कथा : मान्छे हराएको सूचना

~खेम बतास~

ताराले खलो झाडिरहेकी धौलीलाई भनेकी थिइ, ‘धौली अब त ठुली भैगै, आफ्ना हड्म्मो कहिल्यै हेरेको छई ।’ एकान्तमा उसले पुरै शरिर हेरेकी थिइ । तर इजाले भनेको चाहि के हो बुझेकी भने थिइन ।

अर्कोदिन, ताराले फेरि भनेकी थिइ, ‘त ज्वान भैगै, घाम छनाई घरमी आइगएइ, नत्र हामी स्वाहानी मान्छेका हड्मी चोर लाग्छन् ।’ धौलीलाई लागेको थियो, नाक कानमा सुन नामको कुनै तत्व छैन ? अनि कसरी चोर लाग्छन् ? चोरले के के चोरेर लैजान्छन् ? ऊ इजाले चोर लाग्छन भनेको सुन्दा छक्क परेकी थिई ।

पछि ताराले मुख खोलेरै भन्दा मात्र उसका आँखा कान खुलेका थिए । त्यसपछि छोप्न थालेकी हो, उसले आफ्ना लाजका गहना ।

हिजो मात्र आँगनमा विस्कुन सुकाउदै तारा धौलीलाई भन्दैथिइ, ‘बनबेत वल्लापल्ल घरका कसै मुलेका (केटामान्छे) मुख ठाडो नजरले हेर्नु हुदैन् । उच्चो आँखरले बोल्न पनि हुदैन् । स्वाहानी मान्छको इज्जत पिणालुका पातका पानी जस्तो हुन्छ । कतिबेला खस्छ था हुँदैन । पछि देउरानी जेठानीका अगाडि मरे बराबर हो । अब त ज्वान भैगई ।’ यसोभन्दा पालीमा बसेर बेलुन खेलिरहेकी डम्मीेले हाछ्युँ गरेकी थिइ । ‘पखपन् मुलाई, जैलई पनि कुरा गर्ने बेला छिन्का हाल्छे, लक्षीन हो की अलक्षिन ? उइपालि यसरीहाछ्युँ गर्यो रे, बल्ल पड्याल मर्या हो । दासुदुस्मन हास्याँ हुन् । अब के हुन्छ खै ? यो मुलाई कुरा गर्ने बेला ………कोकेई लाउन्छ । ’ ताराले भनेकी थिइ ।

पारु, खन्टी र पुनीसँग एकविटो दाउरा ल्याएर धौली घर आई । दाउराको भारी दाउरीखातमा राखी । उसको पेट दुखेर आयो । मनहरको बगरमा बेसरमको झाँडी थियो । ऊ दौडेर सरम मानेर बेसरमको झाँडीभित्र बसी । पेट कटकटी दुखिरह्यो । ऊ उठेर हात मुख धुन गइ खोला किनारमा । मलद्वार धोई । मुत्रद्वार धुँदा, उसका हातमा रातो रंग लागेर आयो । ऊ छानाबाट खसेजस्ती भई । आत्तिइ । मुख रातो रातो भयो । नौ दशपल्ट धुँदापनि रगत लागिनै रह्यो, उसका औँलाहरूमा । जेठ बैसाखको मैना हुँदो हो त, मनहराको सबै पानी उसको रातो रंगमा अनुवाद हुनेथियो ।

रुँ कि हाँसुजस्तै दुविधामा परी । उसले लाजको गहनालाई हत्केलामा अटाउने गरी छोपी र विस्तारै थिची । रगत एकोहोरो बगिरह्यो । घाउमा थिच्दा दुख्ने दुखाइ महसुस गरिन, उसले । घाउ होइन, तर किन रगत बगिरहेको त ? ऊ सोच्न थाली । घरदेखि बन र बनदेखि घरसम्म पुगुन्जेल गरेका सबै बालसुलभ हर्कतहरू सम्झिन थाली । उसले गरेका कुनै हर्कतपनि घाउचोट लागेर रगत बग्ने खालका थिएनन् । एक्कासी कसरी बग्यो त रगत ? उसलाई डर लागेर आयो । हात, गोडा, औँला अथवा शरिरको कुनै अरु ठाँउमा घाउ लागेर रगत बगेको भए सजिलै देखाउन सकिन्थ्यो । तर कसरी देखाउने ? ऊ विखलबन्दमा परी । उसलाई घर जानै मन लागेन । कसैको अगाडि मुख देखाउन मनै लागेन । उसलाई ठुलो अपराध गरेजस्तो भयो । आफ्नो इज्जत, परिवारको इज्जत, सबै माटोमा मिलेकोजस्तो लाग्यो ।

ऊ घोसे मुन्टो लाएर मनहराको पानी हेरी बसी । उसको नजर पानी खाने मुहानमा पर्यो । जहाँबाट पानीको मुल फुटिरहेको थियो । जसरी उसको लाजको मुहानबाट रगतको मूल फुटिरहेको थियो । उसलाई लाग्यो, पृथ्वीको लाजको गहनाबाट पानी बग्छ, हामी केटी मान्छेको लाजको गहनाबाट रगतको । म पनि एउटा धर्ति नै रहेछु रगतको मूल भएकी ।
यो धर्तिको नाउलामा त सबैले सरसफाइ गर्छन । विहान बेलुका आफ्नो मुख धोएर मुहानको पानी सूर्यलाई चढाएर जान्छन् । बटुवाको तिर्खा मारी गन्तब्यसम्म पुर्याउने देवता नै भएको छ, मुहान । के मेरो मुहान पनि यस्तै पवित्र होला ? के मलाई पनि आजदेखि सबैले स्याबास देलान त ? के म पनि आजदेखि दुँनियालाई खुसि पार्ने धर्ति बनूला त ? उसका मनमा हजार भन्दा धेरै प्रश्नहरू उठे, मनहरामा पानीको भुल्का उठेझैँ तर उत्तर कुनै प्रश्नको पनि थिएन । ऊ ती सबै प्रश्नको उत्तर खोज्न हिँडी , घरतिर ।

धौली शैलेश्वरी माध्यमिक विद्यालय बडेँहामा नौ कक्षामा पढ्छे । पढाइमा मध्यम छे । घरकी जेठीबाठी । घरको काम पनि उसैका टाउकामा छ । बिहान दाउरा बोकेर अत्तरिया बजार पुग्छे । घर फक्र्यो खाना खायो स्कुल । ऊ शुक्रबार कहिल्यै जान्ने स्कुल । शनिबार र शुक्रबार ऊ दिनभरी बनबाट दाउरा ओर्साछे । अनि पाँच दिन तिनै दाउराले उसको चुलो बल्छ र हातमुख जोडिन्छ । तारा बाथ रोगकी दीर्घ रोगी । मंसिर सुरुहुने वित्तिकै जोर्नी दुखिहाल्छन् । खाटमा बसेर बिताउँछे सारा दिन । तर उसलाई यो रोगभन्दा पनि दोष हो भन्ने बढी विश्वास छ । देउदेउतालाई बानो पनि हालेको छ । धामी सोधेर बोका पनि चढाएको छ तर जे गरे पनि एक्काइसको बीस भएन । धौलीका बाले जमानामा बसको खलासी भएर काम गरेका थिए । पूर्व महाकालीदेखि पश्चिम नारायणीसम्मका प्रत्येक ठाँउको नाम नछुटाएर भन्न सक्छन् । उसले यात्रुलाई सवारी भनेर बोलाउँथ्यो । त्यसैले पिठ्युँपछाडिको नाम राखे ‘सवारी बड्डो’। बस दुर्घटनामा पर्यो । धेरैले ज्यान गुमाए । जीउनु ठुलै रहेछ, सवारी बड्डो बाँच्यो । उसले एक हात गुमाउनु पर्यो । एकै हातले बसको ढोकामा हान्न उसलाई आफ्नो इज्जतको भाँजीपाला भएजस्तो लाग्यो । अहिले केही छैन नौकरी जाकरी । आजभोली सवारी बड्डाले राती सुतेका बेला बर्रराउदै भन्छन् ‘काली टु नारायणी’का सबै नामहरू ।

तिहार सकिसकेको थियो । गहुँ बुने तयारी गरिसकेका थिए किसानले । घाम प्यारो लाग्न थालिसकेको थियो सबै प्राणीहरूलाई ।

धौलीले भात खाएर चुठी । निदालमा सिउरिएको काइँयो समाती । मध्यानको घाममा बसेर उसले कपाल कोर्न थाली । अलिपरको खाटमा सवारी बड्डो र तारा पनि बात मार्दै थिए । डम्मी र धने खानुखाइबरी खुसी हुन कुदिसकेका थिए सडकतिर ।

उसले दुई चुल्ठा बाटी । ऐना हेरी । हातमा लागेको तेल दुबै गालामा पोती । तेलको स्पर्षले सबै अनुहारको चायापोतो हराएर गयो । ऊ सुन्दर देखिइ । पुक्क परेका गाला, फराकिलो निधार र गहुँ गोरो रंगले उसलाई खुब शोभा दिएको थियो । उसलाई माया गर्ने मान्छेको लागि ऊ भगवानले फुर्सदमा बनाएकी मान्छे नै थिइ । आफुलाई लागेको कुरा भनिहाल्ने उग्र स्वभावकी थिइ । कसै माथि अन्याय परेको ऊ देखि सहन्न । ऊ कक्षामा मनिटर नभएको कक्षा नै छैन । जहिल्यै आफ्नो कुरा स्पष्टसँग राख्न सक्छे । त्यसैले स्कुलमा उसको रुप, जोवन र बोलीका फ्यान धेरै छन् । तर आजको उसको मुहारको ज्योति केही धिमा भएको थियो । दिल एकनासले धड्किरहेको थियो । पेट एक नासले दुखिरहेको थियो । मानौँ, उसको पेटमा कोही विलेड्ले चिरेर नुन चुक छर्किरहेको थियो । ऊ काइँयो, ऐना र तेलको फुच्चे बोतल यथास्थानमा राख्न उठी बसेको चकटीबाट । ऊ उठेर गएपनि चन्द्रमाको छायाँजस्तो गोलो रगतको टाटो चकटीमै बसेको थियो । त्यो चन्द्रमामा ताराको नजरमा पर्यो । ऊ तेजगतिमा चन्द्रमाको दर्शन गर्न आइपुगी । जोर्नीको दुखाइले उलाई कत्ति पनि छोएन । सवारी बड्डो दोकानतिर तुरुपचाल खेल्न गइसकेका थिए । त्यहाँ भएको भए सायद तारासँगै पुगिहाल्थे होलान् उनीपनि ।
उनले चकटी समातेर हेरिन । तारा लामो समयदेखि रातो रंगसित अभ्यस्त भइसकेकी थिइन । उनले चिनिहालीन् धौलीको आलो रगत । धौली उसैको रगत थिइ । सबैले आफ्नो रगतको रंग त सजिलै चिन्छन् ।

उसले धौलीका दुई चुल्ठा समात्यो । कपाल तान्दै कोठाबाट बाहिर निकाल्यो । धौलीका रौँ कोयाकोया भइसकेका थिए । हात दुखुन्जेल ताराले उसलाई कुटी । थकित भएपछि उनले भनिन्, ‘तँ राणाँ, मु छाउ भए भन्नलाई तेरो मुख छैन । देउता रिसाए तेरो बनको बास गरिदिने हुँ, बुजिस् ।’

कपाल फिजिएर उसको अनुहार चुँडेलको जस्तै भएको थियो । आँखा राता थिए । घुक्क घुक्क गर्दै रुँदै बसी खोलाका किनारमा । उसलाई लाग्यो, मेरो रगत सक्कली रगत नभएर आगोका फिलुङगा पो रैछन् । जसले घर जलाई रहेको छ । घरभित्र इजा, बा, भाइ र बैनी छन् । छन् भडाँरमा कुले देवताका मनहरू । यो रगतले सबैलाई खरानी बनाइरहेको पो रै छ !

घरको पश्चिमतिर छाउगोठ थियो । गोठको ढोकामा ताराले ओढ्ने ओछ्याउने गरेका लत्ताकपडा थिए । गुध्धो, दरी र एक पुरानो रातै रंगको सल देखाउदै उसले भनि, ‘आज देखि त टड्डी (टाढिइस्) १४ दिनसम्म यहिभित्र बस्ने । मान्छेका हिटेबाटा नदेखिएस् । ’

रातो रंगको सल देख्ने वित्तिकै ऊ झन् जोरले रोई । केही नबोलेर गोठभित्र पसी ।

उसको पेट आगोको भुङ्रो बनेको थियो । उसको नाउलोबाट बग्ने पानी तिनै राता रगतका डल्लाहरू थिए । जसले उसको उमेरको लामो यात्रा पार गरेर आएका थिए । मानौँ, उसको पेटमा एउटा घाउ छ आलोकाचो । जसमा उसकी इजाले नुन, चुक र खुसार्नी छर्किरहेकी छ । पिरोले उखरमाउलो गरी ऊ चिच्याइरहेकी थिइ । ऊ छाउगोठमा भित्र होइन, यातनागृह भित्र नियतिले परेकी एउटा बन्दी बनेकी थिइ ।

बत्ति जागराम बसेको समय । ताराले टुकि बालेर गोठको छेवैमा आइपुगी । उसलाई लागेको थियो, इजाकी इजा आएर उठाए पनि नउठुँला, किनकी निन्द्राको मनतातो सिरकमा घुटुमुटु हुँदा उसलाई पेटको दुखाइ कम महसुस भएको थियो ।
ताराले चार चोटी बोलाई । निरन्तर ।

उसले भनि, ‘ए धौली , धौली ………….उठ । ले खानु खा ।’

हातका चार रोटी, एक कटौरा जल्कोको हरियो साग दिइ । नरिवल, स्याउ र केरा पनि दिइ टाढैबाट ।

फलफुलहरू देख्दा पनि उसको खानाप्रतिको रुचि बढेन । ऊ मनलागि नलागि उठेर बसी ओछ्यानमा । उसको मुख निन्याउरो थियो । आँखाका चेपचेप झिजेका थिए । ओठहरू सुकेर कलेटी परेजस्तै भएका थिए । मुहारमा अब्यवस्थित र छरपस्ट भैरहेका रौँका धर्साहरूलाई दुबैहातले कानको माथि सिउरी । ताराले रोटीहरू उसको ओछ्यानमा राखिदिइ। राखिदिइ फलफुलहरू पनि । लोटाभरि गाग्रीको पानी ल्याएर हालिदिइ, उसको छाउगोठको कसौडिमा । धौलीलाई हड् नलागेरै बाबुनी बौराजुले सधैँ दिने गरेको पानीको सम्झना आयो । बाबुनी बज्यैले त उसलाई याद भएदेखि आजसम्म यसैगरि दिन्छ हरकुराहरू । आजदेखि आफ्नै जन्मदिने महतारीले यसरी टाढाबाट पानी दिदाँ कम्ता मन अमिलो भएको थिएन, उसको । बाबुनी बज्यैले सधैँ छोइछिटो हाल्दा उसको चित्त कटकटि दुखेको थियो । उसलाई आफ्नी आमा सबै भन्दा प्रिय लाग्थी । जसले सधैँ कोखेलामा राखेर म्वाँई खान्थीन । कहिल्यै छोइछिटो गर्दिनथिन् । आज आफ्नै महतारीबाट छि ! छि ! दुर, दुर गरेको देखेर उसको मन कम्ता रोइरहेको थिएन । उसलाई लाग्यो, बाबुनी बज्यै पनि छाउ त पक्कै भएकी होली, त्यसले पनि कसैको हड नलाग्ने हुँदा कस्तो दुःख पाइन्छ भन्ने भोगेको थियो होला । तर पनि हामीलाई तल्जाति भनेर किन छि ! छि ! दुर दुर गरेको होला । मेरी इजा पनि छाउ हुन्छन् । कस्तो हुन्छ, छाउ भएको बेला त्यो व्यथा उनलाई पनि था छ । तर पनि किन मलाई यस्तो दुर्व्यवहार गर्दैछन् ?

उसलाई तारा बाबुनी जस्तै लागि, बाबुनी कोसौँ टाढा गइ उसको नजरबाट । बाबुनीको गोठको गाईलाई पनि छुन हुन्न । गाई विग्रिन्छन् । देवता विग्रिन्छन् । पण्डितलाई विरामी पर्छ । उनी त सक्कली मान्छे । देउताले आफ्नो सट्टामा धर्तिमा पठाएका मान्छे रे ।

उसले जल्कोको चुकिलो सागसँग दुई रोटीका टुक्रा के चपाएकी थिइ । आँखा रसाएर शित खसेझैँ भए रोटी माथि । भासुमा पहिरो जाँदा गाढी अवरुद्ध भएजस्तै उसको गला अवरुद्ध भयो । उसले रोटी र सागको बेले थन्काइ गोठको तल । भोकको सङक्रमण कम भएको जस्तो अनुभब गरी । जब उसले फलफुल खाई । उसलाई लाग्यो, फलफुलको लोभ देखाएर मलाई छाउगोठमा बस्न कहाँ सजिलो हुँन्छ र ? बरु सैयौँ रात एक गास र एक थोपो नखाएर बस्न सुख हुन्छ । यो गोठमा मीठो मीठो खाएर बस्नुभन्दा त ।

गोठभित्रको टुकिको उज्यालो नै उसले आफ्नो संसार सम्झेकी थिइ । कसरी सुर्य उदाउछ ? कसरी अस्ताउछ, ऊ लगभग विस्रिसकेकी थिइ । प्रत्येक रातको अध्याँरोले उसका मनमा डरको समराज्य बढाउदै लैजान्थ्यो । हिजोअस्तीसम्म उसले झाडापिसाब जान परे ताराको निन्द्रा बिग्रिन्थ्यो । रातका हर कालाबस्तु उसका लागि भूत लाग्थे । पिचास लाग्थे । लाग्थे, महिसासुर राक्षरहरू ।

आज एक्लै कसरी बस्दै छे, छाउगोठ भरिको चिसो हावासँग । उसले सुनेको मनहरामा मध्यरातमा खाकर भएको कालो घोडामा भूत सवार हुन्छ । जो राति जागराम बसेको देख्यो, त्यसलाई घोडामा राखेर लैजान्छ रे । उसले भूतका कहानी सम्झी । डरले जबरजस्ती आँखा चिम्ली । कानमा औँला हाली । गोब्रो किरा जस्तो बनेर निदाउने हर प्रयत्न गरी । उसका कुनै प्रयत्न सफल भएनन् । मनमा निदाउने प्रयत्न गर्दा गर्दै कति बेला निदाइ उसलाई समेत थाहा भएन ।
बिहानै उठेर ऊ छउगोठको आँखी झ्यालबाट हेर्थी घरको किनारमा । फलफुल ल्याउने को रहेछन ? उसको कौतुहलता बढिरहन्थ्यो । तर कुनैमान्छेको रंग देख्दैनथी । उसलाई डम्मीसंग छाउगोठको पीडा साट्ने मन थियो । उसलाई धनेको माया लागेको थियो । भाइ बहिनीका गालामा म्वाँइ खाने रहर थियो । तर उसले कसैसँग पनि बोल्न पाइन । कसैका अनुहार पनि देख्न पाएकी थिइन । ताराले उसलाई भनेकी थिइ, ‘छाउ भएका बेला कसै मान्छेसँग नजर जुधाउनुहुँदैन रे । ’
फलफुल देखेर उसलाई लागेको थियो, ‘के मेरै लागि ल्याएको रैछन् त फलफुलहरू ? छाउ भए स्याउ सुन्तला खान पाइँदो रै छ त ?’

यसरी कहिल्यै घामको स्पर्श नआएको गोठमा बसेर स्याउ सुन्तला खानुभन्दा घरमै भोकै बस्न निको छ । हावाको ताजा बास्ना नपाएर चिसिनुभन्दा बरु तातो बालुवा चपाउन निको छ । ऊ मनमनमा सम्झिरहन्थी ।

सातौँ दिन
विहानै आकासले तनतनी चुरोट पिएर धुवाँमय बनाएको थियो, आफ्नो धरातल । कालो निलो थियो, बादलसँग मिसिएको निकोटिनको रंग । आपसमा बादलका डल्लाहरू अर्धचेत अबस्थामा ठोकिएर मुर्छा पर्दै थिए । आउँदै थियो, एउटा बेसुरको आवाज । आकासलाई चुरोटको नसा बढी भए जस्तो थियो । आकाश बान्ता गरिरहेको थियो । त्यो साझँ बात मार्न आएकी थिइ, गोमा काकी । साझँको खाना खाइबरी काकीले आफ्नो पुराना सम्झना सुनाई । उसले भनी , ‘तेरा उमेरमी पहाड हाम् छाउगोठ जान्थे । रात भरी चोर डेउडा खेल्ले थे । खुब रमाइलो हुन्थ्यो । कति छिटाई छाउकी पालि आलि रे, चोर डेउडा खेलुला भन्नु हुन्थ्यो । चार गाउँका मूलेसँग रातभरी डेउडा खेलेर उज्यालो बनाउथे । ब्याहानै छाउ गोठका लत्ता बोकेर गाड जान्थे । ’उसले लामै भूमिका बाँधेर भनी । छाउगोठ र चोर डेउडाको बारेमा ।

‘रहडले बस्या हौ कि छाउगोठ करले’
‘हेर लाटी ! अब त उमेर खाहाले । तेरै उमेरमा भया हुँ मु लै पानी छाउ । भितर गए देउता रिसाहान । देउता रिसाए धामी गाली दिन्छन् । देउपित्तर खुसी राख्नुपर्छ भनि सिकायो । बस्दै बस्दै आए अब त बानी बसीग्यो । कैल ब सुक्ने हो यो छाउ लै । अब त नभए पनि हुन्थ्यो ।’

खुब बात मारेका थिए दुबैले । बात मार्दा मार्दै कतिखेर निदाए पत्तै भएन । एक्लै बरबराउदै थिइ, गोमा काकी ।
रातभरि पानी पर्यो । मुसलधारे पानीका अगाडि जावो कुहेको गाल्जोको केही चल्दैनथ्यो । धौलीका रगतका डल्लाहरूसम्म पनि पुग्यो, बर्षातको पानी । उसको आलो रगतको बास्ना बोकेर गयो मनहरा । बर्षातले चिसा भएका थिइ उसका लुगाहरू । छाउगोठ रुझेकोले धौली टुकुनो भएर बसेकी थिइ । गोमा काकीको भने अझै निन्द्रा खुलेको थिएन । ताराले बिहान उठेर नल्का चलाई । धौली छाउगोठबाट हेरिरहेकी थिइ । उसलाई भन्न मन थियो, ए इजा, मेघले मेरो हड गिलो भएको छ । बर्षाको पानीमा मिसिएको छ, मेरो रगत । पानी बगेर जमिनमै जलारम्म छ । नल्काको पानीसँग मिसिएको मेरो रगत कसरी चल्छ भान्सामा ? कसरी चढ्छ हाम्रा भडाँरमा ? देवता रिसाए अल्छिन हुन्छ रे । तर उसले त्यसो भन्न सकेन । केटीमान्छे बाठी हुनु हुदैन रे । उसलाई ताराले यहि सपथ सिकाइकि थिइ । त्यसैले उसले खुरुखुरु पालना गर्दै थिइ, जे ताराले भन्यो, त्यो ।

चौधौँदिन
ऊ टालाटुली गुण्टाकाम्ला बाकेर बाहिर निस्किइ । ताराले गाईको आलो गोबरले छाउगोठ लिप्न लगाई । र, नुहाइसकेर गहुत छर्किन पनि भनि । उसले साझँ विहान खान दिने बेला बाहेक ताराको मुख देखेकी थिइन । बुहारी र जेठाजूको जस्तै सम्बन्ध बनेको थियो उसको र घरपरिवारको । मनहरा पुगेर उसले चारैतिर हेरी । खोला किनारको हरियो चौरमा उत्तानो पल्टिन मन लागेर आयो । तर त्यसो गरिन । पिँजडाको पक्षिलाई खुल्ला आकासमा छोड्दा हुने खुसीभन्दा दोब्बर सुखानुभुति प्राप्त गरी, उसले । तेह्रदिनदेखि छाउ गोठभित्र बस्दा उसको हडभरी नौरथाको जमराको सक्कली रंग लपक्क टाँसिएको थियो ।

रगतका दागहरूले ओरिजिनल रंग स्वतः भएको थियो, रातो । सप्पै टालाटुलीहरू एक्कैपल्ट धुँदा त खोलै रातो भएको थियो, उसको रगतले । यसरी लालपुरका सैयौँ स्वास्नी मान्छेको रगत बगाएको छ मनहराले । जो बग्दै गएर समुन्द्रमा मिल्छ । समुन्द्रबाट बाफ बनेर आकासमा मिल्छ । आकासमा बादल बनेर फेरी धर्तीमा खस्छ, हजारौँ धौलीहरूको रगत । उसलाई लाग्यो, त्यसो भए किन समुन्द्र मेरो रगतले विटुलो नभएको त ? समुन्द्रमा पनि त जल देवता बस्छन होलान् । किन जल देवता नरिसाएका होलान ? मलाई देखेर । उसलाई लाग्यो, आकासमा सूर्य भगवान बस्छन्, मेरो रगतको फेरो लगाएर सूर्य सधैँ रातो बनेको हुन्छ । त्यसलाई कस्तो रुबस सुहाउछ रातो रंग तर मलाई किन नसुहाएको होला । मेरो रगत मिसिएको देखेर सुर्य भगवान किन नरिसाएका ? रिसाएर किन पृथ्वी लोकलाई भष्म नबनाएका होलान ?
उसलाई लाग्यो, जमिनमा वायु देवता बस्छन । यो पृथ्वीका अरबौँ स्वास्नीमान्छेसँग छोएर जाने बायुले किन आफ्नो गतिलाई बन्द नगरेको ? उसले यस्ता हजार प्रश्न सोचि मनभित्र । र, सोच्दा सोच्दै सबै लत्ता धोएर सुकाई । घाममा । चौध दिनदेखिको ननुहाएको हड् ऊ उमास्न थाली । उसको हडबाट जोख्न मिल्ने भए एक मानो जति नै मैल आएको थियो । रगतको त के कुरा गर्नु ? तिर्खाले उसका नाक मुख सुकेका थिए । उसका नजर गए नाउलातिर । मुहान मध्यरातको पीपल चौतारोजस्तो नितान्त एक्लो थियो । ऊ मुहानका नजिकमा गई र उभिइ । दुर्गाउन फर्काउन आएकी बेहुलीजस्तै बनेर ।
मुहानमा कति जना विहानै आएर बाँया हातले पानी समातेर जान्छन् । कति आफ्नो बुच्चडोको अचानो जस्तो मुख धोएर जान्छन् । कति थुकेर जान्छन् । कति बासिमुख कुल्या गरेर जान्छन् । कौइ कौइ त रातभरि स्वास्नीसँग सुतेर विहान यसै मुहानमा यौनाङ्ग सफा गर्छन । उसलाई लाग्यो, मैले पनि खकारजस्ता इजाका बचनहरू, थुकजस्ता समाजका आँखाहरू र विटुलो लिङ्गजस्ता घरायसी संस्कारका प्रताडनाहरू सहेको छु । यो मनहराको मुहान र म त उस्तै उस्तै रै छौ । उसले दुबै हातका अन्जुलीले दुई घुट्का पानी पिई । पानी अन्जुलीमा राख्दा उसको अनुहार स्पष्ट देखिएको थियो नाउलामा । मानौँ, नाउलो उसको सधैँ अनुहार हेर्ने घरको ऐना छ ।

घरमा तारा गौत र गोबर समाएर उसको बाटो हेरिहरेकी थिइ । ऊ आउने बित्तीकै ताराले हड्भरी छर्किदिइ गौत । धौलीको हातको हत्केलामा गहिरो खाल्टो बनाउन भनी । राखीदिइ त्यसमाथि गौत ।

ताराले भनी, “दुई भाग लगाएर खा, आधा टाउकामा हाल् ।” उसले जे जे ताराले भन्यो, त्यो त्यो मान्यो । ऊ खुसी थिइ । चौधदिन देखिको कैदीजस्तो बनेको जीन्दगीबाट मुक्ति पाएकी थिइ । उसले आफ्नै सुन्दर संसार फिर्ता पाएकी थिइ । ऊ ताराले भनेको जे मान्न पनि तयार थिइ । तर छाउगोठमा जान तयार थिइन ।
आधा गौत उसले टाउकामा छक्र्यो, आधा खायो । गौत खाँदा उसले दुबै आँखा चिम्म गरी । उसले मुख विगारेको देखेर लाग्थ्यो, गौत गौत थिएन । विष थियो । कालकुट थियो । अथबा नकलविष थियो । जे भए पनि उसले निली । निलिसकेर थुकी चार पाँचपल्ट । उसले औछन( गर्भवती) लागेकी स्वास्नी मान्छेको जस्तै गरी वाकवाकी गर्यो । मुखबाट पानी खस्यो, निरन्तर ।

ताराले फेरि थपेर भनी, ‘लौ आजदेखि त चोखिस् । अब भित्र हामीसित सुत्ने, खाने । पहिलेकै जस्तै ।’ ताराका कुरा सुनेर उसको मुहारमा एक्कासी र्दुइसय वाडको बल्ब बल्यो । गहुतको मुखभरीको तितोपन क्षणभरमा चिनीमा बदलियो । उसले त्यसपछि थुकेन । निल्यो, घटघट थुकका घुट्काहरू ।

ताराले अझ थपिन्, ‘ यै मैनाका दश गते छाउ भएकी छइ, अब अर्खा मैना पनि दश गतेकी पाल (पालो) हो । एकदुई दिन अघिपछि भए कैइ फरक पर्दैन । तर छुइ नभए दासु दुस्मन हाँस्छन । नाक काटिन्छ । इज्जत सप्पै माटीमा मिल्छ । पै त, के तै रयइ घर, के मै रउला । बनारो समातेर बन पसेलै भयो ।’ ताराका कुरा सुनेर उसको मुहारमा लोडसेडिङ भयो । मुखमा काल्जीरी पसेजस्तो भयो । उसको घाँटीमा पिडालुजस्तो बस्तु कोक्याउन थाल्यो । उसले मुन्टो निउरोको टुप्पो बनाएर गोडाका बुढी औँलाले पृथ्वीलाई चिथोर्न थाली । आँखा भरी आशु भरिएर आए । ताराका शब्दरुपी आल्पीनले मुटु घोच्न थाल्यो ।

उसलाई लागेको थियो अब यस्तो दुःख कहिल्यै भोग्नु नपरोस । तर पेटमा आगोको भुङ्रो बालेर उहि मिति र समयमा हुनुपर्ने । यो कस्तो दुःख हो ? उसले आफ्नो घर र लालपुरलाई नर्क देख्न थाली ।

उसलाई लाग्यो, जसरी इजाको हातबाट गहुत खाएर घरभित्र पस्न पाइन्छ, त्यसैगरि पृथ्वीका सबै दलितले गहुत खाए सबैले मन्दिरभित्र पस्न पाउलान ? के सबै चोखिएलान ? किन जान पाइदैन मन्दिर भित्र ? मेरी इजा पनि मान्छे, बाबुनी पनि मान्छे । मेरी इजापनि स्वास्नीमान्छे, बाबुनी पनि स्वास्नीमान्छे । किन हामी तल्जाति भए ? किन हामी तल्जातिले नमरुन्जेल छाउपडिजस्तै भएर बाँच्न परेको छ यो पृथ्वीमा । तल्जातिका स्वास्नीमान्छे मात्र छाउ हुदैनन् , लोग्नेमान्छे पनि हुन्छन । होइन भने, किन पस्न पाइदैन घरभित्र, मन्दिरमा र कुलेका भडाँरमा । होइन भने, किन कसैले खाँदैनन् त तल्जातिका हातको ? किन चल्दैन हाम्रो हातको पानी ? ऊ अनेकौँ कुरा सोचेर बसिरही ।

एकदिन,
तारा र धौली भान्सामा थिए । बाँकी सप्पैले पेटपूजा गरिसकेका थिए । उसले चाउचाउको झोलमा फारु गरेर भात मुछी । खाईदुई गाँस। ताराले पनि दुई चोइली भात हाली आफ्नो थालमा । त्यति नै बेला धौलीले भनी, ‘इजा कैइलसम्म भैरहनु पर्छ, यो छाउ ?’ताराले दुई चोइली भातमा दुई डाडु चाउचाउको झोल हालेर मुछि भात र भनि, ‘रौँ फुलन्ज्या, हामरी ज्यु (सासुआमा), धने जन्मेसम्म हुनैथिन् । पछि दोसरा बर्ष छाउ गोठमै स्यापले काटेर मरिन् ।’

धौलीलाई लाग्यो, मेरा रौँ छिटै फुलुन । टाउको सेतै देखिने गरी । उसले ताराका कुनै कुरामा ध्यान दिएकी थिइन । ऊ मौन बसिरही भातको एक गाँस पनि नखाएर । उसलाई स्यापदेखि त्यसै दिनदेखि दोब्बर डर लागेर आयो ।

‘ ब्या नहुन्ज्या सधाईका पालमा भैरहन्छन । बच्चा पेटमा भए पछि बच्चा नहुन्ज्या हुदैनन् । बच्चा, एकडेढ मैनाको भएपछि अझ हुन्छन् । यो मैनाइपत्य चलिरहन्छ हरदम । धेरै जन्सोच । उमेर पुगेबर सबै स्वाहानी मान्छे हुन्छन् । खाँ खाँ भात खा घपाघप ।’ ताराले भनी ।

‘यो रगत काँ बाट आउँछ ?’ सोध्न त अरु नै थियो, तर धौलीका मुखबाट ती शब्द फुत्तिहाले । तारा उसका कुरा सुनेर हाँसी । ‘धत् लाटी, यस्तो पनि सोधन्ना । पेट भित्र बच्चादानी हुन्छ । हो, त्यहीबाट आउन्छ । तेरा ज्वाँइ मुलेबाट । बच्चादानी बच्चा बस्ने ठौर हो । नजन्मुन्जेल बच्चा त्यै बस्छ, पछि नौ महिनापछि जन्मिन्छ । बच्चा त्यही रगतबाट बन्नछ ।’
ताराका कुरा सुनेर उसलाई लाग्यो, हाम्रो विटुलो । छि ….छि दुर दुर गरेको÷ पानी नचल्ने रगतबाट जन्मिने बच्चाको रगत कसरी चोखो ? छाउ हुदाँ बग्ने रगत किन विटुलो भएको ? सबै स्वास्नीमान्छे छाउ हुन्छन् । छाउपडीको रगतबाट बनेका प्रत्येक बच्चा ठुला ठुला मान्छे बन्छन् । उनीहरू किन विटुला र पानी नचल्ने नभएका त ? उसलाई लाग्यो, बाबुनी त कति भाग्यमानी, उसले आफु छाउ भएको बेलाभित्र पस्न नपाए पनि । मन्दिरमा पुजा गर्न नपाए पनि । छाउपडीका हातको पानी नचले पनि तिनका बच्चाले त सधैँ मन्दिरमा पस्न पाएका छन् । कोही किन धारो छोएको भन्दैनन् ? भित्र पसेको निहुँमा कुटाइ खानुपर्दैन । तिनका हडलागेर कसैले छोडो हाल्नुपदैन । तिनका सन्तानले चोखो हुन कहिल्यै गौत गोबर खानु पदैन । हामी तल्जाति कति अभागी रै छौँ । हाम्रा सन्तानले जहिल्यै छोडो हाल्नुपर्ने । हामी त जन्मदै पानी नचल्ने जातका मान्छे ।

ताराले घपाघप भात खाएर मुख चुठी । धौलीले गिच्याइ, गिच्याई निली चार पाँच गाँस । त्यसपछि उसले खाइन भात । मन मरेर आयो । उसले कोकलामा हाली एक थाली भात । भात फालेकोदेखि ताराले आँखा तरेर भनी,
‘नपाउनीको भात एइल फालपन् । पछि के खाने है, तेरा मरे जिउनाको हाड ।’ धौली केहि पनि बोलिन ।

८८८८
पाण्डितले ऋणको भाका नाघ्यो भनेर सवारी बड्डाको जग्गा कब्जा गर्यो । त्यो जग्गामा छाउगोठ थियो । अरु फिर्ता गरिहाले पनि छाउगोठ फिर्ता नगरिदेओस् । छाउगोठ नभए घर भित्र कसो सुत्न नपाइएला । धौली भगवानको नाउँमा प्रार्थना गर्न थाली । रातोरात बनाउन सक्ने क्षमता पनि थिएन, उनीहरूसँग । तर उसले सोचेजस्तो भएन । ताराले उसको पाखुरो समातेर लगी देउमनेका घरमा । गए सात महिना उसले आफ्नै छाउगोठमा बिताएकी थिए । धौ काट्नु भएको थियो, उसलाई हरहप्ता । लगभग एक जुनिमा भोग्नुपर्ने जति कष्ट भोग्नु परेको थियो । आफ्नो छाउगोठ कब्जा भएपछि धौलीले धेरै रात लाली भाउजुको गोठमा बिताएकी थिइ । यो महिना धौली छाउ भएकै दिन, लालीलाई चारदिन भैसके । ऊ चोखिएर भित्र पसिसकी । धौलीले एक्लै सुत्ने आँटै गरिन् । लालीका घरभन्दा लगभग सय मिटर पर थियो, छाउगोठ । मान्छेको गन्धसमेत नआउने ठाँउमा । स्यालको आवाज सुनेर लाली भन्थी, ‘ बेली रातको स्याल बोल्ला थे, को मद्द छ धै ? पोरुका वर्ष यसरी स्याल बोलेर मेरी जेठी ज्यु मरेकी हुन् । स्याल बोल्लु त अलछिन ब हो के ।’ लालीकी जेठी सासु त्यही गोठमा मरेकी फेला परेकी थिइ । रातै भरी खै के भयो, भयो ? पेट फुकेको थियो, नौ महिनाकी भुँडी बोकेकी स्वाहानीका जस्तो । मुखबाट सेतोफिँंज निस्केको थियो । आँखा एक टकले हेरिरहेका थिए । उसका आँखा देखेर बाबुनीले भनेकी थिइ, ‘शिव ! शिव ! विचरीको आँखाबाट परान गएको रै छ ।’ उसका बायाँ गोडाको बुढी औँलाको कापमा एउटा घाउ परेको थियो । त्यही घाउबाट रगत बगेको टाटो पनि बसेको थियो । गाँउलेले उसको हबिगत देखेर दुई ओटा अड्कल लगाएका थिए ।

पहिलो अनुमान: विष खाएर मरी ( उसका जोइ पोइको हात हालाहाल भएको थियो । )
दोस्रो अनुमान: सर्पले काटेर मरेको हो ।

दुबै सत्य सापेक्ष मानिएका थिए । किनकी, न उसका जोइपोइको कल भएको कसैले देखेका थियो । न त सर्प नै ।
जगुलाई मनहारामा लगेर दाहामट्टी गरेका थिए । दुई चेला, तिन चेली मुले पालेर बसेको छ, लछी लुहार । चेलाचेलीको मुख हेरेर बसेको हो । नत्र पन्ध्रौँ मासिकाका दिनै बिहे अर्छु भनेर गोडा उचाल्दै थियो । खन्टेले बर्षिकी फुकाएर जाउला भदु भनेर मात्र रोकेको रे । पछि जाँ गयो, त्यै चुक्ली पड्न थाल्यो । भन्न थाले कि, यो त स्वाहानीको जीऊ मारा हो । त्यसकारण उसको आजका मितिसम्म ब्या भएको छैन ।

हो, त्यसैले लालीका छाउगोठ भित्र एक्लो कोइ सुत्दैन । जगुको हंसो त्यैँ छ रे । रातरात छल्याउँछ, छाउगोठका सबै बौकीनीको एक बोली छ ।

‘मेरी नपाउनीकी चेली एकली त नैसुताउनो, हिट् पुनीकी मौका गोठ सुत, दुई पाइला हिटे कैइ हुदैन । पहाड दुई घण्टा झुरोबालेर जान्थे विराना गाँउ । ञ त दुई पायला हो, न ओकालो न ओरालो । मैदान ।’ धौलीलाई अघि अघि लाएर तारा पुनीका छाउगोठमा गई थिइ ।

पुनीको छाउगोठ लालपुरभरिको ठुलो र नाम चलेको छाउगोठ हो । दुई चारजना छाउपडी त दैनिक जसो हुन्छन त्यो गोठमा । तल कुखुराको खोर छ , त्यो माथि छाउपडी बस्ने गोठ ।

‘ काम त पक्का गर्नु पर्छ, एकचोटि बनायो रे सधैँका लागि पक्का’, भन्दै, नरे साउँनले बाह्र बनको सालको काठ ल्याएर बनाएको हो छाउगोठ । चन्द्र समशेरका पालामा रेलका डण्डी बनाउन लगेको काठको बचेखुचेका रुख उसले आफ्नो घरमा ल्याइ पुर्याएको थियो । वनपाले पनि नसमातेको होइन । घुस खुवाएर कुरा मिलाएको थियो । हो, उसले छाउगोठ बनाउन धेरै मेहनत गरेको छ । मेहेनतकै कारण छाउगोठमा न धिउरा लागेको छ, न घाम पानीले नै खाएको छ । छाउगोठ पक्का बनेको छ । पुनीकी कान्छी इजाले वर्षको दुईपल्ट चिप्लो माटोले लिप्छे । ‘मैनाका सात दिन यै काम लागन्छ, मेरो निजिघर भनेको यै गोठ हो । घर र माइती घर जस्तै लागन्छ मलाइ त ।’ उसले गोठ लिप्नेबेला भन्ने गर्छे ।

त्यसपछि धेरै रातहरू बिताएकी छ धौलीले त्यो छाउगोठमा ।

८८८८
दिनढलिसक्दा पनि धौली किन घर आइन् ? ताराको मन चुक खाएका दाँतजस्तो भयो । ‘ आज टडिएका (छाउभएका) सात दिन भैग्य । हड् मुन्टो धुनु । चोखिनु । गौत गोबर खानु छैन । काँ मरेकी रैछ । काँ लागेकी रैछ त्यैकी डाँणी ।’ ऊ एक्लै एक्लै मुर्मुरिन थाली । नरेका घरतिर पहरपहर आँखा ओछ्याउन थाली । तर उसको आशाका किरण निरासाको बादल लाग्यो ।
धौली साँझसम्म पनि घर नआउँदा ऊ आत्तिइ । ‘धौलीका बा माद्दे हुन् । ज्वान भएकी चेली काँइ हिटिदिइ के गरुला ? इज्जत जति सबै माटीमा मिल्ने हो । पै त आइ गाड् हाम् फालेपनि भयो ।’ उसका मनमा शंकाका राकेभूतहरू ओहोरदोहोर गर्न थाले विना अनुमति ।

खलाको विस्कुन छाप्रोमा हालेर, ऊ हिँडी पुनीका घरतिर । पैतलामा जब गिट्टीहरू विझे तब पो था पाई । चप्पल हाल्नै बिर्सेकी रहिछे । उसले घरतिर हेरी । नरेका घरतिर पनि हेरी । उसले गिट्टीको दुखाई सहने निर्णय गरी ।
रातो , पुरानो , मैलो धोती ।

माटोले कतै कतै बुट्टा कोरिएको ब्लाउज लगाएकी तारालाई पुनिले चिनिहाली । यो लालपुरकी तारा हो भन्ने । आकासको तारा चम्कीलो हुन्छ । तेजिलो र आकर्षक हुन्छ । उसमा तारामा हुनुपर्ने कुनै गुण दोष थिइन तर पनि तारा नै भएर बसेकी थिइ, गाँउमा ।

खलामा पुग्ने वित्तिकै उसले भनि, ‘पुनि, धौली काँ गै, भन्नी ?’
पुनिले के के भन्ने? कसरी भन्ने ? र, को कोसँग भन्ने भनि सबै योजना मनमा बनाइसकेकी थिइ । त्यसैले उसले भनी फटाफट । तारिक बोक्न गएको प्रतिवादीझैँ । उसले भनि, ‘ ब्याहानै गएकी हो घर जान्छु भनेर । घर नै गै ब ? म त घर गएकी होली भनेर, आनन्द थे । ’
पुनीका कुरा सुनेर तारा थुचुक्क बसी भुइँमा । उसका खुट्टाले शरिरको भार बोक्न सकेन । उसको बोली भाँचियो । सबैतिर आफ्नो ब्लाउजको रंग देख्न थाली ।

‘काँई हराइ त नै गई ?अँह, हराइन । सहेनी जात्की हो । गाँउको सयचोटी हिटेको बाटो । लालपुरमा त अनाली(अन्धी) भए लै खाइखेली हाल्ने मान्छे हो । कसैका घर त नै गै ? गइन । ऊ अर्खाका घर काम परे मात्र जान्छे । त्यै पनि केही सामान दिएर आ, भनेबर मात्र । माग्दु त त्यै का हात हरेराम हरेविष्णु हो । लाज मान्ने खालकी हो । कसै मुलेका उडाल त नै गै ? ब्या अद्दी जात्की । के भर ? यसै उमेरमी त हुन् । ढुङ्गो मुणो लै बौलीने । चेली राणका मनकी बात क्वौ जान्दैन । काँ ब मरी । काँ ब त्यैको कालो मुख भयो ।’ ऊ मनमनमा हजार प्रश्न सोचिरहन थाली । ऊ सत्तरी बर्षकी बुढी जस्ती देखिन थाली । दुबै हात कम्मरमा बाँधेर हिटि घरतिर । बाटोमा दाँयाबायाँ हिटेका लख्खिमीहरू । मान्छेहरू कसैलाई पनि चिनिन । न बोली नै कसैसँग । कति छिटो घर पुगु भन्नु भयो, उसलाई डरले । लाजले । शंकाले । निस्सारताले । शुन्यताले । । मन जोर जोरले धड्कन लाग्यो, उसको ।

घरमा पुगेर उसले भट्टेलाई पनि भन्यो, सबै कुरा । उसको मुन्टो पनि निहुरियो, निउरोको मुनाझैँ । डम्मी र धनेले पनि घरमा धौली नभएको पत्तो पाए ।

सवारी बड्डाले तेस्रोदिन पत्रिकाका मान्छे हराएको सूचना निकाले । पत्रिकाका उसको फोटो सफा देखिएको थियो । भेट्टाउनेले प्रहरीमा खबर गर्न अनुरोध पनि गरेको थियो । धेरैपल्ट सवारी बड्डो पुलिस चौकी पुगेको थियो । तर प्रत्येकपल्ट ऊ निराश भएर घर फर्किएको थियो ।

सवारी बड्डा र ताराले सामुहिक स्वरमा भनेका थिए, ‘हामरालाई मरी गै । अब मेरा जर्मे दुई मात्र हुन् ।’

तेस्रोदिनमा गाँउमा हल्लानै चल्यो, गोपिन पनि तिनदिन देखि घरमा छैन भनेर । सवारी बड्डाका कानसम्म पनि पुग्यो त्यो खबर । उनीहरूको होसहवास नै हरायो । तारा त बेहोस नै भइ । सवारी बड्डाले पानी छर्केर होस आएको थियो ताराको ।

गोपिन पुनिको माइलो दाइ हो । ऊ बम्बईको लाहुरे थियो । होइन, चाउरे थियो । लाहुरे होस कि चाउरे, गाउँमा मान मज्यात राम्रै थियो उसको । पक्की चार कोठे घर । हिउँद बर्खा खानलाई जग्गा । गोठमा एक हल गोरु र राम हउस जानलाई रातोकाला लत्ता । उसले बम्बई बसेरै कमाएको, सबैले देखेका थिए । ऊ बर्षमा दुई चारपल्ट मात्र आउँथ्यो नेपाल । निरोलीको दशैँ, जोराइलको दिपावलीको भौस्सो र जुवा खेल्ने खाल उसलाई खुब मनपर्थ्यो । त्यसैले दशैँ र दिपावलीमा उसले सेठको बोनसको माया माग्यो । बाँकी समय भूमिगत सिपाहीजस्तै हुन्छ । गोडामा एडिडास कम्पनीको जुत्ता र टाउकामा रातो रंगको क्याप टोपी हमेसा हुन्थ्यो । तिस एक वर्षको भए पनि अनुहारमा मैलपर्सो परेको थियो । दारी जुगा नपलाएकोले ऊ वीसको आसपासको सक्कली ठिटो देखिन्थ्यो ।

ऊ बम्बइमा के काम गर्छ त्यो कसैलाई ज्ञात थिएन । तर हुलिया हेर्दा कुृनै सरकारी नोकरको भन्दा कम ठाँट रवाफ थिएन । कसैले सोधिहाले उसले भन्थ्यो, ‘मार्केटिङ् हो, माल जस्तो छ, त्यै अनुसार दाम पनि पाइन्छ । देशमा लाखका गड्डी त नेपालका छिल्लर पैसा जस्तै हो ।’

मनहरामा धेरै पानी बगेर गयो । ऋतु फेरिएसँगै, पालुवाहरू पनि धेरै पलाए, तर ताराको परिवार उजाड नै थियो । तिनको परिवाररुपी रुखमा कुनै पनि पालुवा पलाएन ।

धौली र गोपीन भागेर मोहनाको पुल काट्दा देखिएको थियो, ब्यान्नले तारो । पलियाबाट आगराको बसमा उनीहरूलाई देखेको थियो, गाउकै बन्चरे काकाले ।

गोपीनले उनलाई बस रोकेको बेला चियाको गिलास दिँदै भनेको थियो, ‘काका एक कालो झाक्रो घर्याए । गर्नु गर्नै पर्ने । उमेरको ब्या रे, बखतका चेलाचेली निका हुन्छन् भन्नाछन् ।’

हो, तिनै बन्चेकाकाले ल्याइ पुर्याएका हुन् गोपीनले धौली बम्बै पुर्याएको खबर गाँउमा । त्यो खबरले पनि धौलीको परिवारमा धिर्जको सास चलेको थिएन । त्यो परिवारमा दम लागेको मान्छेको जस्तो अवस्था तब आयो, जब गोपीन दुईपल्ट लालपुरमा एक्लै आयो भनेको सुन्यो । सवारी बड्डाले भेट्न नचाहेका पनि होइनन् गोपीनलाई । तर ऊ घाम डुबेपछि मात्र खलामा पुग्थ्यो । घाम नउदाउदै बाहिर निस्किन्थ्यो । कदनकदाचित कोही भेटिहाल्यो भने उसले भन्ने गर्थ्यो, ‘कम्पनीको कामले आया हुँ, मार्केटिङवालाको जागिर यस्तै त हो । कैले नेपाल कैले देश ।’

एकदिन जब उसले लालपुरबाटै म्याउची दमाईलाई मोहना तराउन खोज्यो पुलिसले समात्यो । केरकार गर्यो । तब थाहा भयो उसको मार्केटिङ खासमा के रहेछ भन्ने कुरा त । धौलीको जिन्दगी गोपीनले लब सोनिया सिनेमाकी सोनियाको जस्तै बनाएको थियो ।

हो, त्यो दिनदेखि ताराको परिवाररुपी आकाशमा एउटा तारा अस्ताएको थियो । उनले पुलिस चौकीमा रिपोट पनि नगरेका होइनन् । पुलिसले हुन्छ हुन्छ । भोल भोल भन्दैमा दिन गए सोह्र भने जस्तै भएको थियो । आजका मितिसम्म धौलीको न सास मिलेको छ न लास । ऊ बम्बइका कोठीमा नर्कको जिन्दगी बिताइरहेकी छ । गोपीन जेलको भित्र कैद छ ।

(स्रोत : ब्दसोपान डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.