~सोमनाथ सिग्देल~
लक्ष्मणखातिर बूटी खोज्नाको रामले दिदा काम ।
हनुमान् गएर ल्याए, ‘सक्नेलाई दिनू काम’ ॥
(१)
जाली दानव वृकले शिवको सेवा गरी लिएर वर ।
गौरी नै लिन खोज्यो, ‘नगरे ठगमा पत्यार भर’ ॥
। (२)
कृष्णहरूको द्विज झैं रूप जरासन्धले बुझी चाल ।
क्षत्रियपन चिह्निहाले, ‘जानू आकारले चाल ॥’
(३)
सागर मथेर मदिरा दानवलाई सुधा त सुरलाई ।
हरिले बाँडेर दिए, ‘योग्य दिनू योग्य जनलाई ॥
(४)
माइत यज्ञोत्सवमा हठले आफै गई सतीलाई ।
निन्दाले मर्नुपयो, ‘कहीं नजानू नबोलाई ॥
(५)
दुर्योधन चुक्ता हाँसे जो भीमसेन बैठकमा ।
कलको मूल यही भो, ‘नउठाउ वैर आपसमा’ ॥
(६)
उद्धार गर्न कुलको गङ्गा ल्याई वहाँ भगीरथले ।
अरु पनि पवित्र पारे, गर्न सबैको भलो जनले’ ।
(७)
जोधा रावणलाई कुवेरले निज विमान सुम्पेर ।
अलकापुरी बचाए, ‘बचाउनू थोरले घेर’ ॥
(८)
मृत सञ्जीवन विद्या विनय गरी देवतर्फका कचले ।
गुरु शुक्रबाट पाए, ‘काम लिनू नम्रता नम्रता गुणले’ ॥
(९)
गाई गोपाल हरी हरिलाई छकाउने गरी चाल ।
ब्रह्मा आफै छकिए, ‘नगरे जाली-विष जाल’ ॥
(१०)
ग्राह र दुःशासनले ग्रस्त गज द्रौपदी परे शरण ।
हरिले रक्षा गरिए, ‘गर सङ्कटमा ‘हरिस्मरण’ ॥
(स्रोत : कमल दीक्षितद्वारा सम्पादित पुस्तक “सूक्तिसिन्धु (फेरि),जगदम्बा प्रकाशन, २०२४” बाट सभार)