~सागर बोहरा~
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हराई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु
नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा
म त बालुवै बालुवाको मरुभुमीमा पुगीसकेछु
नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा
म त समुन्द्री आँधिमा बडारीन पो पुगीसकेछु
नखोज्नु है मलाई वरपिपलको छहारीमा
म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगीसकेछु
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा
म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
सागर बोहरा
महेन्द्रनगर, कंचनपुर
(स्रोत : बिम्ब नेपाली साप्ताहिक – २०७३ साल असाेज ११ गते)