~इश्वरवल्लभ~
त्यसदिन अलिकति गीत गाइरहन मन लागेको थियो
वरिपरि सबै उल्लसित र हरियो भइरहेको थियो,
मैले एउटा कलिलो हाँगा समाएर
हावामा हल्लाएको पनि हुँ – कसैलाई स्वागत गरेझैं गरेर
म क्षितिजबाट आउनेहरुलाई
परको रातो घाम समातेर आउनेहरुलाई
ठुलो टापको आवाज लिएर आउनेहरु
कि बिस्तारै बिस्तारै आउनेहरु, सबै मेरा आफन्त थिए,
म तिनीहरूलाई कलिलो हाँगाले बोलाइरहेको थिएँ ,
हेरिरहेको थिएँ – कसरी आउँछन् त्यहाँबाट तिनीहरू,
तिनीहरूले त पहिले आकाशको पर्दा सार्दारहेछन्
गोरेटो हेर्दा रहेछन्,
अनि अलिकति समयको आली र शिखरका भरेंग
– नाघेर आउँदा रहेछन्
तिनका पाइतालाहरु कमलो घामले बुनेको हुँदोरहेछ
कलिला साँझहरुले बाँधेको हुँदो रहेछ
कोही त् खोलाजस्तो हँसिलो चेहरासित आउँदा रहेछन्
मैले सधैं खोजिरहेको
अन्जान र नचिनिंदाझैं हुने बैंसका डोलीहरु चढेर
कि कहिले चारै दिक् ले चारैतिरबाट
किरणको नोलले बोकेको उलिन्काठ चढेर
पनि आउँदा रहेछन् ।
त्यसदिन अलिकति उंचाइ समाइरहन मन लागेको थियो
छेउमा कमलको फूलको एक बिटालाई
अंकमाल गरी ती तथागतहरुलाई हेर्न मन लागिरहेको थियो
आगत भएर पनि अनागतझैं कतै लुकिबस्ने
परिवेशका भव्यताहरु,
संगै आएर छोइसकेपछि पनि नदेखिने
– वातावरणका सौष्ठवहरु – म हेरिरहन्छु
तिनीहरू आउन्जेल
भय लाग्छ मैले स्वागतमा हल्लाइरहेको यो कलिलो हाँगा
सुक्ने त होइन तिनीहरू आउन्जेल
त्यसैले म हाँगाहरुलाई छिनछिनमा शीतले भिजाइरहेको थिएँ
तिनीहरूलाई छायाँको ओत पनि चाहिएला भनी,
म रूख उमारिरहेको थिएँ,
तिनलाई राम्रा गीतहरु मनपर्लान्, कि भनेर
– म शब्द कपिरहेको थिएँ
बिस्तारै बिस्तारै मोहका छिनाहरुले
तिनीहरूलाई मनपर्ने किसिमको एउटा मूर्ति
– ढुंगामा खोपिरहेको थिएँ,
खोइ त, अहिलेसम्म यहाँ किन आइपुगेनन्
– भन्ने पनि लाग्छ
कतै ती आगतका आभासहरु मरुभूमिको
– टल्किने बालुवा त होइनन्
– शंका लाग्छ
तैपनि त्यसदिन गीत गाइरहन मन लागेको थियो
धरोधर्म, तिनीहरू निश्चय आउँछन् भनेर
स्वागतमा हाँगा हल्लाइरहन मन लागेको थियो ।