~सङ्कलक: शिवकुमार श्रेष्ठ~
अहिले माझकिरात हतुवा गढीमा बसेर एक प्रतापी किराती राजा शासन गर्दथे । उनको नाम वालिङहाङ थियो । उनले रैतीको मदतबाट हतुवामा ठूलो बनाएका थिए । उनले अरूण, दूधकोशी र हिमाल साँध कायम गरी शान्तिपूर्वक रैतिलाई सुखभोग गराएका थिए । उनी असाध्य धर्मात्मा पनि थिए । साथै दुर्गहरू पनि स्थापना गरेका थिए । वालिङहाङको दरबारको भग्नावशेष अद्यावधि घोडेटारमा छँदैछ । उनले अरूण नदीदेखि घोडेटारको टाकुरासम्म मानिसहरूको ताँती लगाएर कँदिएका ढुङ्गाहरू बोक्न लगाई उच्च कोटीको सीपबाट राम्रो बनाएका थिए। वालिङहाङको धनाढ्य यश र कृतिदेखि डाह गर्ने अरू राजाहरू नतमस्तक हुन्थे ।
एक दिन वालिङहाङ शत्रुहरूले एक लाख मुरी तोरीको ढोक्रो पठाएर उनलाई हाँक दिए । वालिङहाङ तोरी पेलेर बोरामा पिना पठाएर शत्रुलाई प्रतिउत्तर दिए ।
त्यसपछि शत्रुहरूले एक लाख ढुङ्ग्रो तेल पठाए । वालिङहाङले त्यसको जवाफमा आगो पठाए ।
फेरि शत्रुहरूले उनलाई एक लाख गाग्रो पठाए ।
त्यसको जवाफमा वालिङहाङले दुई चिन्डो रिक्त पठाइदिए ।
त्यसपछि शत्रुहरूले चिन्डोमा रक्सी पठाए ।त्यसको जवाफमा अरिङ्गाल र बिच्छीको पोको पठाए । तिनीहरूले शत्रुहरूलाई चिलेर भगाए ।
यसपछि शत्रुले छल गरी हतुवामा योगीको भेषमा गुप्तचर पठाई सबै गुप्त कुराहरू थाहा खानेपानीमा विष हालेर वालिङहाङ सेनालाई सखाप पारे ।
त्यसपछि उनी बाँचेका पल्टन लिई लहराको सहाराबाट अरूण नदी तरी किरातमा आए र धनकुटाको खोल्सा क्षेत्रमा शासन गरे । उनका सन्तानहरू अझै पनि खोल्सा क्षेत्र र हतुवामा बसोबास गर्छन् ।
इतिहासमा स्नातकोत्तर गरेका शिवकुमार श्रेष्ठले धनकुटा बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका छन्। श्रेष्ठ किरात याक्थुङ्ग केन्द्रीय कार्यसमितिको मानार्थ सदस्यता समेत प्राप्त गरेका छन्।
(स्रोत : शब्दसोपान डट कम)