कविता : एउटा अकविता

~घनश्याम शर्मा पौड्याल~

आँखा रसाउँदैन उसको
कसैको दुःखमा अब
अहँ, चस्किएन मुटु र झरेन आँसुको थोपा
उखुबारीमा रक्ताम्य लाश देख्दा नि
आफ्नै छोरीको ।
ऊ त उफ्रयो झन् उन्मत्त खुसीले
घिसारेको देख्खा एउटा सहयोद्धालाई
काँडाघारीमा पुलिसले ।
दर्जन वर्ष बितेछन्
बिताएथ्यो आकाश ओढेर
चिसा रातहरू
नाघेथ्यो रित्तो पेटले
शैलुङका पहाडहरू
खाएथ्यो बाँढेर आधा रोटी
मिजार्नी बुढीसँग
कहाँ चिन्छ र अब
‘बाबु नमस्ते’ भन्दैमा
अहँ हेरेन पुलुक्क पनि ।
बिर्सेछ ती सबै
फित्ता चुँडेका चप्पलले नापेका
झुपडपट्टीका गोरेटाहरू
सुके रोगले खाएका चिचिला नानीहरू
र त आनन्द आइरहेछ उसलाई
भोका पेटहरूमा आज
महँगीको करौँतीले रेट्दा ।
आमा त आमा नै हुन्छिन् नि
सडकमा माग्दै हिँडे पनि
कहाँ मेटिन्छ र रङ्ग रगतको
मुटु निचोरेर सिञ्चिएको
‘छोरा, लाज भो नहिँड यसरी नाङ्गै’
ठहरिइन् ‘बहुलाही बूढी’ र किचिइन्
छोराको कारले
ऊ त्यहीँ त छ
अझै बेवारिसे लाश ।
नहुने के रैछ र
ज्यूँदो मान्छेका गिदीमा
औँस्याहाले गुँड लाएपछि ।
हिजै राती त हो
स्वर्णसितारा जडित पलङ्मा पल्टेर
जब देख्यो
भित्तामा कम्ब्याट ड्रेसमा सजिएको र
मुट्ठी उचालिरहेको आफ्नै तस्वीर
चिच्यायो आतङ्कित हुँदै
निकाल्यो पेस्तोल छोड्यो गोली
र भुट्यो रातो तस्वीर तातो गोलीले
पा¥यो खरानी आफ्नै इतिहासको रच्यो
एउटा ‘भव्य इतिहास’
‘मुकुटविनाको राजतन्त्र’ को
र त बाँड्दैछ आज मुरीका मुरी
आशीर्वाद र बकस
‘दुखिया प्रजाहरू’ लाई ।

२०७५ । आस्विन । ५

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.