~दुर्गा कार्की~
झम्के साँझमा सीमा डेरामा आइपुग्दा घरबेटीले भित्रबाट गेटमा साँचो झुुन्ड्याइसकेका थिए । वरपर केही झ्यालबाट आएको प्रेसरकुकरको तिखो सिट्ठीले परिवेशको चकमन्नता आभास गराउँथ्यो । पर कतै घ्यारर्र सटर तानेको आवाज पनि सुनिँदै थियो । सधैँको भीडग्रस्त र अस्तव्यस्त काठमाडौं त्रस्त र स्तब्ध देखिन्थ्यो ।
‘अन्टी…?’
उसले उँभो फर्किएर घरबेटीलाई बोलाई । तेस्रो तल्लामा भान्छाको झ्याल उज्यालो थियो । एकछिनसम्म कोही ननिस्किएपछि उसले घन्टी थिची ।
चकमन्नतालाई चिरेर एकछिनसम्म ‘जय श्रीराम, जय श्रीराम’ बजिरह्यो । त्यसपछि मात्र छतमा निस्किएर काठमाडौं बसाइले बिगारेको बाग्लुङे लवजमा घरबेटीले भनिन्, ‘आच्या, तिमी घर गइहैनौ र ?’
‘म त भाइबैनासितै गइहोलेउ पो भन्ठान्याथेँ त…’ गेट खोल्दै उनले दोहोर्याइन् ।
‘जाने भनेको, त्यस्तै भयो हेर्नु न…’ उसले झारा टार्ने पारामा भनी ।
‘एक्लै बस्च्यौ त…? यो लगडाउन त जैलेसँ नि जान सक्छ भन्नुन्च त हाम्रा सर ।’
उसको मनमा सरक्क एक चस्का पस्यो । तर, कोठातिर लम्किँदै विश्वासका साथ उसले भनी, ‘दुई हप्ताभन्दा त कति तन्केला र ?’
कोठाभित्र छिर्नासाथ झोला खाटमाथि मिल्काएर सीमाले प्लास्टिकको कालो घ्याम्पो फुकालेर हेरी । चामल आधाउधी थियो । बट्टाभित्र हात गाडेर उसले एकफेर चामल चलाई– यतिले एक्लो ज्यानलाई दुई हप्ता त कसो नपुग्ला ? तरकारी राख्नेतिर हेरी– एक मुठो ओइलाइसकेको रायोको साग असरल्ल थियो । मख्या लागेका दुइटा काउलीका थुँगामा भुसुना घुम्न थालिसकेका थिए । प्याज र गोलभेँडा तीन–चार गेडा मात्रै थिए । ‘आ… प्याज, गोलभेँडा नखा’र को मर्छ र ?’ भन्दै निहुरिएर उसले खुट्टे खाटमुनि हेरी । भुइँमा अस्ति भर्खर काकाको छोराले काठमाडौं आउँदा ल्याएको आलु थियो । आलु देखेपछि उसको मन अलि ढुक्क भयो ।
सीमा डेरा खोज्दै बाग्लुङतिरका पूर्वसरकारी कर्मचारी बेतप्रसाद आचार्यका घरमा तीन वर्षअघि आएकी थिई । अन्टीले ‘अलि चिसो मात्रै हो, नत्र त दुई दिदीबैनी बस्नलाई चिटिक्क परेको छ नि…’ भन्दै भुइँतलाको कोठा देखाएकी थिइन् । वर्षदिनअघि काकाको छोरा पनि एसइई दिएर सीमासितै बस्न थालेपछि उनी अलि दिन ठुस्स परेकी थिइन्, तर मुखै खोलेर जाओ भन्नचाहिँ सकिनन् । बाँकी तीन कोठामा गोर्खातिरको एउटा नेवार परिवार बस्थ्यो । श्रीमती सहकारीमा काम गर्थिन्, बूढा ठाउँठाउँमा साङ्लाले खाएको सेतो गन्जी र पुट्ट निस्केको भुँडीमुनि खुइलिएको पाइन्ट अड्याएर मोबाइलमा सोलिटेयर खेल्दै किराना पसल कुर्थे । उनीहरूको सम्बन्ध छिमेकीको नाताले एकथरी घरमा नभएका वेला अर्को थरीले लुगा उठाइदिने वा पानी भरिदिनेसम्ममा मात्र सीमित थियो । अँ, कहिलेकाहीँ छोराचाहिँ सीमाको भाइसित हिसाब सोध्न भने आउँथ्यो ।
सटरमा भोटे ताल्चा ठोकेर उनीहरू सीमाका भाइबहिनीभन्दा अगाडि नै घर हिँडेका थिए । त्यहाँ तिर्न बाँकी साबुनको पैसा उसले दिनै पाएकी थिइन । सीमाले झटपट झोला तानेर आफ्नो पर्स हेरी । एउटा हजारको नोट, दुइटा सय र केही खुजुरा दाम थिए । तैपनि, कुनातिर लुकेका केही नोट छन् कि भन्ने झिनो आसमा उसले खाटमाथि पर्सलाई टक्टक्याई । दुई–चार सिक्का, केही पासपोर्ट साइजका फोटा र भिजिटिङ कार्डसँगै एउटा एटिएम कार्ड झर्यो । सँगै एउटा कागजको टुक्रोको रिमेनिङ ब्यालेन्स खण्डमा लेखिएको थियो, दुई सय चौरासी । त्यसपछि जुरुक्क उठेर उसले ओछ्यानमुनिबाट भेटाएजति सबै कागजका टुक्रा सोहोरी । दोब्रिएका नोटलाई तन्काएर गन्दै चार सय बीस पुर्याएपछि उसको जम्मा पैसा सोह्र सय असी भयो । कोठामा खर्च छोडिदिएको अलिकति भाइबैनीले गाडीले डबल भाडा मागेको छ भनेर लिएर हिँडेका थिए । यति पैसाले ऊ काठमाडौंमा कहिलेसम्म, कसरी बाँच्ली ? पैसा सकियो भने कसलाई भन्ली ? भाइबहिनीले धुलिखेलको कार्यक्रमबाट सीधै घर आउनू भनेका थिए । बाआमाले ‘त्याँ बस्दै नबस्, रोग पस्यो भने चौपट हुन्छ’ भनेर कराएका थिए । घर नगएर कतै गल्ती त गरिनँ ? उसलाई पहिलोपटक आफ्नो निर्णयप्रति धरमर भयो ।
स्नातक तेस्रो वर्षसँगै सीमाले एउटा एफएममा इन्टर्नसिप गर्न थालेकी थिई । पत्रकार नै बन्न भनेर ऊ काठमाडौं छिरेकी थिइन, तर केही बन्नु छ भने काठमाडौं जानुपर्छ भन्नेचाहिँ कसैगरी उसको मनमा पसेको थियो र निकै गढेर बसेको थियो । तर, घरको आर्थिक स्थितिले गर्दा एसएलसीपछि बाहिर गएर पढ्ने कुराको घरमा कसैले उच्चारणसम्म गरेन । यही विषय पढ्ने भन्ने उसलाई थिएन, तर छान्ने सुविधा पनि त थिएन । जिल्लामा एफएम रेडियोको क्रेज घटेको थिएन । बिहान लय हालेर खरर समाचार पढ्नेहरूको वाचनले उसलाई लोभ्याउँथ्यो । सर्टिफिकेट दिँदाखेरि हेडमास्टरले उसलाई के पढ्छ्यौ अब भनेर सोधेका थिए । उसले प्रतिप्रश्न गरेकी थिई, ‘के पढ्यो भने रेडियोमा बोल्न पाइन्छ ?’
अनि उसले आफू पढिरहेकै स्कुलको उमाविमा मानविकीमा नाम लेखाएकी थिई ।
दुई वर्षपछि सानिमाकी छोरी प्लस टु पढ्न काठमाडौं जाने भएसँगै सीमामा अलिकति आस र साहस पलायो । ‘केही सानोतिनो काममा झुन्डिहाल्छु नि’ भनेर बाआमालाई फकाइवरी ऊ ख्यालख्यालैमा एउट जेब्राझोला च्यापेर काठमाडौं हानिएकी थिई ।
भोलिपल्ट बिहान भाँडा माझ्दै गर्दा सीमाले याद गरी, कराहीको पिँध डढ्न थालिसकेछ । यो ग्यास सकिन लागेको संकेत थियो । उसलाई कोरोनाको डरले त्यति पिरोलेको थिएन, जति कराहीको पिँधमा आगोको लप्काले लगाएकोे रातो घेराले पिर्यो । चामल सकिए चिउरा खान हुन्थ्यो, दाल सकिए गुन्द्रुक । तर, ग्याँसै सकिए ऊ के गर्थी ?
त्यो सिंगो दिन उसले आफूसित भएको सोह्र सय असी रुपैयाँबाट चौध सय पचहत्तर ग्यास किन्नमा खर्च गर्ने कि नगर्ने भन्ने गमेर बिताई । भएको सबै पैसा ग्यासमा खर्च गर्ने आँट उसमा भएन । अरू वेला पिँध डढेको केही दिनसम्म पनि ग्यासले धान्थ्यो । एक–दुई हप्ता त कसो नपुग्ला ? त्यतिन्जेल केही उपाय कसो नलाग्ला ? त्यस दिनदेखि उसको भान्सामा एक छाक मात्र खाना पाक्न थाल्यो । चिया पकाउन भनेर थन्काइसकेको इलेक्ट्रिक जग झिकी । तैपनि, हरेकपटक ग्यास खोल्दा ऊ जतिचोटि बसालेको भाँडोमा हेर्थी, त्योभन्दा धेरै भाँडोको पिँधमा हेर्थी ।
विनाकुनै हल्लीखल्ली दुई–चार दिन खाटमा पल्टिएर बहिनीको ल्यापटपमा फिल्म हेर्न उसलाई रमाइलै लाग्यो । रेडियोले स्टेसनमा नभइनहुनेबाहेक सबैलाई घरै बस्न भनेको थियो । आएकै दिन धुलिखेलको कार्यक्रमको समाचार बनाएर पठाइदिइसकेकी थिई । केही दिनपछि अर्को एउटा रिपोर्ट पठाउँदा स्टेसन म्यानेजरले अबदेखि नपठाउन भनेपछि एउटा गहिरो अनिश्चितताले उसलाई छोप्यो । उसको इन्टर्नसिपले यही वैशाखदेखि जागिरको रूप लिँदै थियो । बाटो र खाजाखर्चबापत पाउने गरेको ६ हजार डबल हुँदै थियो । जिन्दगीले एउटा दिशा समात्न आँटेको थियो । बाआमा खुसी थिए । ऊ खुसी थिई । कोरोना उसको जिन्दगीमा बडो कष्टले जोरेका केही जोर सपनामाथि बज्रपात बनेर आइपुगेको थियो ।
लकडाउन अर्को हप्तालाई थपिएको समाचार सीमाको भान्सामा कराहीको पिँध अझ गाढा रातो पार्दै आइपुग्यो । र, एक साँझ मोबाइलको रेडियोमा सयौँ मजदुर पैदलै घर फर्किने यात्रामा निस्किएको समाचारसँगै सीमाको चुलोका राता लप्का साना हुँदै गए र एकैछिनमा धिपधिप गर्दै निभे । दुई मुठी चामल हालेर चुलोमाथि बसाएको उसको प्रेसरकुकरमा सिट्ठी लागेन । कम्तीमा एक सिट्ठी त लाग्छ कि भनेर उसले ग्यास सिलिन्डर भुइँमा लडाई । अहँ, धिपधिपभन्दा बलेन ।
‘यसरी त यिनैले गाउँमा रोग लिएर जान्छन्’ भन्दै उसले लकडाउनअघि घर जान बसपार्कमा भीड गर्नेहरूलाई सरापेकी थिई । भाइबैनीलाई नजान भनेकी थिई । आज उनीहरू बसिरहेको भए उसले के खुवाउँथी, कसरी खुवाउँथी ? आफ्नो हालत देखेर उसलाई आफैँप्रति दया लाग्यो । आँखा रसिला भएर आए । धेरै बेरपछि भुइँबाट उठेर कुकरको बिर्को खोलेर हेरी । कुकरभित्र भातमाथि बाक्लो माड जमेको थियो । अर्को दुई मिनेट ग्यास बलेको भए सायद सिट्ठी लाग्थ्यो, भात पाक्थ्यो । बिहानको तरकारी तताउन नपाए पनि तातो भातमा हालेर खान हुन्थ्यो । उसका ताता आँसु भातको माडमा झरे ।
त्यस रात ऊ भुइँमा लडाएको सिलिन्डरजस्तै खाली पेट डङ्ग्रङ्ङ खाटमा लडी । अब के गर्ने ? १२ दिनदेखि पन्छिँदै आएको यक्ष प्रश्न आज उसका सामु यमानको राक्षसजसरी सीधा अगाडि खडा थियो । उसलाई लाग्यो, यतिखेर उसका अघि जुन प्रश्न उभिएको छ, त्यही नै यथार्थ हो । त्यसबाहेक अरू केही पनि होइन । कोरोना भाइरस पनि होइन । मृत्यु पनि होइन । भोक हो । भोकको डर हो ।
अब उसलाई चिच्याइचिच्याई भन्न मन लाग्यो, ‘के तिमीहरूलाई यतिका दिन मेरो कोठाबाट कुकरको सिट्ठी नबजेको थाहा थिएन ? के तिमीहरूलाई यतिका दिन म भोकै बसेको थाहा थिएन ? कति बहिरा हौ तिमीहरू ? खोक्रा आडम्बरले डम्म भएका तिमीहरूका कान खोलेर सुन– आज म भात खाँदै छु ।’
जति सोच्दै गई, त्यति नै एउटा गहिरो अशान्तिले उसलाई अँठ्याउँदै ल्यायो । के सोचेर बसेकी थिई, ऊ यतिका दिन ? के उसलाई यो दिन आउँदै छ भन्ने थाहा थिएन र ? अवश्य थियो । अझ पनि आत्मसम्मान र स्वाभिमानलाई धितो नराखीकनै खर्चको जोहो गर्ने बाटो उसले भेट्टाएकी थिइन । काठमाडौंमा उसको मनले खाएका मान्छे औँलामा गन्नेजति मात्रै थिए । एउटा गाउँतिरकै दाइ थिए, जसको साथ लागेर उसका भाइबहिनी गाउँ फर्किएका थिए । अर्की एकजना रेडियोकी दिदीलाई खानै नपाएको कुरा भन्न उसले सकिन । एउटी साथी थिई, जो ऊभन्दा निकै टाढा बस्थी । त्योभन्दा पनि उसँग सीमालाई दिन पुग्ने पैसा छ कि छैन भन्ने कुरा महत्वपूर्ण थियो । आखिर ऊजस्तै त थिई, उसकी साथी पनि ।
यतिखेर घरमा पैसाको कुरा गर्नुको कुनै तुक थिएन । तीन हजार कोठाभाडा तीनजनामा बाँडिँदा बाआमामाथि घट्ने बोझको कल्पनाको सुखानुभूतिले मात्रै उसले काकाको छोरालाई पनि आफैँसित राख्छु भनेकी थिई । नत्र हरेकपटक लुगा फेर्दा भाइलाई बाहिर पठाउनुपर्ने बाध्यताले उसलाई नचिमोट्ने कहाँ हो र ? गर्नैपरे काठमाडौंका केही आफन्तलाई फोन गरेर ‘भनिदिने’बाहेक बाआमाले गर्न सक्ने केही पनि थिएन । अघिल्लो साल बाबु सिकिस्त भएर हप्तौँ अस्पताल बस्नुपर्दा जो आफन्त चार डल्ला स्याउ लिएर बल्लतल्ल एक दिन देखा परे, सीमाका लागि ती आफन्त थिएनन् । तीन वर्षको बसाइमा जसले एकपटक फोन गरेर सन्चोबिसन्चो सोधेनन्, त्यस्ता आफन्तसित हात फैलाएर पेट भर्ने जोहो गर्नुभन्दा सीमालाई बरु भोकै बस्नु सन्तोषजनक लागेको थियो ।
‘बरु आलु खाएर बस्छुु !’
मध्यरातमा आँसुले भिजेका आँखा मिच्दै ऊ आफैँसित बडबडाई । आलु शब्दले उसको शरीरमा अनौठो ऊर्जाको सञ्चार भयो । केही बहुमूल्य आइडिया भेटेझैँ ऊ जुरुक्क उठी र इलेक्ट्रिक जगको स्विच क्याट्ट पारी । जगको फेदमा रातो बत्ती बल्यो र उसको दिमागमा हरियो ।
भोलिपल्ट बिहान ऊ उठ्दा पेट कुइँय्य, गुडुड्ड गरिरहेको थियो । तैपनि तातिहाल्छ कि भनेर उसले अघिल्लो दिनको फर्सीको मुन्टा कचौरासुद्धै चुलोमा राखिदिई । ढल्काएको काम लाग्यो, एकछिन त सकिएकै छैन जसरी ग्यास बल्यो । अनि बिस्तारै सानो हुँदै गएर ध्याप्प निभ्यो । अब कहिले यसरी तरकारी खान पाउँछु होला र भन्ने भावनाले उसको मन अमिलो भयो । रसिला आँखा पाखुराले मिच्दै उठी र कुकरको लिटो भातलाई डल्लो पारेर पोलमुनि खिस्रिक्क अनुहार लगाएर सुतिरहेको कुकुरको अघिल्तिर राखिदिई ।
थालमा आलु लिएर बसेको पहिलो छाक टिल्पिल आँखाले आलुको बोक्रामा उसले आफ्नो गरिबी टल्किएको देखी । सानोमा नेपाली किताबमा उसले कतै पढेकी थिई, मान्छेले नदेखे पनि भगवान्ले त देखिरहेकै हुन्छ भनेर चोर्न नमानेको शिष्यको कथा । के चोरेको देख्ने भगवान्ले गरिबीले गिज्याएको देख्ता हुन् ? मान्छे अरूदेखि भाग्न, लुक्न एकान्तको खोजी गर्छ, तर एकान्तले जति मान्छेलाई खाने, डस्ने अरू केले होला ? त्यतिखेर एक्लो कोठाभित्र सीमाले आफ्नै दुइटा स्वरूप देखी । एउटी पिलपिल आँसु बगाउँदै कपाकप आलु खाँदै थिई । अर्की रुन्चे आँखाले एकोहोरो उसैलाई हेरिरहेकी थिई । सीमालाई आफ्नै अर्को स्वरूपदेखि कतै टाढा भाग्न मन लाग्यो । बाआमालाई सबै ठीक छ भनेर ढाँटिरहेकी ऊ आफ्नै प्रतिबिम्बलाई कसरी ढाँट्न, छल्न सक्थी र ? ऊदेखि कहाँ, कसरी भाग्न सक्थी र ?
दिनको एकफेरजस्तो बेतप्रसाद अंकल टोलको फेरो लाएर आउँथे र घरअघि बाटोमा उभिएर चर्कोचर्को स्वरमा छिमेकीसित वडा कार्यालयमा राहत बाँडेको कुरा गर्थे । र, घरभित्र छिर्दै भन्थे, ‘यसो वरपर कोही छन् त्यस्ता भने भन्दिनु है ।’
सीमाको मन चसक्क हुन्थ्यो, त्यस्ता भनेको कस्ता ? ऊ अब हरेक कुरालाई गरिबीसित जोडेर हेर्न थालेकी थिई । उसले महसुस गरी, गरिबी भनेको खुम्चिएर बाँच्नु रहेछ । एक मुठी धनियाँ वा चार ढिँडी खुर्सानीका लागि आफैँजस्तासित बार्गेनिङ गरेर खुम्चिनु । बसमा थप एकजनाको भाडा तिर्नुपर्दा खुम्चिनु । साथीभाइसँग खाजा खाँदा उनीहरूले महँगो चिज मगाइहालेमा आफ्नो भागमा पनि जोडिन्छ भनेर खानाको स्वाद लिन नसक्नु । यो सहरमा खुम्चँदाखुम्चँदा फुकेर बाँच्नु के हो भन्ने नै उसले भुलिसकिछे । यदि फुक्नु स्वतन्त्रता हो भने स्वतन्त्र हुने अधिकार ऊजस्तालाई त रहेनछ । गरिबी भनेको अभाव मात्र होइन, कमजोर, अक्षम र असुरक्षित हुनुको आभास रहेछ । र, यो आभासले आगोले भन्दा बढी पोल्दोरहेछ, सिरेटोले भन्दा बढी हिर्काउँदो रहेछ ।
यतिका दिनपछि अचानक सिट्ठी सुन्दा छिमेकीले ऊ भोकै रहिछे भनेर थाहा पाए भने ? उसलाई उत्तिखेरै ग्यास मारिदिन मन लाग्यो, तर उसका पाइला चलेनन्, हात बढेनन् । भित्तामा अररो भएर बरबर्ती आँसु खसाल्दै उसले कुकरको सिट्ठी सुनिरही ।
तीन दिन लगातार आलु मात्र खाएको भोलिपल्ट उसलाई खाटबाट उठ्दा रिंगटा लाग्यो । चियाको सट्टा नुनचिनीपानी बनाएर खाई र पसलबाट केही चाउचाउ र अन्डा ल्याएर झोल खाई । हरेक छाक इलेक्ट्रिक जग छड्कँदा उसलाई आफ्नै मुटु धड्किएजस्तो हुन्थ्यो । सोच्थी, यो बिग्रियो भने म के गर्छु होला ? कुनै वेला उसलाई यसरी आफैँलाई सजाय दिएर नचाहिँदो हठ गरिरहेछु कि जस्तो पनि लाग्थ्यो र आफैँलाई सोध्थी, ‘के गरिबी लाजको विषय हो ? होइन भने किन लाज लागिरहेछ, मलाई ? किन मलाई बेतप्रसादकी बूढीसित केही हजार सापट माग्नभन्दा बरु भोकै मर्न सजिलो लागिरहेछ ? किन म वडा कार्यालयमा गएर अरूले जस्तै लाइन लागेर भात खान सक्दिन ? यो कस्तो स्वाभिमान हो, मेरो ? घमण्ड र स्वाभिमानमा के फरक छ ? यो मेरो घमण्ड हो कि स्वाभिमान ? कहाँ पुर्याउँछ, यसले मलाई ? के जिन्दगीभर गरिब शब्दको प्रयोग नगरीकनै पनि कोही गरिब हुन सक्छ ? गरिबी अवस्था हो या भावना हो ? दृष्टिकोण हो या अनुभूति हो ? गरिबी के हो ?’
विडम्बना, ऊसित प्रश्नहरू मात्र थिए, उत्तर थिएनन् !
केही दिनयता ऊभित्र एउटा अनौठो उकुसमुकुसले ठाउँ लिएको थियो । अँध्यारो कोठामा बीसौँ दिनदेखि एक्लै लडिरहेकाले हो कि किन हो ऊ आफैँलाई अनौठो लाग्ने व्यवहार गर्न थालेकी थिई । खानेकुरा खोज्दै झ्यालबाहिर आउने कुकुर देख्दैमा रोइदिन्थी । घरबाट आउने फोनदेखि झर्को लाग्थ्यो । समाचार सुन्न छाडिदिएकी थिई । सामाजिक सञ्जालमा नयाँ–नयाँ रेसिपी सुझाउने, खानेकुराको फोटो राख्नेहरूलाई सराप्दै म्युट गरिदिन्थी । बेतप्रसाद अंकल छतमा तासको खाल जमाएर हल्ला गर्दै गरेका सुनिन्थे । अन्टी दुई दिन बिराएर कपडाको झोला झुन्ड्याउँदै बाहिर निस्कन्थिन् र बडेमानको पोको बोकेर सकिनसकी भित्र छिर्थिन् । सीमाकै उमेरकी उनकी छोरी ‘ममी, बेकिङ सोडा पनि है…’ भन्दै बरन्डाबाट कराउँथी ।
यी सबै आवाज सीमाको हीनताबोधको आलो घाउलाई बेस्कन घोचेर जान्थे ।
एक दिउँसो यसै खाटमा लडिरहेका वेला कसैले सीमाको ढोका ढकढक गर्यो । बाहिर म:मका पाँचवटा डल्ला र अचार बोकेर घरबेटी उभिइरहेकी थिइन् ।
‘सुतिथ्यौ र…? माथि घाममा आएर बसे हुन्थ्यो नि…’ भन्दै उनले प्लेट हातमा दिइन् । उसलाई यतिखेर एक मनले उनले मुन्टोभित्र घुसाउलिन् कि भनेर डर लाग्यो । अर्को मनले बरु घुसाए हुन्थ्यो, हेरिदिए हुन्थ्यो भन्ने पनि लाग्यो । तर, म:म सेलाउँछ भनेर उनी प्लेट दिएर हिँडिहालिन् ।
स्टिलको थालमा बिहानका केही डल्ला आलु त्यसै थिए । म:मका डल्ला आलुभन्दा साना थिए । कुनै सिकारूले पट्याएजस्तो तिनको मुख बाक्लो र भद्दा थियो । जतिखेरै आलु खाँदा वाक्क भएको उसको जिब्रोले कुनै नयाँ स्वाद मागिरहेको थियो, तर प्लेटका ती मःमका डल्ला उसलाई असाध्यै कुरूप लागे, मानवीय संवेदनाविनाको मृत सहरजस्तै । तिनको विरूपी स्वरूपले उसलाई गिज्याइरहेजस्तो लाग्यो । एक मनले भन्यो– फाल्दे, नखा ! तैपनि उसले प्लेट हुर्याउन सकिन र आँखा टिलपिल बनाउँदै मःम खाई, चोरऔँलाले चाटेर अचार पनि सिनित्तै पारी । यतिखेर त उसलाई आफ्नै प्रतिबिम्ब पनि आफूलाई हेर्न नसकी भित्तातिर फर्किएर रोएजस्तो लाग्यो ।
चिमोट्दै आउने प्रश्नहरूको कोलाहलदेखि भाग्न बरु ऊ सुतिरहन्थी । एक साँझ ब्युँझँदा निधारका दुवै कन्चट दुखिरहेका थिए । मुख धुन निस्कँदा बाहिर ट्याङट्याङ टुङटुङ सुनियो । उसले धारा खोलेकी के थिई, कसैले सोध्यो, ‘अनि अर्को आधा ग्यासचाहिँ कहिले ल्याइदिन्छौ नि ?’
आधा ? ग्यासवालाले आधा ग्यास बाँडिरहेको छ ? जुरुक्क उठेर उसले सोधी, ‘दाइ, ग्यास आधा हो ?’ उसलाई राम्रोसित प्रश्न सोध्न पनि आएन । फनन्न रिँगटा लाग्यो ।
त्यो साँझ उसले अलिकति तरकारी किनी । बेलुका प्रेसरकुकरले दालको पहिलो सिट्ठी फुक्दा ऊ अचारलाई गोलभेँडा काटिरहेकी थिई, झसंग भई । बडो फुर्तीसाथ बाफ फालिरहेको सिट्ठीलाई उसले अघाउन्जी हेरी । अचानक उसको आँखाअघि नौ दिनअघि सिट्ठी नलागेर प्याल्ल परेको भातको अनुहार आयो । कतिको पाकेको छ भनेर जाँच्न बहानमै दुई औँला गाडेर दुधिएको भात चाखेको याद आयो । कुक्ककुक्क गर्दै पानीसित आलु निलेको याद आयो । उसका आँखा रसाए, ओठ बेस्कन खुम्चिए । दुवै ओठ ट्याम्म अँठ्याएर उसले भित्तामा ढेस्सिएर झ्यालबाहिर हेरी । यतिका दिनपछि अचानक सिट्ठी सुन्दा छिमेकीले ऊ भोकै रहिछे भनेर थाहा पाए भने ? उसलाई उत्तिखेरै ग्यास मारिदिन मन लाग्यो, तर उसका पाइला चलेनन्, हात बढेनन् । भित्तामा अररो भएर बरबर्ती आँसु खसाल्दै उसले कुकरको सिट्ठी सुनिरही । हरेक सिट्ठीसँगै उसको एउटा गहिरो अभीष्ट पूरा भएजस्तो भयो । अब उसलाई छेउछाउका सबैलाई कुकरको सिट्ठी सुनाउन मन लाग्यो । र, त्यही सिट्ठीमार्फत चिच्याइचिच्याई भन्न मन लाग्यो, ‘के तिमीहरूलाई यतिका दिन मेरो कोठाबाट कुकरको सिट्ठी नबजेको थाहा थिएन ? के तिमीहरूलाई यतिका दिन म भोकै बसेको थाहा थिएन ? मैले पानी तताउने जगमा आलु उसिनेर पेट भरेको थाहा थिएन ? कति बहिरा हौ तिमीहरू ? कति रित्ता हौ तिमीहरू ? खोक्रा आडम्बरले डम्म भएका तिमीहरूका कान खोलेर सुन– आज म भात खाँदै छु ।’
सीमाले ग्यास मारिन । डढेर कालै भएको दालमा पानी खन्याएर उसले कुकर भिजाउन हाली । कराईमा सग्लो गुन्द्रुक भुक्लुक्क उमाली र कुक्ककुक्क गर्दै भात खाएर डङ्ग्रंग खाटमा लडी ।
भोलिपल्ट एकाबिहानै सीमालाई आमाले फोन गरिन्, ‘गाउँपालिकाले गाडी पठाइदिएको छ, तुरुन्तै बसपार्क गइहाल् ।’ जुरुक्क उठेर उसले जेब्राझोलामा दुई–चारसरो लुगा पोको पारी । उसलाई यतिखेर आफ्ना रोगी बाबुको पनि याद आएन । बसको भीड, भीडका मान्छे, मान्छेले ओसार्न सक्ने रोग, केहीको डर लागेन । अरू त अरू, यतिका दिनपछि जोडेको ग्यासको समेत माया लागेन । जसरी काठमाडौं छिरेकी थिई, उसैगरी निस्किई । उसले घरबेटीलाई गएँ पनि भनिन ।
चिनेकाले देख्लान् कि भन्ने डरले बसमा कुक्रुकिएर बसेको केही बेरमा उसलाई सिटमा केही वस्तुले बिझायो । ढाकाको एकमुखे पर्स रहेछ । भित्रपट्टि जतनसाथ पट्याएर राखेको एउटा हजार र निकै खुजुराको बिटो रहेछ । उसले पैसा पूरै गन्न सकिन, खुजुरा नोटहरूमा आफ्नै अनुहार झलझली देखी । त्यो पैसा आफूजस्तै कसैले कतिचोटि गनेर राखेको थियो होला भन्ने सोच्दा मात्रै उसका आँखा भरिएर आए । नजिकै कसैले हेरिरहेजस्तो लाग्यो र झटपट आँसु पुछी । गाडी हिँड्यो । उसले पर्सको चेन लगाएर झ्यालबाट टाउको निकाली र पर पुगुन्जेल रित्तो सहरलाई हेरिरही । सोची, उसको जिन्दगीको इतिहासमा काठमाडौं एउटा यस्तो सहर बनेर रहनेछ, जसले हप्तौँसम्म उसको भान्सामा चुलो र मनमा दियो नजल्दा पनि थाहा पाएको थिएन ।
त्यसपछि उसले हातको पर्सलाई जतनसाथ फुटपाथमा पर्ने गरी फ्याँकिदिई । र, कामना गरी, यसमा कुनै गर्जो टार्न हत्ते परेकाको आँखा परोस् !
(स्रोत: नयाँ पत्रिका – झननयाँ )