~जोगवीरसिंह उदास~
हामी परेर अलपत्र यहाँ रहेका ।
केही नजानिकन मूढ अती भएका ।।
उद्धार हामीहरुको गरी को छ लीने ?
यै ठाउँमा असल स्वर्ग बनाई दिने ।।१।।
केही छ भाग्य कि त छैन त यो नजानी ।
मानी नमानिकन खालि लिई हरानी ।।
हामी गीरीकन रसातल जान लाग्यौं ।
हामी भएर मूढ आज कसोरि जाग्यौं ।।२।।
खाली गराई मति भ्रष्ट दगा लिएर ।
सम्पूर्णलाई छलि दुख अती दिएर ।।
खाली लिइ उदरको मनभित्र ध्यान ।
पाई कसोरि रहुँला अब हामि ज्ञान ? ।।३।।
प्राणी भयौं तर भयौं जड् झैं अहीले ।
सत्मार्गमा नदिइ चित्त रती कहीले ।।
हामीमहाँ कसरि ईश भई कृपालु ।
देलान ज्ञान भन आफू भई दयालू ।।४।।
जोगवीरसिंह उदास
साहित्यकार जोगवीरसिंह उदास (१९४२-१९९८)काे वास्तविक नाउँ ‘योगवीरसिं कंसकार’ भएपनि उनको रचनाहरू भने जोगवीरसिंहको नाउँबाट छापिए। सिंह नेपाल भाषाको पुनर्जागरणकालका प्रसिद्व कवि हुन्। पेसाले व्यपारी (मछिन्द्रबहालमा उनको कपडा पसल थियो।) रचीले उनी अनवरतरुपमा लागीपर्ने साहित्यानुरागी थिए। त्यो बेलाको साहित्य, शिक्षा, एवं समाजसुधारतर्फ सिंह निकै अग्रसर व्यत्ति थिए। जस मध्ये उनले आफ्नै स्वामित्वमा कृष्णचन्द्र अज् र्याल, चक्रपाणी चालीसे, बाबुराम आचार्य, शम्भुप्रसाद ढुंग्याल, सिद्विदास अमात्य, लेखनाथ पौड्याल आदि जस्ता कविहरूका भेटधाटका निम्ति लगभग छ, सात वर्ष आफ्नै घरमा अनुकूल वातावरण बनाएर ‘गोष्टी-सुख’ प्रदान गरेका थिए।
(स्रोत : शरदचन्द्र शर्माद्वारा सम्पादित “जाेग-मण्डलीका कवि र कविता”बाट साभार)