता : भिडभित्रको मान्छे

~स्वर्निम गुरुङ~

सडकको छाती भरि
जीवन धान्ने क्रममा धनार्जन गर्न
रोजगारी गर्नैपर्ने वाध्यतावश
कहिले गर्मीको तापमा पसिनाको बलिन्द्र धारा बगाउदै
कहिले कठ्यांग्रिने जाडाले सन्न भएको शरिरलाई
वस्त्रले तातो पार्ने असफल प्रयास गर्दै
कहिले एकोहोरो बर्षामा रूझ्दै भिज्दै
विभिन्न पेशामा संलग्न
दिनहुँ बिहान बेलुकी हतारिन्दै हिड्ने
मान्छेको भीड भित्रको
एउटा मान्छे म

तनावका गह्रौं भारी बोकी
समस्याहरूसित जुझ्दै पिल्सिंदै
कहिले महंगाईको भारले थिचिएर
कहिले रोगले अधमरो भएर
कहिले साहुको ऋणमा चुर्लुम्मै डुबेर
गाँस, बाँस र कपासको समस्याले अधपिल्टो भई
चिन्ताको भुवँरीभित्र फन्को मार्दै
कुप्रिएका काँध र फुङ्गै उडिसकेका
फुस्रा, नियास्रा अनुहारहरू लिएर हिंडने
मान्छेका भीडभित्रको एउटा मान्छे म

समस्यै समस्याले गाँजेको जीवनमा
विभिन्न त्रासको कुम्लो बोकेर
कहिले सरकारी सहुलियत खोसिने त्रासले
भयभित बन्दै
कहिले शिक्षित बेरोजगार छोरा(छोरीको
अन्धकारमय भविष्य सम्झी डराउँदै
कहिले आफ्नै जन्मभूमिमा
आफ्नो परिचय दिएर
जीउनुको औपचारिकता पूर्ण गर्न
पटक पटक जारी हुने
सरकारी फरमानको पालना गर्नलाई
कहिले बैंक त कहिले चुनाव आयोग कार्यलय
कहिले नगरपालिका त कहिले कचहरीका परिसरहरूमा
लामवद्ध खडा हुन विवश
मान्छेका भीड भित्रका
एउटा मान्छे म

मंहगाईको चड्नै नसक्ने पहाडमा
सकि नसकि चड्नै पर्ने वाध्यताले लाचार
भाइ भतिजावादले चुर्लुम्मै डुबेको देशमा
सरकारको नपच्ने नीतिहरू
अप्नाउनै पर्ने विवशताले
उग्र बनेको मन
भ्रष्टाचार, धोखाघडी,थिचोमिचो र
अपमानको रापले रापिएर
भित्र भित्रै बारूद बनी पडकिनलाई तयार
मान्छेका भीड भित्रका एउटा मान्छे म

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.