कथा : सुश्मा

~महेश पौड्याल~

सहरको स्कुल गाउँको जस्तो हुँदो रहेनछ । गाउँमा शिक्षकमाथि खासै औँला उठ्दैनन् । सहरमा त सबै अभिभावकहरू पनि पढालिखा र सचेत हुँदा रहेछन् । मात्रा रड्कियो कि आइपुगिहाल्छन् गुनासो गर्न ।
आफू त गाउँले मान्छे, सहरका यति धेरै कुरा बुझ्न निकै समय लाग्यो । पाँच वर्षसम्म एउटै स्कुलमा पढा पछि अब भने विद्यार्थी र अभिभावकलाई केही हदसम्म बुझेँ भनेजस्तो लाग्यो ।

स्कुलले अभिभावक दिवस् मनाउने निर्णय ग¥यो । सहरको स्कुल, ताम्झाम् नहुने त कुरै भएन । बैठक बोलाइयो । बैठकमा मैले कार्यक्रममा प्रस्तुत गरिने सांस्कृतिक र साहित्यिक पाटोको “इन्जिनियरिङ्” गर्ने दायित्व पाएँ । मलाई मन पर्ने क्षेत्र भएको हुँदा यो दायित्व पाउँदा म खुसी भए । दायित्वसँगै चेतावनी पनि पाएँ, “सर, कार्यक्रम अत्यन्त रोमाञ्चक हुनु पर्छ है, तीन लाख रुपियाँ खर्च हुँदैछ ।”

तयारी द्रुतगतिमा चल्यो । कार्यक्रको अघिल्लो दिन सबै बसेर अन्तिम तयारीको समीक्षा गरियो । प्रस्तुतिका लागि योग्य कार्यक्रमहरूको छनोट पनि गरियो । कार्यक्रम रोमाञ्चक हुने कुरामा कसैलाई शङ्का रहेन ।
समीक्षा र अन्तिम छनोट सकेपछि सबै विद्यार्थी घर हिँडे । हामीले पनि आ–आफ्नो बाटो लाग्ने तर्खर ग¥यौँ ।

घर जान म गेटमा मात्र के पुगेको थिएँ, सुश्माले मेरा हात समातिन् र भनिन्, “सर, मलाई केही भन्नु थियो ।”
म छक्क परेँ । के भन्न आँटिन् सुश्माले ।

डाक्टरले सुश्मालाई “सुस्त मनस्थितिकी बालिका” भनी घोषणा गरेको धेरै भएको थियो । उनकी आमा, प्राध्यापिका विमला शर्मा स्कुलमा आएर किचकिच गर्दै भन्थिन्, “मेरी छोरीले घरमा सबै कुरा गर्छे, सोधेको कुरा पनि भन्छे । असाध्यै बाठी छ । ऊ स्कुलमा किन फेल हुन्छे ? यो स्कुलले मेरी छोरीलाई कहिल्यै चिनेन ।”

सुश्माकी आमाका कुराले मलाई झस्क्यायो । मैले झक्झक्याए पछि स्कुलले आफ्नै पहलमा एकपल्ट देशका एक वरिष्ट मानोचिकित्सकको सल्लाह लिने निधो ग¥यो । चिकित्सको निर्णय आयो, “सुस्त मनस्थिति ।”

अभिभावकसँंगको बैठकमा उनकी आमालाई हामीले यो निर्णय सुनायौँ र भन्यौँ, अध्ययनका लागि सुश्माको दिमागले विशेष वातावरणको माँग गर्छ र हाम्रोजस्तो स्कुलमा त्यो सम्भव छैन । तर उनी हाम्रा कुरा स्वीकार्न तयार भइनन् । बरु रुँदै भनिन्, “मेरी ज्ञानी छोरीलाई लाटी तुल्यायो यो स्कुलले । म चिन्दिन मैले जन्माएकी छोरीलाई ?”

तीनै सुश्मा मलाई केही भन्न तम्सिएकी थिइन । मैले उनलाई बोल्न अनुरोध गरेँ ।

“सर मैले कविता लेखेकी छु । म भोलि कविता पढ्छु नि, कार्यक्रममा । ”

“खै हेरौँ तिम्रो कविता,” मैले माँग गरेँ । उनले एउटा कागजको टुक्रोमा लेखेको “कविता” मलाई दिइन् । मैले पढेँ त्यो रचना, र स्वभाविक रुपले त्यसमा न तुक थियो, न छन्द थियो, न नै हिज्जेको कुनै हिसाब ।

मैले माथिको चेतावनी सम्झेँ । तीन लाखको कार्यक्रमा यो स्तरको कविताले रोमाञ्च ल्याउला ? मैले सोझैँ टारिँदिए उनलाई, “हेर म अति व्यस्त छु । ऊ त्यहाँ राहुल सर हुनुहुन्छ । जाऊ उहाँलाई देखाऊ ।”

कार्यक्रमको “इन्जिनियर” नियुक्त भएको व्यक्ति म थिएँ । के गर्नु विचरा राहुल सरले ? आज्ञाकारी सुश्मा राहुल सरको छेउमा पुगेर उभ्भिइन् ।

केही वार्ता भयो, सरले “कविता” पढ्नु भयो । उहाँबाट सुश्मालाई मोहन सरलाई भेट्ने निर्देशन भयो । मोहन सरले उनलाई पुनः मकहाँ पठाउनुभयो ।

पुनः मेरा अगाडि आइपुगिन सुश्मा । मैले भनँे, “आज अबेर भयो हेर, मलाई भोलि बिहान भेट ल, ।”
“हुन्छ सर” भन्दै उनी घरतिर लागिन् ।

भोलिपल्ट म कोट–पैन्ट र टाई लगाएर चिटिक्क परेर स्कुलमा आइपुगेँ । सुश्मालाई गेटमा प्रतिक्षारत देखेपछि मैले पछिल्तिरको बाटोबाट प्रवेश गरेँ । केही क्षणमै मैले निर्देशन गरेँ, “बच्चाहरू पहेँलो बसमा चडेर कार्यक्रमस्थलमा जाने, सर र म्याडमहरू सेतो बसमा ।” यसरी सुश्मासँगको प्रभातकालीन भेटको सम्भावनालाई मैले पूर्णतः टारिदिएँ ।

म भने ट्याक्सीमा गएँ । खचाखच भरिएको बसमा जाँदा कपडा खुम्चेलान कि भन्ने डर थियो मलाई ।
कार्यक्रम सुरु भयो । म “ठूलो” मान्छे, मञ्ममा बसेँ । मैले भाषण पनि गरेँ, अंग्रेजीमा । मेरो किताब पनि विमोचन भयो, बालसाहित्यको । मेरो भाषणमा मूलतः बालमनोविज्ञानका कुरा आए, र अरु स्कुलभन्दा फरक हाम्रो स्कुलमा हरेक बच्चाले न्याय पाउने दाबी पनि गरेँ । म माथि थिएँ मञ्चमा, मन्त्रीज्यू र प्रिन्सिपल सरसँगै । सुश्मा तल थिइन, विद्यार्थीहरूको हुलमा । मैले बोलेका हरेक वाक्यपछि उनले ताली मारेकी थिइन ।

सांस्कृतिक कार्यक्रम सुरु भयो । स्मारिका पनि निस्कियो, लेख्न जान्नेहरूको लेख–रचना संगालेर । गाउन जान्नेले गीत गाए, नाच्नमा माहिर भएकाहरूले नाचे । नाटकको पनि मञ्चन भयो । हरेक कार्यक्रमपछि गडगडाउने तालीहरूमा तीब्रतम ताली सुश्माको थियो ।

कार्यक्रम सकियो, म सबैको हिरो भए । मेरो घमण्डले खूब मलजल पायो । भोलिपल्ट स्कुलमा समीक्षा भयो, मलाई फूलमाला र अविर लगाएर अभिनन्दन गरियो । यत्तिका वर्षमा यति रोचक कार्यक्रम कहिल्यै प्रस्तुत भएको थिएन । एकजना अभिभावकले फोन गरेर समेत भन्नुभयो, “सर, ग्रेट । हरेक कार्यक्रम बालबालिको सिर्जनशीलता र मनोविज्ञानमा केन्द्रित थियो ।”

बैठकमा हिरो भएपछि म कक्षामा गएँँ । कार्यक्रम कस्तो लाग्यो, मैले विद्यार्थीहरूलाई सोधेँ । सबैले हात उठाउँदै उत्साहसँग भने, “भेरि नाइस्, सर । ” सबैभन्दा पहिले हात उठाएर यसो भन्ने विद्यार्थी सुश्मा नै थिइन ।
स्कुलको अन्तिम घण्टी लाग्यो, हामी सबै घर जान लाग्यौँ । बाटोमा सुश्मा मसँगै हिडिन् ।
“सर, अर्को वर्ष चांिहँ म पनि कविता पढ्ने नि !”

मैले केही जवाफ दिइनँ । तीन लाखको कार्यक्रम रोचक भएको थियो । म हिरो भएको थिएँ । मेरो निधारमा अबिर आलै थियो । मैले सुश्मालाई पुलुक्क हेरेँ । उनी कति खुसी थिइन् ।

सबैको स्कुल, कार्यक्रम सबैको । सुश्मा कहाँ थिइन् ? उनले कविता पढेकी भए के हुन्थ्यो ? सुस्त मनस्थितिकी ती बालिकालाई कविताकालागि मञ्चमा लगेर उभ्याउन मात्रै सकेको भए त्योभन्दा सुन्दर कार्यक्रम के हुन्थ्यो ?

म घर पुगेँ । मेरो निधारको अबिर चिलाउन लागेको थियो । म सम्झिरहेको थिएँ, कहिलेकाहीँ बिग्रिएको हिज्जेमा “सर आइ लभ यू भेरी मच” भनेर मेरो मोबाइल फोनमा आउने छोटो सन्देश सुश्माकै थियो । आफूमाथि अन्याय भएको कुराको अनुभूतिसम्म गर्न नसक्ने बिचरी सुश्माको “आइ लभ यू सर” को मोल कति हुन्छ, मैले आजसम्म बुझ्न सकेको छैन ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.