~लि बाई~
अनुवाद : पर्बत लावती
जतिबेला मेरो कपाल निधारको सिधा पारेर काटिन्थ्यो
म फूल चुँड्दै गेटको वरपर खेल्थेँ,
तब तिमी बाँसको खुट्टे लाठीमाथि घोडा खेल्दै आयौ
आरुबखडासँग खेल्दै तिमी म बसेको ठाउँ वरपर हिँड्यौ
नमानी शंका वा घृणा,
कलिला हामी दुई, बस्दै गयौँ चोकान गाँउमा
चौधमा मेरो परमेश्वर मैले तिमीसित लगनगाँठो कसेँ
लाजले मैले कहिले खित्का छाडिन
शिर निहुराएर भित्तातिर हेरी बसेँ
हजारौं पल्ट म बोलाईएँ, फर्केर कहिल्यै हेरिन।
पन्ध्रको हुँदा निधार खुम्च्याएर आँखा तर्ने बानी छाडेँ
मेरो समाधी तिमीसितै मिसियोस् भन्ने चाहना थियो
सधैँ सधैँ सधैँ भरिलाई ।
अब म किन डाँडामा बसेर तिम्रो बाटो कुरिरहुँ ?
मैले सोह्र टेक्दा तिमी परदेश लाग्यौ
तिमी टाढाको कु-टो-येन गयौ, घुमाउरो खोलै खोला भएर
तिमी गएको पाँच महिना भइसक्यो
बाँदरहरू शोकातुर हल्ला गर्छन् दिमागमा
बाहिर जाँदै गर्दा तिमी खुट्टा घिसार्दै गयौ
गेट छेउमा अहिले झ्याउ पलाएका छन्,
उखेल्न नसकिने गरि बाक्लो ! किसिम किसिमका झ्याउहरू
पतझर शुरु हुनु पहिले नै पातहरू झर्छन्, हावाले
पश्चिम बगैंचाको घाँसमाथि;
जोडी पुतलीहरू ग्रीष्मसँगै पहेँलिइसके
तिनीहरूले मलाई घोच्छन् । म अझ बुढी हुन्छु।
यदि तिमी तल कियाङ खोलाको साँघुरो बाटो आइरहेको भए,
कृपया पहिले नै मलाई खबर गर है,
अनि म तिमीलाई चो-फु-सासम्म भेट्न आउनेछु।
-उही रिहाकु
एज्रा पाउण्ड/ लि बाई
प्राचीन चीनका स्वच्छन्दवादी कवि लि बाई (इ.सं.७०१-७६२)द्वारा लिखित कविता ‘The Merchant’s Wife: A Letter’को भावानुवाद
(स्रोत : शब्दसोपान डट कम)