कविता : यौटा कविताहीन कविता

~मनप्रसाद सुब्बा~

अखबारको पृष्टमा ऐना हेरेर
शुरू हुन्छ उसको दिन…
आधुनिक दन्त्यकथाको एक देवता ऊ
रिमोट-कन्ट्रोल हातमा लिएर
टी.भी. स्क्रीनको अँध्यारो शून्यमा
संसार बनाउँछ बद्लाउँछ, अल्पाउँछ
साबुन-पानीका फोकाहरू
सानो पाइपबाट उडाउऩे खेले झैं
शब्दहरू फुरूरूरू…
फुकिपठाउँछ ऊ दिनभरि।
उसको मुखबाजाको आरोह-अवरोहले
ट्राफिक जाम गरेर दिनैपिच्छे
हल्ला बजिरहन्छ चर्को
स्केलेटरको आरोह-अरोहसहित
उक्लिँदै
ओर्लिँदै
हराइकेको आफैलाई कहिलेदेखिन्।
कुन्नि को भइसकेको ऊ कहिलेदेखिन्।
सुपर मार्केटको एक पसल
सङ्गीतको एक एक सप्तक बज्छ
उसको दाँतको की-बोर्डमा।
कहिले चाहिँ
खाली खोक्रो एलिभेटरमा चढेर
आधुनिक देवत्वको स्काइस्क्रेपर उक्लिन्छ
अनि दुइ-चार हात रमी
दुइ चार पेग रक्सी
र आइमाइको केही तातो नि-श्वास
आह मज्जा छ उसलाई
स्वचालित औंलाहरूले
ताछेर साँझको घामलाई सुन्तला जस्तो
केस्रा,केस्रा खाइबस्छ गफको रस निल्दै।
करेन्सी नोटमा छापिएको कुनै पनि चित्र हेरेर
भ्यानगगको प्रशंसा गर्छ ऊ
‘All that glitters is not gold’
भनिवरि गर्वसाथ
औल्याउँछ उसको चम्किँदो दराजतर्फ
सजिल्द शेक्सपियर देखाउँदै
दिनको उज्यालोलाई सधैं ऊ
आफ्नो टल्किँदो हाँसोमा फिजाउँछ
अनि रातको अन्धकारलाई चाहिँ
ओभरकोट बनाएर ओढ्छ।
यस्तो उसलाई तिमीले
जहीं पनि जहिले पनि भेटेकै हुनुपर्छ
न्यूयोर्क बेजिङ काठमाण्डुमा
अनि कुकुर-लुतोले पिल्सिरहेको हाम्रो
दार्जीलिङ पनि।

(स्रोत : हिमगिरि नेपाली)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.