~बि. कुलुङ्ग राई रंगबुले~
एकदिन
यथार्थले
भावनाको खाँबो अडाएर
उत्तोलक भइदिने निधो गरे
किनकि
छुनु थियो उसलाई सान्त्वनाको आकाश ।
सान्त्वनामै भए पनि
स्वतन्त्रतासित
एक जोडि पखेटा फिजाएर उड्ने
खुबै मन थियो यथार्थहरुलाई ।
विशालकाय भ्रमको आकारहरु
अति सुक्ष्म रुपमानै हुनेगर्छ
भने जस्तै
हुवहु
चम्किला–चम्किला ताराहरु जस्तै
यी सबै
फोस्रो सान्त्वनाहरु पनि
प्रकाशवर्ष टाढा नै छन्
अघिकारहरुदेखि
भन्ने
धुब्र सत्यलाई
पन्छाएर
भावनाहरुमा रुमल्लिएका
यी यथार्थहरुलाई
बेस्कन यादहरु
नआएको भने हुदै होइन
पुर्खाहरुले नालापानी हार्दैमा
सिमाना बेचेको
ती कालो दिनहरुलाई ।
एक पाखे सन्धि सुगौलीको नाममा
खेस्रा भरे
खोसाएका थिए
एउटा सिङ्गै यथार्थको भूभाग
बिर्सेका छैनन् यथार्थहरुले ।
त्यसैले त आजसम्म
अस्तित्वको छाला उत्रिन्जेल
चाबुकहरु बर्सिन्छन् यथार्थहरुको
आङ्गमा
न्युनतम रोजको साङ्लोहरुले बाधिएर
स्वतन्त्र बनेको सपनाहरु देखी
कहिल्यै
दिक्क हुदैनन्
झिझो मान्दैनन्
यहाँका यथार्थहरु ।
– दार्जिलिङ्ग भारत
(स्रोत : संसारन्यूज डट कम)