~मनाेज ज्ञवाली~
सम्बन्ध र साथ एकनास रहदैन नि,
के हुन्छ के, खै एक रङ्गमञ्च जस्तै।
मुस्कुराहट सबै न फुल जस्तो हुन्छ,
न त व्यवहार पारदर्शी पानी जस्तो ।
भनिन्छ सम्बन्ध निःस्वार्थ नि हुन्छन्,
तर खै भगवान पुजामा त स्वार्थ हुन्छ।
निशर्त हुने मायाले त जवाफ खोज्दछ,
समय र सोचको ठुलो सम्बन्ध छ साथी।
हामीले मान्नै पर्छ समयले कोल्टे फेर्छ,
सम्बन्धहरूको परिभाषा नि फेर्न सक्छ।
सम्बन्धमा पनि हारजित हुन्छ र साथी,
हारजित होला नहोला अपेक्षा हुन्छ नि।
दिल दिमागको द्वन्द्व अनि सम्झौतासँगै,
तिता मिठा सम्झनाको सँगालोसँगै,
सोच र समयसँगै परिभाषित हुँदै,
याद साथमा लिई नदि झैँ बढिरहन्छन्।
नाजुक चराहरू झैँ यी सम्बन्धहरू,
च्यापेर राखौं निस्सासिएरै मर्छन्,
खुल्लै छोडौं भुर्र उडेर जान्छन्।
साह्रै जतनले सम्हालेर पो राख्नु पर्छ,
अहं, सिसा जस्तै चर्किन दिनै हुन्न।
पानीको फोका र हावाको झोका जस्तै,
साह्रै सम्हालेर पो राख्नुपर्छ है साथी ।
विश्वासको टेकोमा जतनले राख्नु पर्छ,
समयसँगै टुट्न दिनु हुन्न, छुट्न दिन हुन्न !!
(ज्ञवाली नबिल बैंक लिमिटेडका नायव महाप्रबन्धक हुन् ।)
(स्रोत : रारापाटी डट कम )