कथा : एउटा हराएको गन्तव्य

~शिशिर पराजुली~Shishir Parajuli

भाग : १

“तिमी आखिर यस्तो किन छौ ?”

“तिम्रो मुटु अरुको भन्दा फरक किन छ ?”

“यस्तो पापी सन्सारमा तिमी कसरी अरुको मुहारमा हाँसो ल्याउन खोज्ने बन्यौ ?” उ यस्तै बर्बाराउँथी मेरो अङ्गलोमा बाँधिएर सिद्धपोखरीको छेउमा बस्दै । हाम्रो हप्ताको एक दिनको कार्यक्रम जस्तै थियो सिद्धपोखरी आउनु,दुइ-चार घन्टा सँगै बिताउनु ।

उ सँग चिनजान भएको त्यस्तै छ महिना जती भएको थियो । छ महिना पहिले साँझ भृकुटिमन्डपमा सामाखुशी जाने गाडी कुर्ने सयौँ को भिडमा उ पनि थिइ । एक दिन कलेजबाट फर्किएर त्यहाँ पुग्दै थिएँ,आकाश एक्कासी रिसायो । एक्कासी छिनभरमै ठुलो पानी पर्यो । मानिस हरु दौडिन थाले । छाता हुने हरु छाता खोल्न थाले । मैले पनि झोला खोलेँ तर छाता भेटिन । बिहान हतारमा कोठाबाट निसक्ने बेला छाता ल्याउनै बिर्सेछु । अब पर्यो आपत! त्यस्तो ठुलो पानी,त्यसमाथी छाता ल्याउन बिर्सेको रहेछु । गाडी कुर्ने ठाउँमा बनाइएको छतमुनी पनि सयौँ मानिस नअटाइ नअटाइ छिरी रहेका थिए । म पानीमा रुझ्दै थिएँ एक्कासी मेरो शरिर भिज्न छाड्यो । यसो छेउमा हेरेको एक जना केटी मलाई हेरेर मुस्कुराउँदै थिई र मलाई छाता ओडाइदिँदै थिई ।

“यस्तो पानीमा भिज्ने रहर हो ?” जिज्ञासु आँखा बनाउँदै उसले सोधी ।

तिमी भिज्ने भने म पनि सँगै भिज्छु भन्न लागेको थिएँ तर चिनजान नभइ सुरुमै उसलाई जिस्काउन मन लागेन ।

“हाहा होईन छाता नभएर” सरल उत्तर दिएँ ।

“यस्तो झरिको मौसममा छाता बोक्नु पर्छ नि कस्तो क्येरलेस”

पहिलो भेटमै एउटी सुन्दर केटिले क्येरलेस भनेको सहन त सकेको थिइन तर फेरी छाता र पानी सम्झिएँ ।

“सरी”

मुखबाट फुस्कने बित्तिकै आफैँ लज्जित भएँ,म चिन जान नै नभएकी केटिलाई बेकाममा सरि भन्दै थिएँ ।

उसको मुहारमा ठुलो हाँसो आयो ।

पानीले ल्याएको आवाजलाई पनि जितेर गाडी कुर्ने सयौँ मानिसले त्यो हाँसो सुने होलान जस्तो लागेर चारै तिर आँखा डुलाएँ । मानिस मर्न लाग्दा त नहेर्ने मानिसले हाँस्दा के हेरुन्,सबै आफ्नै धुनमा मस्त,अस्तव्यस्त रहेछन । “अनी घर कहाँ ?” हाँसो रोकेर उसैले सोधी ।

“सामाखुशी” मैले भने । भन्ने बित्तिकै फेरी ग्लानी भयो तर म अरु बोल्न नपाउँदै उसले भनी हाली “अरे बुद्धु सामाखुशीको गाडी कुर्ने मानिसको घर मैले थानकोट पनि त भनेकी छैन ।”

“मेरो कपुरधारा अनि तिम्रो नि” मैले थपेँ ।

“वाउ! ह्वाट अ कोइन्सिडेन्स । मेरो पनि कपुरधारा नै हो ।”

उसले अङ्ग्रेजी मिसाएर उत्तर दियी । “छाता को लागी थ्यान्क्स” मैले भनेँ । “छ्या! घरि सरि घरि थ्यान्क्स,कस्तो फर्मल” उसले भन्दै गर्दा एउटा माइक्रो आएको थियो कारीब १० मिनट पछी । त्यत्रो बेर जम्मा भएको भिडलाई माइक्रोको खलासिले नमिठी खबर सुनाइदियो ” गल्कोपाखामा गाडी ठोक्किएको छ,बाटो बन्द छ,गाडी आउँदैन ।” यस्तो पानीमा यो खबर सुन्नु पर्दा मन अत्तालियो । “हिँड्दै जाने ?” एक्कासी उसैको आवाज आयो । म छक्क परेँ । चिन्नु न जन्नु उ सजिलै मसँग हिँड्दै जाने भन्दै थिई । “ढिला हुँदैन ?” मैले सोधेँ । “ह्या जान्छौ कि नाइ भन न नत्र म एक्लै जान्छु ।” उ केहि झिझिए जस्तो गरी ।

“लगे पक्कै जान्छु ।” मैले भनेँ ।

उसले केहि भन्छे कि जस्तो लागेको थियो,केहि बोलिने अनि सरासर हिँड्यौ । पुरानो बसपार्क,रत्नपार्क,दरबारमार्ग,लैनचौर हुँदै घर पुग्ने प्लान उसले सुनाइ,मैले हुन्छ को भावमा टाउको हल्लाएँ ।

“तिम्रो नाम चाँही के नि ?” मैले सोधेँ ।

“नाम सोध्न पनि यत्ती बेर लगायो ।” उसले यसो भन्दा सोचेँ कि यो केटिलाई कुनै पनि कुराको सिधा उत्तर दिन किन आउँदैन ।

“अब सोधे पछी त भन ।” मैले भनेँ ।

“रस्मिता” उसले भनि । मेरो नाम सोध्ली जस्तो लागेको थियो सोधिने ।

“रस्मिताको नाम मिठो रैछ ।”

“म मान्छे नै मिठो नाम मिठो भईहाल्छ नि” उसको उत्तर ।

मान्छे मिठो कि नमिठो त चाखे पछी थाहा हुन्छ भन्न लागेकै थिएँ रोकिएर “थर चाँही के नि ?” मैले सोधेँ ।

“ओ मिस्टर अहिलै बिहे गर्ने प्लान बनाइसकेको हो क्या हो थर सोध्न थालेउ त ।” उसले फेरी बाङ्गो जवाफ दिई ।

म केहि बोल्न चाहिन । मौनतालाई चिर्दै उ आफैँले भनि “महर्जन”

“मेरो नाम रश्मिता महर्जन हो । म अहिले पुल्चोक क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ्ग पढ्दै छु । अब तिम्रो बारे भन ।”

मेरो अबका सम्भावित दुइ प्रश्नको उत्तर उसले पहिल्यै दिइसकेकी थिई । मैले पनि आफ्नो बारे उसलाई सुनाएँ ।

“शिशिर पराजुली”

“सिभिल इन्जिनियरिङ्ग,एडभान्स कलेज”

“फस्ट इअर ”

“म पनि फस्ट इअर नै हो” उसले भनी ।

यसरि नै गफिँदै घर तिर लम्कियौँ । पानीले रोकिने नाम लिएको थिएन । हामी एक छातामुनी दुइ शरिर के अटाउँथियौँ र ? आधा शरिर भिजेको थियो तर म उसँगको सामिप्यतामा रमाउँदै थिएँ । हामी यसरि नै कपुरधार पुग्यौँ । कपुरधारा बाट एकैछिन को पैदलमा उसले भनी “मेरो घर यहिँ हो तिम्रो कता ?”

“मेरो पनि यहिँ नजिकै हो,तिमी जाउ म हिँडेर जान्छु ।” मैले भने ।

“यत्रो बेर त छाता ओडाएँ अब एकैछिन उता जान क को हतार खुरुक्क हिँड,नाटक नगर” उसले निर्देशन दिएकी हो कि भनेकी हो बुझिन र उसँगै गएँ र घर अगाडी पुगे पछी “थ्यान्क्स्” भनेँ ।

उ फेरी मुस्कुराइ अनि भनी “यत्रो बेर छाता ओडाएर थ्यान्क्स ले मात्र चल्दैन”

“अरु के गरम त ?” मैले सोधेँ ।

“केहि नगर,जाउ घर खुरुक्क” उसले फेरी निर्देशन दिइ ।

अनी म जानै लाग्दा मेरो गाला चिमोटी र भनी “फेसबुकमा नाम चाँही रस्मी महर्जन छ है” र हाँस्दै गइ ।

म पनि हाँसे,अली ठुलै हाँसे यसपाली ।

यो १ घण्टाको दौरानमा केहि त भएको थियो । केहि रमाइलो आभास भएको थियो । एउटा छुट्टै उमङ्ग छाएको थियो मनमा त्यो पनि एक घन्टा अघी सम्म अपरिचित केटी सँग ।

भाग : २

त्यो साँझ घर भित्र छिर्दा छुट्टै उत्साह थियो । कोठामा गएर छिटो छिटो ल्याप्टप झिकेँ,पावर बटन थिचेँ र हात मुख धुन बाथरुम छिरेँ । बाटोभरि झरिमा रुझेको हातमुख थियो त्यही पनि नानी देखी लागेको बानी त हो । फर्किएर आउँदा ल्याप्टप स्कृनले पासवर्ड माग्दै थियो । पासवर्ड हानेँ,अरुबेला १० पटक रिफ्रेश गर्ने बानी त्यो दिन चाहिँ सिधै गुगल क्रोम खोलेँ र फसबुकमा लग इन गरेँ । नोटिफिकसन ४ वटा र म्यासेज २ वटा थिए । त्यता ध्यान दिइन । सिधै सर्च बक्समा गएँ र टाइप गरेँ “रस्मी महर्जन” थुप्रै रिजल्ट हरु आए,मैले सबै भन्दा माथीकोमा थिचेँ । सेतो वनपिस र कालो चस्मामा सजिएको प्रोफाइल पिक्चर थियो । साइडमा ब्याग भिरेकी थिई । यो त्यही अघिकी रस्मिता थिइ । ढिला नगरि “सेन्ड फ्रेन्ड रिक्वेस्ट” भन्ने बटनमा थिचेँ । साला! अनेबल टु क्नेक्ट भन्दै स्कृन खुल्यो । यसो राउटर तिर हेरेँ पहेँलो बत्ती बल्दै थियो । इन्टरनेट सर्भिस वाला लाई जाने जतिको गाली गरेँ,मन अमिलो पार्दै मोबाइल झिकेँ । डाटा अन गरेँ,एकैछिन कुरेको डाटा पनि चलेन । ब्यालन्स हेरेको ०•०१ देखायो । मन कटक्क भयो फेरी । अनि ध्यान सिम २ तिर लएँ । त्यसमा त हालत झन खराब रैछ,अस्ती सापटी लिएको २० रुपायाँ ब्याज सहित २२ तिर्न भन्दै थियो । त्यस दिन इन्टरनेट नै चलेन । डाटा चल्ने कुरै भएन । त्यस पछी हात चल्यो,ल्याब रिपोर्ट लेखेर सकाउन । आँखा पेपर तिर भन्दा धेरै राउटर तिरै दौडिए,तर निराशा मात्र हात लाग्यो । त्यो पहेँलो बत्ती ट्राफिक सिग्नल जस्तो गरेर छिनमै हरियो भएन । गरेको गाली र सराप लाग्थ्यो भने भोली पल्ट इन्टरनेटवाला हरु सबै स्वर्गबास हुन्थे होला । ल्याब रिपोर्ट र कलेजका असाइन्मेन्ट बुझाउने डेडलाईन भोली पल्ट थियो । सबै लेखेर भ्याउँदा रातको १२ बजिसकेको थियो । सुत्ने बेला अन्तिम पटक राउटर रिसेट गरेर चली पो हाल्छ कि भनेर बिचार गरेँ,हात चाँही शुन्य लाग्यो । त्यत्तिकै कुँडिएको मन लिएर त्यस रात सुतेँ । बिहान ७ बजे कलेज भेट्नु पर्ने,आँखा खुल्दा ७:३० भैसकेको थियो । हतार गर्दै अर्को पिरियड भेट्ने भन्दै कलेज तिर कुदेँ । कलेज गएर सबै भन्दा पहिला लाईब्रेरी छिरेँ,वाइफाइ कनेक्ट गरेँ,हिजोकै कुरा दोहोर्याएँ । यस पटक “अनेबल टु कनेक्ट” को ठाउँमा “फ्रेन्ड रिक्वेस्ट सेन्ट” भन्ने स्क्रीन देखायो । मन बल्ल शान्त भयो । त्यस दिन फेरी घर फर्कने बेला साँझ पेरिसकेको थियो । गाडी कुर्ने भिडमा म पनि जम्मा भएँ । आँखा गाडी भन्दा पनि उसैलाई खोज्दै थियो । आदी घन्टा उसैलाइ खोज्दै बिताएँ,भेटिन । त्यस पछी सँघर्ष गर्दै गाडी चढेँ । घर पुगेर एकै छिन पछी फसबुक खोलेँ । “रस्मी महर्जन एसेप्टेड योर फ्रेन्ड रिक्वेस्ट” भन्दै नोटिफिकेसन आएको रहेछ । कहिल्यै च्याट अन नगर्ने मैले,त्यस दिन च्याट अन गरेँ । साइडमा बलेका हरिया बत्तिको छेउका नाम हेरेँ । उसको नाम भेटिन । राती खाना खाएर फसबुक खोल्दा उसलाई अनलाईन देखेँ । “हाइ” म्यासेज मैले पठाएँ ।

“निद्रा लागेको हो ?” उसले सोधी । फेरी बाङ्गो उत्तर ।

लाचार भएर सोधेँ “किन ?”

“मैले निद्रा लाग्ने बेला हाइ गर्छु त्यसैले ।” उसले उत्तर दिइ ।

“हाइ भनेको सम्बोधन जस्तो लागेको थियो” मैले मन नलागी नलागी उत्तर दिएँ ।

“हाहा जस्ट जोकिङ्ग । कस्तो सिरिअस भएको” उसैले भनी ।

“अनी हाउ वाज योर डे ?” मौनता लाई पूर्णबिराम लगाउँदै उसैले सोधी ।

“खासै राम्रो रहेन ।” उसको अङ्ग्रेजी प्रश्नको मैले नेपालीमा उत्तर दिएँ ।

“किन ?”

“आज छाता ओडाउन तिमी भेटिएनौ नि त”मैले भनेँ

“भोली भेटौला नि त” उसले नि त मै जवाफ फर्काइ ।

यसरि नै कुरा हुँदै गयो । भोली पाँच बजे गाडी कुर्ने ठाउँमै भेट्ने कुरा भयो । अर्को दिन कलेज बाट ढिलो गरी फर्किएँ । पाँच बजे उसैलाई पर्खँदै थिएँ । यसो छेउमा हेरेको उ उभिरहेकी रहिछ । कानमा इअरफोन छिराएकी थिई । कालो टिशर्ट अनि हाइ वेस्ट कालो पाइन्ट । साइडमा ब्याग भिरेकी थिई । कलेज बाट फर्किएकी होईन कतै फेसन सो मा गएर फर्केकी जस्तो देखिएकी थिई । वास्तवमा एकदमै राम्री देखिएकी थिई ।

“हे” यसपटक निद्रा लागेको बिल्ला खेप्नु नपरोस भनेर हाइ भन्ने गल्ती गरिन । “कस्तो ढिलो गरेको” उसले भनी ।

“भर्खर त पाँच बजेको छ” मैले पाँच बजे भेट्ने भनेर हिजो तय गरिएको समय सम्झिएँ ।

“जे सुकै होस्,म छिटो आएँ तिमी ढिला” उसले भनी । मैले त्यसबारे अरु बोल्नु उचित ठानिन ।

उसैलाई जित्न दिएँ ।

“खाजा खायौ” मैले सोधेँ ।

“छैन । भोक लागेको छ” उसले भनी । “आउ खाजा खान जाम ।” मैले भनेँ । “अफर गरेको कि कुरामा कुरा चलाएको ?” उसले आफ्नै शैलिमा बाङ्गो उत्तर दिइ त्यो पनि उल्टो प्रश्न तेर्साएर ।

“अफर गरेको मैले भनेँ ।” त्यसपछी हामी दुबै हिँड्दै जमल पुग्यौँ ।

“डेलिसियस म:म” भनेर झुन्डाइएको क्याफेमा छिर्यौँ । उसँग गफ गर्न रमाइलो लागेको थियो । उसले पनि सन्कोच नमानी मसँग मज्जैले गफ गरी । त्यस दिन पनि हामी हिँड्दै घर गयौँ । बाटोमा
मैले सोधेँ “तिम्रो कोही बोइ फ्रेन्ड छ ?” उसले एकैछिन मेरो अनुहार तिर हेरि,केहि बोलिने,अनी मुस्कुराइ ।

“छैन” अनि मेरो बारे सोधी ।

“मेरो पनि छैन ।” मैले उत्तर दिएँ ।

“कोही मन पर्छ ?” मैले सोधेँ ।

“पर्दैन” उसले जवाफ दिइ ।

“अनी तिमीलाई” उसले स्वभाविक प्रश्न सोधी ।

“पर्छ” मैले उत्तर दिएँ ।

भाग : ३

“साँच्ची ?”उसले सोधी ।

“होईन ठट्टा गरेको” मैले भनेँ ।

“ह्या साँच्ची भन न” उसले उत्सुक हुँदै भनी ।

म:”साँच्ची कोही छैन त्यस्तो । मलाई कसले मन पराओस्”

उ: “लौ लौ किन नि यस्तो क्युट त छौ”

उसको मुख बाट “क्युट” शब्द सुन्ने बित्तिकै मन रमाउन थाल्यो,नाच्न थाल्यो ।

हामी आज पनि गफ गर्दै घर पुग्यौँ । त्यस दिन घर पुगे पछी घरको काममै ब्यस्त भईयो ।

भोली पल्ट शनिबार थियो । दिउसो तिर मोबाइलमा म्यासेन्जरले केहि सन्केत गर्यो । उसैको म्यासेज रहेछ “ओइ”

“हजुर” मैले उत्तर दिएँ ।

“दिन भर घर बस्न अल्छी लाग्दैन ?” उसले सोधी ।

“लाग्छ तर बाहिर निस्कने नि काम छैन” मैले भनेँ ।

“बाहिर निस्कन काम नै चाहिन्छ भन्ने छैन” उसले भनी ।

“त्यो पनि हो” मैले जवाफ फर्काएँ ।

“तिमी म्हैपी मन्दिर गएको छौ ?” उसले प्रश्न गरी ।

“गएको छु ।” मैले भनेँ ।

“आउ आज फेरी जाम” उसैले भनी ।

“अहिले ?” म केहि हिच्किचाएँ ।

“अहिले होईन पागल,बेलुका तिर हस ?” उसले सोधी ।

( म्हैपी मन्दिर हामी दुइको घरबाट नजिकै पर्छ )

उसलाई नाइ कसरी भन्न सक्थेँ र । केहि दिन देखी उसँग भएको आभस ले नै म रमाउने गर्थेँ ।

बेलुका भेट्ने कुरा भयो ।

यसपटक फोन नम्बर पनि साटासाट भयो ।

यसरी नै दिनहरु बित्दै गए । एक महिना भैसकेको थियो उसँग चिन जान भएको । हाम्रो भेटघाट एकदमै धेरै हुने गर्थ्यो । हामी कहिले म्हैपी त कहिले सिद्धपोखरी । कहिले फनपार्क त कहिले रत्नपार्क,कहिले पुल्चोक त कहिले न्यूरोड,जता पनि घुम्थ्यौँ । यि भेटघाटका क्रममा मैले उसलाई धेरै चिनी सकेको थिएँ,उसले पनि मलाई धेरै चिनेकी थिई । म उतर्फ केहि धेरै नै आकर्षीत हुन थालेको थिएँ । उसँग प्रेममा परिसकेको थिएँ । उसलाई धेरै नै चाहान थालेको थिएँ ।

यसै बिच १४ फेब्रुअरी आउँदै थियो । मैले आफ्नो भ्यालेन्टाइनका रुपमा उसलाई मनमा सजाउन थालिसकेको थिएँ । उसको मनमा के थियो, दैव जानोस् ।

धापासीको होटल सहंसामा भ्यालेन्टाइन स्पेसल कार्यक्रम भनेर राखिएको रहेछ, जोडीहरुका लागि । जानको लागी टिकट लिनु पर्ने ब्यवस्था रहेछ । मैले कार्यक्रमको बारे थाहा पाएको थिएँ ।

मैले रश्मितालाई “तिमी पनि खाली म पनि खाली आउ जोडी बनेर जाम न त भनेर अफर गरेँ ।”

“नाइ” उसले छिट्टै जवाफ दिइहाली ।

म निराश भएँ ।

१३ फेब्रुअरिको साँझ मोबाईलामा फोन आयो । उसैको फोन रहेछ ।

“शिशिर भोलिको प्रोग्रामको टिकट अब पाइन्छ ?” उसले सोधी ।

“खोइ पाइन्छ होला” मैले भनेँ ।

“दुइवटा लिइदेउ न” उसले अह्र्याइ ।

“कसको लागी ?” मैले सोधेँ ।

“तिम्रो र मेरो लागि” उता बाट आवाज आयो ।

मरो मनमा मैयुर नाच्न थाल्यो । हतार हतार टिकटको लागी भनिएको नम्बरमा फोन गरेँ । दुइ वटा टिकट बुक गरेँ । टिकट लिन भनेर एकैछिनमा धापासी पुगेँ र बोकेर आएँ प्रफुल्ल मुद्रामा ।

अर्को दिन म हतार हतार उसलाई लिन गएँ ।

रातो स्कर्टमा उ सजिएर निस्किई ।

हातमा कालो पर्स बोकेकी थिइ । कानमा ठुला ठुला टप थिए अनि खुट्टा मा अग्ला हिलवाला स्यान्डल । उ एक परम सुन्दरी जस्तै देखिएकी थिइ,अनुहारमा हल्का मेकअप अनि आँखामा गाजल झनै सुहाएको थियो ।
म एकैछिन उसलाई हेरिरहेँ ।

त्यसपछी हामी धापासी तर्फ गयौँ ।

म धेरै उत्ताउलिँदा हामी समयभन्दा चाँडै पुगेछौं । हामी नै कार्यक्रमस्थलमा पुग्ने पहिलो जोडी थियौं ।

एकैछिनमा चहलपहल सुरु भइहाल्यो । जोडीहरु एकअर्काको हात समाएर आउन थाले । हामी दुबै पुल नजिकको एउटा टेबलमा बसेर कफी पिइरहेका थियौं । हरेक टेबलमा राखिएको थियो रेड रोज । प्रेममय माहोल थियो । सबै हिसाबले प्रेम प्रस्ताव राख्नका लागि उपयुक्त समय थियो । मेरो मुटुको ढुक्ढुकी बढ्दै गयो । उसलाई पुलुक्क हेरें । गाजल लगाएका आँखा भुईंतिर झुकेका थिए । ओठामा रातो लाली लगाएकी थिइ। गाला लाजले आफैं राता भएका थिए ।

ठूलो साहस बटुलेर मैले टेबलमा राखिएको रोज हातले टिपें । कुर्सीबाट उठेँ अनि घुँडा टेकेर फिल्मी पोजमा आफूलाई राखेँ । अनि उसलाई गुलाब अफर गर्दै भनेँ, “आइ लभ यू रश्मिता”

उसका आँखा अनायासै ठूला भए । आधा लजाएकी थिइ भने आधा नर्भस थिइ । मैले आफ्नो गोजीबाट चकलेट र डल निकालेर उसलाई दिएँ, जुन मैले उसलाई पिकअप गर्नुभन्दा अगाडि किनेर राखेको थिएँ ।

‘डु यु लभ मी ?’ उ चुपचाप बसेपछि मैले प्रश्न गरें । उसले अहम्-अहम् गर्दै ‘सोचेर एक-दुई दिनमा जवाफ दिन्छु’ भनि। तर त्यतिञ्जेलमा मैले उसको आँखा र अनुहार मज्जाले पढिसकेको थिएँ, जहाँ जताततै ‘एस’ ‘एस’ लेखिएका थिए । मेरो आत्मविश्वास बढिसकेको थियो ।

कडा स्वरले भनिदिएँ, “भोलि-पर्सीको कुरै छैन । अहिले नै ओके भन । यस्तो माहोल नत्र कहिले आउँछ ?” मेरो कन्फिडेन्सबाट उ लर्याकलुरुक गलि। लामो सास तानि, अनि घोसे मुन्टो लगाएर भनि, “आइ लभ यु टु ।”

म फुरुङ्ग भएँ । हावामा उडुँ-उडुँ झैं लाग्यो । संसारकै मूल्यवान चिज पाएँ झैं भयो । पहिलोपटक उसलाई स्पर्स गरें । अघि टेबलको वल्लो-पल्लो सिटमा बसेको म अब एउटै सिटमा टाँसिएर बसेँ । अंगालो मार्न खोज्दा उ करेन्ट लागे झैं हल्लिइ।
त्यसपछि हामीले स्टेजमा हात समातेर कपल डान्स गर्यौं । उसका हात ताता थिए ।

त्यसदिन साथिको बाइक मागेर उसँग गएको थिएँ । प्रोग्राम सकेर राति साढे नौ बजेतिर हामी फर्कियौं । आउने बेला बाइक पछाडी बस्दा पनि बिचमा ठाउँ खाली राखेर बस्ने उ चपक्कै टाँसिएर बसी । एउटा हात मेरो काँधमा र एउटा कम्मरमा राखि । टाउको मेरो ढाडमा अड्याइ । मलाई बाइक गुडेको होइन, उडेको झैं लागिरहेको थियो । मैले उसलाई घरसम्म पुर्याइदिएँ । घर अगाडी पुगेपछी उसले मलाई हेल्मेट खोल्न भनी । हेल्मेट खोल्ने बित्तिकै उसले मेरो गालामा किस गरी अनि गेटतिर दगुरी ।

“मेरो पालो कहिले आउँछ ?” म चिच्याएँ ।

“आउँदैन” उसको पनि हाँसो मिसृत आवाज सुनियो ।

त्यसपछी आफ्नो कोठामा गएँ । त्यो रात म के निदाएँ होला र ?

भाग : ४

अर्को बिहान उठ्दा मन फुरुङ्ग थियो । जिन्दगी भरि सुत्ने र उठ्ने काम सधैँ गरियो तर अनुहारमा मुस्कान सहित उठेका दिन चाँही बिरलै थिए होलान् । त्यस दिन कलेज जाँदा पनि मन फुरुङ्ग थियो । सधै जसो बेलुका फेसबुक खोलेँ । उ सङ्ग हिजो देखी कुरा भएको थिएन । फसबुक खोल्दा उसैको म्यासेज आएको रहेछ ।

“एक दिनमै मलाई बिर्सेको हो ?”

“तिमीलाई बिर्सिए कसलाई सम्झिनु,बिर्सिएको छैन ।” उत्तर फर्काएँ ।

“अनी दिन भरि कल पनि गरेनौ” उ रिसाए जस्तो गरी ।

“कलेजमा तिमीलाई डिस्टर्ब हुन्छ भनेर” मैले भनेँ ।

“तिम्रो कलले डिस्टर्ब हुँदैन” उसले भनी ।

त्यसपछी भोली बाट कल गर्ने बाचा गरेँ । उसले च्याटमा नियमहरु बनाउँदै गइ । उसका सबै नियम मैले मान्नु पर्ने भयो । नियम पनि अनौठा अनौठा थिए । दिउसो एक पटक कल गर्नै पर्ने ।

सधैँ भेट्न नभ्याए पनि हप्ता मा ३ दिन भेट्नै पर्ने त्यसमाथी एक दिन कतै घुम्न जानु पर्ने । बेलुका ८ नबजी फेसबुक खोल्न नपाइने । बेलुका ८ बजे भन्दा अगाडी कलेजका सबै असाइन्मेन्ट भ्याउनु पर्ने । १० बजे सुत्नु पर्ने । यस्तै यस्तै नियम उसले बनाइ । मैले सबै नियममा समर्थन जनाउँदै गएँ,कुनै वेबसाइट खोल्दा त्यसका नियमहरुमा “आइ एसेप्ट” भन्ने बटन थिचे जसरि सबै नियम स्विकार गर्न बाध्य भएँ ।

उसको एउटा नियममा चाँही म औधी खुशी भएँ,कलेजबाट फर्किँदा एक दिन हिँडेर घर जानु पर्ने । पुल्चोक,कुपन्डोल,रत्नपार्क,दरबारमार्ग,लैनचौर हुँदै घर पुग्नु पर्ने रुट पनि उसैले तय गरी ।

यसरि नै दिन हरु बित्दै गए । हाम्रो खासै झगडा हुने गर्थेन । हामी खुशी खुशी दिन हरु काट्दै थियौँ । यसैबिच हामी दुबैको इक्जाम नजिकियो । कलेज जान छाडिसकेका थियौँ । कम्प्युटर र सिभिलको पहिलो सेमेस्टरमा ३ वटा बिषय मिल्थे । मलाई त्यस मध्य “सि प्रोग्रामिङ्ग” अलि गार्हो लाग्थ्यो । एकदिन घर बसेर पढ्दै थिएँ उसलाई म्यासेज गरेँ । “सुन न”

“हजुर” केहि सेकेन्डमै जवाफ आइहाल्यो ।

“मलाई सि सिकाइदेउ न” मैले भनेँ ।

“कहिले ? कहाँ ?” उसले सोधी ।

“जहाँ मिल्छ त्यहिँ” मैले भनेँ ।

“तिम्रो घर दिउसो खाली हुँदैन” मैले नै प्रश्न गरेँ ।

“हुन त हुन्छ” उसले जवाफ फर्काइ ।

“त्यसो भए तिम्रै घर आउँछु नि त” मैले भनेँ ।

एकैछिन रिप्लाई आएन ।

“हुन त हुन्छ तर” उसले म्यासेज गरी ।

“तर के ?” मैले स्वभाविक प्रश्न गरेँ ।

“अम् केहि नाइ,भोली दिउसो आउ सँगै पढौँला ।” उसले समर्थन जनाइ ।

भोली पल्ट ११ बजे तिर उसैको फोन आयो ।

उसले आफु एक्लै भएको जनकारी गराइ । म किताब बोकेर उसको घर तिर लम्किएँ ।

घर पुगेर घन्टी बजाएँ । एकैछिनमा ढोका खुल्यो । मेरो अगाडी उ थिइ । हाफ पाइन्ट र टिशर्टमा सजिएकी रहिछ । मलाई भित्र बोलाई । अनि हामी सँगै बसेर पढ्न थाल्यौँ ।

केहि बेर पढियो,केहि बेर चलियो । यसरि नै एकैछिनमा दिन बिते जस्तो लाग्यो । हामी अझै केहि दिन यसरि नै उसको घरमा सँगै पढ्न थाल्यौँ ।

हाम्रो इक्जाम पनि सकियो । इक्जाम सकिए पछी एक हप्ता बिदा थियो । उसले ७ दिनको घुम्न जाने प्लन बनाउन थालि;गोदबारी,नगरकोट,धुलिखेल यस्तै यस्तै । म भनेँ घर जानु पर्ने भयो;नेपालगन्ज । उ मसँग रिसाइ ।

रिसाएर केहि हुने वाला थिएन । म नेपालगन्ज जानै पर्ने भयो,गएँ । उ एक हप्ता मसँग रिसाएर नै बिताइ । फर्किएर पनि फकाउन समय लाग्यो । बिस्तारै सबै नर्मल हुन थाल्यो । हाम्रो अर्को सेमेस्टर सुरु भयो । उसलाई म अत्यन्तै माया गर्थेँ । उ आफैँ भन्थी “तिमीले मलाई गरे जती माया त मैले तिमीलाई कहिल्यै गर्न सक्दिन होला ।”

सकोस पनि कसरी । म कसैलाई जिवनमा पहिलो पटक यती धेरै माया गर्दै थिएँ । सायद अन्तिम पटक पनि यही थियो कसैलाई यती धेरै माया दिने । दिन हरु खुशी खुशी बित्दै गए ।

गोला, ठूल्ठूला, गुच्चाजस्ता काला चम्किला आँखा, डल्लो–डल्लो ठिक्कको मिलेको नाक, पातला लाम्चा रसिला ओठ, टलक्क दाँतका लस्कर लिएर मुस्कुराउने मुख, हल्का चिरिएर झुन्डिएको सुहाउँदिलो चिउँडो, काला केशका पौंस हल्लाएर फैलिएको चौडा निधार र यी सप्पैलाई साह्रै सुहाउँदो आधार दिने गोरो छाला । यस्तो रुप भएकी उसलाई मैले मन मुटुमा सजाइसकेको थिएँ ।

उसको मुस्काननै मेरो मुस्कान थियो । उ हाँसेको देख्दा म आँफै खुशी हुन्थेँ । उसको एक स्पर्शमा म रमाउँथे । उसको एक चुम्बनले मलाई सन्सार जितेको आभास हुन्थ्यो ।

यसैबिच साउन महिनामा कलेज बन्द भयो । उ बुटवल गइ । बुटवल उसको पुर्ख्यौली घर थियो । बुटवल पुगेर उसले कल गरी । बेलुका अनलाईन पनि आइ । राम्रै सँग कुरा गरी । त्यसपछी उ एक्कासी हराइ । उसको फोन स्विच अफ भन्न थाल्यो । अनलाईन पनि आउन छोडी । एक हप्ता उ सम्पर्कमै आइन । यता म पागल जस्तो हुन थाली सकेको थिएँ । जती बेला उसैलाई फोन लाग्छ कि भनेर कोशीश गर्थे । अनलाईन आउँछे कि भेनेर कुर्थेँ तर उ कहिल्यै आउँथिन ।

भाग : ५

पुरै एक हप्ता पछी उ अनलाईन आइ । एकैछिनमा म्यासेज गरी “हाइ”

“कहाँ हराएको ?” मैले सिधै प्रश्न गरेँ ।

“कहिँ होईन,यता हल्का फुल्का काम थियो त्यसैले” उसले भनी ।

त्यस संवादका दौरान उ केहि फेरिए जस्तो आभस मैले गरेको थिएँ । उ मलाई आफ्नो बारे धेरै चिन्ता नलिनु भन्दै थिइ । आफु फेरी केहि दिन सम्पर्कविहिन रहने बताइ । मलाई कारण पनि बताइन । उ त्यत्तिकै अफलाईन भइहाली ।

त्यसको ३ दिन पछी उ अनलाईन आइ । सुरुमा अलि अलि कुरा भए । त्यस पछी “तिमीलाई केहि समस्या भएको भए भन प्लिज” मैले बिन्ती गरेँ ।

“केहि भएको छैन” उसले सरल उत्तर दिइ ।

“तिमी किन चेन्ज भएको ?” मैले सोधेँ ।

“चेन्ज कस्तो चेन्ज” उसले केहि थाहा नभए जस्तो गरी ।

मैले उसमा आएका परिवर्तन बताउन थालेँ । एक पछी अर्को गर्दै भन्न थालेँ ।

“अँ यि सबै चेन्ज त आएको छ,पहिला जस्तो कसरी बन्ने होला” उसले भनी । उसले यसरि भनी मानौँ कि केहि भएकै छैन,उसको परिवर्तन केहि होईन ।

“आजकल म हाँसी त रहेकी छु तर फोर्स गरेर” उसले अर्को म्यासेज गरी ।

“मतलब ?” मैले नबुझेको भावमा उसलाई म्यासेज गरेँ ।

“केहि होईन” उसले स्पस्टिकरण दिन जरुरी ठानिन ।

एकैछिन मौनता छायो । म के म्यासेज गर्ने अकमक्क परेको थिएँ । चकित थिएँ उसमा आएको परिवर्तन देखेर ।

करिब १० मिनेट पछी उसैको म्यासेज आयो ” शिशिर तिमी अब मुभ अन गर । मलाई बिर्सिदेउ । आफ्नो नयाँ लाईफ सुरु गर ।”

एक पटक पेज रिफ्रेश गरेँ,विस्वाश नलागेर । एक्कासी उसको यस्तो म्यासेजले म चकित भएको थिएँ । म छाँगाबाट खसे जस्तै भएको थिएँ ।

“रश्मिता यो के भन्दै छौ ?” मैले लेखेँ ।

“शिशिर तिमी अब मुभ अन गर । मलाई बिर्सिदेउ । नयाँ लाईफ सुरु गर । खुशी भएर बस । म अब तिमी सँग कहिल्यै बोल्ने छैन । आफ्नो लाईफ राम्रो सँग जिउनु अनि प्लिज कुनै गलत कुरा नगर्नु । मलाई कारण नसोध । बस यत्ती सम्झ कि आज बाट हाम्रो बिच केहि पनि छैन । तिमी अब बाँकी जिवन झनै खुशी भएर बिताउनेछौ । मैले मुड बनाइसकेँ अब तिमी सँग नबोल्ने भनेर त्यसैले मलाई म्यासेज नगर्नु अनि कल पनि नगर्नु ।” उता बाट लामो म्यासेज आयो,यस्तो म्यासेज जसले मेरो सारा खुशीमा आगो लगाउँदै थियो ।

“रश्मिता एक्कासी के भयो ? किन यस्तो भन्दै छौ ? तिमी बिना म कसरी खुशी हुन सक्छु र ? कारण के हो त भन ।” मैले छिटो छिटो टाइप गरेँ ।

“शिशिर प्लिज मलाई म्यासेज नगर । मलाई कारण पनि नसोध । कहिले काँही साइलेन्स इज द बेस्ट अप्सन” उसले भनी ।

“मलाई अब कहिल्यै कन्ट्याक्ट गर्ने कोसिस नगर । बाइ ।” उता बाट अर्को म्यासेज आयो ।

मैले केहि लेख्नु भन्दा अगाडी उ अफलाईन भैसकेकी थिइ ।

उ अफलाईन त गइ त्यही पनि मैले उसलाई म्यासेज गरी रहेँ । पागल जसरि उसलाई सयौँ म्यासेज गरेँ । उसले मलाई चटक्कै छाडेकी थिइ,न कुनै सन्केत थियो अनि न त कुनै कारण बारे म जनकार नै थिएँ । उसले त मलाई कारण बताउन सम्मको लायक सम्झिइन,मैले भने उसलाई सके सम्म माया गरेकै थिएँ ।

अब उसले छाडेर गएर मैले उसलाई बिर्सन सक्ने त कुरै थिएन,केहि त गर्नै पर्ने थियो तर आखिर गर्ने के त ?

उसलाई कल गरेँ,उठेन ।

एकै छिन अझै ट्राइ गरेँ । फोन स्विच अफ भयो ।

म उसैको यादमा तड्पिन थालेँ । उसको खुशी आफ्नो खुशी मानेर कदम कदममा साथ दिएर आज आएर उ मलाई कुन चिजको सजाय दिँदै थिई ? यही प्रश्नले मलाई भित्र भित्र प्रहार गरिरहेको थियो ।

उ आफैँ मेरो मायामा यत्ती प्रभावित थिई कि उ भनिरहन्थी “मलाई किन यत्ती माया गर्छौ ?”

आज एक्कासी उसमा यत्ती ठुलो परिवर्तन ? किन ? आखिर के भएको थियो त्यस्तो ? मेरो कुनै काममा ध्यान पुग्नै छाडिसकेको थियो । जे गर्दा जहाँ जाँदा पनि उसैको यादमा म तड्पिरहन्थेँ । म घर बस्न नसक्ने नै भैसकेको थिएँ । म यो पिडामा अझै बस्न नसक्ने भैसकेको थिएँ । के गर्ने कसो गर्ने केहि उपाए सुझिरहेको थिएन ।

अर्को दिन म बिहानै उठेर बसपार्क गएँ । बुटवल जाने बसको टिकट काटेँ । घरमा भने कलेजको टुर छ भनेर निस्केको थिएँ । यात्रा भरि उसैको यादले मलाई छाडेन । दिउसो बुटवल पुगेँ । गाडी बाट ओर्लेपछी बल्ल झसँग परेँ । म के का लागी बुटवल आएको थिएँ ? न उसको फोन लाग्थ्यो,न उसलाई भेट्न सक्थेँ यस्तै प्रश्नहरुको उल्झनमा फसिरहेको बेला मेरो फोन बज्यो ।

“हेल्लो” मैले फोन उठाएँ ।

“तँ रश्मिता बाट टाढा बस् । अब नजिक आउन खोजिस भने तेरो लागी एक्दमै नराम्रो हुनेछ । रश्मिताको माया लाग्छ र केहि नहोस भन्ने चाहान्छस भने उ नजिक आउने कोसिस नगर् ।” यत्ती भनेर फोन काटियो ।

भाग : ६

यत्तिकै त केहि नसोची बुटवल आएको म,त्यो फोन कलले झनै रनभुल्लमा परेँ । अब झनै के गर्ने ? सबै भन्दा सुरुमा एउटा रिक्सा चढेँ अनि एउटा होटेलमा लगिदिन भने । होटेल गएँ अनि चिन्ता झनै बढ्न थाल्यो । शंकाहरु पनि अत्यन्त धेरै उत्पन्न हुन थाले । अब म के गरुँ ? के त्यस कलमा भनिए जसरि नै चुप चाप रश्मिता बाट टाढा भउँ त ? उसैलाई पाउनको निम्ती बुटवल आएको थिएँ,अब यत्तिकै कसरी फर्किउँ ?

दिमागले केबल रश्मिताको लागी भए पनि यहाँ बाट टाढा जानु पर्छ भन्दै थियो भने दिलले यत्ती धेरै माया गरेकी मान्छेलाई यत्ती सजिलै छोड्छस् भनेर प्रतिप्रश्न गरिरहेको थियो ।

फेसबुक खोलेँ,”यु क्यान्नट रिप्लाई टु दिस कन्भर्सेसन्” भन्ने देखियो ।

मलाई उसले ब्लक गरिछे क्यारे! मन करेला खाए जस्तै भयो,तितो अनि नमिठो ।

आहा! उसको मन पनि कस्तो,उसको माया पनि कस्तो । चैतमा झरेका बाँसका पात जसरि उसको माया पनि झरेको थियो,फरर कुनै बेर नलगाइ । कम्सेकम ति बाँसका पातले झर्नु भन्दा आगाडी संकेत त दिन्थे अनि त्यसमाथी उनिहरुसँग त झर्नुको कारण पनि थियो । उनिहरु त शिशिर ऋतुको आगमनले झरेका थिए । तर उ किन झरि एक्कासी ? उसको माया किन झर्यो एक्कासी ? न त उसँग मलाई भन्ने कारण थियो न त उसले केहि संकेत नै दिएकी थिई । उसलाई ति बाँसका पातहरुसँग दाँज्नु पनि मुर्खता लाग्यो ।

उ सुरुमा आफ्नोपनको आभास लाग्छ भन्दै आइ,त्यसपछी तिम्रो नै बिस्वास लाग्छ भन्दै नजिकिई,फेरी तिमी सबैभन्दा खास लाग्छ भन्दै सम्बन्ध बढाइ,दुनियामा तिम्रो मात्र आश लाग्छ भन्दै फुर्काइ र अचानक के कुरामा चित्त बझेन कुन्नि तिमी सन्सारकै बकवास लाग्छ भन्दै तर्किएर गइ ।

ब्लक भए पछी फेसबुकबाट उसँग सम्पर्कमा आउने बाटो पनि बन्द भएको थियो ।

मैले उसलाई भेट्ने अनेक उपाय हरु सोच्न थालेँ । यत्तिकैमा मैले एउटा कुरा सम्झिएँ । उसलाई एक पटक मैले सोधेको थिएँ,”तिम्रो घर बुटवलमा कता हो ?”

उसले उत्तर दिएकी थिइ” सिद्धार्थनगर भन्ने टोल छ,त्यहिँ हो ।”

फट्टाफट होटलबाट निस्किएँ,अब यत्रो ठुलो सहरमा “सिद्धार्थनगर” भनेर कता खोज्न जाउँ ? बाहिर निस्किएर रिक्सा खोज्न थालेँ,मेरो गन्तब्य बताउँदा सबैले अनभिज्ञता जनाउन थाले । कसैले चिनेनन् “सिद्धार्थनगर” भन्ने ठाउँ । बाटोमा हिँड्ने मानिसलाई पनि सोधेँ,कसैले चिनेनन् । निराश भएर राती होटल फर्किएँ ।

यसो फेसबुक खोलेँ । एउटा उपाय सुझ्यो । उसको मिल्ने साथिलाई म्यासेज गरेँ,जो मेरो फेसबुकमा एड थिई ।

उसलाई मैले सबै कुरा बताएँ,म बुटवलमा रहेको पनि उसलाई बताएँ । उसलाई एउटा सहयोग गर्न बिन्ती गरेँ । उ रश्मिताको घर रहेको ठाउँ बताउन तयार भइ । उसले त्यस ठाउँको नाम बताइ । नेपालगन्ज रोडबाट थोरै अगाडी गएर दायाँ मोडिदा जितनगर भन्ने टोल आउँछ । त्यहाँ दुइ तले रातो घर छ । उसले बताइ ।

रश्मिताले मलाई आफ्नो घरको ठेगाना पनि गलत भनेकी रहिछ ।

अर्को दिन बिहानै उठेँ । खाना खाएँ अनि लागे हिजो थाहा पाएको ठाउँ तिर । अहिले मेरो गन्तब्य जितनगर भन्ने ठाउँ थियो । हिँड्दै गएर पत्ता लगाएँ,जितनगर भन्ने टोल ।

एकैछिन खोजेँ,अली भित्र तिर पसेँ । उसको साथीले बताए जस्तै एउटा घर देखेँ,दुइतले रातो । गेट अगाडी गएँ । गेटमा लेखिएको थियो,महर्जन निवास । यो पक्कै उसैको घर हुनु पर्छ भन्ने सोँचेर गेट खोलेँ । ढोकामा पुगेर घन्टी बजाएँ ।

हेर्दा २०-२१ बर्षकी देखिने एक जना महिला ढोका खोल्न आउनु भयो ।

“कसलाई खोज्नु भएको ?” उता बाट प्रश्न सोधियो ।

“रश्मिता । रश्मिताको घर यही हो ?” मैले पनि प्रश्न गरेँ,अघिल्लो प्रश्नको उत्तर सहित ।

“घर यही हो । म उसको दिदी हो । तिमी को ?” उता बाट प्रश्न आयो ।

“म उसको साथी हो । उ कहाँ छ ?” मैले प्रश्न गरेँ ।

“उ त आज बिहानै लुम्बिनी तिर गइ । भोली मात्र फर्किन्छे ।” उहाँले भन्नुभयो ।

“ए त्यसो भए भोली आउँछु ।” मैले भनेँ ।

“उ आए पछी तिमी आएको भन्दिन्छु । तिम्रो नाम ?” उहाँले सोध्नुभयो ।

“शिशिर” मैले उत्तर दिएर बिदा माग्दै त्यहाँ बाट निस्किएँ ।

म उसैको यादमा तड्पिएर बुटवल आएको थिएँ । उ भने यत्ती छिटो रिकभर भएर घुम्न गइसकिछ । मनमा कुरा खेल्न थाल्यो ।

त्यो दिन पनि पिडामै बित्यो । अर्को दिन १० बजे तिर फेरी उसको घरतिर गएँ । जितपुर छिर्दै थिएँ रश्मितालाई देखेँ । मन खुशी हुनुको साट्टो मनमा पहिरो गयो । उ एक्लै थिइन । उ अरु कोही सँग थिइ । उ अरु कोही सँग हात समातेर हिँड्दै थिइ । आँखाले देखेको दृश्यमा मुटुले बिश्वास गरेन । एकैछिन उनिहरुकै पछी पछी गएँ । केटाको अनुहार देखेँ । अब मेरो मुटुले ठाउँ छोड्न थालिसकेको थियो । त्यो केटा मेरो लागी परिचित अनुहार थियो । रश्मिताको फोनमा उसँग धेरै नै कुरा भएको देखेर मैले एक पटक त्यसको बारे सोधेको थिएँ । रश्मिताले त्यो उसको मिल्ने साथी मात्र हो भनेकी थिइ अनि मैले बिश्वास गरेको थिएँ ।

अझै पनि मेरो मनले त्यो साथी मात्र हुन सक्छ भनिरहेको थियो तर मेरो अगाडी भैरहेका गतिबिधिले मेरो साथ दिइरहेका थिएनन् ।

उसको मुहारमा कती ठुलो अनि मिठो हाँसो थियो । लाग्थ्यो यि सबै दिनमा मेरो झरेका आँशु बराबरको हाँसो उसको अनुहारमा झल्किरहेको थियो ।

उनिहरु अलि अगाडी गएर एक अर्का सँग छुट्टिए । मेरो भने एउटा पुरानो कुरामा ध्यान गयो । उसले एक पटक त्यो केटालाई मेरो नम्बर बाट कल गरेकी थिइ । मैले पुराना सबै कल डिटेल हेर्न थालेँ । अनि त्यो नम्बर भेट्टाएँ । उसले त्यसलाई फोन गरेको दिन हामी सुन्दरिजल गएका थियौँ,हाम्रो सम्बन्धको २ महिना पुगेको अवसरमा । मलाई डेट याद थियो त्यसैले नम्बर पत्ता लगाइहालेँ । त्यो नम्बर भर्खर कतै देखे देखे जस्तो लाग्यो । अस्ती मलाई रश्मिताबाट टाढा जान भन्दै धम्की दिएको नम्बर हेरेँ । दुबै नम्बर मिले । त्यो धम्की आएको नम्बर र रश्मिताले त्यस दिन कल गरेको नम्बर एउटै रहेछन् ।

भाग : ७

अब कुरा सबै छर्लक्क थियो । मलाई धम्क्याउनुमा पनि पक्कै रश्मिताकै हात थियो । सायद रश्मिता म उ बाट टाढा जाउँ भन्ने चाहान्थी । एकैछिनमा फेरी मोबाईल बज्यो । फोन त्यही नम्बर बाट आएको थियो ।

फोन उठाउँदा उता बाट आवाज आयो “तँलाई रश्मिता बाट टाढा बस भनेको फेरी बुटवल आइस हैन ? अब आज तैँले बुटवल छोडिनस र रश्मितालाई भेट्ने अरु कोसिस गरिस भने तेरो लागी धेरै नराम्रो हुनेछ । रश्मिताले मलाई प्रेम गर्छे तलाईँ होईन । रश्मिता र म प्रेममा छौँ ।”

मैले त्यसबारे केहि प्रतिकृया जनाउनु भन्दा अगाडी नै फोन काटिएको थियो ।

म बाटोमा थिएँ । रश्मिताको घर नजिकै थिएँ । बाटोमै मेरो आँखा रसाउन थाल्यो । म मा अब रश्मितालाई भेट्ने सामर्थ्य थिएन । म होटल फर्किएँ । होटलमा छिर्न साथ मेरा आँखा अझ बेस्सरी रसाउन थाले । म आखिर के का लागी रुदै थिए ? म कसका लागी रुदै थिएँ ? के म उसैको लागी रुदै थिएँ,जसलाई मैले संसारमा सबै भन्दा धेरै माया गर्दा पनि अरु कसैको हात थाम्न पुगेकी थिई ? आखिर मेरो मायामा के कमी थियो ? आखिर उ कहिले देखी म बाट टाढिन चाहान्थी ? अरुलाई प्रेम गर्दा गर्दा पनि उ म सँग किन नजिकिई ? उसलाई मैले न त प्रेम प्रस्ताव स्विकार गर्न बाध्य पारेको थिएँ न त जबर्जस्ती म सँग राख्न नै खोजेको थिएँ । कुन दिन बाट उसको मसँग मन मर्यो ? त्यस्तो के कारण थियो जसको लागी मैले यत्ती ठुलो सजाय पाउँदै थिएँ ?

के गल्ती उसैको हो त ? कि गल्ती उसको जवानिको हो ? कि गल्ती उसको चरीत्रको हो ? मेरो मनमा प्रश्न माथी प्रश्न उब्जिन थाले । ति प्रश्नका उत्तर मसँग थिएन । ति प्रश्नका उत्तर दिन सक्ने ब्यक्ती केबल रश्मिता थिई । यता घरमा भने अनुसार आज मेरो टुर सकिँदै थियो । म त्यसपछी सिधै बसपार्क गएँ । काठमान्डौँ जाने बसको टिकट काटेँ । बाटोभरि उसैको तस्बिर मेरो वरिपरी नाच्न थाल्यो । गाडिमा बजेका प्रत्येक गितले मलाई उसैको याद दिलाउँदै थियो । म काठमान्डौँ फर्किएँ ।

भोली बाट रश्मिताको कलेज खुल्दै थियो । म भोली पल्ट उसैको कलेज पुगेँ,पुल्चोक । त्यस दिन भरि पुल्चोकमै बसेँ उसलाई देखिन । दिउसो तिर उसको साथिलाई देखेँ । उसले रश्मिता कलेज नआएको बताइ । भोली पल्ट पनि म आफ्नो कलेज गइन । पुल्चोक क्याम्पस नै गएँ । मलाई हजारौँ प्रश्नको उत्तर जो पाउनु थियो । भोली पल्ट बिहानै रश्मितालाई कलेज गेट बाट छिर्न लागेको देखेँ । म उसको पछी पछी दौडिएँ । म अगाडी गए पछी उ झसँग भइ ।

“मलाई भेट्ने कोसिस नगर भनेको होईन । फेरी किन आएको । प्लिज यहाँ बाट छिटो गइ हाल नत्र तिमीलाई नै नराम्रो हुन्छ” उसले सिधै भनी ।

“मलाई मेरा केहि प्रश्नका उत्तर देउ,अनी म सधैँ सधैँका लागी तिमी बाट टाढा जान्छु ।” मैले भनेँ ।

मेरा आँखा अचानक रसाउन थाले ।

त्यो देखेर उसले भनी “यहाँ तमासा नदेखाउ ।” मेरो आँशु उसको लागी तमाशा भएछ । मेरो लाखौँ बिन्ती पछी उ मलाई दिउसो ब्रेकमा भेट्न तयार भइ । दिउसो क्याफेमा भेट्ने भनेर उ आफ्नो क्लास तिर गइ । म क्याफेमा बसेर उसैलाई पर्खदै थिएँ,एक जना केटा मसँग कुरा गर्नुछ भन्दै आयो । मलाई अलि भित्र चौर तिर लिएर गयो । मैले केहि थाहा पाउनु भन्दा अगाडी नै १०-१२ जना केटाले मलाई घेर्न थाले । “साला फेरी भेट्न आइस्” भन्दै मलाई कसैले हेल्मेटले प्रहार गर्न थाले । कसैले इट्टाले प्रहार गर्न थाले ।
कसैले रडले प्रहार गर्न थाले त कसैले चेनले । मैले सके सम्म आफ्नो बचाउ गर्न थालेँ तर तेत्रा मानिसका अगाडी मेरो के लागोस ? म लडेँ । अनुहार पुरै रगतले लत्पतीएको थियो । यसो भुईँमा हेरेको भुईँ भरि पनि रगत नै थियो । मलाई अझै केहि केटाहरुले पिट्दै थिए । कलेजमा होहल्ला भएछ । कोलाहलको वातावरण भएछ । उनिहरु बाइकमा चढेर भागेको पनि सम्झन्छु । त्यसपछी मेरो होस खुल्दा म ग्रान्डी हस्पिटलमा थिएँ । विर हस्पिटल बाट त्यता सारिएको रे । ३ दिन पछी खुलेको रहेछ मेरो होस । मेरो होस खुल्दा मेरो अगाडी परिवारका लगभग सबै सदस्य हुनु हुन्थ्यो । मेरो होस खुल्दा सबैको अनुहारमा ठुलो हाँसो छाएको थियो । कोही रुँदै हाँस्दै हुनु हुन्थ्यो । सबैले मलाई अङ्गाल्न थाल्नुभयो ।

छेउमा पुलिस पनि कुरा गर्दै थिए । पुलिस आएर किन लडेको भन्दै सोध्यो । मैले उनिहरुले धम्की दिएको र आज एक्कासी पिटेको कुरा बताएँ ।

पुलिसले ८ जनलाई समातिसकेको कुरा बतायो । बाँकी कुरा पुरै रिपोर्ट आएपछी थाहा हुन्छ भन्दै उनिहरु गए । मसँग घरका मान्छेले खासै कुरा गरेनन । भोली पल्ट रिपोर्ट आयो । सबै पक्राउ पेरिसकेका रहेछन् । त्यो केटाको नाम रोहित रहेछ । उ रश्मितालाई प्रेम गर्दो रहेछ । उ रश्मिताको साथी रहेछ । त्यसले रश्मितालाई धम्क्याउँदो रहेछ मलाई हानी पुर्याउँछु भन्दै । त्यसैको धम्किका कारणले रश्मिता उसँग नजिकिन बाध्य भएकी रहिछ । रश्मिताले मलाई बचाउनका निम्ती यो सबै गरेकी रहिछ । रश्मिताले रोहितलाई होईन मलाई नै प्रेम गर्दी रहिछ । उता बाट आएको निरन्तर धम्किका कारणले रश्मिता म बाट टाढा हुन खोजेकी रहिछ । यो सबै सुने पछी मलाई रश्मिताको चिन्ता लाग्न थाल्यो ।

उसले मेरै लागी यि सबै कुरा लुकाएर राखेकी रहिछ । मलाई रश्मिताको चिन्ता लागे पनि त्यहाँ अरुलाई रश्मिताको बारे सोध्ने हिम्मत आएन । मेरो टाउकोमा धेरै नै चोट लागेको थियो । शरिर भरि धेरै चोट पटक लागेको थियो । मसँग मेरो मोबाइल थिएन । केहि दिनमा मलाई डिस्चार्ज गरियो । घर पुगेपछी मलाई सबै भन्दा पहिला रश्मितालाई फोन गर्न मन लाग्यो । घरमा मोबाइल माग्दा पनि दिइएन । ल्याप्टप पनि दिइएन । बाहिर निस्कन सक्ने अवस्थामा म थिइन ।

मैले उसलाई कन्ट्याक्ट गर्न सकिन,पाइन । घर भरि केटिको लागी छोरो बिग्रीयो भन्ने कुरा चलेछ । घरमा सबै मसँग रुष्ट थिए । भोली पल्ट थाहा पाएँ,मलाई एउटा होस्टेलमा सिफ्ट गरिँदै रहेछ जहाँ बसेर मैले अब आफ्नो पढाइ अगाडी बढाउन पर्ने थियो । यो सुनेर म छाँगा बाट खसे जस्तै भएँ ।

भाग : ८

मलाई होस्टेलमा पठाइने खबरले म बिल्कुलै खुशी हुन सकेको थिइन । त्यसमाथी मलाई रश्मिताको चिन्ताले झनै सताउँदै थियो । मलाई अझै केहि हप्ता घरमै राखियो । न त बाहिर निस्कन सक्थेँ न त मलाई मोबाइल र ल्याप्टप नै दिइएको थियो । इन्टरनेट पनि काटिएको थियो । मेरो जिन्दगी उजाडिएको थियो । केहि हप्ता पछी मलाई घाइते मन र घाइते शरिरका साथ डिल्लिबजारको एक होस्टेलमा सारियो ।

त्यो मलाई होस्टेल कम जेल ज्यादा लाग्न थाल्यो । बिहान ५ बजे उठ्नु पर्ने । ७ बजे कलेज भेट्नु पर्ने । अनि दिउसो समय मै होस्टेल फर्किनु पर्ने । समयमा होस्टेल नफर्किए उनीहरु यातना दिन पछी पर्दैनथे । साँझ पनि होस्टेल बाहिर निस्कन पाउँथिन । कलेजमा कुनै पिरियडमा मेरो हाजिरी भएन भने होस्टेलमा फोन गइ हाल्थ्यो । न मेरो साथमा मोबाइल थियो न ल्याप्टप । ति दिन सम्झिँदा अझै पनि बिरक्त लागेर आउँछ । मैले प्रत्येक दिन एउटा कोठामा गुम्सिएर बिताउनु पर्ने थियो । मैले रश्मिताको बारे पनि केहि थाहा पाउन सकेको थिइन । मलाई होस्टेलको कहाली लाग्दो जिवनसँग घृणा भइसकेको थियो । मलाई आफ्नै जिवनसँग घृणा भइसकेको थियो । म जिउनुमा कुनै अर्थ नै देख्ने गर्थिन । मेरो दिमागमा धेरै बेर सम्म संसार बाट बिदा माग्ने सोच मात्र पलाउँथ्यो । मलाई आत्महत्या गर्ने सोच धेरै पल्ट पलायो ।

पछी चेकअप गराउँदा थाहा भयो म डिप्रेसनको शिकार भएको रहेछु । एक त घर बाट टाढा हुनुको पिडा । त्यसमाथी होस्टेलको कहालीलाग्दो जिवन अनि रश्मिताको कुनै खबर नहुनु, यि सबैले गर्दा डिप्रेसन हुनु कुनै नौलो कुरा भएन । तर म डिप्रेसनको पनि कृटिकल स्टेजमा पुगिसकेको रहेछु । यो सबै कुरा घरमा पनि थाहा भयो । केहि दिन पछी होस्टेलको रुमको ढोका बज्यो । वार्डेनले मलाई घर जाने तयारी गर्न भन्यो । भोली पल्ट दाइ लिन आउनुभयो । म उहाँसँगै घर फर्किएँ ।

घरमा सबैले नर्मल बिहेभ गर्न थाल्नु भयो । भोली पल्ट मलाई मोबाइल र ल्याप्टप पनि दिइयो । मोबाइल देख्ने बित्तिकै मैले सबै भन्दा पहिला रश्मितालाई फोन गरेँ । उसको फोन उठेन । धेरै पटक प्रयास गर्दा पनि फोन उठेन । अब होस्टेलबाट निस्किसकेकाले मलाई कलेजमा पहिला जस्तो डर थिएन ।

अर्को दिन म पुल्चोक पुगेँ,उसैको कलेजमा । उसको क्लास खोज्दै खोज्दै गएँ । एकैछिनको कसरत पछी क्लास भेटिहालेँ । उ एक हप्ता देखी कलेज आएकी थिइन भनेर त्यहाँ बाट थाहा पाएँ । मन अमिलो पार्दै घर फर्किएँ । केहि दिन मेरो यही सिलसिला चलिरह्यो । केहि दिनमा मेरो मोबाइल बज्यो । फोन रश्मिताको थियो ।

“हेल्लो” मैले फोन उठाएँ ।

“हेल्लो शिशिर । चिन्यौ ?” उसले प्रश्न गरी ।

“तिमीलाई नचिन्ने कुरा नै भएन नि ।” मैले भनेँ ।

एकैछिनको कुरा पछी उसले मलाई भेट्न बोलाई । भेट्ने ठाउँ सिद्धपोखरी तय भयो । रोजाइ उसैको थियो ।

अर्को दिन दिउसो तिर म सिद्धपोखरी पुगेँ । एकैछिनमा उ पनि आइ । टाढै बाट उसलाई चिनिहालेँ । उ सुन्दर देखिएकी थिइ पहिले जस्तै । एकैछिनमा उ मेरो नजिक आइ । नजिक आउने बित्तिकै उ भक्कानो छोडेर रुन थाली । उ मेरो अङ्गालोमा बाँधिएर धेरै बेर रोइ राखी । उसको आँशु देखेर मेरो पनि मन थामिएन । आँखा रसाउन थाल्यो ।

म एकैछिनमा थामिएर उसलाई सम्झाउन थालेँ । एकैछिन पछी उ पनि रुन छाडी । त्यसपछी उसले माफी मागी । म माथी भएको आक्रमणको जिम्मेवार उ आफुलाई ठान्दै थिइ । उसैको मुख बाट त्यो दिन सबै कुराको बारे वृस्तृत रुपमा जनकारी लिन पाएँ । उसले “सिद्धर्थनगर” भनेर आफ्नो ठेगाना गलत भनेकी रहिनछ । उसले मलाई त्यो ठेगाना भनेको केहि हप्ता मा उनिहरुले त्यो घर बेचेर नयाँ ठाउँमा सरेका रहेछन । उ बोल्दै गइ “शिशिर म तिमीलाई यो हालतमा देखेर एकदमै पिडामा छु । मेरो कारणले तिमीले यत्रो दुख भोगिरहेका छौ । रोहितलाई मैले धेरै नै बिश्वास गर्थेँ । मैले त्यसलाई एक असल साथिको रुपमा हेरेकी थिएँ । त्यसको यस्तो रुप देखेको मैले पनि धेरै भएको छैन । त्यसलाई मैले तिम्रो बारे भने देखी त्यो बौलाउन थाल्यो । मलाई सधैँ धम्काउन थाल्यो । म तिमीलाई केहि होस भन्ने चाहान्नथेँ त्यसैले मैले त्यसले भनेको मान्नु पर्‍यो । तिम्रो लागी म त्यो सँग नजिकिनु पर्ने बाध्यतामा पुगेँ । म त्यसलाई माया होईन घृणा गर्छु । त्यस दिन पुल्चोकमा तिमीलाई भेट्न म क्याफेमा आउँदै थिएँ । तिमीलाई सबै साँचो साँचो भन्न चाहान्थेँ । मैले क्याफेमा आउने बेला तिमीलाई कल गरेको लागेन । अनि म्यासेज पठाउँदै थिएँ क्याफेमै वेट गर भनेर । त्यही बेला रोहित पनि आयो र म्यासेज देख्यो । त्यस पछी तिमी त्यहाँ छौ भन्ने थाहा पाएर त्यो तिमीलाई आक्रमण गर्न पुगेछ । तिमीलाई हस्पिटलमा राखिए पछी पुलिस मलाई पनि खोजी गर्दै आयो । मेरो बयान लियो । त्यसैले गर्दा मेरो घरमा पनि सबै कुरा थाहा भयो । तिम्रो परिवार र मेरो परिवारको भेटघाट पनि भएको थियो । हामी कहिल्यै सँगै हुन सक्दैनौ शिशिर । तिम्रो र मेरो माया कसैले बुझेन । त्यस भेटघाटमा यो सबै जवानिमा होस नपाएर भएको आकर्षण हो भन्ने कुरा हरु भयो दुइ परिवार बिच । त्यसमाथी म नेवार अनि तिमी बाहुन । मेरो घरमा तिमी स्विकार्य नहुने अनि तिम्रो घरमा म स्विकार्य नहुने । दुबै परिवारको निस्कर्ष अनुसार तिमी र मलाई सधैँ टाढा राख्ने कुरा भएको थियो । मलाई घरमा तिमी सँग सम्पर्क गर्ने कोसिस नगर भनेर चेतावनी आएको थियो । अस्ती अचानक तिम्रो घर बाट मेरो घरको ल्यान्डलाईनमा कल आयो । उता बाट तिम्रो बुवाले तिमीलाई डिप्रेसन भएको कुरा बताउनु भयो । तिमी र मेरो मायाको बिच अब आफुहरु खाडल नबन्ने कुरा पनि गर्नु भयो । उहाँ हाम्रो माया स्विकार्न तयार भएको कुरा पनि भन्नुभयो । मेरो परिवार सँग कुरा गर्ने मन छ भन्नु भयो । बेलुका ड्याडिलाई फोन आयो । भोली पल्ट फेरी दुइ परिवार भेट्ने कुरा भयो । तिम्रो परिवारले हाम्रो माया स्विकार्न दवाब दिनुभयो । तर मेरो तर्फ बाट कोही पनि पोजिटिभ भएन,मेरो दिदी बाहेक । मेरो ड्याडिले अहिल्यै हामिलाई प्रेम गर्न छोडिदिनु उचित नहुने कुरा गर्नु भयो । त्यसमाथी हाम्रो जात पनि मिल्दैन त्यसैले यो सम्बन्धको कुनै भविस्य नरहेकाले आफुहरुले यो कुरा कुनै हालतमा नमान्ने भन्दै भन्नुभयो । तिम्रो परिवारको लाखौँ बिन्तिका बावजुत पनि मेरो ड्याडिको ढुङ्गाको मन पग्लिएन । दिदिको कारणले आज तिमीलाई भेट्न सम्भव भएको हो । सायद यो नै हाम्रो अन्तिम भेट होला । मलाई अब अर्को हप्ता अमेरिका पठाइँदै छ । मेरी त्यहाँ राम्रो युनिभर्सिटिमा सेलेक्सन भएकाले मलाई पुल्चोक छोड्न भन्नुभएको छ । मेरो मन नहुँदा नहुँदा पनि म अर्को साता अमेरिका जाँदै छु । तिमी मलाई बिर्सने कोसिस गर । हाम्रो बिचको माया भविस्यामा एउटा सम्बन्धमा बदलिन सक्दैन । मेरो परिवारको सोचाइले हामी छुट्टिन बाध्य भएका छौँ । तिमी आफ्नो ख्याल गर । पढाइको पनि सोँच । छिट्टै निको भौ । यस्तो हालत नबनाउ । पहिलाको जस्तो स्मार्ट बन ।”

भाग : ९

त्यती भनेर उ एक्कासी मेरो अङ्गालो बाट छुट्टिइ । उठेर मलाई बाइ भन्दै बाहिर तिर दगुरी । मैले बोलाउँदा पनि उ पछी फर्किइन । उसको पछी पछी जाँदै थिएँ,म बाहिर पुग्दा सम्म उ स्कुटर स्टार्ट गरेर गइसकिछ । मैले उसलाई केहि भन्न पनि पाइन । जिवनको यो कस्तो उल्झनमा फस्दै थिएँ म ? अर्को हप्ता उ अमेरिका गइछ ।

म उसको यादमा दिन प्रतिदिन छटपटाउँथे । ति दिन कसरी भुल्न सक्छु र म ? मैले भोगेका ति दिनहरु,ती पिडाहरु सम्झिँदा अझै पनि कहाली लागेर आउँछ । म जलेका ति दिन हरु,म तड्पिएका ति दिन हरु अहिले पनि म भुल्न खोज्छु,तर सक्दिन । ती दिनहरुमा म कति तड्पिन्थ्ये, भित्र भित्रै पीडाका आगो दन्किरहेको हुन्थ्यो, तेहि पीडाको रापमा जल्दै, म निस्सासिन्थ्ये , छट्पटिन्थ्ये । म ति पिडालाई शब्दमा ब्यक्त गर्न चाहान्थेँ तर त्यस्तो पिडा शब्दमा कसरी ब्यक्त गर्न सक्थेँ र ? त्यस्ता कुनै शब्द नै भेटिन,ती पिडा ब्यक्त गर्ने । म हरपल उसैको यादमा तड्पिन्थेँ । उसलाई अब त भुल्छु होला जस्तो लाग्थ्यो तर अझ धेरै सम्झिन पुग्थेँ । म डिप्रेसनको औषधी खाएर बस्थेँ । मेरो निद्रा पनि हराएको थियो । मलाई निदाउनको लागी “सिलिपिङ ट्याब्लेट” खानु पर्थ्यो । उ कहाँ के गर्दै होली भनेर मेरो मनले सधैँ सोधिरहन्थ्यो । उसँग खिचेका तस्बिर हेरेर बस्थेँ,ती पल सम्झिँदा आँखा रसाइ हाल्थे । म उसलाई भुल्ने कोसिस त गर्थेँ तर मेरा सबै कोसिस खेर जान्थे । म उसलाई जती कोसिस गरे पनि भुल्न सक्थिन । मेरो मुहारमा हाँसो हराएको थियो । म पिडामा छट्पटिन्थेँ । जिवनमा धेरै प्रेम कहानी सुनेको थिएँ,पढेको थिएँ । अक्सर ति कहानी हरुमा एक जनाले धोका दिन्थ्यो अनि कहानी टुङ्गिन्थ्यो । अथवा ति कहानिको सुखद अन्त्य हुन्थ्यो,दुबैको मिलन भएर । मेरो कहानी ति सबै भन्दा फरक भयो । हामी त एक अर्कालाई यत्ती धेरै माया गर्दा पनि टाढिनु परेको थियो । हामिमा न कसैले धोका दियो,न त सुखद मिलन नै भयो । हामी प्रेमको यात्रामा हराएका थियौँ । हामी दुबै एक अर्कालाई प्रेम गर्थ्यौँ तर एक अर्का सँग सँगै रहन सक्थेनौँ । नचाहदा नचाहँदै हामी एक अर्कालाई भुल्न खोज्दै थियौँ । उ अमेरिका थिइ,म यहिँ थिएँ तर हामी दुबैको प्रेम यात्रामा गन्तब्य हराएको थियो । परिवारको कारणले एक अर्कालाई बिर्सनु पर्ने तितो यथार्थको भागिदार थियौँ हामी । एक अर्का बिना खुशी हुन नसक्ने भएता पनि हामी एक अर्का बाट टाढा रहनु पर्दै थियो । घरमा सबैलाई मेरो चिन्ता थियो,मेरो हालतको चिन्ता थियो भने मलाई रश्मिताको चिन्ता थियो । म आफुलाई सम्हाल्न खोज्थेँ । जिवनमा यस्ता उतार चढाव आइ रहन्छन,यसको डटेर समना गर्नु पर्छ भन्दै आफैलाई सम्झाउँथे तर अर्को दिन पहिलेकै हालतमा फर्किन्थेँ । म एक पाइला अगाडी चाल्दै दुइ पाइला पछी सर्दै थिएँ । उसलाई मैले कहिल्यै बिर्सन सक्थिन । दिमागमा आत्महत्या गर्ने सोच कहिले काही पलाउँथ्यो तर जिन्दगी सँग डराएर काँतर हुनु मलाई मेरो मनले दिएन । सके सम्म पढाइमा ध्यान दिन खोज्थेँ । आफुलाई धेरै भन्दा धेरै बिजी राख्न खोज्थेँ,तर उसको याद आइ हाल्थ्यो । उसैका तस्बिर हेर्थेँ,मुस्कुराउँथे अनि रुन्थेँ । उसको याद मेरो बानी भइसकेको थियो । उसको यादको नसा लागेको थियो । आँखा भरि उसैको तस्बिर नाच्थ्यो । उसलाई भुल्न सक्दिन भन्ने सत्य सँग मैले हारेको थिएँ । बिस्तारै उसैको यादलाई प्रेरणाको स्रोतका रुपमा लिँदै गएँ । उसको खुशीको लागी भगवान सँग प्राथना गरी रहन्थे । म खुशी भएको थाहा पाए उ पनि खुशी हुँदी हो भनेर म सके सम्म खुशी हुन खोज्थेँ,रमाउन खोज्थेँ । साथी हरु सँग पनि रमाइलो वातावरण बनाउन खोज्थेँ तर भित्री मन सधैँ दुखी नै रहिरह्यो । माया भन्ने कुरा सँग म हारेको थिएँ,मलाई यो शब्द सुन्ने बित्तिकै घृणा हुन्थ्यो । भविस्यमा मेरो सफलता देखेर उ खुशी होली भनेर म पढाइमा ध्यान केन्दृत गर्न खोज्थेँ । म हिम्मत नहारी जोश र जाँगरका साथ मेरो र मेरो परिवारको सपना पुरा गर्न लागी परेँ । यि सबै शब्दहरुले उसैलाई सम्मान गर्न खोज्दै छु म । उ सँग प्रेमको यात्रामा निस्कँदा हामी दुबैको गन्तब्य हराएको थियो । एउटा हराएको गन्तब्यको यात्री थियौँ हामी । हराएको गन्तब्यबाट सबै दुख,पिडा अनि बाधा हटाउँदै म आफ्नो सपनाको गन्तब्य तर्फ अघी बढ्ने प्रयाश गर्दै छु । सायद उ पनि हराएको गन्तब्य सँग नडराइ सपनाको गन्तब्य तर्फ अघी बढ्दै होली । खुशी हुन सिक्दै होली । अनि कहिँ कतै मैले जसरि नै मलाई सम्झिँदै बेला बेला आँशु खसाउँदै होली । एक अर्कालाई माया गर्दा गर्दै पनि सँगै रहन नदिएको पापी संसारमा अहिले नयाँ जिवन सुरु गर्न खोज्दै छौँ हामी । हराएको गन्तब्यबाट बाहिर निस्केर सपना चुम्न निस्कने कोसिसमा छौँ हामी ।

समाप्त !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.