कविता : भोटु माझीको भाषण !

~बलराम तिमल्सिना~

सरकार !
मैले के त्यत्रो कुरा मागेको थिएँ र ?
मैले दुवाली थुन्ने खोलामा
मेरा बराजुदेखिको हक छ
त्यो खोलामा दुवाली थुन्न
गणतन्त्रमा पनि पाऊँ भनेको त हो
त्यो खोलै थुनेर सरकारको गाममा लगेपछि
मैले कुन खोलामा दुवाली थुन्ने ?
खोला नै नरहेपछि मैले
कुन खोलाको माछा खाने ?
अनि माछै खान नपाएपछि
म कसरी माझी हुने सरकार ?

मलाई थाहा छ
हजुरको गाममा पानीको दुख छ
हजुरको गाममा दुख छ भनेर
मेरो गामको खोलो खोस्न पाइन्छ सरकार ?
‘हाम्रो गंगाजल तपाईलाई
तपाईको मलमूत्र हामीलाई’
यस्तो कुन शास्त्रमा लेखेको छ सरकार ?

हाम्रा खोलामा कमिला दौडाएर
हजुरको सहरको सडक पखाल्ने
यस्तो मनपर्दी र यस्तो बलजफती गर्ने
के देश भन्ने कुरा
तपाईको सहर मात्रै हो सरकार ?

मेरो गामलाई मरुभूमि बनाउँने
र हजुरको राजधानीको तिर्खा मेट्ने
राजधानी भन्ने कुरा
गाम लुट्न मात्र बनेको हो सरकार ?

म लौरो घुमाउँछु अव खुकुरी नचाउँछु
मेरो गामको मेरो खोला
म जसरी पनि बचाउँछु बचाउँछु !

सरकारको देश राजधानी मात्र हैन भने
भोटु माझीको पनि कुरा सुनियोस
भोटु माझी पनि एउटा मतदाता हो सरकार !

२०७५|११|१२
सुवर्ण चोक , भक्तपुर

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.