~मधुश्री~
बढ्दैछ चाप यौद्धाको मन ईस्पात बन्दैछ
फुट्दैछ बाँध धैर्यको यहाँ मसाल बल्दैछ
धोकाले मिच्या सिमाना खोज्दै उठ्दैछ बीर त्यो
पसिना सँगै रगत छर्दै उठ्दैछ शीर त्यो
भ्रमले भुट्न सक्दैन आश्था सत्य त्यो बोली हो
विवेक बोक्ने योद्धाको बोली हैन त्यो गोली हो
घट्दैछ दृश्य रौनक हट्दै दृढता बढ्दैछ
फुट्दैछ बाँध धैर्यको यहाँ मसाल बल्दैछ
घट्टमा पिस्ने मकैको दाना झै हुन्न स्वाभिमान्
सहन सक्ने क्षमता भन्दा बढ्दैछ अपमान्
दुर्दशा देश हेरेरै योद्धा गोरेटो खोज्दैछ
अन्तिम युद्ध मुक्तिको लड्ने अठोट बोक्दैछ
भित्रको कुण्ठा बिस्फोट हुँदै त्यो ज्वाला बन्दैछ
बढ्दैछ चाप यौद्धाको मन ईस्पात बन्दैछ
कल्पना कोरा हैन यो क्रान्ति बिष्फोटै हुनु छ
वार कि पार यो खेल अब अन्तिमै हुनु छ
योजना बुन्छ पल्टौँछ पन्ना सुस्केरा हाल्दछ
धड्कन बढ्छ आशाको सानो दियालो बाल्दछ
देख्दैछ शक्ति झिल्कोमै फेरी विस्वास बढ्दैछ
फुट्दैछ बाँध धैर्यको यहाँ मसाल बल्दैछ
मधुश्री
३० श्रावन २०६८
(स्रोत : रचनाकारको ब्लगबाट सभार)