कविता : उद्योग के भन्छ ?

~चक्रपाणि चालिसे~

(१)
अर्काकै भरमा छ बिल्कुल खुपो आफूमहाँ शून्य छ ।
इच्छा राख्छ करोडको जिउभने आलस्यको दास छ ॥
डिल्ली हाँक्तछ जोडिदिन्छ गफले आकाश पाताल नै ।
शूरो झै अघि सर्न खोज्छ रणमा ताऊ जुगामा दिदै ॥

(२)
खूबै पो छ कि झैँ गराइ सँगमा लाटा सुधा भुच्चुक-
लाई हिंड्छ अघी पछी सफरमा बन्दै बडो उत्सुक ॥
पुर्खाको पुजी क्यै भए अमिर झै फुक्ने पनी गर्दछ ।
देख्तामा, अरुले झलक्क सहसा चित्तै पनी हर्दछ ।

(३)
यो सारा छ परन्तु आखिर जसै सांच्चै परी आउँछ ।
छोप्तै पुच्छर जो लुते कुकुर झैं भुक्तै पछी धाउँछ ॥
त्यो थैलो भुसको छ बुद्धि न बुता भत्ता न पत्ता हुँदै ।
सिल्लो मैं दिन काट्छ गल्लिबिचमा घुम्दै र हाँस्तै हुँदै ॥

(४)
भारी चर्तिकला जसै अरु अरू उद्योगिको देख्तछ ।
कल्पो चित्तविषे टुलुटुलु उसै हेरेर टोलाउँछ ॥
लाग्छन् लोकहरू बजाई थपडी चौतर्फ घेरा दिन ।
कोही हुन्न सहाय गुम्छ उसको व्यर्थे भई जीवन ॥

(५)
आफूमा खुपि क्यै नभैकन पनी देखी अरुको सुख ।
बोक्रे धाकमहाँ हिंडीकन उस · लाएर ठाडो मुख ॥
को पो लाग्छ उँभो तसर्थ सहसा यो चाल छोडीकन ।
उद्योगी बन भन्छ मित्र जनमा, उद्योगले दिनदिन ॥

This entry was posted in कविता and tagged . Bookmark the permalink.

1 Response to कविता : उद्योग के भन्छ ?

  1. Tikaram Regmi says:

    मैले खोजिरहेको कविता !! आहा कति उत्प्रेरक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.