~अन्वेश राई थुलुङ्ग~
छुट्टिदै गर्दा हल्लिरहेको हात । माथिसम्म उठेर उमंगपूर्वक । अनि ती हल्लिरहेका आत्मिय हात मेरो मनको बगरसम्म पानीका शीतल छालजसरी भिजाइरहेका थिए । अनि त्यहि हातको सीधा मुनि थियो गुराँस फुलेजस्तो मुस्कान बोकेका ओठहरू । यदि जिन्दगी पलमा बाँचिन्छ भने त्यो समय म सबैभन्दा धेरै बाँचिरहेको थिँए सायद, जस्तो इलामको लभडाँडामा चलायमान हुस्सुभित्र बाँचिन्छ । जस्तो वर्षातमा माई खोलाको किनार बाँचिन्छ । अघि बढिरहेको गाडीबाट मैले पनि मुस्कान साटेँ अनि हात हल्लाएँ ।……….. (अनि ?)
¤ ¤ ¤
गर्मी शरिरको कुनाकुना गल्छीहरू खोज्दै बगिरहेको थियो । गाडी कुदेको थिएन । कन्काई प्रा.लिको बस, जसमा हात झुण्ड्याउन मिल्ने ह्याङ्गर झुन्डिरहेको थियो । पारदर्शी सीसाजस्ता । ठिक अगाडी आरक्षण सिटहरू थिए । महिला अशक्त अनि जेयष्ठ नागरिक क्रमशः रातोले लेखिएका । क्षणभर अघिको एक सानो किस्सा म सोचिरहेको थिएँ । यो प्रसंगको मतलब मैले भन्न लागेको कथासँग बिल्कुल हैन । तर पनि यात्राको बेला यो सानो घटनाले म एकोहोरिएको थिएँ । बिनाकारण ।
विराटनगरबाट फर्किँदै गर्दा मस्जिद अगाडी दिउँसोको नमाज सकिसकेपछि एक चच्चा निस्किनुभएको थियो । बहुत मजाकिया ।
‘‘मिँया चिया खाने हो तिमी ?’’
‘‘ना ।’’
‘‘त किन ढिला गरिराछौ मियाँ, देशलाई तिम्रो खाँचो छ । जाऊ ।’’
‘‘हजुर ?’’
‘‘चच्चा चिया खान्छ मियाँ, बसेर खाउँ भन्दैछु । तिम्रो औरत तिमीलाई पर्खिरहेकी होली ।’’ सायद लेखक नहुँदो हुँ त । यी साना साना क्षणहरू याद नहुँदा हुन् । उनको आँखा मुनिका सुरमाले गाढा बनेको आँखा पनि याद नहुँदो हो । यसै कल्पेर गाडीको झ्यालबाट बाहिर हेर्न थालेँ ।
गाडी हावालाई चिर्दै बढिरहेको थियो । गतिशील शीतल हावा मुहारमा बज्रिरहेका थिए । बगिरहेका थिए दृश्यहरू मेराअगाडी । जस्तरी बगिरहन्छन् स्मृतिहरू मानिसको मानसपटलमा । इटहरी, विराटचोक, खोर्साने अनि जंगलहरू सररर सररर ।
चुरेका खोलाहरू जो देखिएजति फेरी पनि थिए । फेरीपनि साना जंगल छिर्ने बाटाहरू स्मृति ताजा गर्दै थिए । मेरो बाल्यकालहरू ताजा गर्दै थिए । मेरा बाल्यकालका सानासाना सपना सम्झाउँदै थिए । किशोर हुँदाका मैले मनपराएकाहरूसँगको प्रेमिल कल्पनाहरू सम्झाउँदै थिए । समयसँगै धेरै कुरा थपिए, बद्लिए । बस केहि कुरा यथावत छन् जस्तो चुरेबाट निस्केका खोलाहरू । सुख्खा सुख्खा । तर पर पर धेरै परसम्म । जस्तो कुनै कथाजस्तै सुन्दर तर अपुरा । ………
पथरी पुग्नभन्दा अगाडी सानो खोला (नाम याद भएन ।) छ । ठूलो हरियो चौरहरूमाझबाट बग्ने । त्यहाँ राँगा भैँसी बसिरहेका थिए । कुनै बाथटबमा जसरी । सफा पानीमाझ आधा भिजेको शरिरको आनन्द उ नै जानोस् । म त यात्रा गरिरहेको हुँ । एउटै घटनामा अडिनु यस पललाई जायज थिएन । तर यतिकैमा कसैले मेरो काँध छोयो । कल्पना बिथोलियो । जस्तो गोठालाहरू आएपछि आहलहरूको आराम हराउँछ त्यस्तरी नै बिथोलियो । छेउको अपरिचित बृद्ध मानिसले मेरो काँधलाई सिरानी बनाइसकेका थिए । फेरि म आफ्नै काल्पनिक संसारभित्र पुगिसकेको थिएँ ।
धेरै रमाइलो छ हेर्नलाई जीवन । सुन्नलाई धेरै मजा छ । बोल्नलाई पनि शब्दहरू होलान् तर बाँच्नुपर्ने समय वास्तवमा बाँच्न खोज्दा खोज्दै अपुरा भैदिन्छन् । याद आउँछ अचानक मृत प्रियहरूको स्मृतिहरू । मानिस अपुरो भएर मर्छ । मर्ने दिनअगाडीसम्म पनि उसका सपना हुन्छन् । लक्ष्यहरू हुन्छन् । जिन्दगीप्रतिका आशाहरू हुन्छन् अनि धेरैकुरा ।……… (अनि ?)
¤ ¤ ¤
गाडी दमक आइपुगेर रोकियो । मेरो छेउका बा उत्रिए । सिट खाली भयो । झ्यालमा मानिसहरू आफुले बेच्ने सामानको विज्ञापन गर्न थालिसकेका थिए । ‘‘अनरसा अनरसा अनरसा । लिने हो भाइ । अनरसा अनरसा अनरसा ।’’ कति सादा छ मानिसको जीवन । कति सादा । बस साटफेरको न हो । बेच्ने र किन्नेको जस्तै । लेनादेनाको । नदिने र नलिनेहरूको जस्तै । नत्र यो मैलो सर्ट लगाउने, हातमा मेरो छिमेकीको घरको भित्तामा टालिएको हनुमानले बोकेको संजिवनी पर्वत जस्तै अनरसाको टोक्रो बोक्ने र म बिच के परिचय छ र ? गाडी गुड्यो ।
दमक, रतुवामा छठको समयजस्तरी नै म पनि कुनैदिन रंगिन बगेको थिएँ । यस्तरी पो सम्झिन पुगेछु दमकलाई आज । र आज खोलाको एक किनार बसेर दुरदराजसम्मको जमिन अनि क्षितिज हेरेजस्तरी म बसिरहेको थिएँ, आफ्नै स्मृतिको कुनै पानालाई हेर्र्दै । मेरो छेउको खाली सिट फेरी खाली रहेन । कोहि यात्रु आइसकेको थियो ।
पहेँलो कुर्थामा । बिल्कुल अपरिचित । कोहि । तर पनि मनमा भने लागिरहेथ्यो म उनलाई पहिल्यैबाट चिन्छु । कारण यो थिएन कि म उसलाई साँच्चिकै चिन्थे । यो बिल्कुल नयाँ भेट नै थियो । तर यति विश्वस्त हुँदा पनि लागिरहन्थ्यो म आफैँलाई कल्पनामा फेरि फर्काउन सकिरहेको छुइन । लेकको हरियो नागिमा फुलेका सानो पहेँलो टुकिफूल जस्तै उनी यात्रामा अनायास जोडिइ सकेकी थिइन् ।
उनको कर्ली कपाल पहाडका बाटाहरूजस्तै थियो । कालो अनि घुम्रिएको । इस्कुस मचानमा स्प्रिङ्ग झैँ बटारिएका मुन्टाजस्तै । कल्पनामा व्यस्त हुँदा हुँदै पनि मैले आफैँलाई उनको कपालबाट आइरहेको बास्नालाई बेवास्ता गर्न सकिरहेको थिइन । उनका चुपचाप बसेका हातहरूलाई कसो चिहाएर हेर्न पुगेछु र उनको साहिँली औँलाको औँठी देखेँ । अचानक हठात् उनको हात मुठि भएर कसिए । मैले आफ्नो मुहार बाहिर फर्काएँ । (यस्तो प्रशंसा त भनियो होला नी ?)
धत् नजिस्क न । यस्ता कुराहरू कहाँ भनिन्छन् त । बस् आँखासम्म आएर चुपचाप अडिदिन्छन् । बस् ओठसम्म आएर मुस्कान बनिदिन्छन् । बस् कुनै कहानीजस्तै अपुर्ण स्मृति बनिदिन्छन् । (बोलिएन त ?)
‘‘कहाँ सम्म जानुहुने हो हजुर ?’’ प्रश्न कति मीठो सुरुवात है । (हुनसक्छ ।)
‘‘सुरुङ्गासम्म ।’’ तर उनको उत्तर पर्वत जसरी उभिएको थियो । र टोड्के छहारा जस्तै म पनि परिस्थितिको किनारा सम्हालेर हाम्फाल्नुपर्ने थियो । मैले फेरि प्रश्न सोध्ने आँट गरिहाल्न सकिन ।
एकैक्षणलाई मौनता छायो ।
‘‘सुरुङ्गासम्मको भाडा थाहा छ तपाईलाई ?’’ ओहो, मनको माइपोखरीमा पात खसेजस्तो ।
‘‘अँ… ।’’ उनको मुहारको भाव म नियालीरहेको थिएँ । ‘‘तर यो प्रा.लि.को गाडी भएकोले तपाईलाई नठग्ला ।’’ उनी सहमतिमा टाउको हल्लाएर मौन भइन् । फेरि ।
‘‘हजुरको घर चैँ दमक ।?’’ अलिकति आश्चर्य लागिरहेको थियो मनमा ।
‘‘हजुर । माइतघर ।’’ उनी थोरै लजाईन् ।
‘‘ए माइतघर चैँ तपाईको दमक ?’’
‘‘हजुर ।’’
‘‘अनि घर चैँ ।’’
‘‘इलाम ।’’
‘‘मेरो घर पनि इलाम नै हो त । इलाम कहाँ ?’’
‘‘फिक्कल ।’’
‘‘ए मेरो त इलाम बजार तिर हो ।….. अनि लभम्यारिज ?’’ उनी अलिकति लजाएर मुस्कुराइन् सहमतिमा । अलिकति झुकेको थियो उनको मुहार । जो लाजका मुस्कानहरू छोडिरहन्थे । चियाबारीका हुस्सुहरूजस्तै । ‘‘ए । अनि कति भो विवाह भएको हजुरको ?’’
‘‘सात महिना ।’’ यो यस्तै अनुभुति थियो जस्तो मैले अनुभव गर्थेँ राँके जाँदा गाडीले देउमाईमा मिसिने खोल्साहरू तर्दा उछिटाउने पानीजस्तै । जस्तो नयाँबजारदेखि प्याङ्ग तेर्सो हिँड्दा डाँडामा हुस्सुमा हराउनेका पुराना रुखहरू देख्दा । (अनि ?)
¤ ¤ ¤
‘‘ए अनि हसबेन्ड के गर्नुहुन्छ ?’’
‘‘विदेश जानु भको छ ।’’
‘‘कति भो ?’’
‘‘एक महिना जति भो ।’’
‘‘कुन ठाउँ ?’’
‘‘कुवेत ।’’ बर्खाको समय छानाबाट थोपा थोपा झरिरहेको पानी जस्तो थियो उनको उत्तर । मानौँ त्यहि थोपा थोपा उत्तरहरूसँग म खेलिरहेछु ।
‘‘अनि तपाईँ के गर्नुहुन्छ ?’
‘‘म लेखक हो ।’’ उनको नजर मतिर तेर्सिएका थिए, पुलुक्कै । हामी जेबाट यात्रा गरिरहेका थियौँ त्यहाँ सिर्फ हामी मात्र थिएनौँ । आफ्नो अगाडी देखेको एक युवती आफुमाथिको यात्रुको लागि राखिएको ह्याँगर सम्म हात पु¥याउन बल गरिरहेकी थिईन् । तर उनलाई आफ्नै उचाईले माथ दिइरहेको थियो । अर्का दुइ युवती आफ्नो लागि रहेको आरक्षित सिटको दावा गरिरहेका थिए, मुस्कान सहित । उभिरहेका पुरुषहरू बढा सावधानीपुर्वक उभिएका थिए । मानौँ उनीहरूबाट अनाहकमै दुव्र्यवहार हुन सक्छ । (हाम्रो कथा त्यता छैन नी हजुर ।) ए म भन्दै थिएँ ।
उनको मौनता आफैँमा गढेको थियो, कतै । जस्तो बादलमुनिको तराई बनिदिन्छ पहाडबाट हेर्नेका लागि । तर त्यो चिन्ता थिएन ।
¤ ¤ ¤
‘‘म पहिलोचोटी पहाड जाँदा पहाडको बाटो देख्दा डर लाग्थ्यो । टर्निङ्गै पिच्छे चिच्याउँथे । झ्याल, सिट जे भेट्यो त्यहि च्याप्पै समातिहाल्थे ।’’ उनी अनायास खुल्न थालिन् । म सुन्न थालेँ । ‘‘त्यसपछि त विवाह पनि भैहाल्यो ।’’
‘‘ए, अनि बुबाआमाले केहि भन्नुभएन ?’’ खासमा मेरो उद्धेश्य जिस्काउनु थियो ।
‘‘केहि समय बोलाउनुभएन तर छोराछोरीको माया लागिहाल्दो रहेछ । बोलाईहाल्नुभयो ।’’
‘‘अनि कराउनुभएन ?’’
‘‘अलिअलि ।’’ उनको थोरै हाँसो साससँगै मिसिए । तर पनि उनको लाज इलामका हुस्सु जस्तै । लागिरहने । अनि त्यहि लुर्केको मुहारको एक कुना हेरेर म बोलिरहेको थिएँ ।
‘‘अनि पढाई ?’’ मैले पुनः प्रश्नहरू गर्न थालिसकेको थिएँ ।
‘‘बाह्र ।’’
‘‘ए, अनि कति वर्ष पुग्नुभयो अहिले चैँ ?’’ सोधेपछि मनमा एक पललाई अलिकति ग्लानी जस्तो भयो । तर महशुष हुन नपाउँदै उनले उत्तर दिइन् ।
‘‘बिस वर्ष ।’’ प्रश्नहरू धेरै थिए, मनमा । तर सबै कुरा सोधेर पनि कहाँ सम्भव हुन्छ र ? केहि समयपछि उनले सोधिन्, ‘‘लेखकहरू त प्रेम गर्न माहिर हुन्छन् रे हो ?’’ केहि बेर म प्रश्नको आशय नै जान्न खोजिरहेको थिएँ । ‘‘साँच्चै सोधेको मैले ।’’
‘‘मान्छेलाई प्रेम गर्न कसैले सिकाउनु पर्छ र ?’’ मुस्कानसँगै मैले प्रतिप्रश्न राखेँ ।
‘‘खै ।’’ उनको मुहारमा म फेरि हराउन थाले । ‘‘लेखकले प्रेमलाई कस्तो राम्रो गरि मिलाएर लेख्छन् नी त ।’’ लाजैमा उनले थोरै बोलिन् । म केहि नबोली मुस्कुराए । ‘‘सरि । जिस्क्या है ।’’ मैले लामो स्वास फेरेँ । ‘‘खासमा मलाई मिलाएर बोल्न आउँदैन ।’’
‘‘खासमा तपाईँलाई प्रेम के जस्तो लाग्छ ?’’
‘‘भन्नाले ?’’ उनले पहिलोपल्ट मेरो आँखामा सिधा हेरिन् । ‘‘कुन अर्थमा भन्नुभको हो ?’’
‘‘तपाईँ तपाईको श्रीमान बाहेक अरु कोहिसँग प्रेममा पर्न सक्नुहोला ?’’
‘‘त्यस्तो त म हुनै दिन्न ।’’ उनको मुहार यसबेला भने कठोर देखिए ।
‘‘त्यसो हुँदा लेखक प्रेम गर्न कसरी माहिर होलान् र पाठकहरू अझ चलाख जो छन् ।’’ उनी तत्काल हाँसिन् ।
‘‘निकै बाठो तपाईँ । कुरा घुमाएर है ।’’
‘‘तर म आफैँ चैँ यो जन्म जन्मको सम्बन्धमा विश्वास नगर्ने मान्छे हो है ।’’
‘‘बुझिन ।’’
‘‘प्रेमकै लागि हुन्छ नी पर्खेर बस्ने ।’’
‘‘मुना मदन जस्तै भन्नु भा हो ?’’
‘‘अँ ।’’
‘‘अनि त्यसमा गलत के छ ?’’ कुरा जस्तै गाडी पनि गतिमा थियो । सिँगो धर्ति र क्षितिज चिरेर गाडी गन्तव्यतिर लम्किरहेछ यस्तै आभाष भइरहेको थियो ।
¤ ¤ ¤
‘‘मलाई दिमाग नभएको प्रेम मनपर्दैन ।’’ उनको हरियो मुहारमा मेरो कुराले पहिरो खसेजस्तो भयो सायद । उनी केहि क्षणभर केहि बोलिनन् । ‘‘कथाहरूभित्र प्रेमको व्यवहारिकता छैन । कसैको यादमा किन कोहि बुढो भएर मर्ने ? उसको आफ्नो जिन्दगी छैन ?’’
‘‘भनेपछि तपाईलाई देवदास फिल्म पनि मन पर्दैन ?’’
‘‘अहँ, जिन्दगीमा मुभ अन हुन पनि सिक्नुपर्छ । तपाईँ नै भन्नुस् । देवले पारुको लागि ज्यान दिनु प्रेम हो ? मुना मदनमा मदनले आफ्नो ख्याल नगर्नु के त्यो प्रेम हो ?’’
‘‘खै ?’’
‘‘पागलपनलाई प्रेमको अर्थ दिन सकिँदैन । उसले कहिलेकाँहि प्रेम गर्छ भनेर उसको पिटाई, दुव्र्यवहार सहनु यसलाई कसरी हामी प्रेम भन्न सक्छौँ ?’’
‘‘तपाईको ब्रेक अप भको हो ?’’ थोरै स्वासको भरमा उनले मलाई सोधिन् । इलामको घुम्तीजस्तरी नै उनले मेरो नियन्त्रण गुमिहाल्यो ।
‘‘किन ?’’ म हाँसे ।
‘‘हरेक मान्छेमा कमन सेन्स त भैहाल्छ नी । पिटाई सहेर को बस्छ ?’’
‘‘मैले बुझिन ।’’
‘‘प्रेम कति आनन्द हुन्छ । त्यहि आनन्दलाई बढाएर कल्पना गर्नु न । जिन्दगीसँग किन जोड्नु के कथालाई । के तपाईँलाई कहिल्यै यस्तो प्रेमको कल्पना मात्रले आनन्द दिएन र ?’’
‘‘अनि यदि तपाईको जिन्दगीमा पनि रक्सी खाने मान्छे आयो भने…’’
‘‘कस्तो नेगेटिभ के तपाईँ । मैले कहिले अस्वीकार गरेको छु त तपाईको कुरा । तर त्यसरी नै व्यवहारिक सोचेर पनि त भएन । के तपाईँलाई कहिल्यै कुनै सुन्दर डाँडाको नागि, चौतारामा जाँदा ऊ पनि सँगै भको भए जस्तो लाग्दैन ?’’
‘‘तपाईँले कुरै बुझ्नु भएन ।’’
‘‘तपाईँलाई एउटा कुरा भन्छु ल नरिसाउनु है ।’’
‘‘भन्नु न ।’’
‘‘कसैले पनि साँचो प्रेमको आयु दुइ दिनको राख्दैन । र राखुन्जेल तपाईँले पनि त ब्रेक अप हुन्छ भनेर सुरु गर्नु भको थिएन होला नी । भन्नुस् त ?’’ उनले मुहारमा निकैबेर हेरिन् । म टाउको हल्लाइरहेँ ।
‘‘देख्नुभो त प्रेम गर्न माहिर लेखकलाई ।’’ हँसिलो मुहार मैले उतिर फर्काइदिएँ ।
‘‘मेरो आमा हुनुहुन्न । बुबाले अर्को विवाह गर्नुभयो । तपाईले भनेजस्तो त्यो व्यवहारिक नै थियो । तर आमाप्रतिको प्रेम चैँ आमा हुन्जेल मात्र हुनेरछ भन्ने कुरा चैँ मैले सानैमा बुझे क्यार ।’’ गाडी सुरुङ्गा पुगिसकेको थियो । ‘‘तपाईको कुरा पनि ठीकै होला तर सम्बन्ध रहुन्जेल प्रेमलाई भन्न सकिन्छ भने भन्ने हो । बोल्न सकिन्छ भने बोल्ने हो । देखाउन सकिन्छ भने देखाउने हो ।’’
‘‘अनि ब्रेक अप भयो भने ?’’
‘‘तपाईँले जस्तो गर्ने हो ।’’ भनिसक्दा सुरुङ्गा आइपुग्यो । उनी अगाडी निस्किन् अनि अचानक उत्रिइन् । (अचानक ?) हो अचानक । बस रोकिएको थियो । हुन्छ नी मानिसलाई आशा, त्यस्तै आशा । ऊ फर्किएर हेरेको भए । एकैपटकसम्म त फर्र्किए हुने भन्ने थियो । (नाम सोध्नुभएन ?) सोधिनरैछु । (किन ?) ऊ त्यति चाँडो झर्छिन् भन्ने थाहा थिएन । (त्यसपछि ?) म हेरिरहेँ । उनी उत्रिइन् र सिटि सम्म गइन् । गाडी गुड्यो । बिस्तारै गति लिँदै । मैले पछाडी फर्केर हेरेँ । गाडी अलि अगाडी पुगेपछि मैले अन्तिमचोटी नजर फर्र्काएँ तब झ्यालको सिसाबाट देखेँ । उनी फराकिलो मुस्कान सहित अचानक फर्किइन् अनि बिदाईका हात हल्लाइन् । मैले फर्काएँ । जस्तो खेतका गराहरूको पानी भरिन्छ नी आलि अलिकति भत्काएर त्यस्तै मिठास थियो त्यो पल । बस तेर्सिँदा लागिरह्यो के यस्तो पनि हुन्छ र ? उनले भनिनन् तर आफैँलाई आफ्ना विचारहरू अपुर्ण लागे उनको कुराले । वास्तवमा उनले तपाईँले जस्तो गर्ने हो भन्दा म पुर्ण महशुष गरिरहेको थिएँ । उनले भनिनन् । ‘‘मुभ अन । आखिर प्रेम गरेको छु भनेर कसैलाई पर्खनु पनि आफ्नो प्रेमको घमण्ड त गरेको हो नी । उसलाई पनि बाँच्न दिन आफु पनि बाँच्ने ।’’ तर सायद प्रेमको पुर्ण परिभाषा म पनि थिइन र उनी पनि । यद्यपी हाम्रो बातचित अविष्मरणीय थिए । (अनि ?)………….
(स्रोत : शब्दसोपान डट कम)